नेपालको आमसञ्चार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको आमसञ्चार भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ। नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाईन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीच सूचना, विचार, अनुभव,भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ। यसर्थ एकअर्काबीच सूचना, विचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ। सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो। तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो।

सञ्चार भन्ने शब्दमा आम अर्थात अंगे्रजीको कम्युनिकेशनमा मास जोडिएर आमसञ्चार बनेको हो।'आम'को अर्थ धेरै भन्ने हुन्छ। अङ्ग्रेजीको मास शब्दले पनि धेरै वा भीड भन्ने नै जनाउँछ।जहाँ असंख्य मानिसहरू छन् भन्ने अर्थ दिन्छ। तसर्थ आमसञ्चारका साधनहरूले परापूर्वकालदेखि सुरुभएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स आदि जस्ता सबै सञ्चार साधनहरूलाई जनाउँछ। अघिल्लो चरण पहिलेको आमसञ्चार अन्तर्गत पर्‍यो भने त्यसपछिका नयाँ प्रविधिहरू विकसित आमसञ्चारका माध्यम अर्न्तगत पर्दछन्।

एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि जब कुनै माध्यमको सहायताद्वारा कुनै पनि विषयवस्तुलाई सन्देशको रूपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार भनिन्छ। [१] निचोडमा आम सञ्चार भन्नाले अत्यधिक जनसमुदायलाई सञ्चार गराउने प्रक्रिया नै हो। कुनै विचार,भावना,सन्देश वा सूचनालाई सामूहिक रूपमा एउटाबाट अर्कोसम्म पुर्‍याउने काममा आमसञ्चारको प्रयोग भएको हुन्छ।आमसञ्चारको उद्देश्य भनेको कुनै विचार वा सन्देशलाई ती व्यक्तिसम्म पुर्‍याउनु हुन्छ, जसलाई त्यस्तो सूचना आवश्यक हुन्छ र यसबाट सबै व्यक्तिले त्यस्तो जानकारी लिन सक्छन्।

तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो।त्यसपछि मद्रण युगको आरम्भ भयो। लेखन मुद्रणको साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो। परापूर्वकालदेखि आज पनि सार्वजनिक वा महत्त्वका सूचनाहरू सर्बसाधरणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो। आजको पत्रकारिता वैज्ञानिक युगको सामुहिक देन हो। कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ।मुख्य त छापाखानाको विकाससँगै पत्रकारिताको पनि विकास भएको हो।

नेपालमा पत्रकारिता[सम्पादन गर्नुहोस्]

मूल लेख नेपालको पत्रकारिताको इतिहास

विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ। नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो। भारतभन्दा झन्डै तीन सयवर्ष पछाडी मात्र नेपालमा छापाखानाले प्रवेश गरेको हो। भारतमा सन् १५५०मा प्रेसले प्रवेश पायो भने नेपालमा विसं १९०८ (सन् १८५१) तिर जंगबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्यायपछि मात्र विधिवत् रूपले प्रवेश पायो। यसैलाई गिद्धेप्रेस भनिन्छ। गिद्धको जस्तो पँखेटा र सो अंकित लोगो भएकोले गिद्धे प्रेस भनिदै आएको हो। फेरी पनि छापाखाना नभएकै समयमा पनि हस्तलिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ। यसपछिको अर्को छापाखानाको नाम हो “मनोरञ्जन छापाखाना”। गिद्धेप्रेस ल्याएको केही वर्षपछि यो प्रेस ल्याईएको थियो। यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो। साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० ताका सुधासागरको प्रकाशन गर्ने प्रयत्न थाले। यसै बीच उनको १९५२मा निधन भएपनि पण्डित नरराजहरूले १९५५मा सुधासागर प्रकाशित गरे गरे।जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो। यसअघि वि.सं.१९४२ मा“गोर्खा भारत जीवन” नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए। यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यसको विकासक्रम भएको देखिन्छ। यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनु पर्दछ। नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाईन्छ।“सुधासागर”पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका “गोर्खा पत्र” हो। यो सन् १९०१मा प्रकाशित भएको थियो। [२]

पुस्तक[सम्पादन गर्नुहोस्]

मूल लेख नेपालको पुस्तक प्रकाशनको इतिहास

पुस्तक नेपालको सबैभन्दा पुरानो र जेठो आमसञ्चार माध्यम मानिन्छ। नेपाली भाषाको पहिलो पुस्तक कुन थियो भन्ने बारे अहिलेसम्म यकिन हुन सकेको छैन। यद्यपि प्राचीन समयमा हस्तलिखित रूपमा रहेका पुस्तकहरू प्रचलनमा रहेको इतिहासले देखाउँछ। नेपालमा छापिएको पहिलो गैर धार्मिक पुस्तक भनें मुलुकी ऐन थियो। यो १९२९ देखि ३१ सम्ममा छापिएको विश्वास गरिन्छ।

छापाखाना[सम्पादन गर्नुहोस्]

मूल लेख नेपालको छापाखानाको इतिहास

बिक्रम सम्बत १९०८मा जंगबहादुरले बेलायतबाट ल्याएको गिद्दे प्रेस नै नेपालमा पहिलो छापाखाना मानिन्छ। यो छापाखाना धेरै वर्ष पछि मात्र प्रयोगमा आएको थियो । यो छापाखाना स्थापना भएपछि नेपालको मुद्रण क्षेत्रमा क्रान्ति आएको थियो।

पत्रपत्रिका[सम्पादन गर्नुहोस्]

मूल लेख नेपालको पत्रपत्रिकाको इतिहास

नेपाली भाषाको पहिलो पत्रिका भनेर गोर्खा भारत जीवन लाई चिनिन्छ। यो भारतको बनारसबाट बिक्रम सम्बत् १९४५ देखि १९५०को बीचमा प्रकाशित भएको थियो।

नेपालमा पत्रकारिताको इतिहास खोज्दा सबभन्दा पहिले जङ्गबहादुर राणाको बेलायत यात्रा, नेपाली विद्यार्थीको बनारस आकर्षण र गोरखापत्रको स्थापनालाई मुख्य आधारका रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ । कोतपर्व गराएर विसं १९०३ मा प्रधानमन्त्री भएपछि जङ्गबहादुर राणाले सत्ता टिकाइरहन भारतलाई उपनिवेश बनाएर बसेका बेलायतीहरूसँग राम्रो सम्बन्ध विस्तार गरे । प्रधामन्त्री भएको करिब ३ वर्षपछि १९०६ माघ महिनामा उनी शाही राजदूतका रूपमा युरोप भ्रमणमा गएका थिए । झन्डै ४० जना रहेको सो भ्रमण टोलीमा उच्च सैनिक अधिकारी, विभिन्न विद्वान, भान्से, नोकरचाकरसमेत थिए । पटना, कलकत्ता, मद्रास, श्रीलङ्का, स्वेज नहर, इजिप्ट, कायरोको समुद्री मार्ग हुँदै करिब पाँच महिनापछि १९०७ जेठमा सो टोली बेलायतको साउथ ह्याम्टन पुगेको पुगेको थियो । भ्रमणका क्रममा सो टोलीले बेलयातको शासन प्रणाली, सैन्य संरचना, कारागार व्यवस्था, शिक्षा प्रणाली, छापाखाना तथा पत्रपत्रिकालगायतका आधुनिक विकासका महत्त्वपूर्ण पक्षको अध्ययन गरी दुइ बर्षपछि नेपाल आइपुगेको थियो । विसं १९०८ मा नेपाल फर्किँदा भ्रमण टोलीले युरोपका ज्ञान, सीप र प्रविधिसमेत नेपालमा ल्याए । सो क्रममा जङ्गबहादुरले ‘गिद्धे प्रेस’ नामको छापाखाना पनि साथमै लिएर आए । जङ्गबहादुरले नेपाल भित्र्याएको ‘गिद्धे प्रेस’बाट नै नेपालमा छापाखानाको सुरुवात भएको देखिन्छ । करिब ५० वर्षसम्म यो प्रेसबाट हुलाकपत्र, लिफा, टिकट, सरकारी कागजपत्र मात्र छापिए ।

