मरु गणेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरु गणेश

मरु गणेश नामले प्रसिद्ध अशोक विनायक काठमाडौंको एउटा प्रसिद्ध मन्दिर हो। [१] मरु गणेश विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्रस्थित हनुमान्ढोका गणेशको स्थान दिइएको छ ।

स्थापना[सम्पादन गर्नुहोस्]

यो गणेशको स्थापना एघारौँ–बाह्रौ शताब्दीतिर भएको मानिन्छ । लाय्कू बहीका तान्त्रिक विद्वान् लीलाबज्र बज्राचार्यले ने.सं. १३९ मा गणेशको जीवन्यास गरी मरु गणेश मन्दिर स्थापना गर्न लगाएको जनविश्वास रहेको छ । यो गणेश उपत्यकाका चार गणेश (चार विनायक) मध्येको एक हो । जसमा अरु तिन चाबहिलको चन्द्रविनायक भक्तपुरको सूर्यविनायक चोभारको जलविनायक पर्छन ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

मरु गणेशको उत्पत्तिका बारेमा एउटा किंवदन्ती पाइन्छ । त्यस अनुसार, उहिले यस क्षेत्रमा एक जना सत्पात्र गृहस्थ बस्तथे । उनले एक रात अशोक वृक्ष झलमल्ल उज्यालो भएको देखेछन् । त्यस रूखमा के रहेछ भनेर हेर्न जाँदा उनले गणेशलाई रूखमाथि चढ्दै गरेको देखेछन् । त्यो थाहा पाएपछि गणेश अलप भएछन् । ती गृहस्थले पछि त्यहीँ गणेशको मन्दिर बनाएर मूर्ति प्रतिष्ठापन गराएछन् । यस मन्दिरमा गणेश मूर्ति सुखासनमा बसेको छ । यसलाई अशोक विनायक पनि भनिन्छ । गणेश मन्दिर मरुसत्तलकै एक अंगका रूपमा रहेको छ ।

पूजा गरिने दिन[सम्पादन गर्नुहोस्]

भाद्र शुक्ल गणेश चौथीका दिन अशोक विनायक गुठीले हरेक वर्षको मरु गणेशमा विशेष पूजा कार्यक्रम गर्दै आइरहेको छ । यस दिन ब्रत बसी गणेशको पूजा गरे कार्य सिद्धी, मनमा शान्ति र धनधान्यले भरिपूर्ण हुने धार्मिक विश्वास रहेको छ । अन्य समुदायले गणेश चौथी मनाइने यो दिन नेवार समुदायले चथा पर्व मनाउने गर्दछ । चथा पर्वमा नेवार समुदायमा उखु, अदुवा, चथाजस्ता बनस्पतिलगायतका बस्तु चन्द्रमा (चथा द्यः) लाई चढाएर यो पर्व मनाउने चलन छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "लङ्गेस्ट वे होम", २२ सेप्टम्बर २०१७, अन्तिम पहुँच २२ सेप्टम्बर २०१७