गोकुल जोशी
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
जनकवि जुरेली गोकुल जोशी को जन्म बिक्रम सम्बत १९८७ साल जेठ ८ गते तनहुँ जिल्ला को राइपुर ६ खोलाखेतमा भएको हो । जोशीकी आमाको नाम मनरुपा पोख्रेल हो भने पिताको नाम हरिलाल पोख्रेल हो । जन्मदा पश्चिम पाखामा जन्मे पनि जुरेली झैं कहिले यता र कहिले उता गरिरहनु पर्यो जीवनभर र मृत्यु पूर्व झापामा भयो त्यसैले उनलाइ जनकवि जुरेली भनिन्छ (वेदप्रकाश पोख्रेल समाजसेवी रायपुर) गोकुलको वाल्यकाल राइपुर मै बित्यो । उनी राइपूरको सम्झना कवितामा लेख्छन् ः–
कोदाको रोटी ढिडाको डल्लो डोकोले छोडेन
सुखको दिन गाउँले हो भन किन पो आएन
उक्लनुपर्छ यो ठूलो डाँडा भारी यो बोकेर
पुग्दैन खान भरिया घुम्छ पेट त्यो कसेर ।
खोल्सा र खोल्सी फोहोर सँधै राइपुर सम्झन्छु
सुखदुःख् को साथी डोको र नाम्लो रातदिन कल्पन्छु
लेखपढ गर्न मनसुवा थियो मौकाले दिएन
दुःखीको छोरो म दुःखी भएँ उज्यालो आएन ।
(धरा पत्रिका २०४९ अङ्क ९१)
गोकुल जोशी नेपाली साहित्यका चम्किला नक्षत्र हुन् । उनको बाल्यकाल दुःखपूर्ण त रह्यो नै साथै जीवनभर उनले दुःख पाइनैरहे । रोजगारीको सिलसिलामा जन्मभूमि छाड्नुपर्ने बाध्यताले गोकुललाइ पनि रोक्न सकेन र १२ वर्षको उमेर मै नून लिन बटौली जाने टोलीसँग मुगलान हानिए । उनको ढाक्रे कविता यसैको फलस्वरुप जन्मिएको थियो ।
शिक्षादिक्षा
[सम्पादन गर्नुहोस्]जोशीले कुनै पनि औपचारिक शिक्षा प्राप्त गर्न पाएनन् । गाउँमै बुढापाकासँग उनले अक्षर चिन्न सिके र रुद्री चन्डी आदि पढे । भारत पुगेर गोकुलले मुम्बइको एउटा रात्रीकालिन विद्यालयमा ५–६ महिना पढेको जानकारी पाइन्छ । उनले आँफुले शिक्षा नपाएपनि शिक्षाको राम्रो चेत भने उनीमा देखिन्छ । जोशी लेख्छन् ः–
लेखपढ गर्न मनसुवा थियो मौकाले दिए
दुःखीको छोरो म दुःखी भएँ उज्यालो आएन ।
शिक्षाको आँखा नखुलेसम्म देखिन्न सिर्जना
जानेर मर्ने इच्छाको मिठो मेटिन्न तिर्सना ।।
साहित्य
[सम्पादन गर्नुहोस्]गोकुल जोशीले नेपाली साहित्यको कविता र कथा क्षेत्रमा कलम चलाएका छन् । उनी जनताका कवि हुन् । झ्याउरे छन्दमा कविता लेख्ने जोशीका आधादर्जन कवितासङ्ग्रह र एउटा कथा सँग्रह प्रकाशित छन् । उनलाई जनकवि जुरेली को साहित्यीक उपाधि प्राप्त छ । उनी आशुकविका रूपमा पनि चिनिन्छन् । ठाउँको ठाउँ तत्कालै कविता रचना गर्नसक्ने जोशीले नेपालका विभिन्न ठाउँमा घुमेर लोकगीत संस्कृति र भेषभुषाको अध्ययन गरेका कुरा साथी श्यामप्रसाद लाई लेखेको चिठ्ठिमा पाउन सकिन्छ ।
