सुदामा
| सुदामा | |
|---|---|
द्वारकामा कृष्णको स्वर्ण दरबार देखेर नमन गर्दै सुदामा। (सन् १७७५–१७९० ताकाको चित्र) | |
| धर्मग्रन्थहरू | पुराण |
| वंशावली | |
| जीवनसाथी | सुशीला[१] |
सुदामा[२] जसलाई कुचेल [३] नामले पनि चिनिन्छ, हिन्दु देवता कृष्णका बालसखा हुन्। उनले आफ्ना मित्रलाई भेट्न द्वारका गरेको यात्राको कथा भागवत् पुराणमा उल्लेख गरिएको छ।
यस पौराणिक कथा अनुसार, सुदामा र कृष्णले बाल्यकालमा सान्दीपनि ऋषिको आश्रम (जो उज्जैनमा रहेको विश्वास गरिन्छ)मा सँगै अध्ययन गरेका थिए। सुदामा अत्यन्तै गरिबी जीवन बिताइरहेका थिए। उनकी पत्नीले उनलाई कृष्णकहाँ गएर सहयोग माग्न आग्रह गर्छिन्। उपहारको रूपमा केही मुठी चिउरा (पोलेको चामल) बोकेर सुदामा द्वारकामा आफ्ना पुराना मित्रलाई भेट्न जान्छन्, जहाँ कृष्णले उनलाई सम्मानपूर्वक स्वागत गर्छन्। सुदामाले नभने पनि उनको गरिबी थाहा पाएर, कृष्णले सुदामाको झुपडी भएको ठाउँमा भव्य महलहरू निर्माण गरिदिन्छन्, जुन सुदामाले घर फर्केपछि मात्र देख्छन्।[४]
पौराणिक कथा
[सम्पादन]कथाको एउटा संस्करण अनुसार, सुदामा र तुलसी पहिले कृष्णकै निवास गोलोकमा बस्दथे। तर राधाको श्रापका कारण उनीहरूले पृथ्वीमा जन्म लिनु परेको थियो।[५]
यस अनुसार, सुदामाको जन्म एक गरिब ब्राह्मण परिवारमा भएको थियो। उनले कृष्णका गुरु सान्दीपनि ऋषिको आश्रममा शिक्षा प्राप्त गर्छन्। सुदामा गरिबीमा हुर्किन्छन् भने उनका मित्र कृष्ण यदुवंशका राजकुमार हुन्छन्। सामाजिक-आर्थिक स्थितिमा यस्तो भिन्नता भए तापनि उनीहरूले समान रूपमा शिक्षा पाउँछन्। एउटा कथा अनुसार, कृष्ण र सुदामालाई हवनका लागि दाउरा लिन जङ्गल पठाइन्छ र गुरुआमाले दुवैका लागि सुदामामार्फत खानेकुरा पठाइदिएकी हुन्छिन्। दाउरा सङ्कलन गर्दा थकित भएपछि उनीहरू एउटा रूखमुनि आराम गर्न बस्छन्। कृष्णले सुदामासँग पानी पिउने इच्छा राख्दा, सुदामाले "खाली पेटमा पानी पिउनु हुँदैन" भन्दै आफूसँग खानेकुरा भएको कुरा लुकाउँछन्। कृष्ण थाकेर सुदामाको काखमा सुत्छन्, अनि कृष्ण निदाएपछि सुदामाले खानेकुरा खान थाल्छन्। कृष्णले यो कुरा थाहा पाउँछन् र सुदामालाई उनले केही खाएको आवाज सुनेका बताउँछन्। सुदामाले ढाँट्दै चिसोका कारण आफ्ना दाँत बजेको आवाज होला भने र उनले विष्णु सहस्रनाम समेत स्पष्टसँग उच्चारण गर्न सक्दैनन्। कृष्णले सुदामालाई विश्वास गरेको नाटक गर्दै तथापि उनले सबै कुरा थाहा पाएका हुन्छन्। यस घटनाका बाबजुद पनि उनीहरूको मित्रता दरार आउँदैन। तर वयस्क भएपछि कृष्ण द्वारकाका शासक बन्छन् र आफ्ना कर्महरूले प्रसिद्ध हुन्छन् भने सुदामा एक सामान्य र गरिब गाउँलेका रूपमा रहिरहन्छन्।

