रुद्र खरेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रुद्र खरेल (२००१–२०६५) प्राध्यापन र लेखनमा जीवन बिताएका रुद्र खरेल प्रबल व्यङ्ग्यचेत भएका प्रमुख निबन्धकार हुन्। तपाईंको नाम के हो ? (२०४८), तोरीलाहुरे चोकमा एक छिन (२०५२), बिर्सिस्यो कि ? (२०५७), आषाढस्य प्रथम दिवसे (२०५९), तेस्रो आँखा (२०६१) र शब्दको भ्वाङ (२०६४) छ व्यङ्ग्यनिबन्धसङ्ग्रहका माध्यमबाट उनी यथार्थ र प्रगतिवादी चेत भएका चोटिलो व्यङ्ग्यनिबन्धकारको रूपमा स्थापित भएका छन्

निबन्धकार खरेलका सबै निबन्ध हाम्रा सामाजिक–राजनीतिक परिदृश्यका विविध पाटा र मानवीय कमजोरीतर्फ केन्द्रित छन्। आफ्ना अनुभव र पर्यवेक्षणका माध्यमले उनले समसामयिक स्थितिप्रति तीव्र व्यङ्ग्य गर्दै समाज र राष्ट्रलाई एउटा उचित बाटोमा हिँड्नपर्ने निर्देश गरेको देखिन्छ। निबन्ध लेखनमा उनी आफ्ना पूर्वस्मृतिहरूको प्रयोग गर्दै समकालीन विद्रूप र विकृतिलाई चित्रण गर्छन्। समाजमा उभिएका भ्रमका पर्खालहरू भत्काउँदै उनी आफ्नै सांस्कृतिक चेतनाले युक्त आदर्श र सुसंस्कृत समाजको स्थापनामा निबन्धमार्फत जोड दिन्छन्।

"तपाईंको नाम के हो ?" निबन्धसङ्ग्रहमा भएका प्रारम्भकालीन निबन्धमा उनले समसामयिक यथार्थलाई अत्यन्त राम्ररी छर्लङ्ग्याउनुका अतिरिक्त विकृतिविरुद्ध कडा प्रहार गरेको पाइन्छ। त्यसपछि उनी क्रमशः अझ बढी सक्रियताका साथ सामाजिक बेथिति र अन्धविश्वास, राजनीतिक कुकर्म र चरित्रलगायतका विषयमा चर्को प्रहार गर्न संलग्न देखिन्छन्। तोरीलाहुरे चोकमा एक छिन र बिर्सिस्यो कि ?मा आईपुग्दा निबन्धकार खरेलको व्यङ्ग्यचेत अझ तीव्रतर हुँदै गएको पाइन्छ। उनी आफ्ना निबन्धमा एकातिर सामाजिक–राजनीतिक क्षेत्रमा विद्यमान बेथिति र विषमताहरूलाई चिरफार गर्छन् भने अर्कोतिर नारीप्रति कुदृष्टि राख्ने र विदेशी संस्कृतिप्रति बढी मोह राख्ने प्रवृत्तिविरुद्ध चर्को प्रहार गर्छन् तर उनको व्यङ्ग्य यत्तिमै सीमित छैन।

आषाढस्य प्रथम दिवसेको पहिलो निबन्ध जुनसुकै कुरा लेखिए पनि ...मा उनले अदालतमा प्रयोग हुने भाषालाई विषय बनाएर तीव्र व्यङ्ग्य गरेका छन्। यस सङ्ग्रहमा रहेका आषाढस्य प्रथम दिवसे तुलनात्मक रूपमा सबैभन्दा प्रभावोत्पादक निबन्ध हो। यसमा द्वन्द्व र हिंसाले गाउँघरको जीवन, संस्कृति र परम्परामा पारेको घाउको मर्मस्पर्शी चित्रण गर्दै राष्ट्रिय चेतना, मानवीय भावना र सामाजिक संवेदनालाई अत्यन्त राम्ररी प्रस्तुत गरिएको छ। मेघलाई सम्बोधन गरेर लेखिएको यस निबन्धमा मेचीदेखि महाकालीसम्मको हाम्रो ग्रामीण परिवेश र भूबनोटको चित्रात्मक अभिव्यक्ति पनि पाइन्छ। व्यङ्ग्यकार खरेलको पाँचौँ व्यङ्ग्यकृति तेस्रो आँखामा रहेका निबन्धहरूले पनि सामाजिक कुप्रवृत्तिप्रति प्रहार गर्नुका अतिरिक्त मानव अधिकारका नाममा हाम्रो देशमा हुनेगरेका गलत कार्यहरूप्रति तीखो व्यङ्ग्य गरेका छन्। उनका निबन्धहरूले व्यक्तिलाई नभई प्रवृत्तिलाई कटाक्ष गर्दै त्यसका विरुद्ध मोर्चा तयार पार्नुपर्ने आवश्यकतालाई जोड दिएको पाइन्छ। उनको शब्दको भ्वाङ निबन्धसङ्ग्रहका निबन्धहरू पनि विशेषतः सामाजिक एवं राजनीतिक विषयमा केन्द्रित छन्। सामान्य विषयबाट उठान गरिएका उनका कतिपय निबन्धहरू अन्त्य हुँदा गम्भीर विषयको चिन्तनमा रूपान्तरण भएका भेटिन्छन्।

प्रगतिवादी चेतनाबाट अनुप्राणित कुशल निबन्धकार रुद्र खरेल निबन्धहरूमा कविता र गीतका अंशहरूको प्रयोगबाट निबन्धलाई प्रभावपूर्ण र रोचक बनाउँछन् भने भाषाको प्रयोगबाट भन्दा विषयको प्रतिपादनबाट नै व्यङ्ग्य गर्न रुचाउँछन्।