महिनावारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महिनावारी चक्र

महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो ।[१]

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावारी सुरू हुने उमेर[सम्पादन गर्नुहोस्]

पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ । [२]

महिनावारीको समयमा हुने परिवर्तन[सम्पादन गर्नुहोस्]

  •  महिलाको योनिबाट पटक पटक रगत आउने, प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ ।
  • धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ (केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिनु)।
  • नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५ वा
  • ७ दिनसम्मको हुन्छ ।
  • धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ ।
  • महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई अङ्ग्रजीमा ovulation भनिन्छ । महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई पेटको वरिपरि दुखेको अनुभव हुन्छ ।

महिनावारी र प्रजनन[सम्पादन गर्नुहोस्]

  • महिनावारीको एक पुरा चक्र औसतमा २८ दिनको हुन्छ । एक पटकको महिनावारीबाट अर्को पटकको महिनावारी हुने समय कसैमा लामो त कसैमा छोटो हुन्छ । त्यस्तो अवस्थामा तपाईँले चिन्ता लिनु पर्दैन किनकि त्यसलाई सामान्य नै मानिन्छ । त्यसै गरी तपाईँको महिनावारी २१ दिन वा ३५ दिनमा भए पनि त्यसलाई सामान्य नै मान्न सकिन्छ ।
  • हरेक महिना परिपक्व डिम्ब डिम्बाशयबाट निस्केर डिम्ब बाहिनी नली हुदै पाठेघरसम्म आउछ । उक्त समयमा असुरक्षित यौन सम्पर्क भएमा र योनिभित्र नै वीर्य खसालेमा डिम्बलाई शुक्रकीटले निषेचित गर्न सक्छ र निषेचित भएमा महिला गर्भवती हुन्छिन् । यदि डिम्बको शुक्रकीटसंग मिलन भएन भने बच्चा हुर्काउनका लागि पाठेघरमा बन्दै गइरहेको उपयुक्त वातावरण प्रक्रिया आवश्यक पर्ने रागरसहरू (Hormones) को वृद्धि जसका कारणले पाठेघरको भित्तामा बनिरहेको रगतको तह रोकिन्छ र नियमित महिनावारी प्रक्रिया सुरु हुन्छ ।
  • महिनावारी करिब ४५ वर्षको उमेरसम्म रहन्छ । यही उमेरका हाराहारीमा महिलाको महिनावारी रोकिन सुरु हुन थाल्छ र त्यसपछि महिला गर्भवती हुन सक्दिनन् ।

महिनावारी र सरसफाई[सम्पादन गर्नुहोस्]

महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पु-याउनु पर्ने हुन्छ । ग्रामीण महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । यसले गर्दा उनीहरूको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

नेपालको पश्चिमी भेगतिर महिलाहरूले अवस्था अझ नाजुक छ । उनीहरू महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्देनन् । कसै-कसैले कपडा प्रयोग गरेभने पनि सूर्यलाई देखाउनु हुँदैन भन्ने अन्धविश्वास छ । यसैले उनीहरू कपडा घाममा सुकाउँदैनन् र अँध्यारो मै राख्छन् । उनीहरू फेरि अर्कोपल्ट महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्छन् । यसले गर्दा उनीहरूको शरीरका भित्री अंगमा संक्रमण हुने सम्भावना बढी हुन्छ । महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनु पर्छ  । यसले कपडा मा भएको परजीवि नाष्ट हुन्छ । कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन । यसले शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुने हुन्छ ।

आजकल महिलाहरू आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन् । औषधि पसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो भागमा बाँड्ने र तिनलाई सुतीको कपडामा बेरेर प्याड बनाउन सकिन्छ । यो प्याड एकपल्ट प्रयोग गरिसकेकपछि कागजमा बेरेर सुरक्षित ठाँउमा फ्याक्ने वा जलाएर नष्ट गर्नुपर्छ ।

महिनावारी रोकिएमा[सम्पादन गर्नुहोस्]

असुरक्षित यौन सम्पर्कमा संलग्न हुँदा गर्भवती भएको हुन सक्छ । जसको कारण महिनावारी रोकिएको हुन सक्छ । त्यसकारण त्यस्तो अवस्थामा नजिकैको औषधी पसल तथा स्वास्थ्य संस्थामा गई सामान्य गर्भवती जाँच गराउन सक्नु हुन्छ ।

महिलाहरूको शरीर संवेदनशील हुने हुदा धेरै चिन्ता, तनाब वा धेरै भ्रमण गर्नु पर्ने अवस्थामा तथा धेरै बिरामी भएमा पनि महिनावारी केही हप्ता अगाडि पछाडि हुन सक्छ । प्रायशः केटी महिलाहरूमा नियमित (कसैको एक हप्ता अगाडि त कसैको एक हप्ता पछाडि) महिनावारी हुन्छ नै भन्ने छैन। त्यसैले आफू कुन मितिमा महिनावारी भइयो भनेर थाहा पाइ राख्न र महिनावारी किन भएन भनी चिन्तामा बस्न नपरोस् भन्ने हेतुले आफ्नो महिनावारीको मिति क्यालेन्डरमा वा डायरीमा लेखि राख्नु राम्रो हुन्छ ।

महिनावारी हुदा तल्लो पेट र ढाड दुख्ने[सम्पादन गर्नुहोस्]

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

पेट र ढाड दुख्ने समस्याको उपचार[सम्पादन गर्नुहोस्]

घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैली (Hot bag) मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ । रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ । त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ । धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाइ गर्नु हुदैन । माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो । त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन ।

महिनावारी हुदाँ यौन सम्पर्क[सम्पादन गर्नुहोस्]

महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन । एक स्वस्थ केटी / महिलासँग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।

महिनावारीको वेला असुरक्षित यौन सम्पर्क (परिवारनियोजनका साधन प्रयोग नगरी) गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति वेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो । त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर यदि कसैको महिनावारी छिटो छिटो जस्तै; २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ - ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भनिरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ ।

भ्रम, अन्धविश्वास[सम्पादन गर्नुहोस्]

समाजमा प्रचलित धेरै अन्धविश्वासका कारणले गर्दा महिनावारी भएको महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्घ भनिएको देखिन्छ । थुप्रै बन्देज एंव निषेध गर्ने व्यवहारहरु संसार भर मानिसहरूले गर्ने गरेका छन् । यस्ता व्यवहार महिनावारीको वास्तविक एवम् ठिक कारण थाहा नभएर विभिन्न काल्पनिक कुराहरूमा विश्वास गरी गर्ने गरेको देखिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Menstruation and the menstrual cycle fact sheet", Office of Women's Health, डिसेम्बर २३, २०१४, अन्तिम पहुँच २५ जुन २०१५ 
  2. प्रजनन् स्वास्थ र यौनिक शिक्षा वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

महिनावारी (किशोर-किशोरीहरूका प्रजनन स्वास्थ्य सम्बन्धी जिज्ञासा पुस्तिका)[dead link] 

http://menstruationeducationnepal.com वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१० मिति