बदामे घाँस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बदामे घाँस
Arachis pintoi
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
वंश: Arachis
प्रजाति: A. pintoi
वैज्ञानिक नाम
Arachis pintoi
Krapov, W.C.Gregory

बदामे घाँस दुवोजस्तै भुँईमा फिजिने एक प्रजातिको बहुवर्षे घाँस हो। यो घाँस फेवेसी परिवार अन्तर्गत पर्दछ। यस घाँसलाई पहिलो पटक डब्ल्यू गेरगोरी र उनका एक साथीले सन् १९९४ मा वर्णन गरेका थिए। बदामे घाँसलाई रुखो र खाली ठाउँमा पनि लगाउन सकिन्छ। यो घाँस अती पोषिलो, नरम भएकोले सबै घरपालुवा जनावरले यसलाई रुचीकासाथ खाने गर्दछन्। यस प्रजातिको घाँसलाई अन्य अकोषे घाँसहरूसँग मिसाएर छर्दा पनि यसको राम्रो लाभ लिन सकिन्छ।[१] यसको पात मसिनो खालको हुन्छ भने एक ठाँउमा चारवटा पात जुटेका हुन्छन्। यस प्रजातिको घाँसको फूल पहेँलो हुन्छ भने यसले छिटै यसले जमिन ढाक्दछ। भूसंरक्षण प्रयोजनमा पनि यो घास उपयुक्त मानिन्छ। यस घाँसको प्रसारण बीउबाट र लहरालाई टुक्रापारी सार्न सकिन्छ। यस प्रकारको घाँसको विरुवाहरू हेर्दा बदामको बोट जस्तो हुने भएकाले यसलाई बदामे घाँस भनिएको हो।

Arachis pintoi - Flower.jpg

विवरण[सम्पादन गर्ने]

बदामे घाँस डाँठमा जरा छोड्दै फैलने बहुवर्षीय प्रजातिको घाँस हो। यसको मूल जरा गहिरोसँग जमिनमा गडेको हुन्छ भने यसको डाँठ खासै माथि उठ्दैन हुँदैन। यस प्रजातिको घाँसको जरा बढीमा ५० सेमी उचाइसम्म फैलन्छ। ३ पाते बदाम जस्तै देखिने यस प्रजातिको घाँस पहेँलो प्याउली जस्तै फूली ढकमक्क फैलन्छ। यस प्रजातिको घाँसलाई बीउबाट तथा डाँठ काटेर दुवै तरिकाले सार्न सकिन्छ।[२] यस प्रकारको घाँस घरपालुवा जनावरहरूका चरन विकास गर्नका लागि उपयुक्त मानिन्छ भने यसले छिटै जमिन ढाक्ने हुँदा भूसंरक्षण पनि यसले मद्दत पुर्‍याउँदछ। यस घाँसको ओसिलो वा रुखको छाँयामुनी पनि सफलतापूवर्क उत्पादन लिन सकिन्छ भने यसलाई अन्य घाँसहरूसँग मिसाएर खुवाउदा पोषक तत्व संरक्षित भै घरपालुवा जनावरको वृद्ध विकासमा सहयोग पुग्दछ।

वितरण[सम्पादन गर्ने]

बदामे घाँसको उत्पत्ति दक्षिण अमेरिकी देश ब्राजिलबाट भएको थियो भने हाल यो घाँस ओसिलो उष्णकटिबन्धीय र उप-क्षेत्रहरूमा व्यापक रूपमा रहँदै फैलिएको छ। यो अर्जेन्टिना, अस्ट्रेलिया, कोलोम्बिया र संयुक्त राज्य अमेरिका लगायतका धेरै देशहरूमा सफलतापूर्वक खेती गरिएको छ भने यसलाई हालसालै दक्षिण-पूर्वी एसिया र मध्य अमेरिकी देशहरूमा खेती गरिएको थियो।[३] सामान्यतया यसलाई रातोमाटो, नदिकिनाराको बलौटे दोमट मध्यम उर्वराशक्ति भएको जमिन, अति उत्तम मानिन्छ। माटोको पि.एच. ४.५ देखि ७२ उपयुक्त मानिन्छ तथापि ५.४ भन्दा कम पिएच भएमा उत्पादन मा नकारात्मक असर पर्दछ। बदामे घाँस विशेष गरी सेप परेको अवस्था वा ठाउँमा राम्रोसँग हुर्कने गर्दछ।

जलवायु तथा खेती[सम्पादन गर्ने]

