वसन्त (कविता)
वसन्त सिद्धिचरण श्रेष्ठद्वारा वंशस्त छन्दमा रचिएको कविता हो । कवितामा वसन्त ऋतुको महिमा र विशेषता उल्लेख गर्न खोजिएको छ । कवितामा वसन्त ऋतुको सुन्दरता, प्रकृति प्रेमको चित्रण र प्रकृतिलाई सहयोगीको रूपमा वर्णन गरिएको छ ।
समस्त माधुर्य लिएर साथमा
छरेर सौन्दर्य विशाल विश्वमा
बसन्त मेरो हितमा निमग्न भो
अहो!छ कस्तो रस-रागयुक्त यो!
नवीनता नाच्दछ पुष्प-पुञ्जमा
कुहू-कुहू कोकिल बोल्दछ कुञ्जमा
प्रमोदले हृद्तल पार्छ शीतल
वसन्त मेरै हितमा छ तत्पर।
नचाइ चारैतिर पल्लवी द्रुम
बिछाइ नाना थरिका नयाँ तृण
वसन्त मेरो कति गर्छ स्वागत
अहो!अहो!!सुन्दर यो सजावट
(यो कविता वंशस्त छन्दमा छ)