लोकेश्वरजात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काभ्रेको नालामा हरेक वर्ष मनाइने प्रसिद्ध सृष्टिकान्त लोकेश्वरजात्रा

करूणामय सृष्टिकान्त लोकेश्वरको जात्रा हरेक वर्ष करूणामयको मन्दिरस्थल मच्छिन्द्रबहालबाट फाल्गुण पूणिर्मा तिथिदेखि प्रारम्भ हुन्छ। त्यसपछि स्थानीय गणेश मन्दिरबाट इटलाछेँ, गँसटोल, लागनटोल, वलाछेँ, इपाटोल र मेछेँटोल भई पुनः मच्छिन्द्रबहालमै खट ल्याएर टुङ्गिन्छ। जात्रालाई नगर वा टोल परिक्रमका क्रममा नाला र अन्यत्रबाट आएका श्रद्धालुहरूले पूजाआजा गर्ने, धूपबत्ती बाल्ने, भाकल पूजा गर्ने तथा आˆना मनोकाङ्क्षा व्यक्त गर्ने चलन रहेको छ।

प्राचीनता र ऐतिहासिक पृष्ठभूमि तथा धार्मिक महत्त्वको थलो मानिने नालामा करूणामय -सृष्टिकान्त लोकेश्वर र उग्र्रचण्डी भगवती यहाँका प्रसिद्ध मन्दिर हुन्। यिनलाई स्थानीयवासीले आराध्यदेवका रूपमा हार्दिक श्रद्धा प्रकट गर्नै गर्दछन्। यहाँ नाला करूणामय र महालक्ष्मीको भव्य उत्सवका साथ बर्सेनि जात्रा हुने परम्परा छ। करूणामयलाई अवलोकितेश्वर, आर्यावलोकितेश्वर आदि नामले पनि पुकारिने गरिन्छ। संसारका सबै प्राणीहरूको उद्धारमा गर्ने कार्यमा यी भगवानको नाम लिइन्छ। यो जात्रा प्रत्येक वर्ष फाल्गुण पूणिर्मा तिथिदेखि प्रारम्भ हुन्छ। खट्जात्रा अर्थात् मुख्य जात्रा तृतीयाका दिन हुन्छ। यस दिन विहानैदेखि करूणामयको मन्दिरक्षेत्र मच्छिन्द्रबहालमा पूजारी, गुठियार, भक्तजनहरूको भीड लाग्दछ। यस किसिमको सांस्कृतिक चहलपहलले नाला क्षेत्रमा प्राचीन जात्रा-संस्कृति पुर्नजीवन सुरू भएको महसुस गर्न सकिन्छ। सहरी यस अवसरमा नालावासीका साथै छिमेकी, आफन्त, नलनाताको समेत उत्साहपूर्वक उपस्थिति रहेको हुन्छ। त्यस्तै जात्रा हेर्न आउनेहरूको पनि उस्तै भीड लाग्दछ। त्यसैले यस जात्रालाई चेलीबटी, दाजुभाइ, माइती-मावली र सम्पूर्ण आफन्तजनको मिलन-पर्वका रूपमा पनि नालावासीले लिने गरेको पाइन्छ।

हिन्दु र बौद्ध दुवै धर्मका साझा देवता मानी यी लोकेश्वरलाई हिन्दू धर्मावलम्वीहरू नारायण र बौद्धधर्मका मानिस सृष्टिकान्त लोकेश्वरका रूपमा श्रद्धाभक्ति प्रकट गर्ने गर्दछन्। यसप्रकार दुवै धर्मका अनुयायीहरूले समान आस्था र आराधनाका साथ यी करूणामय भगवानप्रति सम्मान दर्शाइने गरिन्छ। जात्रा प्रारम्भ हुनु अगाडि अर्थात् होली पूणिर्माका दिन मन्दिरमा अवस्थित करूणामयको मूर्तिलाई जीवनन्यास साधना गरी आसनबाट बाहिर निकालिन्छ। मूर्ति रहेको स्थानमा कलश स्थापना गरी त्यहाँ जीवनन्यास राखिन्छ। त्यसैगरी प्रतिपदाका दिन करूणामय सृष्टिकान्तलाई महास्नान गराइने परम्परा छ। त्यसका लागि पूण्यमाता नदीबाट पवित्र जल ल्याइन्छ। मन्दिर सामुन्नेको शिलामण्डप जुन सानो पोखरीको बीचमा छ, त्यहाँ सृष्टिकान्त लोकेश्वरलाई पद्माशनमा विराजमान गराइ पञ्चामृतद्वारा महास्नान गरिन्छ। महास्थान कार्यका लागि पाँजुले घडामा जल ल्याउने परम्परा छ। यो महास्नान कार्यलाई दूग्धस्नान गरिने संस्कारका रूपमा पनि लिइने प्रचलन रहेको पाइन्छ। यी लोकेश्वरलाई पूजारीबाहेक अरू कसैले पनि छुनु हुँदैन र कसैले अञ्जानवश छोएको भए सो पाप पखाल्न पनि यो स्नान कार्य गरिएको हो भन्ने भनाई रहेको छ। यही विधि पूरा गर्न हरेक वर्ष पाटनस्थित बुङ्मतीका पाँजुहरू नालामा आउने परम्परा रहेको छ| तिनै पाँजु अर्थात् पुरेत वर्गले लोकेश्वरको सम्पूर्ण कर्मकाण्ड गर्ने चलन रहेको छ।

द्वितीयाका दिन लोकेश्वरलाई रङरोगन गराउने कार्य हुन्छ। त्यसका लागि पहिले पाटनका चित्रकार आएर विधिअनुसार रङरोगन गरिने परम्परा थियो तर हिजोआज स्थानीय पूजारीबाटै सो कार्य हुदै आएको पाइन्छ। त्यसपछि पाँजुहरूले दुशलकर्म क्रियाका निम्ति पूजाका सम्पूर्ण सामग्री मन्दिर प्रवेशको सामु प्रतिष्ठापनार्थ राख्दछन्.। रङरोगन कार्यपछि दुशलकर्म पूजा प्रारम्भ गरिन्छ। यसमा विधिअनुसार पकाएको भात खुवाउने गरिन्छ। तृतीयाका दिन करूणामय सृष्टिकान्त लोकेश्वरको जात्राको प्रमुख तिथि हो। यसदिन प्रतिष्ठा सम्बन्धी कार्य, दशकार्य विधि आदि सबै पूरा गरिन्छ। यसैदिन मन्दिरसँगैको भवनमा बेलविवाह गर्ने कन्याहरूलाई लस्करै राखी विधिपूर्वक बेलविहेको संस्कार नेवार ब्राहृमणबाट हुन्छ।

यी सबै कार्य सकिएपछि पाँजुले जात्राको पालो परेका गुठियारलाई जात्रा सञ्चालनको अनुमति स्वरूप भगवान बुद्धका विभिन्न मूर्तिहरू हस्तान्तरण गर्दछन्। यी सबै परम्परागत विधिको समाप्तिसँगै जात्रा प्रस्थान कार्य प्रारम्भ हुन्छ। सजाइएको खटमा सृष्टिकान्त लोकेश्वरलाई विराजमान गराइएपछि परम्परागत छत्र ओढाइ जात्रा सुरू गरिन्छ।जात्रापश्चात् 'लसकुश' गरी करूणामय भगवान्लाई मन्दिरमा प्रतिष्ठापन गराइन्छ। यसरी जात्रा एक वर्षका लागि समापन हुने परम्परा रहेको छ।