बदामे घाँस समुद्री सतहबाट १४०० मिटरको उचाईमा पाइन्छ। यो त्यस्तो क्षेत्रमा बढ्न सक्छ जहाँ वार्षिक वर्षा ११०० मिलिमिटर भन्दा बढी हुन्छ तर यसले उत्पादन १५०० मिलिमिटर वार्षिक वर्षा हुने ठाउँमा अधिक हुन्छ। औषत वार्षिक तापाक्रम २१ देखि २३ डिग्री सेल्सियस भएको स्थान बदामे घाँसको लागि उपयुक्त मानिन्छ। यो घाँस पानी जम्ने ठाउँमा हुर्कन सक्दैन। यस प्रजातिको घाँसलाई सुख्खा मौसममा सिँचाई गर्दा बचाउन सजिलो पर्दछ। तुसारो परेको बेला बदामे घाँसको टुप्पा सुक्दछ भने तापक्रम बढ्नासाथ टुप्पाहरू पलाउन सुरु गर्दछन्। सिधा सूर्यको प्रकाश पर्ने ठाँउमा भन्दा छाँया पर्ने ठाँउमा यसको उत्पादन बढी लिन सकिन्छ। यस प्रजातिको घाँसलाई बीउ वा लहराबाट लगाउन सकिन्छ। बीउबाट लगाउँदा छिटै जराको विकास भई घाँस उत्पादनमा सकारात्मक प्रभाव पर्दछ। अन्य घाँसको तुलनामा यस घाँसको उत्पादनका लागि बढी चिस्यानको आवश्यक पर्दछ। [४] बीउ छर्दा इनाकुलम प्रयोग गरी रोप्दा घाँस वृद्धिमा सहयोग पुग्छ।

बदामे घाँस बीउबाट लगाउदा १५ देखि २० कि.ग्रा प्रति हेक्टर लगाउन सकिन्छ। बीउको मात्रा गुणस्तरमा भरपर्दछ। यो घाँस अन्य घाँसको तुलनामा लगाउन सारै सजिलो हुन्छ। यसको त्यान्द्रा वा जराले चिसो जमिन छोएको छ भने तुरुन्त जराको विकास भएर सर्दछ र पलाउन सुरु गर्दछ जसका लागि तयार पारिएको जमिनमा २.५ सेमी गहिराइमा बीउ रोप्नु पर्दछ। जमिनको बाहिरी सतहमा बीउ छर्दाखेरी उर्वराशक्तिमा कमी आउनुका साथै चरा तथा मुसाले बीउ खाइदिन्छन्। हाँगाको रोप्दा करीब १० देखि १५ सेमीको टुक्रा पारी वर्षा याममा माटोमा चिसान प्रसस्त भएको बेला आधा जमिन भित्र पर्ने गरि ५० सेमीको फरकमा रोप्नु पर्दछ र यसलाई राम्रोसँग थिच्नु पर्दछ। यस घाँस लगाउन जेठ असार अर्थात वर्षात सुरु भएपछि राम्रो हुन्छ। यो कोषे घाँस भएकोले मलको मात्रा धेरै आवश्यक पर्दैन तर सारै रुखो माटो छ भने फसफोरसयुक्त मल राख्दा यसको विकास राम्रो हुन्छ। जती पनि अकोषे भूई घाँसहरू छन् तिनीहरूलाई मिसाएर खेती गर्न उत्पादन तथा पोषणका हिसाबमा राम्रो हुन्छ। बदामे घाँसलाई मुलाटो, पास्पालम आदि घाँससँग मिसाएर खेती गर्न सकिन्छ।

कीरा नियन्त्रण तथा पौष्टिकता[सम्पादन गर्ने]

यस घाँसमा रोग तथा कीराको त्यति समस्या छैन तर यसको जरामा फल्ने बदामका कारण मुसाहरूले घाँसको जरालाई खाने गर्दछन्। बदामे घाँसको अमारिलो भन्ने जातले यसमा लाग्ने प्रमुख रोगहरू सहन गर्न सक्दछन्। अन्य आकाषे बहुवर्गे घाँसको तुलनामा यसक घाँसको उत्पादन कम हुन्छ तर यस घाँसक एकपटक फैलिएपछि मास्न गाह्र पर्दछ। बदामे घाँस लहराबाट सजिलै फैलिन्छ। यसको बीउ जमिन मुनि बन्ने भएकोले प्राकृतिक रुपमा यसको फैलावट भूक्षयबाट मात्र सम्भावना हन्छ। बदामे घाँस एक पटक स्थिापित भएपछि यो मास्नको लागि निकै कठिन हुन्छ। यसलाई फैलाउनको लागि लहराहरू काटि अन्यत्र खाली स्थानमा रोप्नु पर्दछ।

