कौसल्या
| कौसल्या | |
|---|---|
| कोसलकी रानी | |
कौशल्याले रामलाई जन्म दिँदै | |
| जीवनसाथी | दशरथ |
| सन्तान | राम |
| घराना | अयोध्या |
| वंश | रघुवंश-सूर्यवंश (विवाहद्वारा) |
| बाबु | सुकोशल |
| आमा | अमृतप्रभा |
| धर्म | हिन्दु |
कौसल्या हिन्दु महाकाव्य रामायणका अनुसार कोसलकी रानी हुन्। उनी कोसलका राजा दशरथकी जेठी रानी थिइन्, जसले अयोध्याबाट शासन गर्ने गर्दथे। उनी महाकाव्यका मुख्य पात्र रामकी माता हुन्।[१] रामायणमा उनी एक सहायक पात्रको रूपमा रहेकाले उनको जीवनका केही पक्षहरू मात्र विस्तृत रूपमा वर्णन गरिएको छ।[२]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]जन्म
[सम्पादन गर्नुहोस्]रामायणका रचयिता वाल्मीकिले कौसल्याका माता-पिताको नाम उल्लेख गरेका छैनन्, तर अयोध्याकाण्ड अध्यायमा उनलाई 'कोसलेन्द्रदुहिता' (अर्थात् कोसलका राजाकी छोरी) भनी वर्णन गरिएको छ।[३] प्राचीन भारतको कोसल क्षेत्रको राजधानी अयोध्या थियो। पद्म पुराणमा पनि कौशल्या कोसलका राजकुमारकी छोरी थिइन् भनी व्याख्या गरिएको छ।[४]
पछिल्ला धर्मग्रन्थहरूले उनलाई दक्षिण कोसलका राजा सुकोशल र रानी अमृतप्रभाकी छोरीका रूपमा चिनाएका छन्।[५] उनको परम्परागत जन्मस्थानमा उनलाई समर्पित 'माता कौशल्या मन्दिर' अवस्थित छ, जुन सायद उनलाई समर्पित थोरै मन्दिरहरूमध्ये एक हो।
विवाह र रामको जन्म
[सम्पादन गर्नुहोस्]रामायणको बालकाण्ड अध्यायमा कौसल्याको पहिलो पटक उपस्थिति देखिन्छ। छोराहरूको आशीर्वाद पाउने आशामा उनले दशरथ र अन्य दुई रानीहरूसँगै अश्वमेध यज्ञ गर्छिन् (उनीहरूको शान्ता नामकी छोरी थिइन्, जसलाई धर्मपुत्रीका रूपमा अर्को परिवारमा दिइएको थियो)।[६] ऋष्यशृङ्गद्वारा नेतृत्व गरिएको उक्त यज्ञमा, एक दिव्य पुरुषले दशरथलाई देवताहरूले तयार पारेको दिव्य खीरले भरिएको सुनको कचौरा प्रदान गर्छन्। दशरथले यस दिव्य भोजनको आधा भाग कौसल्यालाई, एक चौथाइ सुमित्रालाई, आठौँ भाग कैकेयीलाई र पुन: विचार गरी अन्तिम आठौँ भाग फेरि सुमित्रालाई दिन्छन्।[७] फलस्वरूप, कौशल्याबाट राजकुमार राम, कैकेयीबाट भरत र सुमित्राबाट जुम्ल्याहा छोराहरू लक्ष्मण र शत्रुघ्नको जन्म हुन्छ। रामलाई हिन्दु धर्ममा भगवान विष्णुको अवतार र रामायणको केन्द्रीय पात्रका रूपमा चिनिन्छ।
रामायणको अयोध्याकाण्डमा कौशल्यालाई उनको पवित्र स्वभावका कारण "नारीहरूमा सर्वश्रेष्ठ" भनिएको छ।[२]
रामको वनवास र पुनरागमन
[सम्पादन गर्नुहोस्]
यदि राम राजा बने भने कौशल्या 'राजमाता' बन्ने र कैकेयी भन्दा शक्तिशाली हुने ठानेर रामलाई वनवास पठाउने गरि कैकेयीले योजना बनाउँछिन्।यस्ता कुराहरू उनलाई हुर्काउने मन्थराले उनको मनमा भरिदिएकी हुन्छिन्।[८] त्यसपछि कैकेयीले दशरथलाई छलकपट गरी रामलाई चौध वर्षको वनवास र भरतलाई युवराज बनाउन बाध्य पार्छिन्।
