दिपङ्खा यात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिपंखा यात्रा ललितपुरको नागबहालस्थित हिरण्यवर्ण महाविहारबाट सुरु भएर महालक्ष्मीस्थान लगनखेलमा पुगेर सम्पन्न हुने धार्मिक यात्रा हो । यस यात्राका सहभागीले क्वालखु, कोन्ती, स्वंथ, मंगः, कोट, टंगःबहाल, तःबहा, लगनखेल, महालक्ष्मीस्थान, नखिपोट, बुंगमति, खोकना, क्वयना हुँदै चोभार पुग्ने र त्यसपछि लोहंगाल, हाँसपोता (झम्सीखेल), पचली, मतुलि, बुद्धवारी, अट्कोनारायण, काठमाडौंको मरु, भीमसेनस्थान, विष्णुमती, खुसिबही, किन्हुबही, सीतापाइला, फेखा, इचंगु, हल्चोक हुँदै स्वयम्भु पुग्ने गर्दछन् । स्वयम्भुमा केही समय आराम गरेपछि बिजेश्वरी, श्रीघः, अमृत कलेज, सोह्रखुट्टे, म्हेपी, पोरेपा (रानीबारी), लाजिम्पाट, साखोना, नारायणहिटी, नक्साल, टंगाल, टुंडालदेवी, धुम्बाराही, चाबहिल, महांकाल हुँदै बौद्ध पुग्ने गर्दछन् । बौद्ध पछि बाग्मती, गुह्यश्वरी, पशुपतिनाथ, देवपाटन (गोल), वनकाली, गुथल्वहं (पिंगलामाई), कोटेश्वर महादेव, कुटीबिहार, सिकबहिल, इकुबहिल, च्यासल, क्वाछेँ (बालकुमारी), दुपाट, लुँखुसी, कनिबहाः, मतिक्व (वटुक) हुँदै महालक्ष्मीस्थान लगनखेलमा पुगेर यात्रा समापन हुने गर्दछ ।[१]

दीपंखा यात्रा करिब ९ सय वर्षदेखि चलिआएको मान्यता छ। यो यात्राको नेतृत्व निलथु वोधिसत्वका मूलपूजारी गर्छन्। नागबहालस्थित बहरलाई पूजा गरेपछि मूलपूजारीले जात्राको नेतृत्व गर्दै अघि बढ्ने गर्दछन् । दीपंखा यात्रा मनाउन पाँचवटा दुर्लभ योग मिलेको हुनुपर्छ– सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवार। यी पाँचवटै अतिदुर्लभ योगहरूको समागमन एकै दिन भएको खण्डमा यो पर्व मनाउने चलन छ। यी योगहरूमध्ये आइतबारबाहेक अरू बार पनि दीपंखा आयोजना गरिएको ऐतिहासिक प्रमाण छ। यसअघि ३८ वर्षपछि मनाइएको यात्रा यसपटक ८ वर्षपछि भएको हो । यसअघि २०६२ असोज ३१, २०२४ र १९९७ सालमा आयोजना गरिएको थियो। यात्रा क्रममा दसौं हजार भक्तजन पैदलै यात्रा तय गर्छन्। सहभागी भक्तजनले यात्रा हुनु एक दिनअघि किसली (सुपारीसहित अक्षता) अर्पण गर्ने चलन छ। यो यात्रामा हिँड्ने भक्तजनले प्रत्येक पाइला बराबर एक तोला सुन दान गरेबराबर पुण्य पाइन्छ भन्ने मान्यता छ। [१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ लामिछाने, उपेन्द्र (शुक्रबार १ कार्तिक, २०७०), "दीपंखा यात्रा आज", नागारिक दैनिक, अन्तिम पहुँच शुक्रबार १ कार्तिक, २०७० 
  2. "दिपंखा महायात्रा कात्तिक १ गते हुने", नेपाल समाचारपत्र, शुक्रबार १ कार्तिक, २०७०, अन्तिम पहुँच शुक्रबार १ कार्तिक, २०७०