गजल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

गजललाई अंग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा ग़जल, उर्दू भाषामा غزل भनिन्छ।

  • गजल भनेको प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता हो।[१]
  • गजल भनेको प्राय ५ देखि ११ शेरहरू हुने उर्दु र फारसी कविताको एक प्रकार हो। यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ। पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ। गजलको संग्रहलाई दीवान भनिन्छ। [२]
  • गजल भनेको प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ। [३]
  • गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाईर् कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने काव्यिक विधा हो। [४]
  • गजलको शेरमा गीतकवितामा जस्तो कपोलकल्पना गरिँदैन। यसमा सत्य अभिव्यक्ति मात्र गरिन्छ।[५]
  • गजल भनेको रदिफ + काफिया + बहर (अर्को नामहरू: बह्र, मीटर, लय, या मात्रिक-क्रम) हो।[६]
  • गजल, गीत र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ।[७][८][९]

विषयसूची

नेपाली गजलको इतिहास[सम्पादन गर्ने]

नेपाली गजलको इतिहास यस प्रकार छ।

वि.सं. १९४१–२००२
विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए।

वि.सं.२००३–२०३५
मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए। भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन्।
यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन।

वि.सं.२०३६–२०५०
वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ।
ललिजन रावल – केही गजलहरू (२०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), धर्मागत शर्मा ‘तुफान’– तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ।

वि.सं. २०५० – हालसम्म
गजलकारहरू मनु ब्राजाकी, डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन्।

यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा घनश्याम न्यौपाने ‘परिश्रमी’ – ‘यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०), मनु ब्राजाकी– गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४), बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४), वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२), राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२), श्रेष्ठ प्रिया ‘पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०), कृष्ण पौडेल ‘बी’ – नानी हजुरको (२०६१), कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८), मुन पौडेल – गजलोत्सव (२०५३), गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४). भीम विराग – भीम विरागका गीत गजल (२०५७) रासा –रात निदाएको रातमा (२०५८), माधव वियोगी –गुम्सिएका भावहरू (२०५८), ऋचा लुइँटेल – बाँसुरीका धुनहरू: (२०५८), पुष्पलता कलमका डोवहरू,- सन्तोश काफ्ले "स्पन्दन" ,२०६४-स्पन्दन, (२०६१ (बराल, २०६४, पृ.२१६–२६८) रहेका छन्।

गजलको प्रकार[सम्पादन गर्ने]

गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ। [७]

  1. विषयवस्तुको आधारमा
  2. रदीफको आधारमा

विषयवस्तुको आधारमा:- विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन्।

  1. मुसलसल गजल:- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्, त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ।
  2. गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ।

रदीफको आधारमा:- यस आधारमा पनि गजल दुई किसिमका हुन्छन्।

  1. मुरद्दफ गजल : जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ।
  2. गैरमुरद्दफ गजल : जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ।

गजलको संरचना[सम्पादन गर्ने]

गीत, गजल र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ। [७][८][९]

मिसरा[सम्पादन गर्ने]

गजलको हरफलाई मिसरा भनिन्छ।

शेर[सम्पादन गर्ने]

गजलका प्रत्येक दुई मिसरालाई शेर भनिन्छ। हरेक शेर आफैमा एउटा स्वतन्त्र कविता हुन्छ।[१०] शेरको माथिल्लो मिसरालाई मिसरा-ए-उला र तल्लो मिसरालाई मिसरा-ए-सानी भनिन्छ। उलाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ।
(उला + सानी = शेर)

 
  मिठो प्यार पाएँ   [मिसरा-ए-उला]
  काखमा रमाएँ।   [मिसरा-ए-सानी]
  -   गोर्खे साइँलो

शाहे वैत[सम्पादन गर्ने]

गजलको सबैभन्दा राम्रो शेरलाई "शाहे वैत" वा "बैत-उल-ग़जल" वा "हुस्न-ए-ग़जल" भनिन्छ।

शेरको प्रकार[सम्पादन गर्ने]

शेरको विषयवस्तुको आधारमा, शेरलाई २ भागमा बाँढिएको छ।

  1. मुसलसल गजल:- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्।
  2. गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन्।

मतला[सम्पादन गर्ने]

गजलको पहिलो दुर्इ हरफलाई मतला भनिन्छ। मतलाको आधारमा रदिफ, काफिया र बहर छुट्याईन्छ। र, यस्को पालना पुरै गजलमा गरिन्छ। [६]

  • यसका दुईटै मिसरामा काफिया र रदीफ हुन्छ।
  • या   रदीफविहीन गजल हो भने दुईटै मिसरामा काफियाको मात्र प्रयोग भएको हुन्छ।