गिद्धे प्रेस भित्रिएको करिब ११ वर्षपछि मनोरञ्जन छापाखाना स्थापना भयो । त्यसपछि ‘जङ्गी लिथोग्राफी छापाखाना’ सञ्चालनमा आयो । अनि हातेप्रेस, बुद्ध प्रेस हुँदै धेरैवटा छापाखाना नेपालमा स्थापना भएको इतिहास ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा अध्ययन गर्न पाइन्छ ।

जङ्गबहादुर बेलायत, फ्रान्सलगायत युरोप भ्रमण गर्दा त्यहाँका शैक्षिक तथा पत्रपत्रिकाको अवस्थाबारे जानकार थिए । किनभने युरोपमा सन् १६०५–१० देखि नै नियमित अखबारहरू प्रकाशित हुँदै आएको इतिहास भेटिन्छ । सन् १७०२ मार्चमा ‘डेली कुरान्ट’ नामको पहिलो अङ्ग्रेजी भाषाको अखबार लन्डनबाटै प्रकाशन सुरु भइसकेको थियो ।

त्यस परिवेशले पनि जङ्गबहादुरमा नेपाली अखबार, पत्रिकाहरू प्रकाशन गर्न चाहन्थे कि ? तर तत्कालीन समयमा नेपालमा शिक्षित जनशक्तिको अभावले वा अन्य के कारणले हो उनको शासनकालमा नेपालमा पत्रपत्रिका प्रकाशन भएनन् ।  

बनारसमा जन्मियो नेपाली भाषाको पहिलो पत्रिका

जङ्गबहादुरले नेपालमा पश्चिमी शिक्षा भित्र्याए पनि सर्वसाधारणका लागि खुला थिएन । अध्ययनमा रुचि राख्ने सर्वसाधारण अभिभाकले आफ्ना छोराछोरीलाई उच्च शिक्षाका लागि बनारस पठाउँथे । बनारस नेपलीहरूका उच्च शिक्षा अध्ययनको मुख्य थलो थियो । विसं १९२३ भदौ २५ गते काठमाडौँको भोसिको टोलमा जन्मिएका मोतीराम भट्ट पनि अध्ययनका सिलसिलामा बनारस पुगेका थिए । त्यहाँ विभिन्न साहित्यिक सिर्जना र मोती मण्डली नै गठन गरी नेपाली भाषासाहित्यको उन्नयनमा लागेका थिए । उनले नेपाली भाषामा लेख्ने साहित्यकारहरूको खोजीनिती पनि गरे । त्यस क्रममा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र, उनले लेखेका रामायणका विभिन्न काण्डहरूसमेत प्रकाशन गरे ।

साहित्यकार टुकराज मिश्रका अनुसार बनारसमा मोतीराम अङ्ग्रेजी भाषा पढ्दापढ्दै ‘भारत जीवन प्रेस’का म्यानेजरसमेत बनेका थिए । यसले पनि उनमा नेपाली भाषाका साहित्यिक सामग्री प्रकाशन गर्न सहज भएको थियो । त्यही क्रममा उनले ‘गोरखा भारत जीवन’ नामक नेपाली पत्रिका प्रकाशन गरी त्यो पत्रिकाको सम्पादक बनेका थिए ।

यसरी विदेश (भारतको बनारस)मै भए पनि नेपाली भाषामा पहिलो पटक प्रकाशित भएको पत्रिका ‘गोरखा भारत जीवन’ इतिहासमा लेखिन गयो । मासिक रूपमा प्रकाशित हुने यो पत्रिका मोतीराम भट्टले बनारसबाट प्रकाशन गरेको कुरा ग्रीष्मबहादुर देवकोटाले विस्तृत रूपमा प्रकाश पारेका छन् । ‘विदेशबाट सबैभन्दा अगाडि श्री बाबु रामकृष्ण वर्माको सम्पादनमा श्री मोतीराम भट्टद्वारा ‘गोर्खा भारता जीवन’ नामक नेपाली भाषाको मासिक पत्रिका निस्कियो । यो पत्रिकाको अभिलेख भने प्राप्त हुन सकेको छैन । तर बनारसको भारत जीवन प्रेसबाट छापी निस्कने गरेको कुरा सन् १८९५ मा प्रकाशित ‘गोर्खा हास्य मञ्जरी’ नामक कभर पुस्तकको विज्ञापनबाट थाहा हुन आएको छ,’ देवकोटाले उल्लेख गरेका छन्, ‘सो विज्ञापनमा भनिएको छ, ‘नेपाली भाषामा बाबु रामकृष्ण वर्मा सम्पादक गोर्खा भारत जीवनले अनेक तरहका हाँसी दिल्लगी औ चतुर्याइँका कुरा सङ्ग्रह गरी आफ्नो निज यन्त्रालयमा छापी प्रकाशन गरे ।’

मोतीरामले गोरखा भारत जीवन प्रकाशन गर्दा नेपालमा वीर शमशेर प्रधानमन्त्री थिए । बनारसबाट मोतीरामले पत्रिका प्रकाशन गरेकोमा वीर शमशेरलाई राम्रो लागेको थिएन भन्ने अनुमान गरिन्छ । ‘बनारसबाट गोरखा भारत जीवन प्रकाशित हुँदा नेपालका हर्ताकर्ता वीर शमशेरको मनमा कस्तो पर्यो होला,’ साहित्यकार टुकराज मिश्रले गोरखापत्र शतवार्षिकी स्मारिकामा लेखेका छन्, ‘वीर शमशेर बाँचुञ्जेलसम्म नेपाली भाषाको समाचारपत्र नेपालबाट ननिस्कनु, उनको स्वर्गारोहण हुनासाथ निस्कनु यो झन् विचारणीय कुरा छ ।’

पत्रिका प्रकाशन गर्दा नेपालका शासकहरुको निरङ्कुश प्रवृत्ति छताछुल्ल हुन्छ भन्ने डरले हुन सक्छ मोतीरामको यो कार्यलाई वीर शमशेरले राम्रो दृष्टिले हेरेका थिएनन् भन्ने देखाउँछ । तर ‘जङ्गबहादुरभन्दा कलमबहादुर बलियो हुन्छ’ भन्ने जङ्गबहादुरकै कथन वीर शमशेरले सम्झिएका थिए । आफ्ना कर्तुत पत्रिकामार्फत सबै पर्दाफास हुने डरले उनले पण्डित लोकराज पाण्डेमार्फत मोतीरामलाई काठमाडौँ झिकाएका थिए । किनकि बनारसमा भन्दा काठमाडौँमा हुँदा मोतीरामले गर्नेका कार्यहरूको निगरानी गर्न वीर शमशेरलाई सहज हुन्थ्यो ।

बनारस रहँदा गरेका सबै साहित्यिक गतिविधि मोतीराम भट्टले काठमाडौँ आएर पनि गरे । तर पत्रिका प्रकाशन गर्न भने सकेनन् ।

गोर्खापत्र

बनारसमा मोतीरामले नेपाली भाषाको पत्रिका ‘गोरखा भारत जीवन’ प्रकाशन गरेको विषयले नेपालमा निकै चर्चा पायो । नेपालमा प्रशासनको बागडोर सम्हालेर बसेका तत्कालीन प्रधानमन्त्री वीर शमशेरले त्यो इतिहास रच्न नचाहेको कुरा टुकराज मिश्रले पनि उल्लेख गरेका ।

बनारसमा पहिलो नेपाली भाषाको पत्रिका प्रकाशन भएको करिब १३ वर्षपछि १९५५ मा सुधासागर साहित्यिक पत्रिका प्रकाशन भयो । यो समाचारमूलक नभए पनि नेपालभित्र छापिएको नेपाली भाषाको पहिलो पत्रिका भनेर इतिहासमा दरिन पुग्यो । ‘नेपालमै छापी निस्केका पत्रिकाहरूमध्ये सबैभन्दा अगाडि नेपाली पत्रिकाको जेठो बिरुवा संवत् १९५५ सालको श्रवण महिनामा उम्रियो, यसको नाम सुधासागर थियो र महिना महिनामा निस्कने गर्दथ्यो,’ ग्रीष्मबहादुर देवकोटाले नेपालमा छापाखाना र पत्रपत्रिकाको इतिहासमा लेखेका छन् ।

