विश्वरुप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्थ[सम्पादन गर्नुहोस्]

विश्वको अर्थ हुन्छ– ब्रह्माण्डमा भएका जम्माजम्मी कुरा । र रूपको अर्थ हुन्छ– आकार, रङ्ग, गन्ध, आवाज, वस्तु, प्राणी, दृश्य, स्वभाव, गुण, गतिशीलता इत्यादि सबै थोक जति ज्ञानेन्द्रियले अनुभव गर्न सक्छन् । यति मात्र होइन अतीन्द्रिय शक्तिले देखिने कुरा पनि विश्वरुप संदर्शनमा छन् भन्ने मानिएको छ । आफ्नो विश्वरूपमा भगवान्ले लौकिक र अलौकिक सबै कुरा एकै ठाउ“मा दर्शन गराइदिनु भएको छ । त्यो स्वरुप सुदूर अन्तरिक्षदेखि दुवै आ“खाको नजीकसम्म फैलिएको छ । त्यस रूपमा काल– भूत, वर्तमान, र भविष्य पनि एक क्षणमा उपस्थित छ । विश्वरुप भित्र ईश्वरको सिर्जना कर्ताको स्वरुप मात्र छैन, संहारकर्ता र पालनकर्ताको स्वरुप पनि छ ।

विश्वरुपका प्रारम्भिक वर्णन वेदमा पाइन्छन् । त्रिशिर र सोमका वर्णनको रूपमा ऋग्वेदमा, प्रजापतिको रूपमा अथर्ववेदमा र  ब्रह्मको रूपमा मैत्रायणी उपनिषद्मा यो वर्णन छ । तर ऋग्वेदको पुरुषसूक्त यस स्वरूपको सबभन्दा विशिष्ट वर्णन हो । गीताको विश्वरुप ऋग्वेदको पुरुषसूक्तको विस्तृत व्याख्या हो भन्न सकिन्छ । विश्वरूपको जति स्पष्ट व्याख्या गीतामा पाइन्छ, त्यति स्पष्ट व्याख्या अन्यत्र उपलब्ध छैन । यस दृष्टिले गीता एक विशिष्ट साहित्य हो ।

विश्वरुपका चित्र[सम्पादन गर्नुहोस्]

गीताका अधिकांश पुस्तकको आवरणमा कलाकारले विश्वरुप चित्रण गर्ने प्रयास गरेको देखिन्छ । यसबाट पनि यसलाई गीता उपदेशको चरमोत्कर्ष मान्न सकिन्छ । यस रूपको विशेषता के भने कलाकारहरूको असीमित कल्पनाले पनि व्यासरचित विश्वरूपलाई स्पष्ट गर्न सकेको पाईंदैन । विश्वरूपको सबभन्दा प्राचीन मूर्तिमध्येको एक चाङ्गुनारायण मन्दिरमा रहेको विश्वरुप मूर्ति हो । यो छैठौं शताब्दीको मानिन्छ । विश्वरुपका अनेकौँ चित्र छन् । गीताप्रेस गोरखपुरले बनाएको विश्वरुप अन्यभन्दा बढी प्रचलित छ । यस पछिको अर्को महत्त्वपूर्ण स्वरुप भनेको इस्कोन सोसाइटीले बनाएका विश्वरुप चित्रहरु छन् ।

गीताकारलाई समेत विश्वरूपको व्याख्या गर्न जटिल भएको बुझिन्छ किनभने विश्वरूपको व्याख्या गर्दा सुरुमा नै भनिएको छ– यो रुप देख्न सजिलो छैन ।

यस अध्यायलाई गीता उपदेशको क्लाइमेक्स भन्न सकिन्छ । यो कृष्णार्जुन संवादको त्यो पराकाष्ठा हो जहा“ शब्द समाप्त भएका छन् । अब कानको आवश्यकता छैन, केवल आ“खा । यही कारणले पूर्व पक्ष र उत्तर पक्षका दार्शनिक तर्क वितर्क गर्ने ठाउ“ पनि यस अध्यायमा छैन । निगमन वा आगमन कुनै विधिको प्रयोग यस अध्यायमा सम्भव छैन ।

गीता उपदेश दिंदा भगवान् कृष्णको मनोगत भाव कस्तो थियो होला ? केही कुराको व्याख्या गर्न सकिए तापनि सबै भाव अभिव्यक्त हुन सक्दैन । केही कुरा भावद्वारा नै व्यक्त गर्नु पर्छ तर विश्वरुप दर्शनको व्याख्याका लागि यस्तो कुनै सुविधा प्राप्त छैन ।

विश्वरुप बाह्य हो वा आन्तरिक ? यस विषयमा मतभिन्नता पाइन्छ । केही विद्वान्ले यसलाई बाह्य घटना मानेका छन् भने अन्य केही विद्वान्ले आत्मसाक्षात्कार वा समाधिको अवस्था नै विश्वरुप हो भनेका छन् । तर दिव्यदृष्टिको आवश्यकता दुवै अवस्थामा स्वीकार गरिएको छ ।

