लङ्केश्वर मेला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्रत्येक वर्ष हरिबोधनी एकादशीमा ऐतिहासिक लङ्केश्वर मेला काभ्रेपलाञ्चोकको बल्थलीमा भव्यताका साथ मनाइन्छ। सत्ययुगमा सतीदेवीको मृत्युपछि महादेवले सतीदेवीलाई बोकेर भौँतारिने क्रममा सतीदेवीको नाभी बल्थली गाविस- ५ स्थित सो ठाउँमा पतन भएपछि उक्त मेला मनाइँदै आएको जनविश्वास छ। महादेवको मन्दिर र सतिदेवीको नाभी मात्र नभई उक्त स्थलमा बसाहाहरूको साथै करिब १.५ फिटको जललहरी र तीन वटा शिवलिङ्ग छन् भने गौमाताको थुनजस्तो र अन्य देवदेवीको मूर्तिजस्तो देखिने ढुङ्गाका अनेकौ आकृतिहरूको दृश्यले दर्शनार्थीहरूका साथै पर्यटकहरूलाई समेत लोभ्याउने कलात्मक रूप पाइन्छ।

मेलामा जिल्लाका मात्र नभई काठमाडौं सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, दोलखालगायतका जिल्लाहरूका दर्शनार्थी आउँछन्। काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलदेखि दक्षिण-पूर्व १५ किलोमिटरको दुरी (पनौती नगरपालिकाबाट करिब २२ कि.मि.पूर्व)मा समुद्री सतहदेखि एक हजार तीनसय ५० मिटर उचाईमा रोशी र लड्कु खोलाको सङ्गमस्थलमा अवस्थित चुनढुङ्गाभित्र लङ्केश्वर महादेव मन्दिर छ। धार्मिक किम्वदन्तीअनुसार भक्तपुरका राजा भूपतेन्द्र मल्लले वि. सं. १७६८ माघ कृष्ण दशमीका दिन बल्थली गाविसमा रहेको उक्त स्थानमा बास बसी लङ्केश्वर महादेवको दर्शन गरेका थिए। मेलामा पापी र धर्मात्माको पहिचानसमेत गर्ने गरिएको छ।

रोशी र लड्कु खोलाको सङ्गमस्थलनजीक चुनढुङ्गाभित्र रहेको उक्त स्थानमा पाप र धर्मद्वार छ भने उक्त द्वारमा रहेको एउटा सानो प्वाल र ठूलो प्वालमध्ये साना प्वालमा छिरी निस्कन सक्ने धर्मात्मा र निस्कन नसकी अड्कने पापी हुने जनविश्वास छ। पाप र धर्मद्वार भएका कारण यस मन्दिरलाई स्वर्ग र नर्कको मापन गर्ने स्थानका रूपमा समेत लिइने गरिएको छ। लङ्केश्वर मेलामा स्थानीय महिला र पुरूषहरूले धार्मिक मान्यताअनुसार रातभर जाग्राम बसेर नाचगानका साथै भजनकीर्तन गर्छन् भने भोलिपल्ट पूर्णिमासम्म पूजारीहरूद्वारा रूद्रीपाठ र पूजाअर्चना गरी सोही दिन मेला समापन गरिन्छ।