ओनोदा हिरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
ओनोदा हिरो
Hiroo Onoda young.jpg
सन् १९४४ मा ओनोदा
जन्म(१९२२-०३-१९)मार्च १९, १९२२
काइनान, वनकायामा, जापानी साम्राज्य
मृत्युजनवरी १६, २०१४(२०१४-०१-१६) (९१ वर्ष)
टोकियो, Flag of Japan.svg जापान
निष्ठाMerchant flag of Japan (1870).svg जापानी साम्राज्य
सेवा/शाखा साम्रज्यिक जापानी सेना
सेवा अवधिसन् १९४०–७८
दर्जाद्वितीय उपसेनानी
युद्धदोस्रो विश्वयुद्ध
  • फिलिपिन्स अभियान (सन् १९४४–१९४५)
अन्य कार्यगाईवस्तु पालक किसान
उद्यमीता (शिक्षा)

ओनोदा हिरो (जापानी: 小野田寛郎, जन्म: सन् १९२२ मार्च १९ - १६ जनवरी २०१४) जापानी शाही सेना तथा एक गुप्तचर अधिकारी थिए जसले दोस्रो विश्वयुद्धमा जापानी सेनाको प्रतिनिधित्व गरेका थिए। उनी सन् १९४५ मा युद्ध समाप्त भएपछि आत्मसमर्पण नगरेका सैनिकहरू मध्ये एक थिए। युद्ध समाप्त भैसकेपछि पनि ओनोदाले २९ वर्ष फिलिपिन्सको लुवाङ टापुमा बिना खबर युद्ध गरिरहेका थिए। सन् १९७४ मा जापानी सेनाका तत्कालीन पूर्व सेनापति योसिमी तनिगुचीले उनलाई सेवानिवृत्त गरिदिएका थिए। [१][२] उनी द्वितीय विश्वयुद्धमा जापानी शाही सेनाका सहायक उपसेनानी थिए।

प्राथमिक जीवन[सम्पादन गर्ने]

ओनोदा हिरोको जन्म सन् १९२२ मार्च १९ का दिन जापनको वाकायामा प्रदेशको काइसा जिल्ला अन्तर्गत पर्न कावा गाउँमा भएको थियो। उनी प्राचीन समुराई योद्धा वर्गको परिवारमा जन्मिएका थिए भने उनको बुबाको चीनमा मृत्यु हुनुभन्दा अगाडि सम्म उनले एक जापानको सैन्य चिकित्सकको रूपमा काम गरेका थिए। ओनोदाले १७ वर्षको उमेरमा युहानमा एक चिनियाँ कम्पनीमा आवद्ध भई काम गर्न सुरु गरेका थिए।[३][४] १८ वर्षको उमेरमा उनी जापानी शाही सेनामा सामेल भएका थिए। [३]

सैन्य जीवन[सम्पादन गर्ने]

ओनोदा हिरो (दायाँ) र उनका भाइ सिगिओ ओनोदा (सन् १९४४)

ओनोदाले नाकोना विद्यालयमा कमान्डो श्रेणीको "फुटामाता"मा एक गुप्तचर अधिकारीको रूपमा प्रशिक्षण लिएका थिए। सन् १९४४ डिसेम्बर २६ का दिन उनलाई फिलिपिन्सको लुवाङ टापुमा पठाइएको थियो। यस टापुमा पठाउनु अगाडि उनलाई शत्रुको आक्रमणबाट जोगिन र विमानस्थलहरू तथा आश्रयहरूलाई ध्वस्त पर्ने सहितका सम्भव सबै आदेशहरू दिइएको थियो। उनलाई दिइएको आदेशमा कुनै हालतमा पनि आत्मसमर्पण र आत्महत्या नगर्न उल्लेख गरिएको थियो। [५]

ओनोदा टापुमा पुगेपछि उनी पहिलै पठाइएको अन्य जापानी सेनाहरूमा सामेल भएका थिए। ओनोदालाई दलका उच्च पदका अधिकारीहरूले आफ्नो कर्तव्य पूरा गर्नबाट रोके जसले गर्दा सन् १९४५ फेब्रुअरी २८ का दिन अमेरिका र फिलिपिन्स राष्ट्रमण्डल सेनाले टापुमा अवतरण गरी सजिलै टापुलाई कब्जा गरेका थिए।[६] अवतरणको केही समयमै ओनोदा र तीन सैनिक बाहेक सबैको मृत्यु भएको थियो भने अन्यले आत्मसमर्पण गरेका थिए। पछि ओनोदाको पदोन्नति गरी उनलाई उपसेनानी बनाइएको थियो। बाँकी रहेका सैनिकहरूलाई पछि पहाडहरूमा जान आदेश दिइएको थियो।