सुधासागर मासिक पत्रिका निस्केको करिब २ वर्ष १० महिनापछि १९५८ वैशाख २४ गते समाचारमूलक पत्रिका गोर्खापत्र प्रकाशन सुरु भएको थियो । यो नै नेपालभित्र छापिएको प्रथम समाचारमूलक पत्रिका हुन पुग्यो ।

संयोग कस्तो भने मोतीराम र वीर शमशेरको देहान्तपछि मात्र, वीर शमशेरका उत्तराधिकारी देव शमशेरको शासनकालमा नेपालमा पहिलो समाचार पत्रिका प्रकाशित भयो। र मोतीरामले बनारसमा प्रकाशन गरेको ‘गोरखा भारत जीवन’ नामबाट 'भारत जीवन' हटाएर गोरखापत्र प्रकाशित भएको कुरा मिश्रले लेखेका छन् । मिश्रले देव शमशेर र मोतीरामको गुप्त सम्बन्ध भएको कुरासमेत उल्लेख गरेका छन् ।

विसं १९५७ फागुन २३ गते वीर शमशेरको देहान्त भएको ठ्याक्कै २ महिनापछि अर्थात् विसं १९५८ वैशाख २४ गते देव शमशेरले गोर्खापत्र प्रकाशनको सुरुवात गरेका थिए ।

प्रकाशन गर्ने निर्णय गरेर मात्र पत्रिका प्रकाशनको सम्भावना थिएन । त्यसका लागि देव शमशेरले सनद नै जारी गरेका थिए । सो सनदमा पत्रिकाको सङ्ख्या, सम्पादक तथा कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन, विज्ञपनको व्यवस्थापन तथा प्रेसहरूको व्यवस्थापन गर्ने आधारहरू समेत उल्लेख थियो ।

तत्कालीन प्रधानमन्त्री देव शमशेरले गोर्खापत्र प्रकाशन गर्न नारायण प्रेससमेत गाभेर नरदेव मातीकृष्ण शर्माद्वारा स्थापित श्री पशुपत प्रेस ठँहिटीमा छाप्ने व्यवस्था मिलाए । सो पत्रिका साप्ताहिक रूपमा प्रकाशन गर्ने तयारी थियो । ‘यिनै व्यवस्था र सहयोगका आधारमा श्री नरदेव मातीकृष्ण शर्माद्वारा श्री पशुपत प्रेस (ठँहिटी अढात, नेपाल)मा छापी नेपाली भाषाको साप्ताहिक पत्रिका ‘गोरखापत्र’ १९५८ साल ज्येष्ठ बादी ३ सोमबारका दिन नेपालीहरूको सामुन्ने निस्कियो,’ ग्रीष्मबहादुर देवकोटाले उल्लेख गरेका छन् ।

पहिलो पटक गोर्खापत्र छापिएको पशुपत प्रेस मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ स्थापना गरेको कम्पनीअन्तर्गत स्थापना भएको थियो । विसं १९५० आषाढ शुक्ल पूर्णिमाको दिन स्थापना भएको निजी क्षेत्रबाट खोलिएको पहिलो छापाखाना थियो ।

१९५८ वैशाख २४ गते नेपालमा पहिलो पटक समाचारमूलक पत्रिका प्रकाशन भयो । देव शमशेर सत्ताच्यूत भएपछि केही समय यो पत्रिका बन्द भएको थियो तर चन्द्र शमशेरले त्यसको महत्त्व बुझेर यसलाई पुनः प्रकाशन गरेको इतिहास पाइन्छ ।

जे होस् गोर्खापत्रको प्रकाशन सरकारी प्रयासबाट नै भएको थियो । टुकराज मिश्र भन्छन्, ‘तर समाचारपत्र प्रकाशन गराउन सर्वप्रथम चेतना दिने युवक कवि मोतीराम भट्ट हुन् ।’ यसले निरङ्कुश राणा शासनकालमा ज्ञानको प्रकाश छर्ने धिपधिपे दियोको काम मात्र गरे पनि धेरै पाठकको मन तानेको थियो ।

मिश्र भन्छन्, ‘पहिले गोर्खापत्र जम्यो पं. नरदेव पाण्डेको निवास फसिकेवमा, त्यसपछि बझाङी राजा जयपृथ्वीबहादुर सिंहको निवास नक्साल नारायण चौरदेखि पश्चिम धेरै समयसम्म रह्यो । जय पृथ्वीबहादुर सिंह चन्द्र शमशेरका विश्वसका पात्र थिए । त्यसो हुनाले गोर्खापत्रको व्यवस्थापनको जिम्मा पाण्डेबाट खोसेर जयपृथ्वीबहादुरलाई दिएका थिए ।’

प्रकाशनको सुरुमा हरेक हप्ता हजार प्रति छाप्ने निर्णय भएको र आम नागरिकलाई ग्राहक बन्नका लागि विज्ञापन पनि छापेको देखिन्छ । एक प्रतिको २ आना मूल्य राखिएको यसको वार्षिक ग्राहक मूल्य चाहिँ ४ रुपियाँ निर्धारण गरिएको थियो । नेपाल र नेपालीकै गर्वका रुपमा प्रकाशित यो पत्रिकाको धेरै नागरिक ग्राहक बने । त्यतिबेला गोर्खापत्रको रवाफ मात्र होइन, धनाढ्य र शिक्षितहरूका लागि यो प्रतिष्ठाको विषय थियो ।

१९५८ मा गोर्खापत्र प्रकाशन हुँदा प्रथम पृष्ठमा एडिटर्को राय भनी सम्पादकीय प्रकाशन भएको देखिन्छ । तर एडिटर अर्थात् प्रथम सम्पादक को थियो भन्ने तथ्य अहिलेसम्म थाहा हुन सकेको छैन । प्रथम व्यवस्थापक पं. नरदेव पाण्डे भएको हुनाले कतिपयले उनैलाई सम्पादक मान्नुपर्ने तर्क राख्छन् । विसं १९९१ देखि मात्र गोरखापत्रले सम्पादकको नाम लेख्न सुरु गरेको देखिन्छ । १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलो पटक ‘सम्पादक प्रेमराज’ भनी छापिएको छ । २०१२ भदौ ३० गतेदेखि बालकृष्ण सम प्रधान सम्पादक भनी नाम छापिन सुरु भयो ।

गोर्खापत्र/गोरखापत्रको क्रमिक विकास

विसं १९५८ वैशाख २४ गते मास्टहेडमा यसको नाम गोर्खापत्र भनी छापिएको थियो । पछि १९८३ जेठ ४ गतेदेखि गोरखापत्र भई प्रकाशन भयो । त्यो क्रम २०५९ सम्म कायम रह्यो । ज्ञानेन्द्रको शासनकालमा पुनः गोर्खापत्र भई प्रकाशन भयो । यसपछि २०६३ वैशाख १८ गतेदेखि फेरि गोरखापत्रमा परिवर्तन भई निरन्तर प्रकाशित छ ।

गोरखापत्रले १९८४ वैशाख १३ गते प्रथम तस्बिर छापेको थियो । फोटोपत्रकारिता दिवसका दिन यो तस्बिर चर्चामा आउने गर्छ । यसमा वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको तस्बिर छ । यसैगरी गोरखापत्रले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको ‘स्टप दी प्रेस’को समाचार प्रकाशन गरेको थियो ।

