सामग्रीमा जानुहोस्

महिनावारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महिनावारी चक्र

महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो।[]

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसै कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन एकदम साधरण मानिन्छ। महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ। सामान्य तह महिनावारी महिलाहरूमा ४५ देखि ५५ वर्षमा सकिन्छ।

महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो। यो हाम्रो शरीरमा भएका रागरसहरू (हर्मनहरू)को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ। महिनावारी प्राकृतिक सरसफाई प्रक्रिया हो र, महिनावारी हुनु भनेको एउटी महिला शारीरिक रुपमा गर्भवती हुन तयार छिन् भन्ने सङ्केत पनि हो। यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ, जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिलेकाहीँ ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ।

महिनावारी सुरू हुने उमेर

[सम्पादन गर्नुहोस्]

पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारी बिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ। धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ। तर कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै, र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ। यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने, यसलाई पनि सामान्य नै मान्न सकिन्छ। तर यदि महिनावारी हुनुपर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसँग सल्लाह र सुझाव अनुसार उपचार सेवा पनि लिन सकिन्छ। []

महिनावारीको समयमा हुने परिवर्तन

[सम्पादन गर्नुहोस्]
  1.  महिलाको योनिबाट पटक पटक रगत आउने, प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ।
  2. धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ (केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिनु)।
  3. नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५ वा
  4. ७ दिनसम्मको हुन्छ।
  5. धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ।
  6. महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ। यसलाई अङ्ग्रजीमा ovulation भनिन्छ। महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई तल्लो पेटको वरिपरि दुखेको अनुभव हुन्छ।

महिनावारी र प्रजनन

[सम्पादन गर्नुहोस्]
  1. महिनावारीको एक पुरा चक्र औसतमा २८ दिनको हुन्छ। एक पटकको महिनावारीबाट अर्को पटकको महिनावारी हुने समय कसैमा लामो त, कसैमा छोटो हुन्छ। त्यस्तो अवस्थामा तपाईँले चिन्ता लिनुपर्दैन किनकि, त्यसलाई सामान्य नै मानिन्छ। त्यसैगरी तपाईँको महिनावारी २१ दिन वा ३५ दिनमा भए पनि त्यसलाई सामान्य नै मान्न सकिन्छ।
  2. हरेक महिना परिपक्व डिम्ब डिम्बाशयबाट निस्केर डिम्ब बाहिनी नली हुदै पाठेघरसम्म आउँछ। उक्त समयमा असुरक्षित यौन सम्पर्क भएमा र योनिभित्र नै वीर्य खसालेमा डिम्बलाई शुक्रकीटले निषेचित गर्न सक्छ र निषेचित भएमा महिला गर्भवती हुन सक्छिन्। यदि डिम्बको शुक्रकीटसँग मिलन भएन भने, बच्चा हुर्काउनका लागि पाठेघरमा बन्दै गइरहेको उपर्युक्त वातावरण प्रक्रिया आवश्यक पर्ने रागरसहरू (हर्मनहरू)को वृद्धिका कारणले पाठेघरको भित्तामा बनिरहेको रगतको तह रोकिन्छ र नियमित महिनावारी प्रक्रिया सुरु हुन्छ।
  3. महिनावारी करिब ४५ देखि ५० वर्षको उमेरसम्म रहन्छ। यही उमेरका हाराहारीमा महिलाको महिनावारी रोकिन सुरु हुन थाल्छ र त्यसपछि महिला गर्भवती हुन सक्दिनन्।

महिनावारी र सरसफाई

[सम्पादन गर्नुहोस्]

महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पुर्याउनु पर्ने हुन्छ। ग्रामीण भेगका महिलाहरूले महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन्। यसले गर्दा उनीहरूको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ। गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ।

व्यावसायिक रूपमा बनाइएका

[सम्पादन गर्नुहोस्]
  • स्यानिटरी प्याड/न्याप्किन (Sanitary napkins / pads / towels) – यी अन्तर्वस्त्रसँग जोडेर लगाइने आयताकार सामग्रीका टुक्रा हुन्, जसले महिनावारीको रगत सोस्दछ। प्रायः यसमा चिप्काउने पृष्ठभाग (adhesive backing) हुन्छ जसले प्याडलाई स्थानमा राख्दछ। डिस्पोजेबल प्याडहरूमा प्रायः काठको पल्प वा जेल पदार्थ हुन्छ, प्रायः यसमा प्लास्टिकको तह र ब्लीच गरिएको (रासायनिक रूपमा सफा गरिएका) सामग्री हुन्छ।
  • ट्याम्पन्स (Tampons) – यी डिस्पोजेबल नली आकारका सामग्री हुन् जुन प्रायः ट्रीटेड रयोन (कृत्रिम रेशम”), कपास मिश्रण वा शुद्ध कपासको मुलायम कपडा बाट बनाइन्छ र ब्लीच गरिएको हुन्छ। यो योनिमा राखेर महिनावारीको रगत सोस्न प्रयोग गरिन्छ।

