सामग्रीमा जानुहोस्

सायनसूर्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • सायनसूर्य
  • निरयणसूर्य
  • सौरवर्ष
  • आर्तववर्ष
  • गोलसन्धि
  • अयनांश
  • उत्तरायण
  • दक्षिणायन
  • क्रान्तिवृत्त
  • नाडीवृत्त
  • सम्पातविन्दु

आकाशमा देखिने तारालाई नक्षत्रहरूको रूपमा परिकल्पना गरिँदा ग्रहको जस्तो नक्षत्रको आफ्नै गति हुँदैन भन्ने विश्वास गरिएको थियो। यो मत अनुसार मेष राशिको आरम्भविन्दु सधैँ स्थिर रहनुपर्दथ्यो। सातौँ वा आठौँ शताब्दीसम्म पनि यस मान्यतामा कुनै समस्या थिएन, उत्तरायण र दक्षिणायनको आरम्भ सधैँ मकर-सङ्क्रान्ति (माघे सङ्क्रान्ति) तथा कर्क-सङ्क्रान्ति (साउने सङ्क्रान्ति)मा हुन्छ भन्ने मानिंदै आएको थियो। तर नवौँ शताब्दीमा समय नापिने नक्षत्रहरूको काल्पनिक दैनिक भ्रमणमार्ग नाडीवृत्त तथा सूर्यको काल्पनिक वार्षिक भ्रमणमार्ग क्रान्तिवृत्तको सम्पातविन्दु अर्थात् गोलसन्धि पश्चिमतर्फ विचलन भइरहेकोले वास्तविक मेषादि पनि सर्दोरहेछ भन्ने कुरा थाहा भयो।

विक्रम सम्वत्को छैटौँ शताब्दीको मध्यतिरको मेषादिविन्दुमा रहेको गोलसन्धि अहिले त्यसबाट करिब २४ अंश (डिग्री) पश्चिमतिर सरेको छ। यसैले गर्दा उत्तरायण र दक्षिणायन आरम्भ हुने दिन पनि परिवर्तनशील रहेछ भन्ने पत्ता लागेको हो। वैदिक सनातनधर्मावलम्बी ज्योतिषीहरूले यसलाई अयनांश वा अयनचलन अर्थात् उत्तरायण तथा दक्षिणायन हुने विन्दुहरूको विचलन भनेका छन्। यसैले गर्दा नै प्रत्यक्ष देखिने सायनसूर्य तथा गणितबाट आउने निरयणसूर्यको भेद गर्ने प्रचलन चलेको हो। हाम्रा पञ्चाङ्गहरूमा अहिले पनि सायनसूर्य तथा निरयणसूर्य दुवैको स्थिति दर्शाइने गरेको छ।

पहिले सूर्यलाई मेषादिविन्दुमा प्रवेश गरेर राशिचक्र भ्रमण गर्दै पुनः मेषादिविन्दुमा पुग्न लाग्ने समयलाई एक सौरवर्ष (ट्रपिकल-इयर) गणना गरिन्थ्यो र ऋतुहरू पनि सौरवर्षअनुसार नै फेरिन्छन् भन्ने मान्यता थियो। यसैअनुसार एक सौरवर्षमा ३६५.२५८८ दिन हुने मानिएको थियो। तर क्रान्तिवृत्त र नाडीवृत्तको सम्पातविन्दुको पश्चिमतर्फ विचलनले गर्दा एक सौरवर्ष पूरा हुनुभन्दा पुगनपुग २४ मिनेट पहिले नै एक आर्तववर्ष (वास्तविक वर्ष वा साइडरल-इयर) पूरा हुने गरेको र आर्तववर्षमा ३६५.२४२२ दिन मात्र भएको पाइयो। हाल सौरवर्षको परिमाण करीब ३६५.२५६३६२ दिन र आर्तववर्षको परिमाण करीब ३६५.२४२१९५ दिन हुने गरेको पाइएको छ। यस हिसाबले प्रत्येक सौरवर्ष पूरा हुनुभन्दा २० मिनेटजति पहिले नै आर्तववर्ष पूरा भई हरेक ७२ वर्षजतिमा ऋतुचक्र एक दिन अगाडि सर्ने हुन्छ। अहिले चर्चामा आएको मुख्य समस्या यसैबाट उत्पन्न भएको हो।