दैनिक, सहायक तथा बहुभाषा प्रकाशनको सुरुवात

साप्ताहिक रूपमा सोमबार प्रकाशित हुने गोरखापत्र १९९१ वैशाख ९ देखि शुक्रबार प्रकाशित हुन थाल्यो । २००० असोज २९ गतेदेखि मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशन हुन थाल्यो । त्यसपछि २००३ पुस ३ देखि हप्ताको तीन पटक प्रकाशित भयो भने २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुन थाल्यो । २०१९ असार ९ गतेदेखि शनिवारीय परिशिष्टाङ्क प्रकाशन सुरु भयो ।

गोरखापत्र ऐन २०१९ सालदेखि सञ्चालित भई २०२० असार २५ देखि गोरखापत्र संस्थानका रूपमा परिणत भएको हो ।

विसं २०२२ पुस १ गतेदेखि वरुण शमशेर जबराको सम्पादकत्वमा यसको अङ्ग्रेजी संस्करण दी राइजिङ नेपाल प्रकाशन सुरु भयो । आम नेपाली साहित्यिक सर्जक र पाठकलाई मध्यनजर गरी २०२५ जेठदेखि मधुपर्क साहित्यिक मासिक प्रकाशन सुरु गरेको थियो । यसैगरी २०४५ असारदेखि आम युवा पाठकलाई विचार, विज्ञान प्रविधि, खोज र जिज्ञासाको खुराक दिन युवामञ्च मासिक प्रकाशन सुरु भयो । यसैगरी २०४७ साल पुसबाट बालबालिकाका लागि ‘मुना’ मासिकको प्रकाशन सुरु भएको हो ।

गोरखापत्रले २०६२/६३ को परिवर्तन पश्चात राष्ट्रभाषामा पनि समाचार तथा साहित्यिक सामग्री प्रकाशन गर्दै आएको छ । ओम शर्मा गोरखापत्रको कार्यकारी अध्यक्ष भएको बेला, विसं २०६४ असोज १ गतेबाट राष्ट्र भाषामा प्रकाशन सुरु गरेको गोरखापत्रले हाल ३८ भाषामा सामग्री प्रकाशन गर्दै आएको छ ।  

विसंं १९५८ बाट थालेको यात्रा गोरखापत्रले राणा शासनको युग, प्रजातन्त्रको युग, फेरि निर्दलीय पञ्चायती व्यवस्थाको युग, पुनः प्रजातन्त्रको युग हुँदै गणतन्त्रको युगको पनि करिब १७ वर्ष पूरा गरेको छ । यी हरेक युगका शासन सत्ताको अभिलेख गरेको छ । नेपालको शासन प्रणालीको मात्र नभई भाषा, साहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पनि गरेको छ ।

इतिहासको एक साक्षी बनेर विभिन्न आरोह–अवरोह खेप्दै १२४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर नेपालले आफ्नै पत्रकारिता दिवस मनाउन थालेको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार २०७४ वैशाख २४ गते पहिलो पटक पत्रकारिता दिवस मनाइएको थियो ।

रेडियो[सम्पादन गर्नुहोस्]

मूल लेख नेपालको रेडियोको इतिहास

नेपालको इतिहासमा रेडियोले आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको पाइन्छ। विक्रम सम्बत २००७को क्रान्तिका कालमा नारदमुनी थुलुङको नेतृत्त्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रसारण भएको थियो। पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालन भएको थियो। तारिणीप्रसाद कोइरालाले नेतृत्त्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रूपमा प्रचार गरेको थियो। प्रजातन्त्रको स्थापना पश्चात २००७ चैत्रमा त्यही उपकरण ल्याएर काठमाडौँबाट नेपाल रेडियोको स्थापना गरिएको थियो। जुन अहिले सरकारी सञ्चार माध्यम रेडियो नेपालको रूपमा सञ्चालित छ। सुरूमा सर्ट वेभमा प्रसारण सुरू गरेको रेडियो नेपालले अहिले मिडियम वेभ र एफ एमबाट प्रसारण गर्ने गर्दछ। त्यस बाहेक देशभर करिव ३०० वटा एफ एम रेडियो स्टेशनहरू सञ्चालनमा रहेका छन्।

अङ्ग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिएपछि १९८४ को साउन ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण शुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रवेशको थालनी भएको थियाे । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा हल्याण्डबाट उत्पादित फिलिप्सका रेडियोहरू बेलायतबाट नेपालमा प्रवेश भयो । त्यसबेला रेडियो हुनु भनेको धनाड्य हुनुको प्रतीक थियो । अझ रेडियो सेट बजाउन घरमा एन्टेना ठड्याउनुपर्ने हुँदा रेडियो लुकाएर सुन्न मिल्दैनथ्यो । तसर्थ, रेडियो सेट राख्न राणा सरकारसँग अनुमति लिनु पर्दथ्यो । अनुमति नलिइ रेडियो सुनेमा जेल सजायसमेत हुन्थ्यो । मदनमणि दीक्षितले उल्लेख गरेअनुसार वि.सं. १९८६ मा देवमणि दीक्षितले बेलायतबाट मगाएको रेडियो नेपालकै सातौँ रेडियो थियो । दोश्रो विश्वयुद्धताका बेलायतमा रेडियो कमी भएपछि अमेरिकाबाट उत्पादित फिलिप्सकै Philco ब्रान्डका रेडियोहरू भित्रिन थालेको थियो ।

१९९२/९३ मा जुद्धशम्शेरले इलेक्ट्रिक इञ्जिनियर काशिराज पाण्डेलाई विदेशी रेडियो सुनेर समाचारको सँगालो ‘द न्यूज रिल’ तैयार गराइ राणा-दरबारमा उपलब्ध गराउन लगाएका थिए । यसरी रेडियोका समाचारलाई अप्रत्यक्ष रूपमा प्रसार गर्न थालिएको थियो । यो नै नेपालमा रेडियोको महत्वको शुरूवात थियो । यसरी जनतालाई रेडियो सुन्ने बनाउने राणा सरकार दोश्रो विश्वयुद्धको समयमा अङ्ग्रेजविरूद्धको समाचारले चर्चा पाउँदा जनतालाई रेडियो सुन्न बन्देज लगाउन पुग्यो । १९९८ को दशैँअगाडि जुद्धशम्शेरले देश (काठमाडौं) मा भएका सम्पूर्ण रेडियो सेट जफत गराउँदा यसको सङ्ख्या ४०० वटा थियो ।

कमलमणि दीक्षितले आफ्नो पुस्तक ‘बिर्सेको सम्झेको’मा रेडियोसम्बन्धी आफ्नो अनुभव नै लेखेका छन् । ‘१९९५ मा ठूलो घर अर्थात ठूलो कान्छा बुबाकोमा रेडियो सुन्न उहाँ पुल्चोकदेखि गैरीधारा हिँडेर पुग्नुहुन्थ्यो । विश्व युद्धको समाप्तिपछि सबैले रेडियो फिर्ता पाए । साथमा कमलमणिको बाबाले पनि रेडियो राख्ने अनुमति पाउनुभयो । त्यसपछि घरमै रेडियो सुन्न पाउनुभयो । तर पछि पद्मशम्शेरको समयमा बिजुली अड्डाबाट प्रसारित रेडियो भने वहाँ वनारसमा पढ्न जानुभएकोले सुन्न पाउनुभएन ।

जुद्धशम्शेरले जफत गराएका रेडियो सेटलाई विश्वयुद्धको समाप्तिपछि फिर्ता गरिदिए । यसपछि प्रधानमन्त्री बनेका पद्मशम्शेरले रेडियो राख्न फुकुवा गरिदिए । साथै काठमाडौंमा नै रेडियो प्रसारणको शुरूवात गराए । समाचार सङ्कलनको कार्यमा शुरूमा राखिएका काशिराज पाण्डेले २००३ माघ १४ गते देखि दिउँसो १ बजेबाट १ः३० सम्म बागबजार बिजुली अड्डाबाट नेपाल ब्रोडकास्टिङ नामबाट रेडियो प्रसारणको आरम्भ गरेका थिए । दोश्रो विश्वयुद्धबाट फर्केका सैनिकले बोकेर ल्याएका वायरलेससेटबाट रेडियो प्रसारण गरेका थिए । ठूला-ठूला लाउड स्पिकरबाट रामायणका श्लोकहरू बजाएर रेडियो प्रसारणको आरम्भ गरिएको थियो । पछि यो प्रसारण काठमाडौं उपत्यकाबाहिर पनि सुनिएको समाचार छापिएको थियो । यो रेडियो प्रसारणको समय बिस्तारै १०ः०० देखि ३ः०० बजेसम्म बनाइएको थियो ।

