विपश्यना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विपश्यना (Vipassana) आत्मनिरीक्षण द्वारा आत्मशुद्धिको अत्यन्त पुरातन साधना-विधि हो। जुन जस्तो हो, त्यसलाई ठीक त्यस्तो नै देख्नु-सम्झनु-बुझ्नु विपश्यना हो। लगभग २६०० वर्ष पूर्व भगवान गौतम बुद्धले संसारबाट विलुप्त भइसकेको यस पद्धतिलार्इ पुन: अनुसन्धान खोज गरी यसलाई सार्वजनीन रोगको सार्वजनीन उपचार रूपमा सर्वसुलभ बनाए। यस सार्वजनीन साधना-विधिको उद्देश्य चित्तमा विद्यमान सम्पूर्ण विकारहरूको निर्मूलन गरी परमविमुक्तिको अवस्थालाई प्राप्त गर्नु हो। यस साधनाको उद्देश्य केवल शारीरिक तथा मानसिक रोगहरूलाई निको पार्ने मात्र नभर्इ जीवनको सबै प्रकारको दुःखहरूबाट मुक्त हुनु हो। तसर्थ याे जीवन जिउने उत्तम कला हाे ।

विपश्यना आत्म-निरीक्षण द्वारा गरिने आत्मशुद्धिको साधना हो। यस विधिमा आफ्नै शरीर र चित्तधारामा पल-पल भइरहने प्रत्येक परिवर्तनशील घटनाहरूलाई तटस्थभावबाट निरीक्षण गरी भाैतिक एवं चैतसिक धर्महरू (physical and psychic phenomena) को यथार्थ स्वभावको बोध गर्न प्रयत्न गरिन्छ । यथार्थ ज्ञान (प्रज्ञा) का अाधारमा विद्यमान राग द्वेषादि क्लेश (विकार)हरू क्रमशः हटाउने, नयाँ क्लेश थप्न नदिने चित्तविशोधनको अभ्यास गरी मुक्त अवस्था सम्म पुग्न साधक प्रयत्नरत रहन्छ । यस यात्रामा साधकले मन (नाम धर्म) तथा भाैतिक शरीर (रूप धर्म) का विविध पक्षहरूको प्राकृतिक नियमहरूका वारे स्पष्ट ज्ञान बोध गर्दछ । आफ्नो प्रत्यक्ष अनुभवबाट विकार कसरी बन्छ?, संसारको बन्धनमा प्राणीहरू कसरी बाँधिन्छन्? र यस वन्धनबाट कसरी छुटकारा पाउन सक्छ? भन्ने वारे ज्ञानको प्राप्त हुन्छ । निर्वाण साक्षात्कार गर्नु यसको परम उद्देश्य हो भने यसको अभ्यासको क्रममा साधकले परम निर्वाण नै प्राप्त नभएता पनि प्राप्त ज्ञानको स्तर अनुसारको सुख शान्ति प्रितिको अनुभव गर्दछ । यसले ब्यक्ति एवं समग्र समाजमा शान्ति र सामञ्जस्य कायम गर्नमा मद्दत पुग्दछ ।

परम्परा

भगवान बुद्धकाे समय देखि यस ध्यान-विधिले गुरू शिष्य परम्परा मार्फत अक्षुण्ण रूपमा निरन्तरता पाइरहेको छ । थेरवादी परम्परा अन्तर्गत हाल नेपालमा महाशी सयादो र अाचार्य सत्य नारायण गोयन्काको गरी दुर्इ परम्पराहरू प्रचलित छन् । यी दुवै परम्पराहरू अन्तर्गतका विपश्यना ध्यान केन्द्रहरू विश्व भरी फैलिएका छन् । नेपालमा महाशी सयादो परम्परानुसार लुम्विनीमापण्डिताराम लुम्विनी अन्तर्राष्ट्रिय विपस्सना ध्यान केन्द्र र काठमाडाैंमा अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र, शंखमूलमा केन्द्रहरू सञ्चालित छन् । यस्तै सत्यनारायण गोयन्का परम्परानुसार धम्म श्रृङ्ग (बुढानीलकण्ठ), धम्म कित्ति (किर्तिपुर), धम्म विराट (इटहरी), धम्म चितवन (चितवन), धम्म पोखरा, धम्म तरार्इ (बीरगञ्ज), धम्म जननी (लुम्विनी) र धम्म सुरक्खेत (सुर्खेत) गरी जम्मा ८ स्थानमा केन्द्रहरू सञ्चालित छन् ।