नेपियर घाँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपियर घाँस
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
Tracheophyta
वर्ग:
Liliopsida
गण:
Poales
कुल:
Poaceae
वंश:
Pennisetum
प्रजाति:
Pennisetum purpureum
वैज्ञानिक नाम
Pennisetum purpureum
पर्याय

Pennisetum purpureum subsp. flexispica
Pennisetum purpureum subsp. benthamii

नेपियर उखु जस्तो देखिने बहुवर्षिय घाँस हो। यसको उचाइ २-३ मिटर अग्लो, धेरै झाँङ हाल्न सक्ने हुन्छ। हात्तिले पनि नोक्सान गर्न नसक्ने भएकोले यसलाई हात्ती घाँस भनेर पनि चिनिन्छ। यो घाँस खेतवारीको कान्ला, डील आदिमा पनि लगाउन सकिन्छ। यो घाँस पहाड तथा तराईमा निकै लोकप्रिय छ। चिम्टयाइलो माटो र सिमाहा जग्गा बाहेक जुन सुकै माटोमा पनि यो घाँस खेती गर्न सकिन्छ। खेत बारीलाई २-३ पटक जोतेर नेपियर घाँसलाई (३ आँख्ला भएको, ४५-६० सेमी लामो) ४५ डिग्रीको कोण बनाई प्रत्येक कटाइ १५ सेमी फरकमा र एकदेखि अर्कोसम्मको फरक ९० सेमी हुनु पर्दछ। प्रति हेक्टर ५०- ८० किग्रा नाइट्रोजन र ५० किग्रा फसफोरस मल हाल्नु पर्छ।[१] यो घाँस लगाएको २.५ महिना देखि ३ महिना पछि प्रथम पटक काट्न राम्रो हुन्छ। त्यसपछि अर्को कटिङ्ग वर्षा याममा ५-६ हप्ता पछि र हिउदमा ८-१०हप्ताको फरकमा घाँस काट्न सकिन्छ। घाँस काट्दा जमिन देखि माथि १५-३० सेमी घाँस छोडेर काट्न पर्छ। धेरै तल फेदमा हुने गरी घाँस काटेमा घाँसको उत्पादन घट्दछ।

जलवायु तथा माटो[सम्पादन गर्नुहोस्]

अरू जस्तै नेपियर पनि पानी नजम्ने पाँगो, दुमट तथा बलौटे माटोमा राम्ररी फस्टाउँछ।[२] धेरै जग्गा भएमा उखु खेतीको निम्ति जस्तै २-४ पटक खनजोत गरी डल्ला फुटाई सुरुमा ५० किग्रा नाइट्रोजन, ५० किग्रा, फस्फोरस तथा ३०-४० किग्रा पोटास प्रतिहेक्टरका दरले माटोमा मिलाई करिब १० टन प्राङ्गारिक मल प्रति हेक्टरका दरले राम्ररी माटोमा मिसाएर जग्गाको तैयारी गरेमा यस घाँसबाट मनग्य उत्पादन लिन सकिन्छ। तर घर वरिपरीको थोरै जग्गामा लगाउँदा भने मलखादको खासै ध्यान नदिएमा पनि यसबाट घाँस उत्पादन गर्न सकिन्छ। व्यावसायिक रूपमा नेपियर खेती गरिएको अवस्थामा रोपेको करिब ३ महिनापछि प्रथमपटक काट्न सकिने हुनाले प्रत्येक कटाइपछि २५-३० किग्रा प्रति हेक्टरका दरले नाइट्रोजन मल छर्न सकेमा रामो उत्पादन हुन्छ। नेपियर घाँस सार्न धेरै सजिलो छ। यदि सिँचाइको सुविधा छ भने फाल्गुणको अन्त्य तथा चैत्र, वैशाख र यदि आकासे पानीको भरमा लगाउनु परेमा जेष्ठ र आषाढमा यो घास रोप्नु पर्दछ। उखुको डाठ जस्तै ३ आख्ला भएको डाठ काटी करिब ४५° को छड्के पारेर १ मिटरको दुरीमा २ आँख्ला जमिन मूनि र एक आल्ला जमिन माघि पारेर गाडेमा नेपियर सार्नु आपत्ती पर्दैन। अवस्था हेरी हरेक लहरामा एउटा डाठ र अर्काको दुरी २०-३० वा ५० सेमीको फरकमा लगाउन सकिन्छ।[२] त्यसको सट्टा ६०×६० सेमी (हार विरुवा) को फरकमा लगाएमा प्रति हेक्टरको निम्ति २७,७७७ डाँठ भएमा पुग्दछ भने ३०×३० सेमीको दूरीमा लगाएमा १११,१११ डाठ प्रति हेक्टरको निम्ति आवश्यक पर्छ। हिउँद, अर्थात् फाल्गुण र चैत्रमा लगाउँदा सुरुमा सर्नको लागि केहि समय लाग्ने र गाँज हाल्न पनि नसक्ने हुनाले वरिपरीको झारले ढाकेर यो घाँसलाई समस्यामा पार्दछ। तर वर्षा लाग्नासाथ नेपियर मज्जाले गाजिएर आउँछ र झार पनि सजिलै नास गर्न सक्दछ। नेपियर घाँस काटेपछिका ठुटालाई जरै समेत उखेलेर पनि सार्न सकिन्छ तर व्यावसायिक रूपबाट खेति गर्दा भने छुटाभन्दा डाँठ नै राम्रो हुन्छ तर कलिला डाँठ भने सकेसम्म प्रयोग नगर्नु नै राम्रो।[३] कलिला डाँठ उस्तै परे कुहिने र जराहाल्न नसक्ने हुनाले सार्न कठिन पनि हुन्छ। नेपियर काट्दा करिव १५-२० सेमी छाडेको अवस्थामा राम्ररी पलाउन सक्छ।