पहिलो रेडियो प्रस्तोता :

२००३ माघ १४ गते प्रसारण आरम्भ भएको नेपाल ब्रोडकास्टिङमा काशीराज पाण्डेले प्रसारण आरम्भ गरी नेपालको पहिलो रेडियो उद्घोषक बनेका थिए । उनका साथमा अर्का उद्घोषक त्यतिबेलाका गोरखापत्रका सम्पादक प्रेमराज शर्मा थिए । नेपाल ब्रोडकास्टिङबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविता बाचन गरेका थिए ।

पहिलो प्रत्यक्ष प्रसारण :

पहिलो पटक राणा प्रधानमन्त्री पद्मशम्शेरको विशालनगर दरबारमा भएको भाषणलाई रेडियोबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । ठूला-ठूला स्पिकर जोडिएकाले नजिकका सबैले राम्ररी सुन्न पाए साथमा रेडियोबाट पनि प्रसारण जोडिएकोले चार भञ्ज्याङभित्र सबैले सो भाषण सुन्ने अवसर पाएका थिए । यसरी शुभारम्भ भएको रेडियो प्रसारण पद्मशम्शेरको पतनसँगै २००४ को अन्तमा बन्द भयो । मोहनशम्शेरले ब्यवस्थित रूपमा रेडियो शुभारम्भ गर्ने उद्देश्यले ट्रान्समिटरहरू झिकाएका थिए तर सो सामग्री २०१३ मा मात्र काठमाडौं आइपुग्यो ।

पोखरामा रेडियो :

बडाहाकिम धनशम्शेरले पोखरामा २००४ साल तिर रेडियो ल्याइसके पनि रेडियो सुन्न सक्नुभयो या भएन भन्ने यकिन हुन सकिएन । तर २००५ मंसिर १८ मा कलकत्ताबाट प्रसारण हुने गोर्खाली प्रोग्राममा महात्मा गान्धीको हत्यासम्बन्धी समाचार सुन्न साहु महाजन तथा सर्वसाधारणलाई आफ्नो मोहरिया टोलस्थित सेतो दरबारमा बोलाएका थिए । पोखरेलीले पहिलो पटक रेडियो सुनेको यही नै हो । यसपछि पोखराका अर्का साहु चन्द्रबहादुर भारीले राणा बडाहाकिम भन्दा म के कम भन्दै कानपुरबाट रेडियो बोकेर आएका थिए । यसरी पोखरामा रेडियोको प्रवेश भयो । यसपछि श्यामसाहू (कर्माचार्य) ले पनि रेडियो ल्याए । २००७ सालको आन्दोलनको समयमा पोखरामा रेडियोको सङ्ख्या निकै बढिसकेको थियो । क्रान्तिको समाचार सुन्न मानिसहरू रेडियो भएको घरमा जम्मा हुने गर्दथे । २०१३ सालतिर त पङ्क्तिकारकै बुबाले पनि रेडियो ल्याइसक्नुभएको थियो । त्यति मात्र नभएर उहाँले रेडियो मर्मत गर्न पनि सिकिसकेका थिए ।

२००५ को साउन १८ गते मोहनशम्शेरको समयमा पनि मोहन आकाशवाणीबाट केही सामग्री प्रसारण गरी आकाशवाणीबाट पनि रेडियो प्रसारण गर्न सकिने सफलता हासिल भएको थियो । यसरी नै २००७ मा राणाविरोधी प्रचारको लागि उपयोग गर्दै २००७ मंसिर २५ देखि माघ १९ गतेसम्म भोजपुरमा नारदमुनि थुलुङले ग्रीसबाट लिएर आएको आकाशवाणीका सामग्रीबाट जयन्द्रबहादुर थपलियाले रेडियो उद्घोषणको थालनी गरेका थिए । यस कार्यका लागि नारदमुनि थुलुङले टेक्निकल सहयोग गरेका थिए । नारदमुनि थुलुङ जो भारतीय सेनाको गोरखा राइफलमा भर्ती भइ दोश्रो विश्वयुद्धमा ग्रीस पुगेका थिए । युद्धको समाप्तिपछि उनले ग्रीस रेडियोबाट विश्वमा शान्तिको आवश्यकता र अपरिहार्यताका बारेमा बोलेका थिए । उनको यही अनुभवले नै भोजपुरबाट ‘स्वतन्त्र नेपाल रेडियो’ उद्घोषणको शुभारम्भ भएको थियो । बिहान-साँझ दुई पटक क्रान्तिकारी समाचार प्रसारण गर्ने गरेकोमा एक दिन अचानक समाचारमा जयन्दबहादुर थपलियाले धनकुटा आक्रमण गर्ने समय र स्थान नै समाचारमा पढिदिएपछि राणापक्षीय सैनिकले पाख्रीबासमा सात जना भोजपुरे योद्धालाई हत्या गरिदिए । यसपछि सो ट्रान्समिटरलाई रातारात विराटनगरस्थित रघुपति जुटमिलमा लगिएको थियो । जहाँबाट तारिणीप्रसाद कोइरालाले नेपाल प्रजातन्त्र रेडियो नामबाट २००७ माघ २० गते दिउँसो २ बजे ‘यो प्रजातन्त्र रेडियो हो, हामी मुक्ति सङ्ग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौँ’ भन्ने शबदबाट उद्घोषण थालेका थिए ।

विराटनगरबाट नियमित प्रसारण हुन थालेपछि काठमाडौंमा समेत यसको प्रभाव पर्न थालेको थियो । जसले गर्दा मोहनशम्शेरले बिजुली अड्डाबाट साँझ सात बजेदेखि साढे सातसम्म भजन तथा समाचार प्रसारित गरेका थिए । देशमा प्रजातन्त्रको लहर चलेको समय केही समय जुट मिलबाट पनि प्रसारण बन्द भयो । केही समय अन्यत्रबाट प्रसारण भए पनि नियमित हुन सकेन । प्रजातन्त्र आएपछि पुनः नियमित प्रसारणको थालनी भयो । रेडियो स्टेसन राजधानी ल्याउने सहमतिपछि मोहन आकाशवाणी रहेको सिंहदरबारको भवनबाट मोहन आकाशवाणीकै पुरानो ट्रान्समिटरबाट ४१ मिटर शर्टवेभमा नेपाल प्रजातन्त्र रेडियो आरम्भ भयो । पछि भारतीय प्रसारण संस्था आकाशवाणी रेडियोको सहयोगले प्रसारण क्षमतामा वृद्धि भयो । २००७ चैत्र २० गते प्रजातन्त्र नेपाल रेडियोको नियमित प्रसारण आरम्भ भयो । पहिलो दिन बिहान ८ बजे ‘यो प्रजातन्त्र नेपाल रेडियो हो’ भन्ने वाक्यसहित रश्मी राज्यलक्ष्मीले कार्यक्रम शुभारम्भ गरे । तारिणीप्रसाद कोइराला रेडियो नेपालको प्रथम कार्यकारी प्रमुख नियुक्त भएका थिए, यसैले बाँकी कार्यक्रम तारिणीप्रसाद कोइरालाले सञ्चालन गरे ।

यसरी शुभारम्भ भएको ‘प्रजातन्त्र नेपाल रेडियो’को नामपछि ‘नेपाल रेडियो’ हुँदै ‘रेडियो नेपाल’ भयो, जुन नाम हालसम्म नै कायम रहेको छ । पहिलो दिन मात्र एक घण्टा प्रसारण भएको रेडियो प्रसारण समय बढाउँदै लैजाने क्रममा अचेल २४ घण्टा नै प्रसारण हुनुको साथै पाँचै विकास क्षेत्रबाट पनि प्रसारणको थालनी भइसकेको छ ।