पृथ्वीलाई विश्वब्रह्माण्डको केन्द्र मानेर ग्रह-नक्षत्रको गति तथा स्थिति गणना गर्ने पूर्वीय ज्योतिषीहरू गोलसन्धिको विचलनले गर्दा यस्तो भएको मान्छन् भने सूर्यलाई विश्वब्रह्माण्डको केन्द्र मानेर ग्रह-नक्षत्रको गति तथा स्थिति गणना गर्ने पश्चिमा ज्योतिषीहरू पृथ्वीको दैनिक भ्रमण हुने अक्षको दिग्विचलनले यस्तो भएको भन्छन्। प्राचीन सिद्धान्त ज्योतिषशास्त्रका मूल आधार पौलिश, रोमक, सौर, वाशिष्ठ र पैतामह मध्ये पछिल्लो समयमा आएर सौर वा सूर्यसिद्धान्तले मान्यता पाएको छ, जसको गणनाद्वारा आएका ग्रह र नक्षत्रको गति तथा स्थितिको आधारमा हामी आफ्ना स्नान, दान, जप, व्रत, उपवास, पर्व र उत्सव मनाउँदै आइरहेका छौँ।

आचार्य बराहमिहिरको पञ्चसिद्धान्तिका देखि छैटौँ शताब्दीका भारतीय ज्योतिषी आर्यभट प्रथम तथा सातौँ शताब्दीका लल्ल र ब्रह्मगुप्तसम्मले पनि अयनांशबारे चर्चा गरेका छैनन्। तर आठौँ शताब्दीपछिका श्रीषेण, विष्णुचन्द्र र मुञ्जाल आदि लौकिक ज्योतिषीहरूले भने यसको अस्तित्वको सङ्केत पाएका थिए। तेह्रौँ शताब्दीका ज्योतिषी भाष्कराचार्यले आफ्नो सिद्धान्तशिरोमणिमा लेखेका छन्― “ब्रह्मगुप्त आदि आचार्यहरू पक्कै पनि ज्योतिषशास्त्रमा निपुण थिए, तैपनि उनीहरूको पालासम्म अयनांशको परिमाण थोरै भएकोले उनीहरूले यसको चर्चा गरेका थिएनन्। अहिले धेरै पाइएकोले अचेलका आचार्यहरूले यसको चर्चा गरे र त्यसैले यसको गति छ भन्ने हामीलाई ज्ञान भएको हो।”

वर्तमान सूर्यसिद्धान्तअनुसार एक कल्प (४ लाख ३२ हजार वर्ष)मा नाडीवृत्त तथा क्रान्तिवृत्तको सम्पात ६०० पटकसम्म पश्चिम तथा पूर्वतर्फ पालैपालो 'होर-दोहोर गरिरहन्छ। यो सिद्धान्तमा क्रान्तिवृत्त तथा नाडीवृत्तको सम्पात स्थिर मेषादिविन्दुबाट २७ अंशसम्म पश्चिमतर्फ सर्कन्छ, त्यसपछि सम्पूर्ण नक्षत्रचक्रको भ्रमण नगरी शून्य अयनांश भएको मूल स्थानमै फर्केर २७ अंशसम्म पूर्वतर्फ सर्दै जान्छ र केही सय वर्षपछि फेरि मेषारम्भविन्दुको मूलस्थलमै आइपुग्छ र; यसरी १०८ अंशको एउटा चक्र हुन्छ भन्ने मानिएको छ। अधिकांश भारतीय ज्योतिषीहरू वि.सं. ५७८ आसपासको समयलाई शून्य अयनांश भएको वर्ष मान्छन्। उनीहरूका अनुसार अयनांश प्रतिवर्ष ०.९ अंश जति बढ्दै गएर वि.सं. २२००को आसपासतिर २७ अंशसम्म पुग्दछ र त्यसपछि फेरि फर्किएर वि.सं. ३८२१को आसपासमा शून्य अयनांश हुन्छ। पश्चिमा ज्योतिषीहरू भने यस मतसँग सहमत छैनन्। उनीहरू अयनांशको परिमाण २७ अंशभन्दा बढी पनि हुन्छ भन्छन्। सत्य के हो, अबको १५० वर्षपछि मात्र थाहा हुनेछ।