टापुमा गोप्य युद्ध र एकल योद्धा[सम्पादन गर्ने]

सन् १९७४ मार्च ११, ओनोदा हिरो (दायाँ) आफ्नो आत्मसमर्पणको दिन फिलिपिन्सका राष्ट्रपति फेर्दिनान्द मार्कस (बाँया) समक्ष आफ्नो सैन्य तरवार बुझाउँदै

ओनोदा हिरोलाई २२ वर्षको उमेरमा सन् १९४४ को डिसेम्बरमा फिलिपिन्सको लुबाङ टापुमा खटाइएको थियो। दुई वर्ष अगाडि जापानी राजकीय सेनाले फिलिपिन्सलाई कब्जामा लिएका थिए जहाँ अमेरिकी सेनाहरू पनि रहेका थिए। जापानी सेनाको सङ्ख्या सिमित भएकाले अमेरिकी सेनाले जवाफी हमला गरेको थियो। सन् १९४४ को डिसेम्बरसम्म जापानी सेनाहरू ती टापुहरूबाट पछि हट्दै साना टापुहरूमा शरण लिन पुगेका थिए जसमा लुबाङ टापु एक थियो। यस्तो अवस्थामा ओनोदालाई त्यो टापुमा पठाइएको थियो। उनका उच्च अधिकारीहरूको सोच अनुसार छापामार युद्धको प्रशिक्षण त्यस टापुमा उपयुक्त हुने विश्वास गरिएको थियो। पराजय हुनुभन्दा अघि जापानीहरूले सम्भव भएसम्म अमेरिकी र फिलिपिन्स सेनालाई रोक्न छापामार आक्रमण गरेका थिए जसको लक्ष्य जापानी सेनालाई जवाफी हमलाको तयारीको लागि सकेसम्म धेरै समय दिनु थियो। त्यस समय फिलिपिन्स एक महत्त्वपूर्ण स्थल थियो भने यस स्थललाई गुमाउनुको अर्थ अमेरिकीहरू मुख्य भूमि जापानमा पुग्नु बराबर थियो।

जब ओनोदा लुबाङ टापु पुगे तब उनका वरिष्ठ अधिकारीहरूले छापामार युद्धमा नगरी अमेरिकी सेनासँग सीधै लड्ने निर्णय गरेका थिए। सन् १९४५ फेब्रुअरी २८ का दिन अमेरिकी सेनाले लुबाङ लगायत अन्य सानो टापुमा अवतरण गरेका थिए जसको फलस्वरूप जापानी सेना निकै चाँडै पराजित भएको थियो। यस लडाइँमा ओनोदा र दुई जापानी सेना बाँच्न सफल भई स्थान परिवर्तन गरेका थिए। उनीहरू त्यसपछि जङ्गलको निकै भित्र प्रवेश गरेका थिए जसको उद्देश्य छापामार हमलालाई जारी राख्नु थियो जसलाई ओनोदाले २९ वर्षसम्म जारी राखेका थिए।

यति धेरै वर्षसम्म उनीहरूले नजिकको वस्तीबाट चामल, अन्न, गाउँका किसानहरूको गाईवस्तु र कहिलेकाँही सुँगुरहरू चोरी गरी जीविकोपार्जन गरिरहेका थिए। सन् १९४५ मा जापान - अमेरिका युद्ध समाप्त भएको थियो। ओनोदाले केही भएको महसुस गरेका थिए तर उनको देशले युद्धमा हार स्वीकार गरेको कुरा उनले सोचेका थिएनन्। युद्ध समाप्त भैसकेपछि पनि उनले आफ्नो लडाइँ जारी राखेका थिए भने स्थानीय बासिन्दाहरूको सहयोगमा उनलाई खोज्न आएका प्रहरीहरूको विरुद्ध पनि उनले लडाइँ गरेका थिए। ओनोदाले आफ्ना सहयोद्धाहरूसँगको सम्पर्क गुमाएका थिए। अमेरिकीहरूले युद्ध समाप्त भएको खबर सबै ठाउँमा पुर्‍याउन धेरै प्रयास गरेका थिए जसमा उनीहरूले हवाईजहाजबाट युद्ध समाप्त भएको खबर सहितको पत्रिका तथा पर्चाहरू खसालेका थिए। यस्ता पर्चा तथा पत्रिकाहरू उनले पाएतापनि उनले यसलाई शत्रुको एक चाल सोची अविश्वास गरेका थिए जुन कुरा उनलाई प्रशिक्षणमा सिकाइएको थियो।

