हिरण्यवर्ण महाविहार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हिरण्यवर्ण महाविहार मन्दिर

हिरण्यवर्ण महाविहार[१] नेपालको ललितपुर जिल्लाको क्वाबहालमा अवस्थित लोकेश्वर (गौतम बुद्ध)को स्वर्ण जडित पेगोडा शैलीयुक्त विहार हो। तिनतल्ले हिरण्यवर्ण महाविहारको निर्माण राजा भाष्करदेव बर्माले १२ औं शताब्दि तिर गराएका थिए। स्वर्ण जडित भएकोले अङ्ग्रेजीमा गोल्डेन टेम्पल(Golden Temple) र नेपाल भाषामा यसलाई क्वाःबहाः भनिन्छ। नेपालका बौद्धविहारमध्ये सुन्दर मानिने हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)मा भगवान गणेशको बाहन मानिने मुसालाई दिनहुँ खाना खुवाउने प्रक्रिया चलिरहन्छ। यहँ सयौं मुसाका लागि कम्तीमा १० स्थानमा खाना (चामल) राख्नुपर्ने परम्परागत चलन रहिआएको छ। मन्दिरमा रहेका ती मुसालाई कुनै दिन खाना खुवाउन बिर्सियो भने यहाँका पूजारी (बाफाचा) लाई सञ्चो नहुनुका साथै मन्दिरको कुनै न कुनै वस्तु हराउँछ भन्ने मान्यता छ। मन्दिरको रोमाञ्चक पक्ष त विहारका मुसाहरू मन्दिरभित्र कहिल्यै मर्दैनन्, मर्नुपरेमा बाहिर देखिने ठाउँमा आइपुग्छन्। [१]

हिरण्यवर्ण महाविहार अगाडि रहेको बज्र

इतिहास[सम्पादन गर्ने]

राजा भाष्करदेव बर्माको पालामा ईस्वी सम्वत् १०४५ देखि १०४८ सम्म उक्त विहारको निर्माण भएको थियो। मध्यकालिन शिलालेख, ताम्रपत्र, पुष्पिका, वंशावली आदिमा यस विहारलाई 'हेमवर्ण महाविहार' भनेर पनि उल्लेख गरेको पाइन्छ। किम्बदन्ती अनुसार, एक दिन राजा भाष्करदेवलाई सपनीमा देवताले भनेछन् जहाँ मुसाले विरालोलाई लछारपछार गरिरहेको दृष्य देखिन्छ त्यहाँ मेरो मूर्ति स्थापना गरिदिनु। नभन्दै हालको क्वालखु टोलमा मुसाले विरालोलाई लखेटिरहेको अनौठो दृष्य देखेछन्। सोही स्थानमा ने.स. १६५-६७ तिर भाष्करदेवले संस्कारित हिरण्यवर्ण महाविहार निर्माण गरिएको मानिन्छ। ने.सं. २०२मा माहापण्डित अभयकर गुप्तद्धारा रचित बज्रापती ग्रन्थ, ने.सं. ३४५मा लिपिबद्ध प्रजापारमितामा यि कुरा उल्लेख गरिएका छन्।

वि. सं. २०५८ चैत १३ गते हुलाक टिकटमा समाविष्ट उक्त मन्दिरको अवलोकनार्थ आउने अधिकांश पर्यटकले मन्दिरभित्रको शाक्यमुनी बुद्धको मूर्ति, मुसाको कथा र ऐतिहासिक कलाकृतिको अवलोकन गर्छन्। कपिलबस्तुबाट आएका शाक्यले यस भेगमा वस्ती बसाएको ऐतिहासिक किम्बदन्ती छ।

हिरण्यवर्ण महाविहार मन्दिरमा भएको बुद्धको मूर्ति

वास्तु[सम्पादन गर्ने]

विहारको मुलद्वारमा दायाँबायाँ उभ्याइएका सिंहका दुई मूर्ति छन् भने दुई स्तम्भलाई बक्राकार प्रस्तर तोरणले जोडिएको छ। तोरणको मध्यभागमा पञ्चध्यानी बुद्धमध्येका वैरोचनको मूर्ति राखिएको छ। यस विहारमा अवस्थित मुख्य मन्दिर (शाक्यमुनी बुद्ध)मा कलापूर्ण छाना, गजुर, मूर्ति र टुँडाललाई सुनले लेपन गरिएकाले नै यसलाई गोल्डेन टेम्पल भनिएको हो। यहाँ वर्षेनी हजारौं संख्यामा भक्तजन तथा विदेशी पर्यटकले पूजाआजाका साथै भ्रमण गरेको पाइन्छ। बौद्धधर्ममा 'बज्रयान मत'को महत्वपूर्ण परम्पराअनुसार यस विहारमा नेवार बौद्धहरूको अति उत्कृष्ट कलाकृतिको नमूना यद्यपी जिउँदो अभिलेखालयका रूपमा छ भने शाक्यमुनी बुद्धको अति सुन्दर मूर्ति रहेको छ।

पूजा[सम्पादन गर्ने]

हालसम्म यस मन्दिरमा प्राचीन परम्परा र रितीरिवाजअनुसार चलिरहेको पाइन्छ। न्हुवहालमा रहेका हिरण्यवर्णले 'जुन ठाउँमा मुसाले बिरालोलाई लखेटिरहेको हुन्छ, त्यही ठाउँमा मलाई स्थानान्तरण गर्नु' भनी राजा भाष्करदेवलाई सपनामा भनेपछि हालको स्थानमा उक्त मन्दिरलाई स्थानान्तरण गरिएको किम्बदन्ती यद्यपि कायमै छ। उक्त मन्दिरमा विहार सञ्चालक समितिका सदस्यकै कम्तीमा ७/८ वर्षका साना बालकलाई यस मन्दिरको मुल पूजारी (बाफाचा) राख्ने गरिएको छ। मूल पूजारीको सहयोगीका रूपमा एकजना अर्का पूजारीसमेत राखिने र मूल पूजारीलाई खाना पकाउने व्यक्ति पनि सदस्यकै परिवारभित्रको हुनुपर्छ। ती पूजारीले बिहान भात र साँझमा दही, च्युरा र फलफूल खानुपर्ने परम्परा छ। मुख्य पूजारीले स्नान गरेर नित्य पूजा सिध्याएपछि बिहान र बेलुका घण्ट बजाउँदै ८/९ टोल घुम्नुपर्ने परम्परा छ। मन्दिरमा साँझको आरती गरी प्रसाद वितरणपछि मुसालाई १० स्थानमा चामल राखेर मात्र पूजारी सुत्नुपर्छ। यस मन्दिरको मूल पूजारी भने प्रत्येक महिना फेरिनुपर्ने नियम बनाइएको छ। मूल पूजारीले महिनाभर विद्यालय जान नहुने र अरू लाई छुन नहुने परम्परा रहेको छ। उक्त विहारअगाडि बज्रधर, पछाडि शाक्यमुनी, दाँया र बाँया बोधिसत्व छ भने मन्दिर परिसरमा सुनका अक्षरसहितको 'प्रज्ञा पारमिता' राखिएको छ। पूजारीले आफूलाई खाना पकाउँदा प्रयोग हुने दाउरालाई फुक्नुहुँदैन भने पानीसमेत आफैले ल्याउनुपर्छ।

हेर्नुहोस्[सम्पादन गर्ने]

फोटो ग्यालरी[सम्पादन गर्ने]

हिटी

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ "Hiranya Verna Mahavihar", जिल्ला विकास समिति ललितपुर।