गोपालदास श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



वरिष्ठ पत्रकार गोपालदास श्रेष्ठको जन्म वि.सं. १९८७ जेठ ८ गते कलकत्तामा भएको हो। आफ्ना पिता चन्द्रदास श्रेष्ठको व्यापारिक हैसियतका कारण भारतमै साक्षर बनेका गोपालदास श्रेष्ठ विश्वयुद्धबाट भारत पनि प्रभावित भएपछि नेपाल आउनुभयो। नेपालमा आएपछि अध्ययन गर्न थाल्नु त भयो। तर २००५ सालमा प्रमाण-पत्र तहमा अध्ययन गर्दागर्दै राणाविरोधी भएकै कारण श्रेष्ठले २ वर्ष ८ महिना जेलमा बिताउनुपर्‍यो। त्यसअघि नै काठमाडौं, पाटन र भक्तपुरमा नेपाल प्रज्ञा पञ्चायतद्वारा आयोजित जनसभाका प्रखरवक्ताका रूपमा उहाँ चर्चित भइसक्नुभएको थियो। राणाकालदेखि नै बहुदलीय व्यवस्थाको पक्षमा रहेका उहाँलगायत पक्राउ परेकालाई त्यो बेला बिनापुर्जी जेलमा राखिएको थियो। जहानिया राणाशासनले देशभक्त सपुतहरूको हत्या गरेको यथार्थतामा उहाँलाई पनि मार्ने हल्ला त्यो बेला नचलेको होइन। तर संयोगवश २००७ सालको क्रान्तिले सफलता प्राप्त गर्‍यो। उहाँलगायत उहाँसँगै जेल परेकाहरू बाँचे। जेलजीवनबाट बाहिर आएपछि उहाँका सहयोगीहरूले ने.का.मा प्रवेश गरे। नेकाका नेताहरूबीच विवादले मातृकाप्रसाद कोइरालाद्वारा स्थापित राष्ट्रिय प्रजापार्टीमा श्रेष्ठ सहभागी बन्नुभयो। तर त्यहाँ पनि पार्टीभित्रको राजनीतिले उहाँमा खिन्नता बढ्न गयो। त्यसपछि दुई वर्ष चुपचाप बस्नुभएका श्रेष्ठ २०१३ सालदेखि 'द कमनर' नामको अङ्ग्रेजी दैनिकको प्रकाशन/सम्पादन सुरू गरी सार्वजनिक हुनुभयो। उहाँको सम्पादकत्वमा प्रकाशित सो दैनिक निजीस्तरका पत्र-पत्रिकामा जेठोमध्ये एक र स्थापित कहलिन्छ।

औपचारिक शिक्षाका रूपमा नेपालमा आई.ए.सम्म अध्ययन गरेका श्रेष्ठ २०१४ सालमा डा.के.आई.सिंहको प्रधानमन्त्रीत्वकालमा गठित नेपालको पहिलो प्रेस कमिसन आयोगको सदस्य रहनुभएको थियो। २०१४ सालमा अमेरिकाको नर्थ वेस्टर्न युनिभर्सिटीअन्तर्गत 'मेडिल स्कूल अफ जर्नालिज्म'मा पत्रकारिताबारे अध्ययन गर्न जानुभयो। अध्ययनपछि २०१५ सालको निर्वाचनको बेला उहाँ स्वदेश र्फकनुभयो। नेपालबाट अमेरिका जाने पहिलो पत्रकार श्रेष्ठले स्वदेश फर्केपछि 'विज्ञापन पत्रिकाको नैसर्गिक अधिकार हो' भन्ने आवाज उठाउनुभयो। आफ्ना सहकर्मीहरूले सहयोग गरेको भए पनि यो आवाज तत्कालीन सत्तासीनलाई पाच्य भएन। २०२३ सालमा पहिलोपटक २५ बुँदे आचारसंहिता निर्माण गर्नुभयो। २०२८ सालमा दुई वर्षका लागि निर्वाचित सभापति बनेका श्रेष्ठलाई तत्कालीन काठमाडौं नगर पञ्चायतको हलमा पत्रकार संघको अधिवेशन गर्दागर्दै सो संघबाट निष्काशित गरियो। सरकारी सञ्चारमाध्यमहरूबाट गलत सूचना प्रचार गरियो। त्यहि बेलादेखि वस्तुतः अवैध हाँगाका रूपमा अर्को पत्रकार सङ्घ देखिन्छ। तत्कालीन सरकारको अन्यायपूर्ण कार्यले गर्दा त्यतिबेला पेशागत मर्यादाका लागि लड्नेहरूलाई पत्रकार संघमा स्थान दिइएन। फलतः पत्रकार संघको नेतृत्व लथालिङ्ग बन्न पुग्यो। त्रि.वि.वि. काउन्सिलका सदस्यसमेत रहिसक्नुभएका श्रेष्ठ नेपालमा पत्रकारहरूको मर्यादित विकासका लागि निरन्तर लागिपरेको संस्था 'नेपाल प्रेस इन्स्टीच्युट' का संस्थापक अध्यक्ष हुनुहुन्छ। २०३७ सालको जनमतसंग्रहको घोषणा भएपछि उहाँले बहुदलको पक्षमा आफ्नो कलम प्रयोग गर्नुभयो। आफ्नो पहुँच पुगेका ठाउँमा बहुदलको पक्षमा वकालत गर्न पछि पर्नुभएन। 'गोपाल दाइ'का नामले प्रख्यात श्रेष्ठले नेपाल टाइम्स (दैनिक), युगदूत (साप्ताहिक), जनता (दैनिक) र प्रजातन्त्र (साप्ताहिक) का प्रकाशक तथा सम्पादकका रूपमा काम गर्नुभयो। उहाँले नेपाल प्रेस काउन्सिलको सदस्य-सचिवका साथै धेरैपटक सदस्यका रूपमा काम गर्नुभयो। काठमाडौं प्रेस क्लब र प्रेस इन्स्टीच्युट मिडिया विकास कोषको स्थापनाका साथै सञ्चारग्रामको अवधारणालाई समेत अघि बढाउनुभएको थियो। उहाँको निधन २०५५ साल कात्तिक १८ गते भयो। उहाँका गोरखादक्षिणबाहुद्वारा विभूषित हुनुहुन्थ्यो।