हुस्ने मतला वा मतला-ए-सानी[सम्पादन गर्ने]

यदि कुनै गजलमा दुईटा मतला देखिएको छ भने तल्लोलाई हुस्ने मतला वा मतला-ए-सानी भनिन्छ।

काफिया[सम्पादन गर्ने]

स्वर समता र तुकबन्दीयुक्त अनुप्रासिक शब्दलाई काफिया भनिन्छ। यो मत्लाको दुवै मिसरामा र बाँकी शेरहरूको तल्लो मिसरामा रदीफको अगाडि वा रदीफविहीन गजलमा अन्तिममा प्रयोग हुने गर्दछ।

पूर्ण काफिया[सम्पादन गर्ने]

पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि।

आंशिक वा शब्दांश काफिया[सम्पादन गर्ने]

शब्दका अन्तिमका केही अक्षरहरू काफियाको रूपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ। जस्तैः कहानी, सिरानी, निशानी, जवानी, जिन्दगानी, तानी आदिमा आनी आंशिक वा शब्दांश काफिया हुन्छ। [कहानी = क + ह + आ + नी, सिरानी = सि + र + आ + नी, जवानी = ज + व + आ ‌+ नी, तानी = त + आ + नी]

हम काफिया[सम्पादन गर्ने]

काफियाको साथमा जोडिएर आउने शव्दलाइ “हम काफिया” भनिन्छ।

उदाहरण:[११]

“वनाउने” र “विसाउने”
व + न + आ + उ + ने, वि + स + आ + उ + ने

आउने” शव्दलाई "आंशिक काफिया" भनिन्छ भने “वन्” र “विस्” हम काफिया हुन्छन्।

एक अक्षरे काफिया[सम्पादन गर्ने]

शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रूपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षरे काफिया भनिन्छ जस्तैः कथा सदा मजा गला आदि त्यस्तै हो त्यो रातो कालो आदि।

रदीफ[सम्पादन गर्ने]

काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ। रदीफचाहिँ गजलको अपरिहार्यताभित्र पर्दैन। यो प्रायः एक शब्ददेखि तीन शब्दसम्म भएको हुन्छ।

हमरदीफ[सम्पादन गर्ने]

कुनै कुनै गजलमा भएका दोहोरिएका रदीफहरूलाई हमरदीफ भन्ने चलन छ।[१२]

जस्तै:

सुकेपछि मनको घाउको, खाटो अलि अलि
याद आयो तिम्रो घरको, बाटो अलि अलि
- करुण थापा

माथिका 'अलि अलि'मा दोहोरिएका रदीफ छन् तिनलाई नै हमरदीफ भनिन्छ।[१२]

एकल रदीफ[सम्पादन गर्ने]

शेरमा एक शब्द प्रयोग भएको रदीफलाई एकल रदीफ भनिन्छ।

बहुल रदीफ[सम्पादन गर्ने]

शेरमा एकभन्दा बढी शब्दहरू प्रयोग भएमा "बहुल रदीफ" भनिन्छ।

मक्ता[सम्पादन गर्ने]

गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ।

तखल्लुस[सम्पादन गर्ने]

मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन्। यस्तो उपनामलाई तखल्लुस भनिन्छ। तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन।

    इ सानै उमेर्देखि मन हर्न लागे   [मतलाको मिसरा-ए-उला]
    यिनै सुन्दरीले जुलुम् गर्न लागे।   [मतलाको मिसरा-ए-सानी]

    कहाँ सम्म आँट लौ हेर तिन्को
    रिसाएर आँखा पनि तर्न लागे।

    अघि पर्न सक्दीन मैले हरिका   [मक्ताको मिसरा-ए-उला]
    नजर्देखि "मोती" पनि र्झन लागे।   [मक्ताको मिसरा-ए-सानी]   [तखल्लुस   "मोती"]
    -   मोतिराम भट्ट

बहर[सम्पादन गर्ने]

कुनै नियममा बाँधिएका शेरहरूको "वजन"लाई बह्र वा बहर भनिन्छ। [१३]

नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ। संस्कृत काव्य परम्परामा छन्द भने झैं फारसी गजल परम्परामा "बहर" भनिन्छ। यसले गजलको लयअनुसानलाई निर्धारण गरेको हुन्छ। केही "पिङ्गला छन्द"हरू शास्त्रीय बहर सँग मिल्न जान्छन। त्यसैले पनि पिङ्गला छन्दको राम्रो ज्ञान भएकालाई शास्त्रीय बहरमा गजल सिर्जना गर्न सहयोग मिलेको देखिन्छ। [४]

संस्कृत छन्दलाई यहाँ हेर्नु होला: छन्द

वजनलाई यहाँ हेर्नु होला: तक्तिअ

उदाहरण:[१४]

