कृष्णसेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कृष्णसेन इच्छुक
जन्म२०१३ कार्तिक ३
देहरादुन, भारत
मृत्यु२०५९ जेठ १३
महेन्द्र पुलिस क्लब
शिक्षाबी.एड.
पेशापत्रकार
जीवनसाथीतक्मा केसी
सन्तानसमीक्षा केसी (छोरी)
मातापितायमबहादुर सेन (बुबा), भीमकुमारी (आमा)

कृष्णसेन इच्छुक (२०१३-२०५९) नेपालका युवा पत्रकार थिए । माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो । यिनी द्न्द्वकालमा राज्य पक्षबाट मारिएका थिए।

जीवनी[सम्पादन गर्ने]

बाल्यकाल[सम्पादन गर्ने]

कृष्ण सेनको पुर्ख्यौली घर प्यूठान जिल्लाको साराङकोटमा थियो । उनका परिवार त्यहाँबाट अर्घाखाँचीको जलुके गा.वि.स. ७, सातमारामा बसाई सरेको थियो । उनका बुबा भारतीय सेनामा जागिरे थिए । उनको जन्म भारतमै २०१३ सालमा पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट भएको थियो । उनको ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो । [१]

शिक्षा[सम्पादन गर्ने]

इच्छुकले कक्षा १ देखि ८ सम्म दाङ जिल्लाको देउखुरीमा रहेको श्री आदर्श मा.वि.मा पढे । कक्षा ९ र १० दाङ जिल्लाकै लालमटियास्थित श्री सरस्वती हाइस्कुलमा पढे । उनले २०३२ सालमा दोस्रो श्रेणीमा एस.एल.सी. पास गरे । एस.एल.सी. पास गरेपछि उच्च शिक्षा पढ्ने उनको चाहना हुँदाहुँदै पनि गरिबीले उनी पढाइ छाडी कोइलाबासमा भएको साल्ट ट्रेडिङ्गको कार्यालयमा काम गर्न थाले । काम गर्दागर्दै उनले स्वाध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आई.ए. उत्तीर्ण गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट बी.एड परीक्षा उत्तीर्ण गरे । उनी विश्वविद्यालयमा भर्ना भएर एम.ए. अध्ययन गर्न थाले तर जनताको पक्षमा सक्रिय भएर आन्दोलनमा लाग्दा उनले एम.ए.को पढाई पुरा गर्न सकेनन् ।। [१]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

कृष्णसेनको विवाह २०४८ सालमा तक्मा केसीसँग भएको थियो र उनीहरुको कोखबाट छोरी समीक्षाको जन्म भएको थियो ।[१]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

जनयुद्मा जस्तै जनसाहित्यमा पनि कृष्णसेन इच्छुकको योगदान महत्वपूर्ण छ । उनले २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति‘ भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका थिए । उनले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा ‘शोकाञ्जलि’ काव्य लेखे जो २०४८ सालमा उनको पहिलो कृतिको रुपमा प्रकाशित भएको थियो ।[१]

जेल जीवनका क्रममा लेखिएका सुविख्यात पत्रकार कृष्णसेन इच्छुकका रचनाहरू इतिहासको यो घडिमा, बन्दी र चन्द्रागिरि, शोकाञ्जलि लगायतका झण्डै आधादर्जन कृतिहरू उत्तिक्कै प्रख्यात छन् जति जुलियस फ्युचिकले हिटलरको गेस्टापोले दैनिकरूपमा दिने गरेको दानवीय यातना सम्वन्धी जेलमा लेखिएको 'झुण्डयाउँदा झुण्ड्याउँदै' कृति प्रख्यात रहेको छ[२]

कृष्णसेनले लेखेको कविता प्रतिवन्ध निकै प्रसिद्ध मानिन्छ।
==::प्रतिवन्ध==
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि-याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।
ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुस र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध सङ्र्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुट्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू ! अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ

राजनैतिक जीवन[सम्पादन गर्ने]

२०३६ सालको विद्यार्थी आन्दोलनमा कृष्ण सेनलाई निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार गर्योल । जेलको कालकोठरीबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भए । क्याम्पसमा पढ्दा उनी विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनी २०३९ सालमा पुनः पक्राउ परे । त्यस बेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे ५ वर्ष जेलमा थुन्यो । उनी २०४४ सालमा मात्र जेलबाट छुटे ।

