गलकोट राज्य
गलकोट मध्यकालीन चौबीसी राज्य थियो। बि.सं १६३१ मा स्थापना भएको यो राज्य १८४२ मा नेपालमा विलय भएको थियो। [१] बागलुङ जिल्लाको ऐतिहासिक स्थल हो । यहाँ एक हजार १०० फिट अग्लो स्थानमा घुम्टेको लेक छ । यो लेकबाहेक ऐतिहासिक गलकोटे राजाको दरबार, गाजाको दह, गाइघाटको झरना, हटियाको कोतदरबार, दर्जनौं ठाउँमा रहेका गुफा, दरमखोलालगायत यहाँका आकर्षण हुन् । बागलुङ सदरमुकामदेखि १० कोष पश्चिममा रहेको गलकोट क्षेत्रभित्र १६ गाविस छन् । चौबीसी राज्य हुँदा गलकोटे राजाले शासन गरेको स्थान भएकाले पनि उक्त स्थान ऐतिहासिक हिसाबले महत्त्वपूर्ण छ । प्राकृतिक सम्पदा, भूबनोट, संस्कृति, रीतिरिवाज र जैविक हिसाबले पनि गलकोट जिल्लाको महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।
गलकोट राज्यको सीमाना पूर्वमा बिहुँको काठेखोला, पश्चिममा पाण्डवखानीको काभ्रेखोला, उत्तरमा म्याग्दी रुमको देउराली र दक्षिणमा गुल्मी मुसिकोटको निबुवा खोलासम्म फैलिएको थियो ।
इतिहास
[सम्पादन गर्नुहोस्]बि.सं १६३१ मा स्थापना भएको थियो । यसको राजधानी हिउँदमा स्याँलाको धुरीमा अवस्थित ठूलो कोट भनिने स्थान र बर्सादमा रजराथियो । गोरखाली सेनाले वि.सं. १८४४ जेठ महिनाको अन्तिम साता (कतै अश्विन महिना) मा गलकोट राज्यलाई कब्जामा लियो । अन्य राज्य सरह गलकोट राज्य २१३ वर्षपछि वि.सं. १८४४ मा खोसियो ।
रजौटा राज्य
[सम्पादन गर्नुहोस्]स्वायत्त गलकोट राज्य केन्द्र सरकारबाट खोसिएपछि उनै जगतप्रतापका छोरा राज्यप्रतापको समयदेखि राजा भरतबम मल्लको समयसम्म गलकोट एउटा रजौटा राज्यका रुपमा कायमै रह्यो । जगतप्रतापका जेठा छोरा राज्यप्रताप र कान्छा ज्योतिप्रताप दुबै भाइको विवाह काठमाडौं राजदरबारका कन्या (चौतारा पुत्री) सँग भएको थियो । राजदरबारसँगको सम्बन्धका कारण उनै राज्यप्रतापले रु. दुई सय नगद र तीन मुरी बिउको अनाज उब्जिने जमिन बिर्ता स्वरुप प्राप्त गर्न सफल भए ।
राज्यप्रतापपछि पृथ्वीबमले तेस्रो नेपाल तिब्बत युद्ध (१९१२) मा नेपाल सरकारलाई गलकोटबाट सिपाही र हातहतियार सहयोग गरेका कारण उनले राज श्रीपेच, रजौटा उपाधि र रु तीन सयको नगद बिर्ता पाए।[२]
राजाको वंशावली
[सम्पादन गर्नुहोस्]- जितारी मल्ल
- पार्थिव मल्ल
- विभू मल्ल
- श्रीपति मल्ल
- श्रीदत्त मल्ल
- पृथ्वीपति मल्ल
- विभू मल्ल
- श्रीनिवाश मल्ल
- जगतवम मल्ल
- जगतप्रकाश मल्ल
- राज्यप्रताप मल्ल
- ज्योतीप्रकाश मल्ल
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]राज्यमा २००० घरकुरी थियो। प्रत्येक घरबाट घुरीकर २००० र अन्य स्रोतबाट ३००० गरी वार्षिक आम्दानी ५००० थियो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १२६-१३०, आइएसबिएन 99933-2-406-X।
- ↑ "गलकोटको संक्षिप्त चिनारी – प्रा. डा. दिनबहादुर थापा" (en-USमा), २०२१-०८-२७, अन्तिम पहुँच २०२६-०५-०५।