तारिणीप्रसाद कोइरालाले केवल ९ महिना स्टेसन डाइरेक्टरको रूपमा सेवा गर्नुभएको थियो । २००८ पुसमा वहाँलाई पदबाट बर्खास्त गरिएको थियो । तर नेपालमा रेडियोको इतिहास लेखिँदा तारिणीप्रसादलाई उचाइमा पुऱ्याइन्छ । जबकि काशिराज पाण्डे तथा नारदमुनि थुलुङको चर्चा नै गरिँदैन ।

एफएमको प्रवेश :[सम्पादन गर्नुहोस्]

संसारमा पहिलो एफएम सञ्चालन भएको ४५ वर्षपछि नेपालमा पहिलो पटक २०५२ कार्तिक ३० मा रेडियो नेपालले एफएम सञ्चालन गरेको थियो भने निजी स्तरमा २०५२ चैत्र २० गते रेडियो सगरमाथाले एफएम प्रसारणको परीक्षण गरेको थियो । त्यसको २ वर्षपछि २०५४ जेठ ९ गते आधिकारिक रूपमा सरकारको अनुमतिमा नेपालको पहिलो एफएम स्टेसनको रूपमा प्रसारणको आरम्भ गर्न थाल्यो । एफएमबाट पहिलो पटक सरकारी एकाधिकार तोड्दै घमराज लुइँटेलको आवाजमा ‘नमस्कार एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा तथा विज्ञापनरहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो’ भन्दै प्रसारण आरम्भ गरेका थिए । आज सञ्चार मन्त्रालयबाट अनुमति लिएका एफएमको सङ्ख्या ९६२ पुगिसकेको छ । यसमध्ये कति सञ्चालित छन् भन्ने यकिन तथ्याङ्क प्राप्त हुन नसके पनि यसले आमसञ्चारमा रेडियोको भूमिका प्रशस्त बढेको स्पष्ट देख्न सक्छौँ ।

[३]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

मूल लेख नेपालको टेलिभिजनको इतिहास

समाचार एजेन्सी[सम्पादन गर्नुहोस्]

मूल लेख राष्ट्रिय समाचार समिति

यसरी जन्मियो राष्ट्रिय समाचार समिति

नेपालमा पनि एजेन्सी पत्रकारिताले साढे दशकको इतिहास बनाइसकेको छ । विसं २०१६ मा स्थापित नेपाल संवाद समिति (नेसस) बाट नेपालमा समाचार समिति पत्रकारिताको इतिहास प्रारम्भ भएको पाइन्छ । यसको आवश्यकताको महसुस भने २०१५ सालमा गठित शाही प्रेस आयोगले गरेको थियो । नेससलाई पछ्याउँदै २०१६ सालमा सगरमाथा संवाद समिति (ससस) पनि अस्तित्वमा आयो । यसैबीच २०१७ सालको राजनीतिक परिवर्तनबाट देशका सबैजसो क्षेत्रमा केही सकारात्मक, केही नकारात्मक परिवर्तन आए आमसञ्चारका क्षेत्रमा आएको एक सकारात्मक परिवर्तनको रुपमा नेसस र सससलाई गाभेर २०१८ सालमा राष्ट्रिय संवाद समिति (रासस) को स्थापना गर्नुलाई लिन सकिन्छ । कमजोर आर्थिक धरातलमा धर्मराएर निजी प्रयासबाट चलिरहेका दुई समाचार एजेन्सीलाई गाभेर भरपर्दो सरकारी संस्थागत आधारसहितको रासस स्थापना गर्नु एक समयसापेक्ष कदम थियो भन्ने कुरा राससको छ दशकको अविराम यात्राबाट पुष्टि हुन्छ । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ । उहाँको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्छ । राससले हाल मुलुकको सङ्घीय संरचनाअनुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । वाग्मती र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा राससका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय भवन छन् । फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेस स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसाल्नुभएको थियो । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ ।

नेपालमा सबभन्दा पहिले गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, मदन शर्मा, इन्द्रकान्त मिश्र, उमाकान्त दास, गणेश मानन्धर, रामसिंह राजपूत आदिको प्रयासले २०१६ पुस १ गते ‘नेपाल संवाद समिति’ खडा भयो । यस संवाद समितिले नेपाली पत्रपत्रिकालाई मासिक ५० रुपियाँ तथा विदेशी पत्रपत्रिकाका निम्ति वार्षिक भारु १०० मा समाचार दिने गरेको थियो ।

त्यसपछि पशुपति पाण्डे, मणिन्द्रराज श्रेष्ठ, शङ्करनाथ शर्मा आदिद्वारा २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति नामक एउटा अर्को संवाद समिति खोलियो । स्वदेशी पत्रपत्रिकाका निम्ति नेपाल संवाद समितिले भन्दा मासिक १० रुपियाँ कम तथा अरूलाई त्यही भाउ राखी यसको समाचार सेवा वितरित गरियो ।

दुवै संवाद समितिद्वारा आफ्नो उद्घोषित नीतिमा ‘निष्पक्षतापूर्वक समाचार सङ्कलन एवं वितरण’ भन्ने कुरो उल्लेख गरिएको थियो । श्री ५ को सरकारले दुवैलाई मासिक ३०० रुपियाँका दरले आर्थिक सहयोग दिएको थियो, नेपाल संवाद समितिको सुरुवातबारे आफ्नो पुस्तक पत्रकारितामा रामराज पौड्यालले उल्लेख गर्नुभएको छ । “विशेषतः त्यतिखेर नेपालका पत्रिकामा दुई स्पष्ट धार देखिएको थियो । कोही भारतीय पक्षधर थिए भने कोही भारतका विरोधी थिए । एउटा यो पनि कारण थियो दुईवटा समाचार समिति जन्माउनुमा । यो राजनीतिक संवेदनशीलताभित्र पर्छ ।

सगरमाथा संवाद समितिले जन्म लिनुमा यो पनि एउटा कारण थियो । पत्रिका समाचार समितिका ग्राहक हुने र यसरी दुई भागमा बाँडिएकाे थियाे। त्यसपछि, पशुपतिदेव र शङ्करनाथजी भएर सगरमाथा संवाद समितिको गठन भएकाे थियाे ।

त्यतिबेलाको सरकारले पत्रिका र संवाद समितिलाई आर्थिक सहयोगस्वरूप पैसा दिने गर्दथ्यो तर पनि नियमित थिएन,” विसं २०१७ वैशाख ३० गते स्थापित नेपालको दोस्रो समाचार समिति सगरमाथा संवाद समितिका संस्थापक मणिन्द्रराज श्रेष्ठले राससद्वारा प्रकाशित राससको इतिहास पुस्तकमा उल्लेख गनुर्भएकाे छ ।

नेपाल समाचार समिति युगमा विसं २०१६ मा प्रवेश गरेको हो । त्यसअघि नेपालमा पत्रपत्रिका र रेडियो सञ्चालनमा थिए । रेडियो नेपाल विसं २००७ देखि नै नेपालीको सेवामा हाजिर थियो भने गोरखापत्र दैनिकले आधा शताब्दीभन्दा लामो समयदेखि सूचना सेवा दिइरहेको थियो ।

प्रविधिको विकास र बिजुलीको अभावका कारण त्यस समय टेलिभिजन स्थापना हुन सक्ने अवस्था भने नेपालमा थिएन । त्यसैले मुलुकमा समाचार समितिको स्थापना हुनु पनि पत्रकारिता क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि नै थियो । नेपालका दुई संवाद समितिको स्थापनाका विषयमा उहाँहरूका यी तथ्य ऐतिहासिक र महत्वका छन् ।

