सत्य सन्देश (कविता)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सत्य सन्देश

सत्य सन्देश लेखनाथ पौड्याल(वि.सं. १९४१ पाैष - २०२२ फाल्गुण ७ तदनुसार सन् 1885 – 1966)द्वारा लेखिएको कविता हो । परिष्कारवादी धारका प्रमुख कवि लेखनाथ पौड्यालको यस कवितामास्रग्धरा छन्द, अन्त्यानुप्रास अलङ्कार र शान्त रसको प्रयोग पाइन्छ ।

कविताको भावार्थ "व्यक्ति राम्रो भए संसार राम्रो लाग्ने तर व्यक्ति स्वयं नराम्रो भए संसार नराम्रो देखिन्छ" भन्ने रहेको छ । यस सत्य सन्देश कविताले प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठका शब्दमा न्ह्यू वज्राचार्यको सङ्गीतमा गायिका अानी छोयङ डोल्माले गाएका "फूलको आखाँमा फुलै संसार, काँडाको आखाँमा काँडा संसार"[१] को अर्थ दिन्छ ।

कविताको पूर्ण पाठ[सम्पादन गर्ने]

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,

कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो ।

कैलाशश्श्रेणि कालो झलमल गर्ने सूर्यको बिम्ब कालो,

यो सारा सृष्टि कालो, मनबिच छ भने दम्भ दुर्भाव कालो ।। १ ।।

दोषी माता-पिताका वचन गुरुजनादेश नि:शेष दोषी,

सत्यात्मा मित्र दोषी, गृह-परिजनको चाल देखिन्छ दोषी ।

पत्नीको प्रेम दोषी, अमृतमय मीठा वेदका वाक्य दोषी,

यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी ।। २ ।।

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो,

भिक्षा भारी उज्यालो, अझ वन-वनको साग सिस्नु उज्यालो ।

फयाङ्लो गुन्द्री उज्यालो, वरपर घुम्दा जीर्ण कन्था उज्यालो,

तृष्णाको तुच्छ जालो मनबीच नभए, जो मिल्यो सो उज्यालो ।। ३ ।।

भर्दाभर्दै हजारौँ विषय-सुख-घडा, देह लम्तन्न पर्दा,

झर्दा सम्पूर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा् ।

सर्दा आपस्त डर्दै परपर धमिलो नाचको अन्त्य पर्दा

गिरदामा साथ जाने कुन-कुन चीज हुन् ? सम्झ ती काम गर्दा ।। ४ ।।

जस्तो मानीधनीका नगिच हर घडी तृप्त जोडेर हात,

छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रतासाथ बात ।

दु:खीका साथ उस्तै विनयसित सदा मर्म सम्झेर बोल,

गर्नै पर्दैन फेरि व्रत-जप-तपले स्वर्गको मोल तोल ।। ५ ।।

मत्ता हात्ती हलुङ्गो, वितत जलधिका ह्वेल-माछो हलुङ्गो,

जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो ।

शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो,

यो ब्रह्माण्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो ।। ६ ।।

विश्लेषण[सम्पादन गर्ने]

प्रकाशन इतिहास[सम्पादन गर्ने]

अन्य[सम्पादन गर्ने]

यस कविता विद्यालयीय माध्यमिक तहको हाम्रो नेपाली किताबमा समावेश गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. श्रेष्ठ, दुर्गालाल । (२०६१ [2004]) । फूलको अाँखामा फूलै संसार [अानी छोयङ डोल्माद्वारा स्वरबद्ध] । मोमेन्ट्स अफ ब्लिस [Moments of Bliss] । काठमाडाैँ : म्युजिक नेपाल [Music Nepal]। https://www.youtube.com/watch?v=uOYJF3uNGqI मा २ जुन २०१८ २१ः०१ मा हेरिएको ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]