उत्पादन[सम्पादन गर्नुहोस्]

वर्ष भरिमा ७-८ पटकसम्म काट्न सकिने यो घाँसको उत्पादन १३०-१४०/५० टन सम्म हरियो घाँस प्रति वर्ष प्रति हेक्टरका दरले लिन सकिन्छ।[४] राम्ररी मलजल र स्याहार पुर्‍याएमा एक हेक्टर खेति गर्न नसकेको अवस्थामा समेत प्रति कठ्ठा ५०-६० क्विनटलसम्म वर्ष भरिमा कुल हरियो घाँस उत्पादन गर्न सकिन्छ। अकोसे वाली भएका कारण यसमा कच्चा प्रोटिन ६-११ प्रतिशतसम्म मात्र पाइन्छ, तथापि खनिज लवण र अन्य पौष्टिक तत्व यसमा भरिएको हुन्छ। नेपियर घाँसमा पशुवस्तुलाई हानी गर्ने तत्वहरू भेटिएको छैन तर पनि केही ओइलाएर, पराल तथा कोशे घाससँग मिसाएर खुवाउनु राम्रो हुन्छ। नेपियर घाँस अरू घाँस तथा परालसँग मिसाएर खुवाउनु उचित हुन्छ।[५] नेपियर घाँसमा ३-६ प्रतिशतसम्म अक्जालेट पाइन्छ। यो घाँस पशुहरूलाई बढी खुवाउनु भनेको अकजालेट बढी खुवाउनु हुन्छ। अर्थात बढी अकजालेट शरिरमा भएमा त्यसले शरिरकोक्याल्सीयमको मात्रालाई कम तुल्याउँछ र मृगौलालाई हानी पुग्न सक्दछ। तसर्थ नेपियर खुवाएको अवस्थामा थोरै दाना दिनु पशु स्वास्थ्यको दृष्टिले राम्रो हुन्छ।

नेपालमा नेपियर घाँस[सम्पादन गर्नुहोस्]

यस प्रजातिको घाँस प्राय: हरेक भू-भागमा पाइने भएकाले अत्यन्तै लोकप्रिय छ। एकपटक लगाएपछि वर्षोँसम्म काट्न पाइने र तुलनात्मक रूपमा अरू घाँसको दाँजोमा उत्पादन पनि बढी हुने हुनाले यस घाँसको लोकप्रिय बढ्दै गएको छ।[६] दक्षिण अफ्रिकाको घना जङ्गलमा उत्पत्ति भएको ठानिएको यो घाँस एसियाका धेरै क्षेत्रहरूमा फैलिएको छ। नेपालको सन्दर्भमा प्राय: किसानहरूले घाँस लगाउन जग्गाको बन्दोवस्त गर्न नसक्ने हुनाले डिल, कान्ला, घरवरिपरी तथा कुनाकाप्चाका सिमित जग्गामा लगाएर पनि २-४ बोट बाटै डोकोभरी घाँस काट्न सकिने भएकाले नेपालको पहाड, तराई जताततै नेपियर फैलिएको हो। रामपुर क्याम्पसमा गरिएको एक अनुसन्धानमा बाख्रालाई नेपियर घाँसमात्र खुवाएर पाल्दा राम्रै तौल वृद्धि भएको पाइएता पनि पाठा फाल्ने र तुहिने समस्याहरू अरू घाँसमा भन्दा अलि बढी भएको पाइएको थियो त्यसकारण नेपियर घाँस अरू घाँस तथा परालसँग खुवाउनु उचित हुन्छ।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Paudel, Dev; Kannan, Baskaran; Yang, Xiping; Harris-Shultz, Karen; Thudi, Mahendar; Varshney, Rajeev K.; Altpeter, Fredy; Wang, Jianping (२०१८-०९-२६), "Surveying the genome and constructing a high-density genetic map of napiergrass ( Cenchrus purpureus Schumach)", Scientific Reports (अङ्ग्रेजीमा) 8 (1): 14419, आइएसएसएन 2045-2322, डिओआई:10.1038/s41598-018-32674-x, पिएमआइडी 30258215, पिएमसी 6158254 
  2. २.० २.१ [Aminah, A. Wong, C. C. & Eng P. K. (1997). Techniques for rapid vegetative multiplication for pasture species and commercial production. Regional Forage Development, FAO, Rome, pp167-178.]
  3. [Miller, J. R., & Cowles, R. S. (1990). Stimulo-deterrent diversion: A concept and its possible application to onion maggot control. Journal of Chemical Ecology, 16(11), 3197-3212.]
  4. [Khan, Z. R., Amudavi, D. M., Midega, C. A. O., Wanyama, J. M., & Pickett, J. A.(2008). Farmers' perceptions of a 'push-pull' technology for control of cereal stemborers and striga weed in western Kenya. Crop Protection, 27, 976-987.]
  5. "Scientists back use of Napier grass as sustainable way to feed herds", Africanews (अङ्ग्रेजीमा), २०२०-०१-३१, अन्तिम पहुँच २०२०-०२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०९ मिति
  6. Heuzé V., Tran G., Giger-Reverdin S., Lebas F., 2016. Elephant grass (Pennisetum purpureum). Feedipedia, a programme by INRA, CIRAD, AFZ and FAO. https://www.feedipedia.org/node/395 Last updated on June 23, 2016, 17:09
  7. "Bioplastic – Vibers" (en-USमा), अन्तिम पहुँच २०२०-०२-१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकि प्रजातिमा नेपियर घाँससँग सम्बन्धित तस्वीर तथा श्रव्यदृश्यहरू रहेका छन्।