सामग्रीमा जानुहोस्

दोलखा भीमसेन जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दोलखा शहर बजारमा अवस्थित श्री भीमेश्वर मीमसेनको जात्रा

सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजागाजाकाको तालमा साना बालकदेखि वृद्धले खड्ग बोकेर नाच्दै दोलखा शहरका विभिन्न टोल, डबली र मठमन्दिरहरूको परिक्रमा गरेर देखाइने यो जात्रा विजया दशमीको भोलिपल्ट मनाइने गरिन्छ।

महिषासुरसँग युद्ध लडेको सम्झनामा देखाईने यो जात्रा भर्न मानिसहरूको घुइँचो लाग्ने गर्छ।किंवदन्ती अनुसार दानवले देवदेवी तथा मनुष्यलाई विभिन्न प्रकारका दुःख दिन थालेपछि देवदेवीको गोप्य बैठकबाट महिषासुरसँग युद्ध गर्ने निष्कर्ष निकाली साइत जुराइन्छ। युद्ध आरम्भ गर्न बाजागाजासहित देवदेवी कालिञ्चोक भगवतीमा सहायता माग्न जाने र सहायता लिएर फर्किएपछि दोलखा शहरको राइतीमा रहेको तीनधारा अगाडि यज्ञ गर्ने गरिन्छ। यज्ञ भइरहेको उक्त ठाउमा दानव आई यज्ञ ध्वस्त बनाएपछि युद्धको शुरुवात भएको स्थानियवासी बताउँछन्। यसैको सम्झनास्वरूप खड्ग जात्रालाई निरन्तरता दिइएको उनीहरू बताउँछन्।

जात्रा शुरु गर्नका लागि दोलखामा रहेको राजकुलेश्वर मन्दिर नजीकै चक्र डबलीमा पूजारीले चक्रेश्वर बलीराजाको मूर्ति बनाउँछन्। मूर्तिमा स्थानीय कुसुलेबाट विधिपूर्वक राँगाको बली दिन्छन्। जात्रा शुरु गर्नका लागि कालरात्रीको दिनमा प्रसिद्ध दोलखा भीमसेनको मन्दिरमा ४ वटा राँगाको बली दिने प्रचलन छ जसलाई महिषासुरको गणको बध गरेको मानिन्छ।जात्रामा युद्ध नाचको अभिनय गर्न मूल खड्गधारी र उनका अङ्गरक्षक हन्छन्। बाजागाजा सहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच दशैँ टिकाको भोलिपल्टबाट शुरु हुन्छ।

युद्धको अभिनय गरिने खड्ग जात्रामा युद्धका रोचक दृष्य अहिले पनि प्रर्दशन गरिन्छ। मन्त्री तथा सेनापती, याकरगण बंशज र उनका भीम बली बोक्नेसमेत युद्धमा सामेल भएको दृष्य युद्ध अभिनय गर्दै नाच्दै जाने क्रममा चक्रमण्डप नकछे टोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धनाच प्रदर्शन गरिन्छ।

यसपछि युद्धका निमित्त गुर्कोट र टसिचा टोलमा पुग्दछन्। युद्धको क्रममा थाकेको अनुभव भएपछि आफ्ना दलबलसहित सेनापति पिंगल टोलको बालकुमारी समक्ष सहायता माग्न जान्छन्। बालकुमारीको सहायता प्राप्तपछि युद्धकारीहरू भीमसेन डोबर डबलीमा पुग्छन् र पुनः युद्ध दोहोर्‍याउँछन्। त्यहाँ चार दानव सेना फेला पर्छन् र फेला परेका सेनाको प्रतीक स्वरूप चारवटा राँगालाई सबै मिलेर खड्ग प्रहार गरी मार्ने गरिन्छ। यस्तो पौराणिक चलनको नक्कल गर्दै खड्ग जात्रामा उतार्ने चलन जीवित नै छ।

विजय प्राप्त गर्दै अघि बढिरहेका सेना कालीको मन्दिर हुँदै त्रिपुरासुन्दरी पुग्छन्। त्यहाँ युद्धका लागि त्रिपुरा सुन्दरीसँग सहायता मागेको नृत्य प्रदर्शन गरिन्छ। त्रिपुरा सुन्दरी भगवतीले आफ्ना नाबालक छोरा बटुक भैरवलाई युद्ध गर्ने तरिका सिकाई घण्ट, डमरु, खड्ग चारहातमा थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको नाच पनि देखाउने चलन छ।

बटुक भैरवसहितको सेनाहरू दुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान, राजकुलेश्वर हुँदै अग्लो मण्डपमा चढ्दै चक्रराज बलीराजको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन्।

भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिइएको राँगोको टाउँको यहाँ राखिन्छ र सो टाउकोलाई राजकुलेश्वर भगवतीले र त्यसपछि बटुक भैरवले खड्ग प्रहार गर्छन् भने त्याहाँ अरु सेनाहरूले पनि खड्ग प्रहार गरी शीर छेदन गर्दछन्। त्यसपछि सगुनबाजा बजाउँदै विजयउत्सव मनाउने प्रचलन छ।