विवाहका प्रकारहरू
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शास्त्रीयरूपमा आठ प्रकारका विवाहहरू वणिर्त छन्
- ब्रहृम विवाह,
- दैव विवाह,
- आर्य विवाह,
- प्रजापत्य विवाह,
- आसुर विवाह,
- गन्धर्व विवाह,
- राक्षस विवाह र
- पैशाच विवाह
यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ। परम्परागतरूपमा मागी विवाहको सर्वव्यापकता थियो। कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए। हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ। एक प्रकारले यो मान्य भइसकेको छ। जारी विवाहको प्रचलन हराउँदै गएको छ। गाउँघरमा दुई-चारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई कुम्ले विवाह र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई वरियाती भन्ने चलन छ।
हिन्दु परम्परा र शास्त्र अनुसार माथी उल्लेखित विवाहका प्रकारहरूलाई यसरी व्याख्या गरिएको छ:
ब्रह्म विवाहः यस विवाहअनुसार आभूषण, वस्त्र आदिबाट अलङ्कृत गरेर कन्यादान गरिन्छ । यस विवाहमा दुवै पक्षको सहमतिबाट समान वर र कन्याको विवाह निश्चित गरिन्छ । अहिलेको मागी विवाहलाई यस खालको विवाह भन्न सकिन्छ ।
प्रजापत्य विवाहः यस्तो विवाहमा कन्यासँग अनुमति लिइँदैन । अभिभावकले योग्य वर हेरेर कन्याको विवाह गरिदिन्छन् । विवाह भने विधिवत् हुन्छ । दुवैले एकसाथ मिलेर धर्माचरणको व्रत लिन्छन् । आर्ष विवाहः यस विवाहमा कन्यापक्षलाई कन्याको मूल्य तिरिन्छ । वर पक्षबाट विशेषगरी गाई दिने चलन हुन्छ । दैव विवाहः यस विवाहमा कुनै तपस्वीलाई कन्यादान गरिन्छ । कुनै सेवा कार्यको मूल्यको रूपमा कन्यादानमा दिइन्छ। महाभारतकालमा यी चार विवाहलाई धर्मसम्मत मानिन्थ्यो ।
गन्धर्व विवाहः यस विवाहमा परिवारको सहमति हुँदैन । कुनै रीतिरिवाज अपनाइँदैन । दुष्यन्त र शकुन्तलाले गन्धर्व विवाह गरेका थिए । कथाअनुसार एक पटक शिकार गर्ने क्रममा संयोगवश दुष्यन्त महर्षि कण्वको आश्रममा पुगे । त्यसबेला महर्षि आश्रममा थिएनन् । दुष्यन्तले शकुन्तलासँग शारीरिक सम्बन्ध राखेर गन्धर्व विवाह गरे । उनीहरूबीच शारीरिक सम्बन्ध गाँसियो । केही समय कुर्दा पनि महर्षि कण्व नआएपछि दुष्यन्त शकुन्तलालाई त्यहीँ छाडेर दरबार गए । जाने बेलामा उनले शकुन्तलालाई एउटा औँठी दिए । पछि शकुन्तलाले छोरा जन्माइन् । छोरा बोकेर उनी दुष्यन्तकहाँ पुगिन् । दुष्यन्तले दिएको औँठी उनले बाटोमै हराइन् । औँठीको अभावमा दुष्यन्तले शकुन्तलालाई स्वीकार गरेनन् । पछि ‘शकुन्तलालाई स्वीकार गर’ भनेर आकाशवाणी भयो र उनले स्वीकार गरे । यही घटनामा अर्को एउटा मतअनुसार पछि दुष्यन्तलाई दुर्वासाको श्राप परेको थियो । श्रापअनुसार उनको स्मरण शक्ति गुम्यो । पछि विभिन्न माध्यम हुँदै शकुन्तलालाई दिएको औँठी उनीकहाँ पुग्यो । औँठी देखेपछि उनले शकुन्तलासँगको घटना सम्झिए र शकुन्तलालाई छोरासहित स्वीकार गरे ।
आसुर विवाहः यस्तो विवाहमा वर पक्षद्वारा शुल्क दिएर कन्या ग्रहण गरिन्छ । कन्या का आफन्तलाई धन या प्रलोभन देखाएर स्वेच्छाले कन्याकन्या प्राप्त गरिन्छ ।
राक्षस विवाहः यस्तो विवाहमा कन्या को सहमति हुँदैन । उसलाई अपहरण गरेर जबर्जस्ती विवाह गरिन्छ । नेपालमै कुनै–कुनै जातिमा केही समय पहिलासम्म विभिन्न जमघट हुने ठाउँबाट आफूलाई मन परेकी कन्या लाई जबर्जस्ती उठाएर लैजाने चलन थियो । यस्तो चलन अहिले धेरै कम भएको छ । त्यस्ता कन्या लाई फेरि घरमा फिर्ता लगिँदैन ।
पैशाच विवाहः सुतेको अथवा नशामा उन्मत्त कन्या लाई एकान्तमा बलात्कार गरी जबर्जस्ती ग्रहण गर्नुलाई पैशाच विवाह भनिन्छ ।
माथिका अन्तिम चारवटा विवाहलाई शास्त्रले मर्यादाविपरीत मान्छ ।
आचार्य चाणक्यले विवाहका बारेमा भनेका छन्, ‘कन्याको मातापिताको इच्छाअनुसार गरिने विवाह धर्मसम्मत हुन्छन् । अन्य चार विवाह धर्म मार्यादाअनुकूल छैनन् । यी विवाह कन्याको बलात्कार हो । सबैको प्रशन्नता हुने विवाह नै सर्वोत्तम हो । यसबाट सबैको सुख वृद्धि हुन्छ ।’ माथि चर्चा गरिएका आठ प्रकारका विवाहप्रथा उल्लेख हुनुले त्यसबेला त्यस्ता प्रथा प्रचलित थिए भनेर अनुमान गर्न सकिन्छ । भनिन्छ, पुरातनकालमा विभिन्न जातिहरूको प्रचलित वैवाहिक चलन हेरेर मनु आदि स्मृतिकारहरूले यी विवाहलाई मान्यता दिएका थिए । उनले सुरुका चार विवाह ब्राह्मण वर्गको लागि, राक्षस र गन्धर्व विवाह क्षत्रियको लागि र आसुर विवाह वैश्य र शुद्र वर्गका लागि भनेर छुट्याएका थिए । पैशाच र आसुर विवाह आर्यहरूको कुनै वर्गको लागि पनि उचित मानिँदैन थियो । जेहोस्, समयक्रममा बिस्तारै विवाह एउटा अनिवार्य धार्मिक संस्कार बन्न पुगेको छ । हाम्रा पुर्खाले विवाहको जुन परम्परा बसाले, ठाउँ–अवस्था–जाति र प्रकृतिअनुसार तिनले त्यसलाई टिप्दै आफ्नो जीवनको अङ्ग बनाएका छन् । विवाह समाजको सबैभन्दा सशक्त परम्पराका रूपमा स्थापित भएको छ तर समय क्रमले विवाहको शैली, वैवाहिक जीवनजस्ता धेरै कुरामा निकै फेरबदल पनि ल्याएको छ ।