मुरब्बा मक्बूज (छन्द प्रमाणिका)
सूत्र:।ऽ।ऽ।ऽ।ऽ, (१२ १२ १२ १२)
(एक अक्षरे काफिया, हुश्ने मतला)
कथा भयो कसो गरूँ ?
ब्यथा भयो कसो गरूँ ? <--- मतला।
कुरा भयो कसो गरूँ ?
छुरा भयो कसो गरूँ ? <--- हुश्ने मतला।
कता कता कतै कतै
नशा भयो कसो गरूँ ?
खुशी थियो झिनो झिनो
दशा भयो कसो गरूँ ?

यहां:[१४]

  • एउटा मात्रै काफिया भएकोले "एकल काफिया", र एक अक्षर मात्रै काफिया भएकोले "एक अक्षरे काफिया"।
    • कथा = क+थ+आ, ब्यथा = ब्य+थ+आ, कुरा = कु+र+आ, छुरा = छु+र+आ आदी।
  • ३ वटा रदिफ "भयो कसो गरूँ" भएकोले "बहुल रदिफ / धेरै रदिफ"।
  • मात्रा गणना:
    • क(१)था(२) भ(१)यो(२) क(१)सो(२) ग(१)रूँ(२) = १२ मात्रा (वजन) [पहिलो शेरको पहिलो हरफ]
    • ब्य(१)था(२) भ(१)यो(२) क(१)सो(२) ग(१)रूँ(२) = १२ मात्रा (वजन) [पहिलो शेरको दोस्रो हरफ] (*"ब्यथा"को "ब्य" लाई (१) मान्ने गजलकारहरूबाट सर्व सहमत।)
    • एउटा शेर, २४ मात्रा (वजन)।
  • मिटर:
    • अंग्रेजी मिटर: (daDUM, daDUM, daDUM, daDUM) x २
    • नेपाली मिटर: (लघुगुरू, लघुगुरू, लघुगुरू, लघुगुरू) x २

‍केहि बहर वा छन्दको प्रकार[सम्पादन गर्ने]

मतलाको आधारमा बहर छुट्याईन्छ।[६] बहर भनेको छन्द हो र, छन्द भनेको लय हो। [१५]

बहर (बह्र)को आधार भनेको "अरकान" ("रुक्‍न"को बहुवचन) हो। अरकान भनेको मात्रिक क्रमको समूह हो।[६]

गजलको शास्त्रिय मान्यता भनेको, कुनै न कुनै छन्दमा बाँधिनु हो। संस्कृत छन्दमा अनेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरू भए झै इस्लामिक काव्यशास्त्रमा वर्णमात्रामा आधारित अनेक इस्लामिक शास्त्रिय बहरहरू छन्।

छन्द वा बहरका केही प्रकार र उदाहरणहरू:

  1. संस्कृत छन्द (पिङ्गल): अनुष्टुप छन्द, विद्युन्माला छन्द, इन्द्रवज्रा छन्द, उपेन्द्रवज्रा छन्द आदि।
  2. इस्लामिक बहर: मुफरद बहर, मुरक्कब बहर, मुजाहिफ बहर आदि।
  3. नेपाली छन्द: सवाई, लोक छन्द आदि।

नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्। नेपाली बहरको लागि तल हेर्नु होला।[१६]

तर जुल गजल[सम्पादन गर्ने]

अक्षरको एकरूपता पनि नमिलेको र शास्त्रीय बहर पनि नमिलेको तर भावका दृस्टीले चोटिला गजल।[१७]

नेपाली बहर[सम्पादन गर्ने]

केवल आक्षेरिक एकरूपतालाई आधार मानी लेखिने बहरलाई नेपाली बहर भनिन्छ। मिसरामा प्राय घटीमा ६ र बढीमा २० अक्षरहरू हुन्छन। [१३][१७] नेपाली बहरमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन।

उदाहरण:

  • ६ अक्षर:-

    मिठो प्यार पाएँ     [मि-ठो  प्या-र  पा-एँ  =  ६]
    काखमा रमाएँ।     [का-ख-मा  र-मा-एँ  =  ६]  -  गोर्खे साइँलो[१३]

  • ७ अक्षर:-

    प्यासमा पानी पायौ     [प्या-स-मा  पा-नी  पा-यौ  =  ७]
    साथमा माया लायौ।     [सा-थ-मा  मा-या  ला-यौ  =  ७]  -  गोर्खे साइँलो[१३]