राससको पृष्ठभूमि

“विसं २०१७ फागुन ६ गतेसम्म यी संवाद समितिहरूको सेवा नेपालका अखबारले पाए । त्यसपछि विश्वबन्धु थापाबाट उद्घाटन गरिएर रामराज पौड्यालको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठसहित तीन जनाको एउटा अस्थायी समिति (एड हक कमिटी) अन्तर्गत राष्ट्रिय संवाद समितिले काठमाडौँमा २०१८ फागुन ७ गतेदेखि संवाद सङ्कलन एवं वितरणको काम प्रारम्भ गर्यो । यसमा गैरसरकारी सदस्यको बहुमत थियो” रामराज पौड्यालले आफ्नो पुस्तकमा लेख्नुभएको छ । नेपालमा त्यस समय सञ्चालनमा रहेका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति किन आपसमा गाभिएर नयाँ संवाद समिति रासस बन्नुपर्यो त भन्ने विषय उहाँले खासै उल्लेख गर्नुभएको छैन ।

यी दुवै समाचार समितिलाई मिलाएर सरकारको मातहतमा रहने गरी विसं २०१८ फागुन ७ गते रासस स्थापनाको घोषणा भएको थियो । हुन त त्यस समयमा राजनीतिक परिवर्तन भइसकेको थियो । राजा महेन्द्रले नयाँ राजनीतिक पञ्चायती व्यवस्थाको स्वघोषणा गर्नुभएको थियो । नेपालको इतिहासमा पहिलो पटक सम्पन्न भएको आमनिर्वाचनपछि बनेको पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर उहाँले जबरजस्ती एकदलीय पञ्चायती व्यवस्था सुरु गर्नुभएको थियो । कुनै पनि देशको राजनीतिक परिवर्तनसँगै त्यस देशको पत्रकारिताको विकासक्रम र इतिहासमा पनि फेरबदल हुन्छ नै ।

सायद त्यसै भएर ती दुई निजी क्षेत्रमा सञ्चालनमा रहेका समाचार समितिलाई गाभेर रासस बनाइएको हुन सक्छ । आफैँ पनि आर्थिक समस्यामा परेका ती दुई समाचार समितिका बारेमा पनि उहाँहरूको अनुभव आएको थियो । एकातर्फ यो आर्थिक समस्या र अर्कातर्फ अब देशका मिडियाले पञ्चायती व्यवस्था र यस व्यवस्थाका कामको आलोचना पनि गर्न नपाइने व्यवस्था आएकाले स्वतन्त्र प्रेसको अभ्यास गर्न नपाउने अवस्था देखिएको थियो । खासमा यिनै परिस्थितिको गर्भबाट समाचार समितिको जन्मको भ्रूण उत्पत्ति भएको अनुमान गरिएको छ ।

रासस कसरी जन्मियो भन्ने विषयमा यसका संस्थापकमध्येका एक मणिन्द्रराज श्रेष्ठले भन्नुभएको छ, “यी दुवै संवाद समिति विघटन गरी विसं २०१८ मा राष्ट्रिय संवाद समिति, रासस स्थापना गरिएको थियो । देशमा पञ्चायती व्यवस्था आइसकेको थियो । अघिको जस्तो प्रेस स्वतन्त्रताको अवस्था पनि थिएन । हामीले कुरा झिकेपछि राजालाई पनि झन् सजिलो भएको महसुस हामीलाई भयो । यसरी राससको स्थापना भयो । म र गोविन्द वियोगीजी दुई संवाद समितिबाट र रामराज पौड्याल सरकारका तर्फबाट नियुक्त भयौँ । विसं २०१८ फागुन ७ गतेदेखि राससले सेवा प्रारम्भ गर्यो । यो एक मात्र र आधिकारिक संवाद समिति भयो सरकारी मातहतमा सञ्चालन हुने । अब यसका लागि कर्मचारी र बजेटको व्यवस्था पनि सरकारले नै गर्न थाल्यो । यसले नै संसद् (राष्ट्रिय पञ्चायत) को रिपोर्टिङ पनि गर्ने र सरकारी समाचारहरू एकद्वार प्रणालीबाट सम्प्रेषण हुने व्यवस्था भयो ।”

यसै विषयको एक अन्तर्वार्तामा नेपालको पहिलो संवाद समिति, नेपाल संवाद समितिका संस्थापक गोविन्द वियोगीले भन्नुभएको थियो, “रासस स्थापनाको प्रस्ताव राजा महेन्द्रले नै राखेका हुन् । नेपालमा पहिलो संवाद समितिका रूपमा मलगायत केही साथीले पहल गरी नेपाल संवाद समितिको स्थापना गर्यौँ ।

यो समाचार समिति स्वतन्त्र रूपमा नै सञ्चालन भएको थियो । हाम्रो प्रमुख उद्देश्य देशका पत्रपत्रिकालाई समाचार उपलब्ध गराउनु नै थियो । देशमा विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि निजी क्षेत्रमा पत्रपत्रिका प्रकाशनको काम रफ्तारमा जारी थियो । पत्रिकाको सहयोगीका रूपमा संवाद समितिको स्थापना हामीले गरेका हौँ । हामी नागरिक स्वतन्त्रताको अभियानमा थियौँ । नेपालमा सरकारी मातहतमा गोरखापत्र र रेडियो नेपाल सञ्चालित थिए । पञ्चायती व्यवस्थाको घोषणापछि सरकारले आफ्नो मातहतमा समाचार समिति पनि होस् भन्ने चाहेको हामीले महसुस गरेकै थियौँ ।

सरकारलाई आफ्नो विरुद्धका सूचना रोक्ने तथा सरकारी मिडियाबाट एकीकृत रूपमा सूचना सम्प्रेषण गर्ने चाह थियो । यसै पृष्ठभूमिबाट राससको जन्म भएको थियो ।”उहाँको यो कुरालाई तत्कालीन पञ्चायत तथा निर्देशन मन्त्री विश्वबन्धु थापाले पनि पुष्टि गर्नुभएको छ । राससको स्थापनाका विषयमा राससलाई दिनुभएको एक अन्तर्वार्तामा उहाँ भन्नुहुन्छ, “राष्ट्रिय संवाद समिति स्थापनाको पहल मैले नै गरेको थिएँ । सरकारी तथा निजी क्षेत्रसमेतका सूचना एकीकृत रूपबाट प्रवाह हुन् भन्ने नै संवाद समिति स्थापनाको उद्देश्य हो ।

२०१६/१७ सालतिरका दुईवटा समाचार समितिको सञ्चालन पनि त्यति प्रभावकारी हुन नसकेको अवस्था विद्यमान थियो । रेडियो नेपाल र गोरखापत्र सरकारी सञ्चारमाध्यमका रूपमा चलिरहेका र समाचार समितिलाई पनि सरकारी छाताभित्र ल्याई एकद्वार प्रणालीबाट सूचना प्रवाह गराउने अभ्यास सरकारले थालेको हो । सञ्चारसम्बन्धी मन्त्रीका हैसियतले मैले ती दुई संवाद समितिका सञ्चालक र राजा महेन्द्रका बीचमा संवादको भूमिका खेलेको हो । राजा महेन्द्र सरकारी तवरमा संवाद समिति सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने चाहमा हुनुहुन्थ्यो र मेरो सोच पनि त्यही थियो ।”

उहाँको यस भनाइबाट पनि राजा महेन्द्र नै देशमा समाचार समिति स्थापना गर्ने र त्यसैमार्फत सूचना एकीकृत गरी सम्प्रेषण गर्ने योजनामा रहेको राम्रैसँग खुल्छ । त्यस अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, “यसै क्रममा नेपाल संवाद समितिका गोविन्द वियोगीसँग यी दुवै समाचार समितिलाई मिलाएर एउटै समिति बनाई सरकारको पनि सहभागिता गराए कसो होला भन्ने प्रस्ताव मैले नै गरेँ ।

त्यस्तै सगरमाथा संवाद समितिका मणिन्द्र पनि ‘डेमोक्र्याट’हरू सुरुमै सहमत भए पनि वियोगीमा भने कम्युनिस्टको समाचार नआउने हो कि भन्ने डर देखिन्थ्यो ।

