पिकदूत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिकदूत मोतीराम भट्टद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


                       

पिकदूत  ( मेतीराम भट्ट )

रचनाकाल (१९४४)

टङ्कन - अभिषेक कोइराला ( कासी हिन्दू विश्वविद्यालय वाराणसी) ७६०७३९८२६९

(१)

ए पन्छी अब जा चटाक् हुनगई सम्चार यो भन्दिएस् ।

यो सम्चार भनीदिइस् पनि भने लाख् वर्षसम्मन् जिएस् ।।

यी मेरा सब हाल हेरि उडिजा मेरा जहाँ प्राण छन् ।

यस्मा कत्ति फरक् नपारि जति ह्याँ भन्छू भनेस् त्यो त सुन् ।।

(२)

क्यै काल् सम्म प्रचण्ड ग्रीष्मऋतुको गर्मी सह्यो अङ्गले ।

मन् आजित् हुनगो र दुःखि म भएँ त्यै गर्मिका रङ्गले ।।

छारो उँड्न गयो जसै दश दिशा साह्रै अँध्यारो भयो ।

एक्ली के गरुँ थर्र मन् हुनगयो गर्मी पनि गैगयो ।।

(३)

वर्षाका ऋतुमा बडा विरहमा एक्लै बसेँ झ्यालमा ।

बादल्-को दल आइ घेरिन गयो आकाश ख्याल् ख्यालमा ।।

त्यै बेला बिजुली चमक्क चमकी वाहाँ पछि गर्जँदा ।

मन् धुक्धुक् हुनगो यसोरि जबता ती पापिले बिर्सँदा ।।

(४)

निस्के हाँसहरू ऋतु शरदको बेला भएथ्यो जसै ।

वर्षा गो भनि चन्द्रले अमृतको वर्षा गराए तसै ।।

प्यारो चन्द्र भनी चकोर चरिले चूँ-चूँ गरी ज्यू दियो ।

प्रीती चन्द्र चकोरको त्यसबखत् हेरी नसक्नू भयो ।।

(५)

चौथा नम्बरको ऋतू रस लिई हेमन्त आयो जसै ।

यो मन् ता उडि गैगयो र रसमा चुर्लुम्म डूब्यो तसै ।।

चीसो चल्छ बतास आश मनको मेरो पटक्कै गयो ।

भेट्-घाट्-को मनसूब हो तर यती धोका रही गगयो ।।

(६)

थर्थर् कम्प गराइ ह्यूँ छरि शिशिर् सिर्सिर् गरी पाल्नुभो ।

साह्रै कम्प भई थकित् हुनगएँ यस्तै हवान् गर्नुभो ।।

रूई दुइ कि फूइ येति तिनथोक् चाहिन्छ जाडामहाँ ।

दुःखी छू रुइ फूइ छन् त पनि ता दूई नहूँदा महाँ ।।

(७)

आयो हेर वसन्त पक्षि त तँ छस्  साक्षी यती भन्दिएस् ।

आफ्नै हुन् अहवाल् ऊनेर तइँले सुन्दा खुपै मन् दिएस् ।।

ती नै हुन् भ्रमरा कती कति उडी फुल्-माथि आई झुले ।

हाम्रै यी भ्रमरा निठुर् हुनगई फुल् छाडि काहँ भुले ।।

(८)

जान्न् हुन् सब धर्मशास्त्रकन ती विद्वान् विवेकी ति हुन् ।

पानी दूद् पिक काक चिन्न चतुरा आफैँ मनैमा बुझून् ।।

यै सोधेस् तिनका अगाडि हुन गै त्यो बुद्धि काहाण गयो ।

पाकेको फल छाडि जानु परदेश् कुन् धर्मको शास्त्र हो ।।

(९)

कस्तो प्रीति थियो भने त उहिले एक् ज्यू भई बस्तथ्यौँ ।

अत्तर्, चन्दन , केवरा घसि दुवै एकान्तमा पस्तथ्यौँ ।।

माया मारि चटक्क जानु परदेश् ताहाँ पछि बिर्सनू ।

चस्की चस्कि अनङ्ग पस्छ तनमा मेरो भने यै हुनू ।।

(१०)