  • १६ अक्षर:-

    समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी     [स-मे-ना-मा  बो-की  ल्या-यौ  भ-एँ  प्या-रा  घर-की  रा-नी  =  १६]
    तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी।     [ति-मी  हुँ-दा  ता-तो  प्या-ला  भ-एँ  आ-फैँ  पा-नी  पा-नी  =  १६]  -  गोर्खे साइँलो[१३]

नेपाली लोक छन्द[सम्पादन गर्ने]

नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्।[१६] नेपाली लोक छन्दमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन

जस्तै:

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
[सानो ‍छ = ३, खेत = २, सानो छ = ३, बारी = २, सानै छ = ३ जहान = ३] = १६
[नगरी = ३, काम = २, पुग्दैन = ३, खान = २, साँझ र = ३ बिहान = ३] = १६

केहि नेपाली लोक छन्दहरू:

  • असारे – झ्याउरे (३+२+३+२+३+३=१६):
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
  • सवाई (४+४+४+२ =१४)
समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै
  • सेलो(२+२+३=७)
पैले बाज्या पालामा
रूप्या गन्थे डालामा
  • मारूनी (४+३+३ = १०)
मेरो माया आउँछौ कि भनेर
भीरको बाटो सम्मै छ खनेर
  • बालौरी (४+२ = ६ वा ४+३=७)
ताराबाजी लै लै
मामा आए घोडा
सानी सानी छोरी छ
काली ह्वैन गोरी छ
  • घाँसे (काठे भाका) (१८ देखि २१ अक्षर)
आजै र म त घाँस काट्न गएँ टिकी त खस्यो पातमा
बैरागी ज्यानको मन बुझाई दिने कोही छन् कि साथमा,
  • झ्याउरे ( १९ देखि २० अक्षर )
गाइने दाइ आएर गाए सबैलाई धुरुरु रुवाए
बीस हुन्छ अक्षर भन्दै झ्याउरेमा सँसारै अटाए,

मात्रिक बहर[सम्पादन गर्ने]

अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा मात्रा बराबर हुन्छ।[१३] र, लघु गुरूको क्रम समान हुँदैन।[१८]

संस्कृत मात्रिक छन्‍द हेर्ने भए यहां: मात्रिक छन्‍द

उदाहरण:

लघु मात्रालाई १ गनिन्छ।
गुरू ‍मात्रालाई २ गनिन्छ।

१ मात्रा हुने (लघु)

  • अ, इ, उ, ऋ
  • क, कि, कु, कृ
  • अँ, हँ (चन्द्र बिन्दु हुने वर्ण) जस्तै: अँसुवर
  • त्य (संयुक्त व्यंजन हुने वर्ण)। जस्तै: नित्य

२ मात्रा हुने (गुरू)

  • आ, ई, ऊ, ए, ऐ, ओ, औ
  • का, की, कू, के, कै, को, कौ
  • अनुस्वार वा विसर्ग हुने वर्ण: इं, विं, तः, धः जस्तै: इंदु, बिंदु, अतः, अधः आदि
  • संयुक्ताक्षरको अगाडिको वर्ण: जस्तै: अग्रको अ, वक्रको व
  • हलन्त वर्णको पहिलो वर्ण: जस्तै: राजन्को ज

उदाहरण

१७ मात्राको मिसरा:-

    सिरानी यो हातमा निदाऊ  - [उदाहरण: १२२ + २ + २१२ + १२२ = १७]
    आउ मेरो साथमा निदाऊ।  - [उदाहरण: २२ + १२ + २१२ + १२२ = १७]
    - गोर्खे साइँलो[१३]

२४ मात्राको मिसरा:-

    जागरुकताको दियो बालेर आए हुन्छ  - [उदाहरण: २१२१२२ ‌+ १२ + २११ + २१ + २२ = २४]
    सँगै लाने अधिकार पालेर आए हुन्छ।  - [उदाहरण: २२ + २१ + १२२१ + २११ + २१ + २२ = २४]
    - गोर्खे साइँलो[१३]

यहां उदाहरणमा मात्रा के हो बुझाउनलाई, सजिलो तरिकाले मात्रा गणना गरिएको छ।

फारसी बहर[सम्पादन गर्ने]

बहरको नाम लिनु पर्दा सर्वप्रथम त उर्दू-फारसीमा बहर भनिने शब्द नै नेपालीमा प्रचलित पिङ्गल छन्द नै हो[१३], संस्कृत छन्द नै हो[१७]। केही पिङ्गला छन्दहरू शास्त्रीय बहर सँग मिल्न जान्छन।[४]

रुक्न[सम्पादन गर्ने]