समाचार समितिको आवश्यकता

प्रेस कमिसन रिपोर्ट–२०१५ मा देशमा समाचार समितिको आवश्यकताका बारेमा यस्तो लेखिएको छ, “नेपालमा प्रजातन्त्र आएको आठ वर्ष भइसक्यो तर प्रजातन्त्रको विकासमा साथ दिने एक महŒवपूर्ण अङ्ग पत्रकारिताको जग मजबुत पार्न कुनै ठोस कारबाही भएको छैन । आठ वर्षअगाडिको दाँजोमा हाल पत्रकारिताको चहलपहल निकै बढेको छ तर त्यो चहलपहलको निश्चित आधार छैन, कुनै भरोसा छैन । पत्रकारिताको महŒव बुझ्न सक्ने त्यसको आधारभूत कुरा देशव्यापी खबर सङ्कलन गर्ने संस्थाको आवश्यकता पनि महसुस गरेका छन् ।

अहिलेसम्म त्यस्तो कुनै संस्था अथवा एजेन्सी नभएकाले देशको कुनाकाप्चाका खबरसमेत जनसमक्ष आउन सकेका छैनन् । आधुनिक युगमा पृथ्वी एकापट्टिको मानिसले अर्कोपट्टिको खबर केही क्षणमै सुन्न र पढ्न पाउँछन् । हामी आफ्नै देशको १० कोष परको खबर एक हप्तामा मुस्किलले सुन्न पाउँछौँ । समाचार खोज्न सम्पादक आफैँ दगुर्नुपर्छ, एक दिन चक्कर मार्न नसके समाचारपत्र निकाल्न मुस्किल पर्छ । समाचार आउने निश्चित सुव्यवस्थित कुनै स्रोत छैन । कुनै पनि पत्रले जुन स्थानबाट पत्र प्रकाशित हुन्छ त्यस स्थानको मात्र खबर छाप्न असमर्थ होलान् । यस्तोमा संवाद समितिको खाँचो हुन आउँछ ।”

प्रेस कमिसन रिपोर्टको यसै सुझावका आधारमा विसं २०१६ पुस १ मा नेपालको पहिलो समाचार समिति नेपाल संवाद समिति (नेसस) र त्यसको पाँच महिनापछि २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति (ससस) स्थापना भयो । यिनै दुई समाचार समिति मिलाएर पछि रासस बनाइएको हो । त्यही राससले देशमा निरन्तर समाचार सेवा प्रदान गरिरहेको छ र यही फागुन ७ गते राससले आफ्नो स्थापनाको ६२औँ वार्षिकोत्सव मनाउँदै छ । यससँग अहिले स्वदेशी तथा विदेशी समाचार, स्वदेशी तथा विदेशी तस्बिर, अडियो भिडियोलगायतका सेवा छन् ।

आधुनिक प्रविधि र सूचनाको युगलाई त्यसैको गतिमा पछ्याउन नसकिरहेको भए पनि यतिखेर राससले देशका अनलाइनसहित सबै विधाका सञ्चारमाध्यमलाई आफ्नो सेवा प्रदान गरिरहेको छ । अहिले कतैकतै यतिका धेरै मिडिया भएपछि अब किन रासस चाहियो भन्ने प्रश्न पनि सुन्ने गरिन्छ ।

जति धेरै मिडिया भए त्यति नै उनीहरूको सहयोगीका रूपमा राससको आवश्यकता छ भन्ने हामी राससकर्मीले मात्र महसुस गरेका छौँ । यो प्रश्न नगरी देशका सबै विधा र प्रकृतिका मिडिया जोगाई उचित संरक्षण गर्नका लागि समाचार समितिको विकल्प खोज्नेभन्दा पनि सबैको साझा सहयोगी संस्था बनाउँदा नै सबैको हित हुनेछ ।

चलचित्र[सम्पादन गर्नुहोस्]

मूल लेख अनलाईन पत्रकारिता

प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्टि सञ्चारमाध्यममहरू धेरै अगाडि नै अनलाईन संस्करणमा गएतापनि नेपाल पनि यसमा त्यत्ति पछाडि भने देखिंदैन। १९९३ बाट अनलाईन पत्रकारीताको विकासले तिव्रता पाएको थियो। नेपालमा पनि सन १९९५ मै अनलाईन पत्रकारीताको प्रारम्भ भइसकेको थियो।

नेपालमा अनलाईन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रूपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ। उसले सन् १९९५मा साउथ–एसिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लीकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाई आफ्नो साइटमा राखेर अनलाईन पत्रकारीताको प्रारम्भ गरेको थियो। अहिले अनलाईनहरु धेरै नै भइसकेका छन् । विश्वसनिय अनलाइन भने धेरै छैनन्। setopati.com र pahilopost.com ले अनलाइन पत्रकारितामा नयाँ धार सुरु गरेका छन्। आफै रिपोर्टर राख्ने देखि बाइलाइन राखेर समाचार लेख्न काम यी अनलाइनले सुरु गरेका हुन्। Ekantipur.com, nagariknews.com, onlinekhabar.com, stimnews.com , ratopati.com, radiosarangi.com, osnepal.com लगायतका अनलाईनहरु सन्चालनमा रहेका छन् । बिटमा आधारित रहेर अनलाइन सञ्चालन गर्ने लहर समेत नेपालमा चलेको छ । पछिल्लो समय विशेष गरी आर्थिक बिटका राम्रा अनलाइन समेत संचालनमा आएका छन् । नेपालको आर्थिक अनलाइन न्यूज पोर्टलमा बिजशाला डटकम(bizshala.com)ले नयाँ धारको सुरुवात गरेको मानिन्छ । यस्तै, महिलाहरूको मात्र समाचार प्रकाशन गर्ने फरक उद्देश्य राखेर नेपालबाटै पछिल्लो समय नेप्लिज वुमन डटकम (Nepalesewomwn.com) नामको अनलाइन पोर्टल समेत प्रकाशन भएको छ ।त्यसैगरी जलश्रोतलाई प्राथमिकतामा राख्दै , खानेपानी ,सिँचाई र जलविद्युतको क्षेत्रलाई आफ्नो मु्ख्य विषय वनाउँदै जलसरोकार डटकम (www.jalsarokar.com) ले विकासपत्रकारिताको फरक सुरुवात गरेको छ ।

ब्लग[सम्पादन गर्नुहोस्]

मूल लेख नेपाली ब्लग साईटहरू

नेपालमा ब्लग साइटहरूमा समाचारको निकै बाहुल्य पाइन्छ। कतिपय ब्लग साइटहरू त समाचार साइटले जस्तै समाचार मात्र पस्किन्छन्। त्यसैले ब्लगहरू पनि नेपालमा समाचारका माध्यम बन्न थालेका छन्। यद्यपि ब्लग समाचार साइट होइन। ब्लग व्यक्तिले आफ्नो दैनिकी लेखेर वेवमा प्रकाशित गर्ने पद्दति हो। वेब-लग शब्दबाट ब्लग बनेको हो। विभिन्न सञ्चारकर्मी, भाषाकर्मी आदिले ब्लग सञ्चालन गरेका छन्। ब्लग स्वतन्त्र रुपमा आफ्ना भनाइहरु राख्ने माध्यमको रुपमा लिइन्छ । यो नेपालको लागि नौलो रहेन । किनभने सन् २००५ देखिनै नेपालमा ब्लगको सुरुवात भइसकेको थियो । वा नेपालीहरुले पनि ब्लगमा आफ्ना विचार तथा भनाइ राख्न थालिसकेका थिए । हालसम्म अनवरत रुपमा उमेश श्रेष्ठले आफ्नो ब्लग सञ्चालन गर्दै आउनभएको छ । यस्तै पछिल्लो समयमा नेपालका अन्य ब्लगरहरुमा कमल धिताल, आशेष श्रेष्ठ, रिमा दवाडी लगायतको नाम अग्रपङ्तीमा आउँछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]