मुख्य पुन: प्रयोग गर्न मिल्ने उत्पादनहरू

[सम्पादन गर्नुहोस्]
  • मासिक प्याल्प (Menstrual cups) – यो बलियो र लचिलो, घण्टी आकारको उपकरण हो जुन योनि भित्र राखेर महिनावारीको रगत सङ्कलन गर्न प्रयोग गरिन्छ।
  • पुन: प्रयोग गर्न मिल्ने कपासका प्याड (Reusable cloth pads) – यी कपास (प्राय अर्ग्यानिक), टेरीक्लोथ, वा फ्ल्यानलबाट (मुलायम ऊनी कपडा) बनेका प्याड हुन्। यी हाते सिलाई गरेर बनाइएका (पुराना कपडा वा टावल पुन: प्रयोग गरेर) वा पसलबाट किन्न सकिन्छन्। पुन: प्रयोग गर्न मिल्ने मासिक चक्र प्याडहरू अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा छन्। यी उत्पादनहरू मासिक चक्रका सामग्री उपलब्ध गराउने कार्यक्रमहरूको लागि प्रभावकारी, सुरक्षित, सस्तो र वातावरणमैत्री विकल्पका रूपमा मानिन्छन्।[]
  • प्याडसहितको वा महिनावारी प्रतिरोधी अन्तर्वस्त्र (Padded panties / period-proof underwear) – यो कपासको पुन: प्रयोग गर्न मिल्ने अन्तर्वस्त्र हो जसमा अतिरिक्त सोस्ने तहहरू सिलाइएका हुन्छन् र महिनावारीको रगत सोस्न सक्षम हुन्छ।
नेपाली परिवेश
[सम्पादन गर्नुहोस्]

नेपालको पश्चिमी भेगतिर महिलाहरूले अवस्था अझ नाजुक देखिन्छ। उनीहरू महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्देनन्। कसै-कसैले कपडा प्रयोग गरे भने पनि सूर्य देवतालाई देखाउनु हुँदैन भन्ने अन्धविश्वास छ। यसैले उनीहरू कपडा घाममा सुकाउँदैनन् र अँध्यारो मै राख्छन्। उनीहरू फेरि अर्कोपल्ट महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्छन्। यसले गर्दा उनीहरूको शरीरका भित्री अङ्गमा संक्रमण हुने सम्भावना बढी हुन्छ। महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनु पर्छ। घामको किरणले गर्दा कपडामा भएको परजीवि नष्ट हुन्छ। यस्ता कपडा नरम र सुतीको हुनुपर्छ। नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन। महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ। रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन। यसले शरीर गन्हाउने, सङ्क्रमण हुने पनि हुन हुन्छ।

आजकल महिलाहरू आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन्। औषधि पसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो भागमा बाँड्ने र तिनलाई सुतीको कपडामा बेरेर प्याड पनि बनाउन सकिन्छ। यो प्याड एकपल्ट प्रयोग गरिसकेपछि कागजमा बेरेर सुरक्षित ठाँउमा फ्याक्ने वा जलाएर नष्ट गर्नुपर्छ।

महिनावारी रोकिएमा

[सम्पादन गर्नुहोस्]

असुरक्षित यौन सम्पर्कमा संलग्न हुँदा गर्भवती भएको हुन सक्छ। जसको कारण महिनावारी रोकिएको हुन सक्छ। त्यसकारण त्यस्तो अवस्थामा नजिकैको क्लिनिक तथा स्वास्थ्य संस्थामा गएर सामान्य गर्भवती जाँच गराउन सक्नुहुन्छ।