रुक्न भनेको गण हो। उर्दू भाषाको लेखाइ अनुसार रुक्नचाहिँ १ अक्षरेदेखि ७ अक्षरेसम्म प्रयोग भएर बन्ने गर्दछन्। रुक्नहरू भनेको पिङ्गल छन्दको लघुलाई भने जस्तै र पिङ्गल छन्दको दीर्घलाई भने जस्तै लेखिन्छ।

रुक्‍नको बहुवचनलाई अरकान भनिन्छ।[६]

अर्कान[सम्पादन गर्ने]

रुक्‍नको बहुवचनलाई अर्कान भनिन्छ [६]। तिनै अर्कानहरूलाई नै टुक्र्याएर आलग-अलग रुक्नको निर्माण गरिन्छ र त्यसलाई जिहाफत भन्दछन्। जिहाफ भनेको मात्रा घटनु हो र जिहाफत भनेको मात्रा घटाउने प्रक्रिया।[१९]

अर्कानको प्रकार

"लघु (१)" र "गुरू (२)" मात्राहरूको आधारमा अर्कानहरूलाई "७ मात्रा" र "५ मात्रा" भएको, २ भागमा विभाजन गरिएको छ:

  1. सबाई अर्कान: जस्को अर्कानमा ७ मात्रा हुन्छ।
  2. खामसी अर्कान: जस्को अर्कानमा ५ मात्रा हुन्छ।

सबाई अर्कान:

निम्न अनुसारको "लघु (१)" र "गुरू (२)" अक्षरहरूले बनेर, ७ मात्रिक वजन भएको अर्कानलाई सबाई अर्कान भनिन्छ। यो ६ ओटा छ।

  1. फाइलातुन् २१२२ बराबर ७ मात्रा
  2. मुस्तफ्इलुन् २२१२ बराबर ७ मात्रा
  3. मफाईलुन् १२२२ बराबर ७ मात्रा
  4. मुतफाइलुन् ११२१२ बराबर ७ मात्रा
  5. मफाइलतुन् १२११२ बराबर ७ मात्रा
  6. मफ्ऊलात २२२१ बराबर ७ मात्रा

खमासी अर्कान:

निम्न अनुसारको "लघु (१)" र "गुरू (२)" अक्षरहरूले बनेर, ५ मात्रिक वजन भएको अर्कानलाई खमासी अर्कान भनिन्छ। यो २ ओटा छ:[६]

  1. फऊलुन् १२२ बराबर ५ मात्रा
  2. फाइलुन् २१२ बराबर ५ मात्रा

अर्कानहरूको तालिका[सम्पादन गर्ने]

रुक्न/अरकान मात्रिक वजन रुक्न नाम मात्रा क्रम
मूल रुक्न/अरकान फायलातुन् २१२२
मूल रुक्न/अरकान मुस्तफ्यलुन् २२१२
मूल रुक्न/अरकान मफाईलुन् १२२२
मूल रुक्न/अरकान मुतफायलुन् ११२१२
मूल रुक्न/अरकान मफायलतुन् १२११२
मूल रुक्न/अरकान मफ्ऊलात २२२१
खमासी रुक्न/अरकान फऊलुन् १२२
खमासी रुक्न/अरकान फायलुन् २१२

मुफरदको तालिका[सम्पादन गर्ने]

मुफरदको अर्थ: जस्को सालिममा एउटै प्रकारको रुक्‍न हुन्छ र रुक्‍न के हुन्छ तय भएको। जस्तै: मुस्‍तफएलुनले मात्रै बनेको छ भने रजज, मुफाईलुनले मात्रै बनेको छ भने हजज, फाएलातुनले मात्रै बनेको छ भने रमल आदी।

क्रमांक नाम प्रकार रुक्‍न वजन
रजज मुफरद मुस्‍तफएलुन २२१२
हजज मुफरद मुफाईलुन १२२२
रमल मुफरद फाएलातुन २१२२
मुतका़रिब मुफरद फऊलुन १२२
मुतदारिक मुफरद फाएलुन २१२
कामिल मुफरद मुतफाएलुन २२१२
वाफर मुफरद मुफाएलतुन १२११२

नियम:

  • मुसमन: गजलको एउटा मिसरामा एउटै वा फरक-फरक गरी बनेका जम्मा ४ अर्कानहरू छन् भने त्यसलाई मुसम्मन् भनिन्छ।
  • मुसद्दस: त्यसैगरी एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा ३ अर्कान छन् भने त्यसलाई मुसद्दस् भनिन्छ।
  • मुरब्बा: कुनै पनि एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा २ अर्कान छन् भने त्यसलाई मुरब्बा भनिन्छ भने फरक-फरक अर्कानबाट बनेको मुरब्बा बहरको नामकरण भएको देखिन्न।
  • मुसना: एउटा मिसरा सिर्फ १ रुक्‍नले मात्र बनेको छ भने मुसना भनिन्छ। तर, यो सिर्फ सिद्धान्तमा मात्रै सिमित छ र, व्‍यवहारमा कम भेटिन्छ।
  • सालिम: एउटा मिसरा पूर्ण रूपले १ प्रकारकै अर्कानहरूले बनिएको छ भने त्यसलाई सालीम भनिन्छ। सालिम शब्‍दको अर्थ हुन्छ समग्र[६]
  • मुदाइफ: दुई गुना गर्नुलाई मुदाइफ भनिन्छ।