श्रीमद्भागवत् पुराणका अनुसार, कृष्णका मित्र भएर पनि सुदामा अत्यन्त गरिब हुनुको कारण उनले कृष्णसँग ढाँटेकोले हो। अन्ततः सुदामाकी भोकी पत्नीले आफ्ना पतिलाई कृष्णकहाँ गएर आफ्नो गरिबीबारे बताउन आग्रह गर्छिन्। कृष्ण भक्तका शरणदाता र ब्राह्मणका संरक्षक भएकाले उनले पक्कै पनि आफ्ना पुराना मित्रलाई धनले भरिदिने विश्वास लिन्छिन्। कृष्णसँग मद्दत माग्न हिचकिचाए तापनि सुदामा भगवानको दर्शन पाउने आशाले र त्यसबाट प्राप्त हुने पुण्यका लागि जान तयार हुन्छन्। उनले आफ्नी पत्नीसँग कृष्णका लागि केही उपहार छ कि भनेर सोध्छन्। उनकी पत्नीले चार मुठी चिउरा जुटाउँछिन्, जुन उनले द्वारका लिएर जान्छन्। उनी कृष्णको दरबारमा प्रवेश गर्दै भगवानलाई आफ्नी रानी रुक्मिणीसँग बसिरहेको देख्छन्। आफ्ना पुराना मित्रलाई देखेर हर्षित भएका कृष्णले सुदामालाई आफ्नै आसनमा बसाउँछन् र परम्परा अनुसार उनको खुट्टा धुन्छन्। उनले सुदामालाई जलपान गराउँछन् र शरीरमा लेप तथा सुगन्धित द्रव्यहरू दलिदिन्छन्। रुक्मिणी आफैँले चामर पङ्खाले सुदामालाई हम्किन्छिन्, जुन देखेर दरबारका अन्य महिलाहरू अचम्ममा पर्छन्। कृष्ण र सुदामाले सान्दीपनि ऋषिको आश्रममा बिताएका बाल्यकालका दिनहरूको सम्झना गर्छन्।
भगवानले रमाइलो गर्दै उनले केही उपहार ल्याएका छन् कि भनेर सुदामालाई सोध्छन्। आफूले ल्याएको उपहार (चिउरा) को तुच्छताका कारण सुदामाले केही जवाफ दिँदैनन्। सर्वज्ञानी कृष्णले सुदामाले ल्याएको चिउरा नै आफ्नो मनपर्ने खाना भएको घोषणा गर्दै एक मुठी चिउरा खान्छन्। रातभर दरबारमा बिताएपछि सुदामा केही नमागी नै घर फर्किन्छन्। सुदामा आफ्नो गाउँ पुग्दा आफ्नो झुपडीको ठाउँमा सात तले सुनौला महलहरू, सुन्दर बगैँचा पाएर छक्क पर्छन्। उनलाई सङ्गीतकार र गायकहरूले स्वागत गर्छन्। उनकी पत्नी साक्षात् देवी लक्ष्मी जस्तै देखिएर खुसीका आँसु झार्दै उनलाई भेट्न आउँछिन्। सुदामाले भगवानको उदारताको प्रशंसा गर्छन्।[६]

कृष्णको उदारता र सुदामासँगको उनको मित्रतालाई अक्षय तृतीया पर्वसँग जोडेर मनाइन्छ।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Khorana, Meena (१९९१), The Indian Subcontinent in Literature for Children and Young Adults: An Annotated Bibliography of English-language Books, Bloomsbury Academic, आइएसबिएन 9780313254895।
- ↑ www.wisdomlib.org (२०१८-०५-०७), "Sudama, Sudāmā: 13 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२२।
- ↑ www.wisdomlib.org (२०१६-०८-१९), "Kucela, Kucelā, Ku-cela: 12 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२२।
- ↑ Dalal, Roshen (२०१४-०४-१८), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin UK, पृ: 1184, आइएसबिएन 978-81-8475-277-9।
- ↑ Pintchman, Tracy (२००५-०८-१८), Guests at God's Wedding: Celebrating Kartik among the Women of Benares (अङ्ग्रेजीमा), State University of New York Press, पृ: 82, आइएसबिएन 978-0-7914-8256-8।
- ↑ Gita Press, Bhagavata Purana Gita Press, पृ: 453–460।
- ↑ Singh, K. V. (२०१५-११-२५), Hindu Rites and Rituals: Origins and Meanings (अङ्ग्रेजीमा), Penguin UK, पृ: 39, आइएसबिएन 978-93-85890-04-8।