सन् १९४५ को अन्त्यतिर अधिक पर्चा तथा पत्रिकाहरू विभिन्न स्थानहरूमा वितरण गरिएको थियो। जहाँ जापानी सेनाको प्रमुख सेनापति तोमोयुकी यामासितालाई आत्मसमर्पण गर्ने आदेश पनि छापिएको थियो। ओनोदाको टोलीले यी समाचारहरू पनि झुठा र शत्रुको चाल ठहर गरेका थिए। समुराई राजवंशका छोरा ओनोदाले आफ्नो देश जापानले आत्मसमर्पण गर्न सक्छ भन्ने कुरा सोच्न सकेका थिएनन्। उसलाई अन्तिम श्वास रहँदासम्म सङ्घर्ष गर्न सिकाइएको थियो यसकारण ओनोदा सहित उनका दुई सहयोद्धाहरूले लडाइँ जारी राखेका थिए।

सन् १९४९ मा युचु आकातसु नाम गरेका योद्धाले युद्ध समाप्त भएको बोध गरेका थिए। पछि उनले उक्त टोलीबाट छुट्टिई फिलिपी सेना समक्ष आत्मसमर्पण गरेका थिए। आकातसुको आत्मसमर्पण पश्चात् सम्पूर्ण विश्वलाई ओनोदाको बारेमा थाहा हुन पुगेको थियो। पछि ओनोदा परिवारलाई सम्पर्क गरी उनीहरूद्वारा लेखिएको पत्रहरूलाई पनि सन् १९५२ मा जहाजबाट खसालिएको थियो। ओनोदाले यसलाई पछि झुठो प्रचारको भनी शत्रुको चाल ठहर गरिदिएका थिए। उक्त पत्रहरू उसको परिवारका सदस्यहरूलाई जबरजस्ती लेख्न लगाइएको उनले ठानेका थिए।

अर्को दुई दशकसम्म ओनोदाले कडा लडाइँ तथा सङ्घर्ष गरेका थिए। सन्‌ १९५४ मा उनका साथी सोइची सिमादाको फिलिपिनी सेनाद्वारा चलाइएको गोली लागेर मृत्यु भएको थियो। किनसिची कोजुका ओनोदाका अन्तिम सहयोद्धा थिए जसले सन् १९७२ अक्टोबर १९ का दिन गाउँको एक दोकानलाई आगो लगाउने क्रममा फिलिपिनी सेनाद्वारा चलाइएको गोली लागि मृत्यु भएको थियो।

ओनोदाले त्यसपछि एक्लै सङ्घर्ष गर्न सुरु गरेका थिए। सारा संसारसँगको उनको युद्ध त्यस समयसम्म पनि बन्द भएको थिएन। नोरिओ सुजुकी नामक एक व्यक्तिले पछि ओनोदालाई खोज्छु भनेर घोषणा गरेका थिए जो पछि ओनोदा, पान्डा र यतिको खोजीमा हिँडेका थिए। आफ्नो लक्ष्य प्राप्त गर्ने हिँडेका सुजुकीले अभियानको ४ दिनमा ओनोदालाई भेटेका थिए। थुप्रै वर्ष अगाडि युद्ध समाप्त भैसकेको कुरा सुनाउँदा पनि ओनोदालाई विश्वास थिएन र उनले म मेरो वरिष्ठ अधिकारीको आदेश बिना युद्ध रोक्न सक्दिन भनेर भनेका थिए। तत्कालका समयका जापानी प्रमुख सेनापति योसिमी तानिगुचीले युद्ध समाप्त भएपछि पुस्तकको व्यापार सुरु गरेका थिए।ओनोदाका सेनापति तानिगुचीलाई पनि लुबाङ लगिएको थियो।

यस पटक सन् १९७४ मार्च ९ का दिन युद्ध समाप्त भएको लगभग तीसवर्ष पछि ओनोदा जङ्गलबाट बाहिर आएका थिए। उनले त्यस समय पनि २९ वर्ष अघि लगाएको पोशाक पहिरिएका थिए, उनको हातमा एक राइफल र कम्मरमा तरवार रहेको थियो। यत्रो वर्षपछि आफ्ना सेनापतिलाई देखेर उनले चिच्चाउँदै "अर्को आदेश, मेजर"? भनेर भनेका थिए। आफ्ना सेनापतिलाई देखेर यथार्थ थाहा पाएपछि उनी निकै बेर रोएका थिए। प्रमुख सेनापतिको आदेश पछि ओनोदाले अस्त्र समर्पण गरेका थिए। त्यससमय उनको साथमा ५०० राइफल गोल, तरवार र एक छुरी रहेको थियो। उनले नियम अनुसार देशको झण्डालाई सलाम गर्दै आफ्नो २९ वर्षे युद्ध समप्त गरेका थिए। आत्मसमर्पणको सर्त अनुसार उनी युद्ध अपराधबाट मुक्त भएका थिए। [७][८]