फारसी बहरको प्रकार[सम्पादन गर्ने]

गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:[१३]

  1. मुफरद बहर (मूल बहर): जस्को सालिममा एउटै प्रकारको रुक्‍न हुन्छ र रुक्‍न के हुन्छ तय भएको। जस्तै: मुस्‍तफएलुनले मात्रै बनेको छ भने रजज, मुफाईलुनले मात्रै बनेको छ भने हजज, फाएलातुनले मात्रै बनेको छ भने रमल आदी।
  2. मुरक्कब बहर (मिश्रित बहर)
  3. मुजाहिब बहर (परिवर्तित बहर)

फारसी बहरको नामाकरण[सम्पादन गर्ने]

उदाहरण:

यदि कुनै बहरमा फाएलातुन-फाएलातुन-फाएलातुन-फाएलातुन (२१२२ x ४) छ भने: माथी तालिका र नियम हेर्नु होला।

  • मुफरद फाएलातुन भएकोले नाम रमल।
  • ४ वटा रुक्‍न भएकोले मुसमन।
  • ४ वटै रुक्न, एउटै फाएलातुन रुक्नले बनेकोले सालिम।
  • त्यसैले बहरको नाम हुन्छ बहरे रमल मुसमन सालिम।

त्यस्तै:

फाएलातुन-फाएलातुन ( मुरब्‍बा सालिम - २ रुक्‍न ), फाएलातुन-फाएलातुन-फाएलातुन ( मुसद्दस सालिम - ३ रुक्‍न), फाएलातुन-फाएलातुन-फाएलातुन-फाएलातुन ( मुसमन सालिम - ४ रुक्‍न )।

शास्त्रीय गजल गायन[सम्पादन गर्ने]

मात्राछन्दमा रचिएको मनुको प्रशिध्द निम्न गजलका दुई शेर । [२०]


सुनेकै हो मैले पनि बूढा पाका बाट ।

मुटुसम्म जाने बाटो हुन्छ आँखा बाट ।


यता हेर्दा उता हेर्छौ, उता हेर्दा यता,

जोगाउन मुटु लाई चोर डाँका बाट ।

(गजलगङ्गा–२०५१)


चौध मात्राको यी शेरहरूलाई शास्त्रीय गायनमा ‘दीपचन्दी’ तथा लोक गायनमा ‘चाँचर’ नामले प्रशिध्द चौध मात्राकै तालमा निम्न लयतबतष्यल(स्वरलिपि) अनुसार यसरी पनि गाउन सकिन्छ ।


(क) ‘मत्ला’ वा स्थायी पंक्तिको स्वरलिपि

.प सा सा । सा – सा – । सा रे रे । रे – रे –

सु ऽ ने । कै ऽ हो ऽ । मै ऽ ले । प ऽ नि ऽ

सा ग ग । ग – रे सा । सा रे – । – – – –

बू ऽ ढा । पा ऽ का ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ


रे प प । प – पध प । ग – ग । रे – रे –

मु ऽ टु । सम् ऽ म ऽ । जा ऽ ने । बा ऽ टो ऽ

रे प ग । रे – ग रे । सा सा – । – – – –

हुन् ऽ छ । आँ ऽ खा ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ

× । 2 । 0 । 3


(ख) अन्तरा वा बाँकी शेरहरुको स्वरलिपि

ग ग – । ग – गप ग । रे रे ग । रे सा सा सा

य ता ऽ । हे र दाऽ ऽ । उ ता ऽ । हे र छौ ऽ

ध – ध । ध – प ग । ग प – । – – ध प

उ ऽ ता । हे र दा ऽ । य ता ऽ । ऽ ऽ ऽ ऽ


रे प प । प – पध प । ग – ग । रे – रे –

जो गा ऽ । उ ऽ न ऽ । मु ऽ टु । ला ऽ ई ऽ

रे प ग । रे – ग रे । सा सा – । – – – –

चो ऽ र । डाँ ऽ का ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ

× । 2 । 0 ।3


शास्त्रीय गजल गायन र घराना[सम्पादन गर्ने]

गजलकार रवि प्राञ्जल ज्युको भनाई [२१]