भर् दिन् बित्छ यसै बसेर घरमा झोक्रीरहन्छू उसै ।

यो मन् धीर रहोस् भनीकन रहेँ स्थिर् हुन्न पापी कसै ।।

ए पन्छी यति ता नबिर्सि तँ भनेस् तिन्का अगाडि  सरी ।

माल् पाईकन हुन्न चाल नभई के गर्नु यस्तै परी ।।

(११)

कस्तो हेर वसन्त पक्षिहरूको प्यारो ऊएको छँदो ।

पालूवा रुखलाइ रस् फुलबिसे छर्की बराबर दिँदो ।।

ऐले रुग्ण नभ मलाइ बहुतै वाधा दियो के गरूँ ।

एक् ता मो अबला अनी विरहिणी कस्का म भर्मा परूँ ।।

(१२)

नाच्छन् प्वाँख फिंजारि रूख्मनि मयूर हेर्छन् चकोर् चन्द्रमा ।

झन् झन् शब्द गरीवरी रस झिकी झुल्छन् भ्रमर् फूलमा ।।

जूही, बेलि, चमेलि फूलहरूको सोख् हेरी मन्-मा म ता ।

साह्रै दिक्क भएँ हरे जुनि गयो यस्तै रहेछन् ति ता ।।

(१३)

पर्देश् का रसले अघाइ कहिले घर्-पट्टि फिर्नन् भनी ।

आशामा परि गैगएँ दुखि भएँ के सूख पाएँ अनी ।।

यो पापी मन स्थिर् नभै अझ पनि आशा दरस्-को गऱ्यो ।

भोली-भोलि भनी भुल्यो अब भने भारी दगामा पऱ्यो ।।

(१४)

ती आफ्ना भनि भन्नु व्यर्थ हुनगो के हुन्छ आफ्नो भनी ।

मेरै प्रीति भएर हुन्न बरु क्यै चाहिन्छ ह्वाँको पनि ।।

फोस्रो गन्थन ह्याँ कती गरुँ म ता ए पन्छि तैँ साच्चि भन् ।

माया एक्-तिरको कि दूइतिरको अस्सल् भनी भन्दछन् ।।

(१५)

भन्छन् भन्न त धर्मशास्त्रहरूले पाप् पञ्च-पातक् भनी ।

यी पाँच् पातकदेखि बढ्ति अरु पाप् क्यै छैन भन्ने अनी ।।

के जान्नन् ऋषिले विपद् विरहिको यस्तो हुने हो भनी ।

यस्तो पातकलाइ केहि नहुने  के धर्म होला अनी ।।

(१६)

बाँच्नाको अब आश छैन मनमा ऐह्ले कि भोली भरे ।

कस्ता निर्दयि जातका अब म ता फेला परेँछू हरे ।।

पर्देश्-मा रहँदा  यसोरि अहिले पारे अरेको मरे ।

काहाँ सम्म भनूँ मलाइ तिनले गर्नू नगर्नू गरे ।।

(१७)

सुन् एक् थोक् पिक पक्षि भन्छु म यहाँ मेरा तरफ्-को सँदेश् ।

तैँले झट्ट उडी गएर तिनको कान्-मा सुटुक्कै भनेस् ।।

आफ्नू हाल हवाल ळेख्नु त कता लेखिन्न ढोक् भेट् पनि ।

लाज् लाग्दैन यसोरि बस्न परदेश् पत्थर् सरीको बनी ।।

(१८)

याहाँ छू बनि क्यै सँदेश् पनि न दी आफ्नू बिरानू हुने ।

मैले खोजिनँ की भनेर रिसले  जोर्छन् कि क्या बूझने ।।

ए पन्छि तिनिका अगाडि हुन गै सोधेस् तँ धीरा बनी ।

फुल्-ले खोज्छ भ्रमर् कि फुल्-कन भ्रमर् यसको जवाफ द्यौ भनी ।

(१९)