युद्ध पश्चात्को जीवन[सम्पादन गर्ने]

जापान फर्केपछि ओनोदा लोकप्रिय निकै बढेको थियो भने केही व्यक्तिले उनीहरूलाई जापानको राष्ट्रिय ऐनसभामा भाग लिन आग्रह गरेका थिए। जापानको फर्किएको केही समय पछि उनले मेरो तीस वर्षको युद्ध नामक एक आत्मजीवनी प्रकाशन गरेका थिए जहाँ उनले लामो समय बितिसकेको युद्धमा छापामार लडाकूको रूपमा आफ्नो जीवनको विवरण प्रस्तुत गरेका थिए।[६] फिलिपिन्सको एक वृत्तचित्रले ओनोदाको बसाईकै समयमा लुवाङ टापुमा बसोबास गर्ने व्यक्तिको अन्तर्वार्ता लिएको थियो जसले ओनोदाले धेरै व्यक्तिहरूको हत्या गरेका थिए भन्ने कुरा प्रकट गरेका थिए जसको बारेमा उनले आफनो आत्मकथामा उल्लेख गरेका थिएनन्। समाचार माध्यमहरूले पछि यावत् गलत सूचनाहरूको प्रकाशन गरेका थिए भने यसको साथसाथै उनलाई घर फर्किएपछि स्वागत गरेका थिए। जापानी सरकारले उनले दिएको योगदान स्वरूप ठूलो धनराशिको प्रस्ताव गरेको थियो जुन उनले अस्वीकार गरेका थिए। पछि उनले त्यो धनराशिको रकम यासुकुनीलाई दान दिएका थिए।[९]

ओनोदा कथित रूपमा यस्तो आकर्षणको विषय बनेकामा दुःखी थिए। सन् १९७५ को अप्रिलमा उनले आफ्नो दाजु तादाओको उदाहरणलाई अनुसरण गरी जापानबाट ब्राजिलमा बसाइँसराइ गरी गाईवस्तु पाल्न सुरु गरेका थिए। उनले सन् १९७६ मा विवहा गरी कोलोनिया जेमिकमा एक प्रमुख भूमिका निर्वाह गरेका थिए जो ब्राजिलको माचु ग्रोस्सु दु सुलमा बस्ने एक जापानी समुदाय थियो।[१०] ओनोदाले ब्राजिलशो वायु सेनालाई त्यस भूमिमा प्रशिक्षणलाई सञ्चालन गर्नेको अनुमति दिएका थिए जुन उनको स्वामित्वमा रहेको थियो। सन् १९८० मा आफ्नो बुबाआमाको हत्या गरेको एक जापानी किशोरको बारेमा पढेपछि ओनोदा सन् १९८४ मा जापान फर्किँदै जापानको विभिन्न स्थानहरूमा आयोजित युवाहरूका लागि ओनोदा सिसिन जुकु नामक एक शैक्षिक शिविरको स्थापना गरेका थिए। [११] ओनोदाले कहिलेपनि ३० फिलिपिनो नागरिकहरूको (अधिकांश कृषकहरू) हत्या गर्ने, उनीहरूको खाना चोरी गर्ने वा उनीहरूद्वारा उब्जाइएको अन्नलाई नष्ट गरेको बारे कुनै पनि पश्चाताप व्यक्त नगरेतापनि फिलिपिनी राष्ट्रपति फेर्दिनान्द मार्कसले उनलाई एक टेलिभिजन समारोहमा पूर्ण रूपमा माफी दिएका थिए जसको फलस्वरूप सन् १९९६ मा ओनोदाले लुवाङ टापुको भ्रमण गरेका थिए जहाँ उनकी श्रीमती नि होनोकुले ओनोदाको तर्फबाट त्यहाँको एक विद्यालयलाई १० हजार अमेरिकी डलरको छात्रवृत्ति दानको व्यवस्था गरेकी थिइन्।[१२] नि होनोकु सन् २००६ मा दक्षिणपन्थी जापान महिला सङ्घको प्रमुखको बनेकी थिइन्। यो सङ्घ सन् २००१ को सेप्टेम्बरमा निपोन काइगीद्वारा स्थापना गरिएको एक महिला सङ्गठन हो। [१३]