बदामे घाँसमा १३ देखि २५ प्रतिशत क्रुड प्रोटिन र ६० देखि ७० प्रतिशत कुल पाच्य पदार्थ पाइन्छ। यसमा टेनिनको मात्रा कम हुन्छ। यो घाँस सबै खाले पशुहरूले रुचिपूर्वक खान्छन्। यसलाई कुखुरा, हाँस र सुँगुर र बङ्गुरले पनि खाने गर्दछन् भने यस घाँसमा कुनै पनि प्रकारको विषालु पन पाइएको छैन।

उत्पादन तथा महत्त्व[सम्पादन गर्ने]

यस घाँस अन्य घाँसको तुलनामा सुख्खा पदार्थको कमै मात्रमा उत्पादन हुन्छ। सामान्यत औषत ५ मेट्रिक टन सुख्खा पदार्थ प्रति हेक्टर प्रति वर्ष उत्पादन हुन्छ। अकोषे घाँस मुलाटो जात यस घाँससँग मिश्रित गराएर लगाएमा उत्पादनमा वृद्धि हुन्छ। यसरी मिश्रित गर्दा २० टन सुख्खा पदार्थ हेक्टर प्रति वर्ष उत्पादन भएको कुरा अस्ट्रेलिया र कोलोम्बियामा पत्ता लागेको थियो। यस घाँसको बीउ उत्पादन जमिन मुनी हुने हुँदा घाँस छिप्पिसके पछि घाँसको लहरा छिटो हटाउनु पर्दछ। नियमित रुपमा घाँस काट्नु पर्दछ र मुसाबाट जोगाउनु पर्दछ। बदाम खेती जस्तै गरी यस घाँसको बीउलाई पनि खनेर निकाल्नु पर्दछ। माटोमा चिस्यानको मात्रा उपयुक्त रहिरहेमा बीउ उत्पादन पुरा घाँस बढ्ने अवधि सम्म भई रहन्छ। बदामको कोसाको रुपमा १ टन प्रति हेक्टर यस घाँसको उपप्रजाति अमारिलोबाट लिन सकिन्छ। कुनै कुनै जातले ४ टन प्रति हेक्टरसम्म घाँस रोपेको १५ महिनामा उत्पादन भएको पाइएको छ।[५]

बदामे घाँस खुवाउदा पशुहरूको शारिरीक तौल बढ्नुका साथै दुध उत्पादनमा वृद्धि हुन्छ। दुध उत्पादनमा १७ देखि २० प्रतिशत वृद्धि हुने र शारिरीक तौल हासिलमा मुलाटो /गिनी घाँससँग मिसाएर खुवाउदा दैनिक रुपमा ०७२ कि.ग्रा देखि १ किग्रासम्म बढ्दो उमेरका बाच्छा बाच्छीमा पाइएको छ। अहिले आएर पन्छीको सबैभन्दा ठूलो जात सुतुरमुर्गका लागि पनि यो घाँस निकै राम्रो र पोषिलो मानिएको छ। बदामे घाँस उष्ण तथा सम-शितोष्ण हावापानीमा हुने, आली, कान्ला, बगैचा, पहिरो जाने भिरालो जग्गा जता पनि लगाउन सकिने बहु वर्षिय स्वरुपको हुने र उग्राउने पशु बाहेक बङ्गुर तथा कुखुराको दानामा समेत ५-१० प्रतिशत सम्म मिसाई खुवाउन सकिने भएकाले यसको लोकप्रियता धेरै नै रहेको पाइन्छ। बदामे घाँस खुवाउदा कुखुराको अण्डाको आकारमा पनि वृद्धि भएको कुरा सार्वजनिक भएको थियो।

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Heuzé V., Tran G., Delagarde R., Bastianelli D., Lebas F., 2017. Pinto peanut (Arachis pintoi). Feedipedia, a programme by INRA, CIRAD, AFZ and FAO. https://www.feedipedia.org/node/702 अन्तिम पटक सम्पादित: जुन २६, २०१७, १५:११
  2. "Arachis pintoi", १ अगस्ट २०१४ Tropicos.org. Missouri Botanical Garden। 
  3. Roskov Y., Kunze T., Orrell T., Abucay L., Paglinawan L., Culham A., Bailly N., Kirk P., Bourgoin T., Baillargeon G., Decock W., De Wever A., Didžiulis V. (ed) (२०१४), "Species 2000 & ITIS Catalogue of Life: 2014 Annual Checklist.", Species 2000: Reading, UK., अन्तिम पहुँच २६ मे २०१४ 
  4. ILDIS World Database of Legumes
  5. <![CDATA[Krapovickas,A. & Gregory,W.C.]]>, 1994 Bonplandia 8(1-4):1-186 Taxonomia del genero Arachis

बाह्य सूत्रहरू[सम्पादन गर्ने]