सायनसूर्य मात्र वास्तविक दृश्यसूर्य हुने हुनाले हाम्रा आस्था, मूल्य, मान्यता तथा चाड-पर्वहरू निरयणसूर्य अनुसार मनाउने परम्परा बदलेर सायनसूर्य अनुसार नै मान्नुपर्दछ भन्ने आवाज दुई-तीन सय वर्षदेखि उठ्दै आइरहेको छ। यसमा पनि गत डेढ-सय वर्षको बीचमा भारतमा चर्को रूपमा उठेर सायनसूर्य अनुसारका दृश्यपञ्चाङ्गहरू पनि प्रकाशित भएका छन्। नेपालमा पनि केही वर्षदेखि उठ्दै आएको दृश्यपञ्चाङ्ग अनुसार चाड-पर्व मनाउने कुरालाई हालसालै चर्को रूपमा उठाउने गरिएको छ|त्यसो गर्दा आफ्ना सांस्कृतिक मूल्य एवं मान्यताहरूमाथि आस्था राख्दै आएका सर्वसाधारण नागरिकहरू दिग्भ्रमित भएर उनीहरूमा आफ्ना मूल्य एवं मान्यताहरूप्रति अनास्था फैलने, विश्वभर फैलिएका वैदिक सनातनधर्मावलम्बी हिन्दू, बौद्ध तथा जैन समाजबाट नेपालीहरू अलग-थलग हुने, नेपालीले विश्व हिन्दू समाजसँग एकै समयमा मनाउँदै आएका विजयादशमी, दीपावली, विवाहपञ्चमी, शिवरात्रि, कृष्णजन्माष्टमी जस्ता चाडपर्वहरूमा अन्योल हुने र तिनलाई हेरेर आउने बाह्य तीर्थयात्रीहरूको आवागमन तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने समस्याहरू आउनेछन्।

अहिले पनि आगामी २०६७ वैशाखमा पर्ने अधिकमासलाई लोप गराएर वर्तमान सौरमहिनालाई ऋतुसँग मिलाउने चर्चा चलिरहेको छ। त्यसैबीच नेपाल सरकारले २०६६को चैत्र महिनालाई लोप गराएर ११ महिनाको वर्ष मान्ने निर्णय गर्‍यो भन्ने खबर पनि आयो। तर, अहिले पञ्चाङ्ग निर्णायक समितिले त्यो कुरालाई स्वीकार नगरेकोले चैत्रसहितको १२ महिनाकै वर्ष मानेर क्यालेन्डर बन्ने भएको बुझिएको छ।

प्रचलित सांस्कृतिक मूल्यमान्यताहरू राज्यको तर्फबाट हस्तक्षेप गरिने विषय होइनन्, तिनलाई राज्यको तर्फबाट बलात् लागू गराउने प्रयास भएमा यसले अस्थिरता र अन्योल उत्पन्न गर्नेछ। यो भावनामा बगेर निर्णय गरिने विषयवस्तु पनि होइन। धर्मशास्त्र तथा ज्योतिष विषयका मर्मज्ञ विद्वान्हरूको गम्भीर छलफलबाट निस्किने निचोडमा सबै वैदिक सनातनधर्मावलम्बी सम्प्रदायको आस्थाकेन्द्रका रूपमा रहेका धार्मिक पीठ, पीठाधीश्वर तथा आचार्यहरूबाट अनुमोदन भएमा मात्र यस्ता परिवर्तनलाई कार्यान्वयनमा ल्याउन सकिन्छ। वास्तवमा साविकअनुसार चलिआएका चाड-पर्व तथा व्रत-उत्सवहरूलाई यथावत् रूपमा चल्न दिनुपर्दछ। त्यसअनुसार निरयणपद्धतिको साथसाथै सायनपद्धतिका पञ्चाङ्गहरूको पनि प्रचार-प्रसार गर्ने र ज-जसलाई जुन-जुन पद्धतिमाथि आस्था तथा विश्वास छ, त्यसैअनुसार आफ्ना चाड-पर्व मनाउन पाउने स्वतन्त्रता हुनुपर्दछ।

यस्तो समस्या पहिले युरोपमा पनि देखापरेको थियो। जुलियस-सिजरले आफ्नो क्यालेन्डर प्रचलनमा ल्याएको बेला ३६५.२५ दिन मानिएको सौरवर्षको परिमाण वास्तविक वर्षको भन्दा छोटो पाइएकोले ऋतु परिवर्तनले गर्दा इस्वी सम्बत्को सोह्रौँ शताब्दीको मध्यसम्ममा इस्टर चाड मनाइने समयमा १० दिनजतिको अन्तर देखापरेको थियो। तैपनि धार्मिक सम्प्रदायको नेतृत्व गर्ने पोपहरूबाट स्वीकृति प्राप्त नभई राज्यको तर्फबाट यसमा सुधार गर्नु सम्भव थिएन, पोपहरू सुधारको पक्षमा थिएनन्। पछि ग्रेगरी (तेह्रौँ)ले इ.सं. १५८२मा जुलियन-क्यालेन्डरमा परिवर्तन गर्दै अक्टोवर ५लाई अक्टोवर १५ मान्नुका साथै लिप्इयर सम्बन्धी नयाँ सिद्धान्त स्थापित गरेर हालको ग्रेगोरीयन-क्यालेन्डर चलाए। क्रिश्चियन धर्मको रोमन-क्याथोलिक सम्प्रदायले गरेको यो सुधारलाई शुरुमा लामो समयसम्म स्वीकार नगरेको प्रोटेस्टेण्ट-सम्प्रदायले पनि अनुमोदन गरेपछि ग्रेटब्रिटेनमा इ.सं. १७५२को सेप्टेम्बर ३ तारिखपश्चात् १४ तारिख मानियो। यति हुँदा पनि रसियाको आर्थोडक्स-सम्प्रदायले स्वीकार नगरेको यो परिवर्तनलाई इ.सं. १९१७मा भएको अक्टोबर क्रान्तिपछि स्वीकारियो भने रोमानियाँ र ग्रीसले १९२४मा आएर स्वीकार गरे। रूसमा पुरानो क्यालेन्डरअनुसार २५ अक्टोबर १९१७मा भएको अक्टोबर क्रान्तिको दिन क्यालेन्डर सुधारपछि ७ नोभेम्बरमा पर्न आएकोले त्यसको वार्षिकोत्सव ७ नोभेम्बरमा मनाउने गरिएको छ।

