मेन्छयायेम गाउँपालिका
मेन्छयायेम गाउँपालिका, १ नं. प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।
राज्यको पुनर्संरचनाअनुसार स्थानीय तहको नाम स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा नामाकरण गरिएको छ । जसअनुसार यस गाउँपालिकाको नामाकरण लिम्बू धर्म, संस्कृतिका आधारमा नामाकरण गरिएको छ । किम्बदन्तीका अनुसार मेन्छयायेमलाई तीन किसिमले परिभाषित गरिएको छ । तीन किसिमकै परिभाषा मेन्छयायेम डाँडामा आधारित छ । ‘मेन्छया’ अर्थात् ‘तरूनी’ र ‘येप’ अर्थात् ‘उभिएको’ । ‘मेन्छया’ र ‘येप’ को अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको हो । दोस्रोमा यहाँ प्राचीन समयमा ठूलो बजार लाग्ने गर्दथ्यो । जुन बजारमा बोजु (हजुरआमा) र नाति बजार भर्न आएका थिए । यही बजारमा ‘मेन्छया’ अर्थात नाति ‘मये’ हराएको ‘मेन्छयायेप’ भएर अपभ्रंस हुँदै ‘मेन्छयायेम’ रहन गएको भन्ने किम्बदन्ती छ । यस्तै, ताप्लेजुङ्गतर्फका किम्बदन्तीका अनुसार एक ‘तरूनी बुढी बजु’ मेन्छयायेम गुफा फलाक्दै आएर अलप हुने गर्थिन् । ‘मेन्छया’ अर्थात ‘तरूनी’ र ‘येमा’ अर्थात ‘बुढी बजु’ भएर ‘मेन्छयायेमा’ भन्ने किम्बदन्तीको भनाइ छ । जसको अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको हो । मेन्छयायेम डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ, तीन जिल्लाको संगम स्थलमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यही डाँडाको अर्थका आधारमा यहाँको चली आएका धर्मरसंस्कृति र रीतिरिवाज अनुसार मेन्छयायेम रहन गएको हो ।
प्रशासनिक तथा राजनैतिक विभाजन अनुरूप मेन्छयायेमलाई ६ वटा वडामा विभाजन गरिएको छ । वि.सं. २०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या ८०७८ छ । यस गाउँपालिकामा लिम्बू जातिको बाहुल्यता रहेको छ । लिम्बू जातिको अलवा यहाँ ब्राह्मण, क्षेत्री, राई, गुरूङ, भुजेल, शेर्पा, तामाङ, कामी, दमाइलगायत जाति जनजातिको बसोबास तथा छुट्टाछुट्टै भाषा र संस्कृति छ । गाउँपालिका विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जातजाति र भाषा भाषीको संगम स्थल पनि हो । विभिन्न जनजातिहरूको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस गाउँपालिकाले विशिष्ट महत्त्व बोकेको छ ।
भौगोलिक रूपमा दुर्गम भएतापनि भौगोलिक विविधता, प्रशस्त पानीको स्रोत, घना जंगल, चरण क्षेत्र, मलिला बेसीका कारण कृषि, पशु र पर्यटनको प्रशस्त सम्भावना बोकेको मेन्छयायेम गाउँपालिका यिनै सम्भाव्यताको व्यावसायिकीकरण गर्दै समृद्ध हुने सम्भावना रहेको देखिन्छ ।
नेपालको मानचित्रमा मेन्छयायेम गाउँपालिकाको फैलाबट करिव २७०११'१३'' उत्तरी अक्षांश देखी २७०१७'५१'' उत्तरी अक्षांश र ८७०२८'०६'' पूर्वी देशान्तरमा देही ८७०३३'५६'' पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा फेदाप गाउँपालिका, पश्चिममा म्याङलुङ, उत्तरमा ताप्लेजुङको मैवाखोला गाउँपालिका र संखुवासभाको मादी र चैनपुर नगरपालिका तथा दक्षिणमा फेदाप गाउँपालिकासँग सिमाना जोडिएको छ । पहाडी र उच्च पहाडी भू–भागमा फैलिएको यो गाउँपालिका समुन्द्र सतहबाट १,६५२ मिटर (मोराहाङ्ग बजार) देखि २,९०० मिटर (मेन्छयायेम डाँडा) सम्म फैलिएर रहेको छ ।
मेन्छयायेम
Menchhayayem | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | तेह्रथुम जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | यादव वहादुर खापुङ (एमाले) |
• उपाध्यक्ष | गीतादेवी तिम्सीना गौतम (नेपाली काग्रेस) |
• प्रमुख प्रशासकीय अधिकृत | नवदीप राई |
क्षेत्रफल | |
• जम्मा | ७०.०९ किमी२ (२७.०६ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | ८०७८ |
• घनत्व | १२०/किमी२ (३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२६ |
केन्द्र | साविकको मोराहाङ गा वि स को कार्यालय |
वेबसाइट | menchhayayemmun |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "पदाधिकारी", मेन्छयायेम गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।