महिलाहरूको शरीर संवेदनशील हुने हुँदा धेरै चिन्ता, तनाब वा धेरै भ्रमण गर्नु पर्ने अवस्थामा, तथा धेरै बिरामी भएमा पनि महिनावारी केही हप्ता अगाडि पछाडि हुन सक्छ। केटी महिलाहरूमा नियमित (कसैको एक हप्ता अगाडि त, कसैको एक हप्ता पछाडि) महिनावारी हुन्छ नै भन्ने छैन। त्यसैले आफू कुन मितिमा महिनावारी भइयो भनेर थाहा पाइराख्न र महिनावारी किन भएन भनी चिन्तामा बस्न नपरोस् भन्ने हेतुले आफ्नो महिनावारीको मिति क्यालेण्डरमा वा डायरीमा लेखि राख्नु राम्रो हुन्छ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्ने

[सम्पादन गर्नुहोस्]

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ। महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस(हर्मनहरू)को मात्रामा परिवर्तन आउने गर्दछ। यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपर्युक्त वातावरण बनिरहेको हुन्छ। यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ। यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुँदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाई हुने गर्दछ। यही रागरस (हर्मन)को परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाई लाग्ने तथा कसै कसैलाई डण्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन्।

पेट र ढाड दुख्ने समस्याको उपचार

[सम्पादन गर्नुहोस्]

घरेलु तरिका अपनाएर महिनावारी हुँदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ। रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ। त्यसै गरेर तातो पानीलाई रबडको थैली (Hot bag)मा राखेर दुखेका ठाउँमा विस्तारै सेक्न पनि सकिन्छ। रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ। त्यसै गरी दुखेका ठाउँमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाई कम हुन्छ। यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ, जसले शरीरलाई कमजोर हुन दिदैन। हलुका व्यायाम गर्नाले पनि दुखाई कम हुन्छ। धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाई भने गर्नु हुदैन। माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो। त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन।

महिनावारी हुँदा यौन सम्पर्क

[सम्पादन गर्नुहोस्]

महिनावारी हुँदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ, तर वैज्ञानिक रूपले महिनावारी हुँदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन। एक स्वस्थ महिलासँग महिनावारी भएको बेला, यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने, महिलाको पाठेघर वा अन्य यौनाङ्गलाई पनि कुनै असर पर्दैन।

महिनावारीको वेला यौन सम्पर्क गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ। तर हुँदै नहुने भन्ने चाहिँ हुँदैन। किनभने डिम्ब निस्केर शुक्रकीटसँग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउँछ र त्यति वेला बाक्लो भइरहेको पाठेघरको भित्री तहको पनि काम हुँदैन। सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउँछ। त्यही नै महिनावारी हो। त्यसैले यति वेला शुक्रकीटको डिम्बसँग मिलन नहुने हुनाले गर्भ रहने कुरै हुँदैन। तर यदि कसैको महिनावारी छिटो छिटो जस्तै; २० दिनमा नै हुन्छ भने, महिनावारी भएको ४ - ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छन्।

भ्रम तथा अन्धविश्वासहरू

[सम्पादन गर्नुहोस्]

समाजमा प्रचलित धेरै अन्धविश्वासका कारणले गर्दा, महिनावारी भएको महिला, र महिनावारीको बेलामा बग्ने रगत अशुद्घ र अछुत भनिएको देखिन्छ। थुप्रै बन्देज एंव निषेध गर्ने व्यवहारहरू संसार भर मानिसहरूले गर्ने गरेका छन्। यस्ता व्यवहार महिनावारीको वास्तविक एवम् ठीक कारण थाहा नभएर विभिन्न काल्पनिक कुराहरूमा विश्वास गरी गर्ने गरेको देखिन्छ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Menstruation and the menstrual cycle fact sheet", Office of Women's Health, डिसेम्बर २३, २०१४, अन्तिम पहुँच २५ जुन २०१५ 
  2. प्रजनन् स्वास्थ्य र यौनिक शिक्षा वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०१ मिति
  3. Eijk, Anna Maria van; Jayasinghe, Naduni; Zulaika, Garazi; Mason, Linda; Sivakami, Muthusamy; Unger, Holger W.; Phillips-Howard, Penelope A. (२०२१ सेप्टेम्बर २४), "Exploring menstrual products: A systematic review and meta-analysis of reusable menstrual pads for public health internationally", PLOS ONE (अङ्ग्रेजीमा) 16 (9): e0257610, आइएसएसएन 1932-6203, डिओआई:10.1371/journal.pone.0257610, पिएमआइडी 34559839, पिएमसी 8462722 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

महिनावारी (किशोर-किशोरीहरूका प्रजनन स्वास्थ्य्य सम्बन्धी जिज्ञासा पुस्तिका)[स्थायी मृत कडी] 

http://menstruationeducationnepal.com वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१० मिति