यो घराना शब्दको प्रयोग र घराना अन्तर्गतको गुरुकुल परम्परा र पालना गजल गायकीमा हुन्छ । गजल गायनको निमित्त पूर्वीय संगीतमा भारत,पाकिस्तान जस्ता मुलुकहरुमा बिभिन्न संगीत घराना एवं गजल गायकीहरुको परम्परा चल्दै आएको छ । नेपालमा भने गुरु–शिष्य परम्परामा आधारित गजल गायकीको विकास भइसकेको छैन ।

आरम्भमा फारसी बहर वा शास्त्रीय छन्दमा गजल निर्माण हुनु अनिवार्य जस्तै भएका कारणले गुरु–शिष्य परम्पराबाट गजलसम्बन्धी ज्ञान प्राप्त गरेर मात्र गजल निर्माण गर्नु आवश्यक हुन्थ्यो । वर्तमान समयमा भने संस्कृतको पिंगल छन्द वा बहरमा नबाँधिएरै पनि स्वनिर्मित छन्दमा स्तरीय गजलहरुको सिर्जना भइसकेको हुंदा संगीँत तथा कलाका अन्य प्राबिधिक क्षेत्रमा जस्तो गजलमा गुरु–शिष्य परम्पराको अनिवार्यता छैन । गुरुशिष्य परम्परा बिना घरानाको विकास गजल लेखनमा सम्भव छैन ।

विशेष गरी शास्त्रीय सङ्गीतमा घरानाको ठूलो महत्व रहेको हुन्छ । शास्त्रीय सड्गीत अन्तर्गत ध्रुपद,धमार र बडा छोटा खयालको शास्त्रीय गायनभन्दा तल ठुमरी र ठुमरी भन्दा तल गजललाइ राखिएकोछ । अर्थात ध्रुपदभन्दा निम्नतर कोटिमा उपर्युक्त बिधाहरू पर्छन् र त्यसपछि मात्र भाव सङ्गीत अर्थात आधुनिक गीत र फिल्मी गीत भजनहरु पर्दछन् । यसरी हेर्दा ठूमरीभन्दा एक तहमुनि स्थापित गजल शास्त्रीय सङ्गीतकै उपबिधा हो भनेर भन्न सकिन्छ ।

गायनका अतिरिक्त वाद्यवादनमा पनि घरानाको लामो परम्परा छ शास्त्रीय सङ्गीतमा । गायनमा पटियाला घराना,दिल्ली घराना,बनारस घराना,ग्वालियर घराना जस्ता थुप्रै घराना भएजस्तै वाद्यवादनमा पनि धेरै घरानाहरु छन् l वाद्यवादनमा पनि तालवादन तर्फ (तबला मृदङ्ग पखावज आदि) र सूरवादन तर्फ (सितार,इसराज,भायोलिन,सरोद,बाँसुरी आदि) का दिल्ली, फरुखावाद, अजराडा जस्ता थुप्रै घरानाहरू छन् । नेपालमा भने गायनमा स्व नरराज ढकालको घरानालाइ उहाँका सुपुत्रद्वय प्रभु ढकाल र प्रतिक ढकालले अगाडि बढाइ राख्नुभएको छ ।

नेपालमा गायनको अपेक्षा वादनतर्फ घरानाको केही विकास भएको देखिन्छ । सितारवादनमा विद्यावारिधी गर्नुभएका चर्चित सितारवादक डा. ध्रुवेशचन्द् रेग्मीले आफ्नो हजूरबुबाको सितारवादनको शैलीलाइ अहिले निरन्तरता दिँदै सितारवादनको प्रशिक्षण दिँदै अर्को नयाँ पुस्ता तयार गरिरहनुभएको छ ।

गजलका गुण र दोषहरू[सम्पादन गर्ने]

