हदम्याद
हदम्याद Limitation : आफूलाई मर्का/अन्याय परेको ब्यहोरा सहितको फिरादपत्र, निवेदन पत्र, उजुरी पत्र वा जाहेरी दरखास्त अदालत वा न्यायिक निकाय वा सम्बन्धित निकायमा दायर गर्न कानुन बमोजिम तोकिएको निश्चित समयावधिलाई हदम्याद भनिन्छ। यो विवाद समाधानका लागि वा आफ्नो हक प्रचलन, स्थापना, पुनर्स्थापना गर्नको लागि कानुनद्वारा तोकिएको अवधिभित्र अदालत, न्यायिक निकाय वा अधिकारी समक्ष उपचारका लागि प्रवेश गर्ने समय हो। हदम्यादको सम्बन्धमा व्यक्ति स्वयम् सचेत हुनुपर्छ अन्यथा आफ्नो कानुनी हक गुम्न सक्छ। मर्का पर्ने व्यक्ति समयमै उपचार खोज्न जानुपर्छ। आफ्नो हक, अधिकार प्रति चुप लागेर बस्ने व्यक्तिलाई अदालतले मद्दत गर्न सक्दैन। हदम्याद नाघी प्राप्त हुने फिरादपत्र, निवेदन पत्र, उजुरी वा जाहेरी उपर कानुन बमोजिमको कारबाही गर्न मिल्दैन र खारेज हुन्छ। कानुन बमोजिम उजुर गर्नका लागि तोकिएको अन्तिम अवधि हदम्याद हो। हदम्यादको व्यवस्थाले जुनसुकै विषयमा जहिले सुकै उजुरी गर्न पाउने अनिश्चिततालाई हटाउँछ।