जुन दिन राम युवराज बन्नेवाला थिए, राम आफैँले कौसल्यालाई दशरथले उनलाई वनवास पठाएको जानकारी दिन्छन्। कौसल्या र लक्ष्मण दुवैले रामलाई वन नजान मनाउने प्रयास गर्छन् तर[९] उनीहरूको प्रयास असफल हुन्छ। कौसल्याले आफूलाई पनि वन लैजान रामसँग बिन्ती गर्छिन्। तर रामले उनलाई दरबारमा परिवार र राज्यप्रतिको उनको कर्तव्य सम्झाउँछन्। राम वन प्रस्थान गर्दा, दशरथ र कौसल्या उनको रथको पछि-पछि दौडिएको देखेर रामले सारथि सुमन्त्रलाई रथ छिटो चलाउन आग्रह गर्छन्।
रामको प्रस्थानपछि दशरथ र कौसल्या छोराको वियोगमा छटपटाउन थाल्छन् र केही समयपछि दशरथको मृत्यु हुन्छ।[२] कौसल्याले आफ्ना पति दशरथलाई रामलाई वनवास पठाएर उनलाई नष्ट गरेको आरोप लगाउँछिन्।
चौध वर्षपछि, रामको राज्याभिषेकसँगै कौसल्या राजमाताको रूपमा सम्मानित हुन्छिन्। रानी कौसल्यालाई द्रोणवसुकी पत्नी धरा (ब्रह्माणी)को अवतार मानिन्छ। उनले विष्णुबाट वरदान पाएकी थिइन्, जसमा भगवानले त्रेता युगमा उनको छोराको रूपमा जन्म लिने वाचा गरेका थिए।[१०]
उपासना
[सम्पादन गर्नुहोस्]छत्तीसगढको रायपुर जिल्ला अन्तर्गत चन्दखुरीमा 'माता कौसल्या मन्दिर' अवस्थित छ। यस मन्दिरलाई छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल र अन्य विशिष्ट व्यक्तिहरूले 'राम वन गमन पथ' परियोजना अन्तर्गत अक्टोबर २०२१ मा पुनरुत्थान गरी उद्घाटन गरेका थिए।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Ramayana in Sanskrit: Book 1: Chapter 5"।
- 1 2 3 The Rāmāyaṇa of Vālmīki: An Epic of Ancient India, Volume II: Ayodhyakāṇḍa, Princeton University Press, १९८६।
- ↑ "The Ramayana in Sanskrit: Book 2: Chapter 59"।
- ↑ Arya, Samarendra Narayań (१९९०), "Historicity of Ayodhya", Proceedings of the Indian History Congress 51: 44–48।
- ↑ Sukhdev Singh Chib (१९७७), Punjab, Light & Life, पृ: २।
- ↑ Goldman, Sally J. Sutherland (२०१८), "Women at the Margins: Gender and Religious Anxieties in Vālmīki's Rāmāyaṇa", Journal of the American Oriental Society 138 (1): 45–72।
- ↑ "The Ramayana in Sanskrit: Book 1: Chapter 15"।
- ↑ Publication, Tjprc (२०१३-१०-३१), "Images of Mother in Ramayana and Sundiata. A Comparative Critique", International Journal of English and Literature।
- ↑ Damani, Gaurang (२०२१), Essence of the Fifth Veda (Englishमा), Delhi: Motilal Banarsidass Publishing House, पृ: 2, 9, आइएसबिएन 978-9391430139।
- ↑ "Ramayana | Summary, Characters, & Facts", Encyclopedia Britannica।
- ↑ "Chhattisgarh CM inaugurates renovated Chandkhuri Mata Kaushalya temple", The New Indian Express, अन्तिम पहुँच २०२२-०५-१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
कौसल्यासँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