गजलका केही गुण र दोषहरू यस प्रकार छन्।

  • स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुन पर्दछ। गजलमा अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरू प्रयोग गर्न हुँदैन।
  • पौढता: गजलका शेरहरू विचार र भावले परिपक्क हुनु पर्दछ।
  • अर्थपूर्णताः गजलका शेरहरू अर्थपूर्ण हुनु पर्दछ।
  • अन्योन्याश्रिता: गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ।
  • गेयात्मकता: गेयता गजलको पहिलो सर्त हो।
  • व्याख्यात्मकता: गजल थोरैमा धेरै भनिने विधा हो। गजलका शेरहरूमाका थोरै भन्दा थोरै शब्दहरूले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ।
  • सरलता: गजलका शेरहरू सरल र सहजबोध्य हुनु पर्छ।
  • पुर्णता: गजलका शेरहरू अपूर्ण हुनु हुँदैन। भन्न खोजेको कुरा पूर्ण हुनु पर्दछ।
  • ब्याकरण दोष: गजलको शेरमा प्रयोग हुने शब्दहरूलाई व्याकरण विरुद्ध तोडमोड गरिनु हुन्न।
  • अश्लीलता दोष: गजलको शेरमा असभ्य, अश्लील, नग्नतापूर्ण, कामुक, गुप्ताङ्ग शब्दहरूको प्रयोग गर्नु हुँदैन।
  • विक्षेप दोष: गजलको शेरमा आवश्यक भन्दा बढी शब्दहरू प्रयोग भएमा वा शब्दको अभाव महशुस भएमा विक्षेप नामको दोष उत्पन्न हुन्छ।
  • जटिल शब्द: गजलका शेरहरूमा कोमल शब्दहरूको प्रयोग हुनुपर्दछ श्रुतिकटु र अर्थका दृष्टिले समेत जटिल शब्दहरूको प्रयोग गर्नु हुँदैन। साथै अनादरवाची शब्दहरूको पनि प्रयोग गर्नु हुँदैन।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. बृहत नेपाली शब्दकोश
  2. उर्दु-हिन्दी शब्दकोश
  3. द अक्सफोर्ड इङ्लिस डिक्सनरी
  4. ४.० ४.१ ४.२ www.samakalinsahitya.com/reloaded.php?show=detail&art_id=2779 (गजलको सैद्धान्तिक परिचय: गजलका तत्वको संक्षिप्त अध्ययन, केशु बिरही)
  5. http://pallawa.com.np/?p=5258 (केशवराज आमोदी)
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ ६.६ ६.७ http://www.openbooksonline.com/group/kaksha/forum/topics/5170231:Topic:75160 (Tilak Raj Kapoor)
  7. ७.० ७.१ ७.२ http://bhutaneseliterature.com/%E0%A4%AD%E0%A5%82%E0%A4%9F%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%97%E0%A4%9C%E0%A4%B2-%E0%A4%8F%E0%A4%95-%E0%A4%9D%E0%A4%B2%E0%A4%95/
  8. ८.० ८.१ http://www.majheri.com
  9. ९.० ९.१ http://www.samakalinsahitya.com/reloaded.php?show=detail&art_id=2779 (गजलको सैद्धान्तिक परिचय: गजलका तत्वको संक्षिप्त अध्ययन, केशु बिरही)
  10. Cite error: Invalid <ref> tag; no text was provided for refs named best_sher1
  11. Cite error: Invalid <ref> tag; no text was provided for refs named hamkafia01
  12. १२.० १२.१ https://www.facebook.com/groups/136841779723941/ (Karun Thapa, गजलकार)
  13. १३.० १३.१ १३.२ १३.३ १३.४ १३.५ १३.६ १३.७ १३.८ १३.९ http://www.majheri.com/node/2864 (गजलमा प्रयोग हुने बहरहरूको बारेमा छोटो जानकारी, गोर्खे साइँलो)
  14. १४.० १४.१ http://pallawa.com.np/?p=16108 (ठिस बुढा)
  15. http://ghanuojha.blogsome.com/2008/09/19/p35/ (घनेन्द्र ओझा)
  16. Cite error: Invalid <ref> tag; no text was provided for refs named .E0.A4.88.E0.A4.B6.E0.A5.8D.E0.A4.B5.E0.A4.B0_.E0.A4.A6.E0.A4.BE.E0.A4.B9.E0.A4.BE.E0.A4.B2_.E0.A4.95.E0.A4.B5.E0.A4.BF.E0.A4.9C.E0.A5.8001
  17. १७.० १७.१ १७.२ http://www.youtube.com/watch?v=AWL1IvUzq70&feature=share, कालिका एफ.एम.द्वारा १४६औं मोती जयन्तीमा आयोजित कार्यक्रममा गजल कस्तो हुनुपर्छ र बहर प्रयोगको सार्थकता के हो भन्ने कुरा व्यक्त गर्नुहुँदै गजलकार, गजल विश्लेषक डा. घनश्याम नयौपाने परिश्रमी
  18. http://hi.bharatdiscovery.org/india/%E0%A4%9B%E0%A4%A8%E0%A5%8D%E0%A4%A6
  19. http://www.openbooksonline.com/group/gazal_ki_bateyn/forum/topics/2 (ग़जल शब्दावली (उदाहरण सहित), वीनस केशरी)
  20. [अनाम मण्डली द्वारा २०६५ मा प्रकाशित नेपाली गजलको समालोचनात्मक ग्रन्थ 'नेपाली गजल :बिगत र वर्तमान' बाट]
  21. [१]