रंग अन्धता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


रगंको सहि पहिचान गर्न नसक्ने शारीरिक असमर्थता लाई रगं अन्धता भनिन्छ|प्रकाशको भिन्नाभिन्नै तरङ्गमा अन्तर गर्न पाउने क्षमताले नै रंगको उत्पत्ति हुन्छ। कुनै व्यक्ति रंग अन्ध(कलर ब्लाईन्ड) त्यति खेर हुन्छ जब उसको आँखाले विभिन्न प्रकारको तरङ्गमा अन्तर छुट्याउन सक्दैन। जन्मजात रंग अन्धताको सिकार भएकाहरूमध्ये ८० प्रतिशतमा रातो र हरियो रंग छुट्याउन नसक्ने रंग अन्धता देखिने गरेको पाइन्छ|

आँखाको रेटिना अर्थात् आँखाको पछाडिको पर्दामा राडस र कोन्स गरी दुई प्रकारको प्रकाश संवेदनशील रिसेप्टर हुन्छ। राडसले कम प्रकाशमा हेर्न सघाउँछ भने कोन्सद्वारा हामी सामान्य प्रकाशमा पनि देख्छौं। कोन्सले नै रंगको पहिचान गराउँछ। रंगको पहिचान भने मध्यम तथा पूर्ण प्रकाशमा मात्र सम्भव हुन्छ। रेटिनामा राडस र कोन्सबाहेक दृष्टिसँग सम्बन्धित स्नायु/नसासमेत हुन्छ, यसको निर्माण असंख्य स्नायु तन्त्र मिलेर हुन्छ। सन्देशलाई मस्तिष्कको आक्सिपिटल लोव -जहाँ रेटिनामा परेको प्रतिविम्बको विश्लेषण हुन्छ)मा पुर्‍याउने काम यसै नसाले गर्छ। यंग र हेलमोडसकोद्वारा प्रतिपादित सिद्घान्तअनुसार रेटिनामा तीन प्रकारको कोन्स हुन्छन्। एउटा कोन्स एउटै मूल रंगले प्रभावित हुन्छ। रातो रंग हेर्दा रातो प्रभावित हुने कोन्स सक्रिय हुन्छ। निलो र हरियो देख्ने कोन्स पनि हुन्छन्। दुई कोन्स सक्रिय हुन्छन् भने मिश्रति रंग देखिन्छ। सेतो रंगको पहिचान त्यति खेर हुन्छ, जतिबेला तीनैवटा कोन्स बराबर मात्रामा प्रभावित हुन्छन्।

अमेरिकन अप्टोमेटि्रक एसोसिएसनका अनुसार तीन प्रमुख प्रकारको रंग अन्धता हुन्छन्, जसले रातो, हरियो वा निलो हेर्न असजिलो पार्छ। केहीमा अतिरिक्त रंग अन्धतासमेत देखिन्छ। जन्मजात रंग अन्धता भएकाहरू पूर्ण रूपमा रंग अन्धो हुन्छन्। उनीहरू सबै थोक खैरो देख्छन्। अनौठो के भने जन्मजात रंग अन्धता पुरुषलाई मात्र हुन्छ।

यदि कसैको आँखामा एल कोन्स छैन भने उनीहरू रातो र हरियो रंग देख्दैनन्, यसलाई चिकित्साको भाषामा प्रोटोनोपिया भनिन्छ। यो हलुको वा पूर्ण रूपले हुन सक्छ। यसमा रातो र हरियो रंग एकनाशकै देखिन्छ|यदि आँखामा एम कोन्स छैन भने रातो र हरियो रंग देखिँदैन, यसलाई डयुटानोपिया भनिन्छ। यसमा रातो र हरियो रंग एकजस्तै देखिन्छ भने यो समस्या हलुको वा पूर्ण हुन सक्छ। यस्तै एस कोन्स नभएकाहरूले निलो र पहलो रंग देख्दैनन्। ट्राइटानोपिया भनिने यो समस्या हलुको वा पूर्ण हुन सक्छ भने यो धेरै कम व्यक्तिमा हुन्छ।

इशिहारा परीक्षण

तथ्यांकअनुसार युरोपेली मुलुकमा १० प्रतिशत, भारतमा ५ प्रतिशत व्यक्ति फरक-फरक रंग छुट्याउन सक्दैनन्, अर्थात् उनीहरूमा रंग अन्धता छ। धेरैजसो शिक्षित र सभ्य समाजका व्यक्ति नै बढी मात्रामा रंग अन्धताको सिकार रहेको तथ्यांक छ। उच्च वर्गमा यो रोगको सम्भावना अन्य वर्गको दाँजोमा बढी हुने प्रश्नको हालसम्म उत्तर आउन सकेको छैन।

विषेशज का अनुसार आँखा र शरीरको अन्य खण्डमा हुने रोग प्रत्यक्ष वा अप्रत्यक्ष रूपले रंग अन्धताको कारण हुन सक्छ|मोतिबिन्दु ग्लुकोमा, पिकमेटोसा, दृष्टिसम्बन्धी नसाको रोग, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न स्नायुसम्बन्धी रोगले रंग अन्धताको सम्भावनालाई बढाउँछ। क्षयरोग, कुष्ठ, उच्च रक्तचाप, मृगौलाको रोग, जोर्नीको दुखाइ, मुटु रोग र विभिन्न मानसिक रोगले पीडित व्यक्तिमा पनि रंग अन्धता हुने सम्भावना बढी हुन्छ किनभने यी रोगहरूको निदानमा दिइने औषधिले स्नायु तन्त्रमा असर पार्छ। विभिन्न रोग र त्यसबाट उत्पन्न जटिलताको निदानका लागि रंग अन्धता परीक्षणको सहयोग लिइन्छ।

रक्सी र कुनै पनि रूपमा तमाखु सेवन गर्नेहरूलाई समेत रंग अन्धता हुन सक्ने विषेशज बताउँछन्। लामो समयसम्म रक्सी र तमाखुले दृष्टिसम्बन्धी नसामा क्षति पुर्‍याउने भएकाले यस्तो रंग अन्धता हुन्छ। यस्ता व्यक्तिलाई रातो र हरियो रंगको पहिचानमा समस्या पर्छ। 'सुर्ती र रक्सी सेवन गर्नेहरूमा देखिने रंग अन्धता प्रारम्भिव अवस्थामै उपचार गरे निको हुनसक्ने विषेशज बताउँछन्। 'तर धेरै ढिलो भए फर्काउन सकिन्न।'

उमेरमा वृद्दि पनि रंग अन्धताको कारण हुन सक्छ। उमेरको वृद्दि संगै आँखाको पुतली संकुचित हुनु, लेन्सको पहेंलोपना र मैकुलामा जमावजस्तो समस्या सुरु हुन्छ। यसले समेत रंग अन्धता हुन सक्छ। स्मरणशक्ति सामान्य भए पनि अनुभवले प्रौढअवस्थामा रंगको सही पहिचान गर्न सकिन्छ।

आनुवांशिक रूपले रंग अन्धताका सिकार रहेकाहरूका लागि हालसम्म कुनै उपचार खोज्न सकिएको छैन। ठूलाको दाँजोमा बच्चाहरूलाई यो रोगसँग जुध्न सजिलो हुन्छ। बच्चामा यो रोगको आशंका देखिनासाथ तुरन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ। रंग अन्धता भए एकपटक नेत्र विशेषज्ञको सल्लाह लिनैपर्ने विशेषज्ञहरू बताउँछन्।