जोशी क्रान्तिकारी कवि हुन् । नेपालीसाहित्यमा प्रगतिपथका प्रथम कविहरूमा जोशी पनि पर्दछन् ।
भोकभोकै मर्न लागे कविकलाकार
तड्पाएर नमारिदेउ झुण्ड्याएर मार ।
जस्ता पंक्तिका सिर्जनाकार जोशीले लेखकहरूको हकमा पनि आवाज उठाएका छन् र तानाशाही पद्धतिको विरोध गरेका छन् ।
शारदा पत्रिकामा उनले सरकारको विरोध गरेर लेखेको कविताको अंश यस्तो छ
विवश भए मनुष्य झुक्ला भावना झुक्दैन
शहिदका लाश लुकाए पनि दुष्टता लुक्दैन ।।
नेपालको चिन्ता र समृद्धिको सपना उनका कवितामा भेटिन्छन् । उनी नेपालका टाकुरामा बिजुलीबाट चल्ने कार दौडेको कल्पिन्छन् । महिला अधिकारका कुरापनि उनका कवितामा आउँछन् ।
नेपालको टाकुरामा दिन उदाएन
अझै हाम्रो पर्वतमा भाले कराएन ।
वनवनै सुसेलीमा रुनु कति पर्ला
नेपालीलाई कहिलेसम्म दास हुनुपर्ला ?
भोकभोकै तड्पिएर दिन कति टारौँ
नौलो युग ल्याउने भए नौलो बाटो लागौँ ।
को हो रोक्ने दूरदर्शी विचारका धारा ?
अग्रगामी नेपालको बोक्ने अभिभारा । (नेपालको भविष्य)
गोकुल जोशी नेपाली माटोको सुहाउँदो कवि हुन् । उनले जनताको बोलिलाई टपक्क टिपेर गीत लेखेका छन् । जोशीले महाकवि देवकोटा, श्यामप्रसाद शर्मा, बालकृष्ण पोख्रेल, तथा भारतीय साहित्यकार चक्रपाणी चालिसे , राहुल साँस्कृत्यायन आदिसँग सम्बन्ध बनाएका थिए । कवि भूपि शेरचनले जोशीलाई सच्चा जनकवि भनेका थिए ।
जनकप्रसाद हुमागाइँ लेख्छन् ः– जोशी अवैज्ञानिक, अन्ध रुढिवादी दर्शन र दृष्टिकोणका विरोधि थिए । यिनी वैज्ञानिक दर्शन र दृष्टिकोणका पक्षमा उभिन्थे । यिनि सर्वहारा वर्गको वर्गीय मुक्तिको सपना देख्थे ।
कस्तो होला सामूहिक खेतालाले गाउँदा
गण्डकीको थाप्लामाथि नयाँ युग आउँदा ??
“नेपालको भविष्य (१९९५ जुलाई)”“ एसियाको फूलबारी नेपाल”“डा.के.आई सिंहलाई नेपाल आउन देउ (२०१२)” नवप्रभात(१९९५ जुन) बाँच र बाँच्न देउ(२०१४) सिमानाको दिप २०१५ काव्यकृति तथा दूर्घटना कथा संग्रहका रचनाकार जोशीको ३१ वर्षको अल्पायुमै विभिन्न दुःख भोग्दै २०१८ साल असार ४ गते झापाको घैलाडुब्बामा मृत्यु भयो ।
जोशीको सम्झनामा विभिन्न पुरस्कारहरू स्थापना भएका छन् साथै उनको सिमानाको दीप नामक कवितासंग्रहको नाममा उनको जन्मभूमि राइपूरमा विद्यालय स्थापना भएको छ साथै पार्क निर्माण गरिएको छ ।