अलफ लैला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Cassim in the cave by Maxfield Parrish, 1909, from the story Ali Baba and the Forty Thieves

अलफ लैला अर्थात् अरेबियन नाइट्स अचम्मका कथाहरूको अनौठो सङ्ग्रह हो । यसलाई किस्सा अलफ लैला पनि भनिन्छ । अलफको अर्थ हो हजार लैलाको अर्थ हो रात यस पुस्तकको एक अर्को नाम हो– हजार अफसाने (हजार कथा) । यसको एक नाम एक हजार एक कथा पनि हो । यो पुस्तक मूलतः फारसी भाषामा छ तर यसको अंग्रेजी संस्करण अरेबियन नाइट्सले नै यसलाई विश्वभर प्रसिद्धि प्राप्त भएको हो । यसको अंग्रेजी नाम कति प्रसिद्ध छ भने मानिसहरूले यसको मूल नामले भन्दा यसको अंग्रेजी नामले यसलाई बढी चिन्छन् । अनेकौँ लोकप्रिय टी भी धारावाहिक र चलचित्र अरेबियन नाइट्सका कथाहरूमा आधारित छन् जस्तै अलीबाबा र चालीस चोर, अलादीन र त्यसको जादुई दियो, सिन्दबादका समुद्री यात्रा, इत्यादि ।

अरेबियन नाइट्सका कथामा बगदादको खलीफा हारु“ उल रशीदको उदारताको गुण गाइएको छ । त्यसैले खलीफाको समयमा यो कथा सङ्ग्रह तैयार भएको अनुमान गर्न सकिन्छ । यसको आमुख कथा राजा शहरयारको एक शपथबाट सुरु हुन्छ । जसमा उसले कनयाहरूसँग केवल एक दिनका लागि विवाह गर्ने घोषणा गरेको हुन्छ । त्यसको नाम शहरयार भनिएको छ । शहरयारको भाउजुले दाजुलाई घात गरेकोले उ संसारका महिलाहरूसँग घृणा गर्छ । अब उसको कुनै पत्नीले उ प्रति घात गर्न नसकोस् भनेर उसले प्रत्येक दिन एउटी महिलासंग विवाह गर्छ र अर्कादिन बिहान उसलाई मृत्युदण्ड दिन्छ ।
उसको वजीर (प्रधानमन्त्री) ले प्रत्येक दिन एक कन्याको विवाह गराउंदै जान्छ । यसरी प्रत्येक दिन एउटी युवतीको हत्या हुंदै जान्छ । अन्तमा शहरभरिमा कुनै कन्या बांकी रहंदैन । यस कुराबाट चिन्तित वजीरलाई उसकी छोरी शहरजादले आफुलाई विवाहका लागि प्रस्तुत गर्छे । वजीरले बाध्य भएर त्यो कुरा स्वीकार गर्छ ।
विवाह भएको राति शहरजादले आफ्नो पतिको मनोरञ्जनका लागि एउटा कथा सुनाउन सुरु गर्छे । शहरजाद् कथा भन्ने कलामा निकै सिपालु हुन्छे । कथा जब आफ्नो उत्कर्षमा पुग्छ, त्यसबेला बिहान हुन थालेको हुन्छ । रात समाप्त भएर उज्यालो हुन थाले पनि कथा समाप्त हुंदैन । बिहान हुन थाले पछि उसले निराश स्वरमा भन्छे– यो कथा अझै बांकी छ । मैले यसलाई समाप्त गर्न सकीन । किनभने अब उज्यालो भए पछि मेरो मृत्यु निश्चित छ ।
कथाको अन्त जान्नका लागि उत्सुक शहरयारले एक दिनका लागि उसको मृत्युदण्ड स्थगित गरीदिन्छ ।
अर्को राति शहरजादले पतिको मनोरञ्जनका लागि राति फेरि कथालाई निरन्तरता दिन्छे । त्यो कथा सकिना साथ राजाले अर्को कथा सुनाउन आग्रह गर्छ । शहरजादले नयां कथा सुरु गर्छे तर त्यो कथा पूरा हुन नपाउंदै उज्यालो भइसक्छ । कथाको अन्त जान्न उत्सुक राजाले पुनः एक रातका लागि जीवनदान दिन्छ । यसरी उसले लगातार एक हजार एक रात कथा सुनाउंदै आफ्नो जीवन बचाउंछे । अन्तमा राजाले खुशी भएर आफ्नो राजाज्ञा फिर्ता लिन्छ र कन्याहरूको हत्या त्यस देशमा बन्द हुन जान्छ ।
अरेबयिन नाइट्सका कथाहरूमा घटना प्रधान, विचित्रका तर रमाइला कथाहरू छन् । यसमा ऐतिहासिक कथा, प्रेम कथा, संयोगान्त, वियोगान्त कथा, समुद्री यात्रा, साहसिक कथा, जादू, बोक्सी, भूत प्रेत र हास्य कथाहरू छन् ।
अरेबयन नाइट्समा कथावाचनको अदु्भुत सीप सिक्न पाइन्छ । श्रोताहरूमा रुचि कायम राख्ने तरिककाहरु पनि सिक्न पाइन्छ । यसका कतिपय कथाहरू पञ्चतन्त्रका कथाहरू जस्तै छन् । जसमा कथाभित्र जोडिएका कथा र उपकथाहरू छन् । कार्टुन र एनिमेशनको आजको युगमा अरेबियन नाइट्सका कथाहरूको प्रस्तुतिलाई कल्पनाशक्ति युक्त बनाउन एमिनेशन प्रविधिमा समेत हेर्न सकिन्छ ।