स्कूल पढ्दादेखि नै कृष्ण सेनलाई जनताको पक्षमा गरिने राजनीतिक विचारधाराले प्रभावित पारेको थियो । उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०३७ सालदेखि उनले दाङमा सक्रिय रुपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०४५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वत्नत्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । २०४६ सालमा उनी क्म्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बने । पछि उनी संयुक्त जनमोर्चा नेपालको सम्त केन्द्रीय सदस्य बने । साथै उनी अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद, पत्रकार महासङ्घका पार्षद, दक्षिण एशियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यसमेत भए ।

कृष्णसेन इच्छुक बहुप्रतिभाशाली व्यक्ति थिए । उनी नेपाली दुःखी गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक र युद्धमोर्चाका पत्रकार थिए । साथै, उनी जनयुद्धका योद्धा पनि थिए । उनी शोषित पीडित बहुसङ्ख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने, राजनीतिक विचारक तथा सशक्त माधवअधिकारवादी थिए ।

निधन[सम्पादन गर्ने]

जनताका पक्षमा लाग्ने कृष्ण सेनको लेखक, पत्रकार, मानवअधिकारवादी र मुक्तियोद्धाको भूमिकालाई निरङ्कुश शासनतन्त्रले देख्न सकेन । परिणामस्वरुप पटकपटक गरी दश वर्षसम्म उनलाई जेलमा यातनापूर्वक थुनियो र अन्त्यमा सेनलाई २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तार पछि महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या गरियो । ४६ वर्षको जीवनमा देश र जनताका लागि बिर्सन नसक्ने गरी गुण लगाएर उनी मरे । [२]

कृष्णसेन इच्छुक सांस्कृतिक प्रतिष्ठान[सम्पादन गर्ने]

यिनको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको स्थापना भएको छ। प्रतिष्ठानले इच्छुक स्मृति पुरस्कार तथा इच्छुक प्रतिभा पुरस्कार स्थापना गरेको छ। जनवादी साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्या्उने व्यक्तित्वलाई प्रदान गरिने भनिएको यी पुरस्कार हरूको पुरस्कार राशि क्रमश एक लाख रूपैयाँ र २५ हजार रूपैयाँ रहेको छ। त्यसका अतिरिक्त प्रतिष्ठानले इच्छुक द्वारा सृजना भएका ग्रन्थहरूको प्रकाशन तथा प्रसार गर्ने गर्दछ। [४]। तत्कालिन एकीकृत नेकपा माओवादीले उनैको नाममा २०६० साल असोज ११ गते देखि[५] कृष्णसेन अनलाईन सञ्चालन गरेको छ।

कृतिहरु[सम्पादन गर्ने]

  • शोकाञ्जलि २०४८
  • इतिहासको यस घडीमा २०५६
  • बन्दी र चन्द्रागिरी २०५८
  • पर्खालभित्रका बन्द आवाजहरु (प्रकाशनमा नआएको)

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

  • राप्ती साहित्य-सन्ध्या पुरस्कार, २०५७
  • स्रष्टा पुरस्कार २०५८
  • साहित्य सङ्गम चितवन सम्मान २०५८
  • प्रगतिशील लेखक सङ्घ नेपाल सम्मान २०५९
  • पारिजात सिर्जन पुरस्कार २०५९
  • कृष्णमणि साहित्य पुरस्कार २०५८

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ आचार्य, विजयराज (२०६७), "कृष्णसेन इच्छुकः सहिद कवि", in विनय कसजू, अग्रज स्रष्टाहरु, विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौं, पृ: ८०–८६, आइएसबिएन 9789937523905 
  2. २.० २.१ http://www.majdooronline.com/2012/09/blog-post_7229.html
  3. इच्छुक, कृष्णसेन (१९ जनवरी २०१४), "कृष्ण सेन ‘इच्छुक’ – प्रतिबन्ध", अन्तिम पहुँच १९ जुन २०१८ 
  4. "इच्छुक सांस्कृतिक प्रतिष्ठानले अहिलेसम्म केके गर्यो. ?", अनलाइन खबर, अन्तिम पहुँच २०७५ मंसिर २२ 
  5. http://krishnasenonline.org/main/about_us.php?pname=krishnasen

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]