स्वतन्त्र भारतका लागि छुट्टै क्यालेन्डरको आवश्यकता अनुभव गरी भारत-सरकारले इ.सं. १९५२मा वैज्ञानिक डा. मेघनाथ शाहको अध्यक्षतामा गठन गरेको मितिपत्र सुधार-समिति का एक सदस्य डा. दफ्तरीले सुधारप्रति असहमति जनाए पनि अन्य सदस्यहरूले प्रचलित मितिपत्रलाई नागरिक र सांस्कृतिक प्रयोजनमा विभाजन गर्ने निर्णय गरेका थिए। त्यसअनुसार नागरिक प्रयोजनका लागि शक सम्वत्लाई राष्ट्रिय सम्वत्को रूपमा स्वीकार्ने र वर्षको आरम्भ चैत महिनादेखि गर्ने नीति बनाएर इ.सं. १९५६को मार्च २१ तारिख (शकसंवत् १८७७को सौर फागुन) देखि नयाँ वर्षारम्भ गर्न तथा आर्तववर्षमानलाई वास्तविक वर्षमान मानेर क्यालेन्डर प्रकाशित गर्न गरिएको सिफारिस लागू भयो। तर, सर्वसाधारणले यसलाई स्वीकारेनन्। भारतका विभिन्न प्रान्तमा १५ सय वर्षअघि व्रत, उपवास तथा चाड-पर्वहरू जसरी चल्दथे अहिले पनि त्यसरी नै चल्दै आएका छन्। नेपाललगायतका सम्पूर्ण वैदिक सनातनधर्मावलम्बी हिन्दूहरूका लागि भारतको यही परम्परा आदर्श बनेको छ।

नेपालको समस्या पर्व सुधारको होइन निश्चित दिनहरू नभएको अवैज्ञानिक क्यालेन्डरको हो, जसमा धार्मिक प्रचलनमा बाधा नपारिकन सुधार गर्नु आवश्यक छ। हामी स्वतन्त्र राष्ट्र भएकाले हाम्रो आफ्नै स्वतन्त्र सम्वत् पनि हुनुपर्दछ। पहिले शक, मानदेव र नेपाल सम्वत् (शंखधरले चलाएको होइन) चलेको नेपालमा अहिले विक्रम सम्वत् चलेको छ। विक्रम सम्वत् हाम्रो आफ्नै त होइन, तर जनजीवनमा भिजिसकेकोले यसैलाई मानेर अगाडि बढ्न पनि सकिन्छ भने नेपालमा अहिलेसम्म चलेकामध्ये राष्ट्रिय भन्न सकिने नेपाल सम्वत्लाई अपनाउन पनि सकिन्छ, जसअनुसार यो वर्ष ११२८ साल हुन्छ। व्यवहारमा कुन सम्वत् चल्छ त्यो अन्ततः जनतामा नै निर्भर गर्ने कुरा हो। व्यापक अन्तर्राष्ट्रिय प्रयोगका कारण इस्वी सम्वत्ले पनि त्यो ठाउँ लिन सक्छ, तर राष्ट्रिय स्वाभिमानको लागि हाम्रो आफ्नै सम्वत् हुनु अत्यावश्यक छ। र, त्यो जातीय नभएर राष्ट्रिय हुनुपर्छ।

  • साभारः श्री कृष्ण आचार्य( हिमाल खवर पत्रिका , वर्ष १८, अङ्क २४ पूर्णाङ्क २३८) [१][स्थायी मृत कडी]