ए पन्छि सुकुमार जत्तिकि म छू तैँलाइ थाहा भयो ।

दोस्रो भर्खरको उमेर रहँदा कस्तोरि पिर्नेछ यो ।।

तेस्रो फेरि बिछोट पर्नु म उपर् भेट् हूनु आशा गयो ।

जो होचो उसका परेछ मुखमा घोचो भने झैँ भयो ।।

(२०)

तिर्खा जस्-कन लाग्छ पोखरि पनि त्यै खन्छ भन्ने उखान् ।

सुन्दामा नखनी भएन मनमा लाग्यो गरूँ के बयान् ।।

खुब् खन्-खान गरेर पोखरि परी खासा तयारी भयो ।

प्रेम्-को डोरि चुँड्यो गरूँ अब कसो घल्चा बिपत्ता भयो ।।

(२१)

पाप्-को भोग नभोगि हुन्न भनि मो खूब् धैर्य गर्छू अनी ।

मेरो कर्म दुखी रहेछ अरुको दोष् छैन कत्ती पनि ।।

पण्डित् हेरु त सूखदुःखकन ता घुस्छन् भनी भन्दछन् ।

मेरा ता सुख क्यै रहेनछ कि क्या दुःखै फगत् फिर्दछन् ।।

(२२)

यो मेरो नउनी सरी अति नरम् ज्यू बज्र जस्तो भयो ।

कस्तो रूप लिऊँ कपूर सरि भै फुस्-फुस् उडी गैगयो ।।

ढाँटेको रति छैन जान मनमा गर्नू कुरा के अनी ।

ए पन्छी यति दुर्दशा भनिदिनू भनिथिन् प्रियाले भनी ।।

(२३)

के गर्ला अब चन्द्र पापि थपडा पाई कलङ्की भयो ।

आँखामा दरिने सबै मृगहरू उन्-को बनीवास् भयो ।।

पैह्ले प्राण छँदा थिए कति कुरा ऐह्ले यि बैरी हुनन् ।

निर्धो देकि मलाइ यस् विपतमा हेरी खिसी गर्दिनन् ।।

(२४)

सारा यो दुनियाँ पराइ हुन गो  यस्तै च खेल् कर्मको ।

भन्नू कस्कन ती विना यि हवाल् जान्ने च कुन् मर्मको ।।

सध्धैँ साँझ भयो कि पूर्व दिशिमा यी निर्दयी चन्द्रमा ।

अम्मृत् सब्-कन छर्कि मै उपरमा विष्-लाइ छर्कीदिन्या ।।

(२५)

जल् धारा भ्रमरा  चरा र छहरा सारा मलाई भने ।

पोल्नू बाहिक सूख छैन रतिभर् हा दैव के यो हुने ।।

भत्-भत् पोल्दछ ज्यू जसै घसिघसि चन्दन् लगायो जसै ।

छट्-पट् छट्पट ह्वै रहन्छ पसिना द्वीपट्टि बग्छन् तसै ।।

(२६)

एक्लै बस्न पऱ्यो भनेर मुनियाँ ल्याएर पाले पनि ।

बोल् बोल्ला मुनियाँ सुनेर भन क्यै शीतल् त होला भनी ।।

काहाँको मुनियाँ कहाँ विरहिणी आगो र पानी भयो ।

यो मेरो मनको लहर् पनि उसै खीस्रिक्क भै गैगयो ।।

(२७)

निस्के मत्त मयूर वसन्त ऋतुमा प्वाँख् खोलि नाचूँ भनी ।

नाच् हेर्नाकन कोइली तिमिहरू आयौ बगैँचा बनी ।।

वाम् ताल्-को सुर कण्ठमा छरि ढुकुर् डुग्-डुग् गरी बोल्दछन् ।

सूखी ता सुखि भैगए म दुखिको  मन्-लाइ यी पोल्दछन् ।।