धेरै वर्षसम्म ओनोदाले वर्षको तीन महिना ब्राजिलमा बिताएका थिए। ओनोदालाई सन् २००४ डिसेम्बर ६ का दिन ब्राजिली हवाई बलका तर्फबाट सान्तुस-दुमन्त पदकबाट सम्मानित गरिएको थियो।[१४] २१ फेब्रुअरी २०१० मा मातु ग्रोस्सुको दु सुलको एक विधानसभाले उनलाई सिदादोऊ नामक उपाधि हस्तान्तरण गरेको थियो। [१५]

मृत्यु[सम्पादन गर्ने]

सन् २०१४ जनवरी १६ का दिन ओनोदाको टोकियोको सेन्ट लुकको अन्तर्राष्ट्रिय अस्पतालमा निमोनियाको जटिलताले गर्दा हृदयघातका कारण मृत्यु भएको थियो।[१६] जापानी प्रधान मन्त्रिपरिषदका सचिव सुगा योसिहिदे उनको मृत्युको बारेमा टिप्पणी गरेको टिप्पणी यस्तो छ; "मलाई स्पष्ट रूपमा लाग्छ, ओनोदा जापान फर्किएपछि मात्र युद्ध समाप्त भएकोमा म विश्वस्त छु"। सुगाले ओनोदाको बाँच्ने चाहनाको प्रशंसा गरेका थिए। [१७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Willacy, M. (2010): Japanese holdouts fought for decades after WWII ABC Lateline (November 12, 2010). Retrieved on September 16, 2011.
  2. Powers, D. (2011): Japan: No Surrender in World War Two BBC History (February 17, 2011). Retrieved on September 16, 2011.
  3. ३.० ३.१ Brown, P. (2010): Hiroo Onoda’s Twenty Nine Year Private War वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २०१३ मिति Pattaya Daily News (15 June 2010). Retrieved on 16 September 2011.
  4. 2nd Lt. Hiroo Onoda (c. 2010). Retrieved on 3 April 2011.
  5. 网易 (२०१४-१०-२२), "二战最后一个阵亡的日本士兵:1972年10月", war.163.com, अन्तिम पहुँच २०१९-०७-२६ 
  6. ६.० ६.१ Kawaguchi, J. (2007): Words to live by: Hiroo Onoda The Japan Times (January 16, 2007). Retrieved on September 16, 2011.
  7. হুসেন, জাভেদ (२०१९-१०-२७)। "বিশ্বযুদ্ধ শেষ হওয়ার পর আরও ২৯ বছর যুদ্ধ চালিয়ে গেছেন তিনি"দৈনিক প্রথম আলো। মতিউর রহমান। सङ्ग्रह मिति २०१९-१०-२७ 
  8. "यस्ताे विचित्र घटना घटेकाे थियाे इतिहासमा !!!"। सम्पूर्ण विक्ली। २०१८-१२-२०। सङ्ग्रह मिति २०२०-१२-२१ 
  9. "谷口義美:出生地:鹿兒島出生日期:明治44年 -華人百科", www.itsfun.com.tw, अन्तिम पहुँच २०१९-०९-१९ 
  10. "i-Witness – Ang Huling Sundalong Hapon (Part 3 of 4)", अन्तिम पहुँच २६ सेप्टेम्बर २०१२ 
  11. "Brazilian Report on Hiroo Onoda", Brazilian Air Force, ८ डिसेम्बर २००४, मूलबाट ११ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २००५ 
  12. Mercado, Stephen C. (२००३), The Shadow Warriors of Nakano, Brassey's, पृ: 246–247, आइएसबिएन 1-57488-538-3 
  13. "Wife of 'No Surrender' soldier becomes president of conservative women’s group", Japan Probe, २९ नोभेम्बर २००६, मूलबाट ११ जुलाई २००९-मा सङ्ग्रहित। 
  14. "Combatente da II Guerra ganha medalha da FAB" (पुर्तुगालीमा), Brazilian Air Force Centro de Comunicação Social da Aeronáutica Center for Social Communication of the Air, ८ डिसेम्बर २००४, मूलबाट ११ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २००९ 
  15. "Herói japonês que mora em Terenos recebe homenagem" (पुर्तुगालीमा), A Crítica, २१ फेब्रुअरी २०१०। 
  16. Mullen, Jethro and Yoko Wakatsuk (१७ जनवरी २०१४), "Hiroo Onoda, Japanese soldier who long refused to surrender, dies at 91", CNN, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  17. McCurry, Justin (१७ जनवरी २०१४), "Hiroo Onoda: Japanese soldier who took three decades to surrender, dies", The Guardian, अन्तिम पहुँच १७ जनवरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]