कोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



  • शरीरको माथिल्लो भागमा लगाईने बाक्लो कपडाको लुगा
  • सामरिक प्रयोजन (सुरक्षा) निमित्त बनाइएको किला वा दुर्ग

संस्कृत शब्द 'कोट' का धेरै अर्थ बुझिन्छन्। तीमध्ये चुचुरोलाई बुझाउने 'कूट' शब्दबाट प्राकृत हुँदै 'कोट' शब्द आएको कुरा प्रा. बालकृष्ण पोखरेलबाट बताइएको छ। 'कोट' मूलतः राज्यको सीमा-सुरक्षानिमित्त बनाइएको किला वा दुर्ग हो। यसबाहेक उच्च चुचुरोमा रहेको स्थलविशेष पनि हो। जस्तो कि नेपालीमा कोटकी कालिका, कोटकी देवी-द्यौराली इत्यादि भन्ने चलन छदँैछ। त्यस्तै, राष्ट्रको सुरक्षाका लागि निर्मित किल्ला वा कोट अत्यावश्यक उपकरण हो। जसलाई 'दुर्ग' पनि भनिन्छ। 'दुर्ग' का किसिम वा प्रकार धेरै बताइएका छन्। विविध दुर्गहरूको चर्चा कौटलीय अर्थशास्त्र तथा मनुस्मृति आदिमा पाइन्छ। यहाँ वनदुर्ग, गिरिदुर्ग, मट्टीदुर्ग आदि मजबुत बनाइ राष्ट्रको सुरक्षा गर्नु, सहर बसाउनु इत्यादि भनिएको छ। साथै यिनमा गिरिदुर्ग, वनदुर्गको विशेष महत्त्व मानिएको पनि बुझिन्छ। राष्ट्रको सवलता र व्यवस्थित सुरक्षाको निम्ति लिच्छविकालमा कोट्ट -कोट)को रूपमा विभिन्न दुर्गस्थलहरू बनाइएको बुझिन्छन्। जसको व्यवस्थापन एवं संरक्षणनिम्ति 'कोट्टनायक' पद निर्धारण गरिएको पनि बुझिन्छ। लिच्छविकालिक अभिलेख प्राप्त कोट्ट -कोट)को अध्ययनबाट थाहा हुन्छ-त्यतिखेरका कतिपय कोटहरूको सीमा ठूलो बुझिन्थ्यो र त्यसको परिपालन, नीतिनियम निश्चित थियो। विस्तृत एरिया -क्षेत्र) लिएका ती कोटभित्र निर्धारित बस्ती बसाइएको पाइनुका साथै त्यहाँ खेतीपातीसमेत गरिन्थ्यो। अनि स्थिति बन्देजको मर्यादा कायम गर्न, व्यवस्थित नियम अपनाउन र नियम-व्यवहारमा ल्याउन 'कोट्टमर्यादा' कायम गरिएको बुझिन्थ्यो भन्ने कुरा धनबज्र बज्राचार्यले 'लिच्छविकालका अभिलेख' पुस्तकमा उल्लेख गरेका छन्।

यसरी नेपाली जनजीवनमा 'कोट' -कोट्ट)को ऐतिहासिकता पुरानो देखा परे पनि यहाँ 'कोट'को विशेष चलन वा व्यवहारिक विकास बाइसे-चौबीसे राज्यकाल (१५ औं शताब्दीतिर) बाट हुन पुगेको देखिन्छ। यस समयमा तत्कालीन भुरे टाकुरे राजाहरू बैरीबाट संरक्षित हुन आफ्नो मूलथलो -राजधानी) का पहाडको समुचित टाकुरो छानी त्यहीं ठाउँ 'कोट'मा राजदरबार-गढी बनाउने परम्परा निकै चलेको, लोकपि्रय बनेको बुझिन्छ। फेरि कतैकतै मौसम अनुकूल वर्षे र हिउँदे अर्थात् गर्मी र जाडो समय मिलाई कोट र बेँसीमा राजदरबार पनि बन्न पुगे। यसप्रकार 'कोट' शब्दार्थको व्यवहारिकता विस्तारित हुँदै गयो र 'कोट' डाँडो वा पर्वतको चुचुरो भन्ने अर्थमा मात्र सीमित नभई नेपालका महत्त्वपूर्ण बस्तीहरूमा समेत जोडिन पुग्यो। -जस्तै : गल्कोट, चरिकोट, भीरकोट इत्यादि)। यसरी हेर्दा 'कोट' शब्द नेपाली लोकजीवनमा निकै जनपि्रय बनी प्रचलित हुनपुगेको यथार्थ अनुभूत हुन्छ।