त्यसैले विश्वरूपको संदर्शन कसकसले गरेका छन् यस सम्बन्धमा पनि भिन्न भिन्न मत पाइन्छ । कुनै विद्वान्ले केवल अर्जुनले मात्र विश्वरुप दर्शन गरे भन्ने विश्वास गर्दछन् भने अन्य विद्वान्ले अर्जुन मात्र नभएर सञ्जय लगायतका अन्य केही योद्धाहरूले पनि विश्वरुप दर्शन गरेको विश्वास गर्छन् ।

गीता अध्याय 11[सम्पादन गर्नुहोस्]

अध्याय १० को विभूतियोग विवरणबाट अर्जुन ईश्वरको स्वरुप जान्न अझ उत्सुक हुन्छन् । र यस अध्यायमा उनले श्रीकृष्णलाई ईश्वरको दिव्यस्वरुप देखाउन अनुरोध गर्छन् । भगवान्ले अर्जुनलाई अलौकिक दृष्टि प्रदान गर्दै आफ्नो सर्वव्यापी दिव्यस्वरुप प्रकट गर्नु हुन्छ । शब्दहरूले वर्णन गर्न नसकिने यो स्वरुप अद्भुत छ । अलङ्कार र शस्त्रहरु सहित हजारौं लाखौं सङ्ख्यामा मुखैमुख भएको, दिव्य मालाहरु र वस्त्रहरूले सुसज्जित यो आश्चर्यजनक सर्वव्यापीस्वरुप लाखौं सूर्यभन्दा बढी तेजिलो छ  । विभिन्न रूपको समस्त विश्व उनका अस्तित्त्वको केवल एक सानो अंश मात्र हो । आश्चर्य र आनन्दले अभिभूत अर्जुनले त्यस दिव्य स्वरूपको प्रार्थना गर्न थाल्छन् । यो सुन्दर स्तोत्रावली सत्रह श्लोकको छ । यस अनुसार, सबै प्राणी देवता, मनुष्य र मनुष्येतर जीव विश्वरुप भित्र देखिएका छन् । त्यस स्वरूपमा अनेक हात, पेट, मुख, आ“खा, खुट्टा छन् ।  विलक्षण तेज छ । अन्तरिक्ष भरिएको छ । ग्रह नक्षत्र छन् । देवता, मुनि साराले करबद्ध भएर स्तुति गरिहहेका देखिन्छन्  । योद्धाहरु उहा“ भित्र ठीक त्यसै गरी प्रवेश भएर नष्ट भइरहेका देखिएका छन् जसरी बत्तीमा पुतली प्रवेश गरेर नष्ट भइरहेका हुन्छन् । अर्जुनले भयभीत भएर प्रार्थना गर्छन्– तपाईँ को हुनुहुन्छ प्रगट हुनुहोस् ? भगवान्ले भन्नु हुन्छ– म शाश्वत संहारक काल हु“ । शत्रुसेनालाई नष्ट गर्नका लागि आएको छु । यो कार्य तिमी नभए पनि भइसकेको छ । त्यसैले हे अर्जुन, युद्ध गरेर विजयको श्रेय लेउ ।

अर्जुनले एक पटक पुनः विनम्रतापूर्वक घनिष्ठताका क्षणहरूमा गल्तीहरु गरिएको भए त्यसका लागि क्षमा माग्छन् र सामान्य रूपमा फर्कन निवेदन गर्छन् । सामान्य स्वरूपमा दर्शन दिएर श्रीकृष्णले भन्नु हुन्छ– मेरो यो विश्वरुप वेदाभ्यास वा यज्ञ वा तप वा दान गरेर होइन एकनिष्ठ भक्तिले मात्र दर्शन गर्न सकिन्छ ।

यस अध्यायमा अर्जुन उवाच चार पटक, श्रीभगवान उवाच् चार पटक र सञ्जय उवाच तीन पटक दोहारिएको छ । यसरी उवाच धेरै पटक दोहोरिएको अध्याय पनि यो मात्र हो ।

यस अध्यायका ५५ श्लोकमध्ये १९ श्लोक अनुष्टुप छन्दमा, ३ श्लोक उपेन्द्रवज्रा  छन्दमा, र ३३ श्लोक उपजाति छन्दमा रचना गरिएका छन् । यस अध्यायमा शान्त रस तथा अदु्भुत रसको प्रयोग भएको छ । आलङ्कारिक प्रयोग पनि प्रशस्त प्रयोग गरिएको छ । विशेष गरी तुलनाहरूको सुन्दर प्रयोग भएको छ । असम्भव तुलनाहरूको प्रयोग भएको छ । यस अध्यायको सबभन्दा महत्त्वपूर्ण विशेषता के हो भने परमात्माको स्तुति भएको अध्याय यो मात्र हो ।

विश्वरुप संदर्शन भगवान् कृष्णको पूर्णावतारका लागि पुष्टि पनि हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]