दुर्गानन्द झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद हुन्। २०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्था विरूद्ध उत्रेका[१] उनले २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए।[२] सोही अभियोगमा पक्राऊ परेका उनलाई पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

दुर्गानन्द झाको जन्म १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटियामा आमा सुकुमारी देवी झा को गर्भबाट भएको थियो। बाबु देवनारायण झा उनी सानो छँदै बितेका थिए।[३] दुर्गानन्द सानैदेखि राम्रो फूटबल खेलाडी थिए र राम्रो गीत पनि गाउँथे। नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययनको लागि भारतको उँमगाउँको एउटा विद्यालयमा भर्ना भए।[स्रोत नखुलेको]

राजामाथि बम प्रहार[सम्पादन गर्नुहोस्]

१८ वर्षे दुर्गानन्दले जानकी मन्दिर नजिक सेना र गुप्तचरका आँखा छल्दै ग्रिनेड प्रहार गरेका थिए। प्रहारबाट राजा महेन्द्र चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टि सामान्य क्षति भएपनि राजालाई केही भएन। त्यसपछि दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे। यता दुर्गानन्दका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, काङ्ग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी ठूलो यातना दिइयो। दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट दुःखी भएर तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिए। गिरफ्तार गरी जलेश्वर जेलमा एक रात राखेपछि परकौली सैनिक क्याम्पबाट उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई सुन्धारा स्थित भद्रगोल जेलमा राखियो।

मृत्युदण्ड[सम्पादन गर्नुहोस्]

यो केसको छानविन गर्नका लागि एक विशेष अदालतको गठन गरिएको थियो।[४] २०१९ भदौ १९ मा उनलाई कुनै सुनुवाईको मौका नै नदिई मृत्युदण्डको सजाय तोकिएको थियो। उनलाई २१ वर्षको उमेरमा २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो। [५] [६]

मृत्युदण्डको अघिल्लो दिन २०२० साल माघ १४ गते उनले आमा र श्रीमतीलाई केही बेर भेटेर सान्त्वना दिए। दुर्गानन्दलाई विभिन्न शारिरीक र मानसिक यातना दिएर माफी मागी बिन्तीपत्र लेख्न भन्दा पनि उनले मानेनन्। फलत उनलाई मृत्युदण्ड दिइयो। आमा लगायत परिवारले माग्दा पनि पञ्चायत सरकारले उनको लास दिएन। कुशको लास बनाएर भारतको गयामा उनको दाहसंस्कार भयो। दुर्गानन्दकी आमाको २०६० भदौ ३१ गते निधन भएको छ।[७]

  1. name="SaharaTimes" सहारा टाइम्स "क्रान्तिकारी योद्धा दुर्गानन्द", अन्तिम पहुँच १ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १३ सेप्टेम्बर २०१५ मिति
  2. name="JanakpurToday" जनकपुर टुडे "अघोषित शहीद दुर्गानन्द झा सम्झिए", अन्तिम पहुँच १ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति
  3. name="SaharaTimes"
  4. name="SaharaTimes">
  5. name="SaharaTimes"
  6. name="JanakpurToday"
  7. name="SaharaTimes">