समाचार
समाचार भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ । समाचारमा निष्पक्षतामा जोड दिइन्छ अर्थात सबै प्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहेर समाचार प्रकाशन तथा प्रसारण गरिन्छ । समाचार कुनै घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो जसमा जनसमुदायको रूची हुन्छ । समसामयिक घटना वा विचारको तत्काल सूचना वा जानकारी नै समाचार हो । कुनै लेख समाचार हुन नयाँपन, समसामयिकता, निकटता, प्रमुखता, मानवीय अभिरूची, मनोरञ्जन जस्ता तत्वहरू हुनु अनिवार्य मानिन्छ । समाचारको महत्त्व, प्रकृति र सान्दर्भिकताले समाचारको बनोटलाई निर्धारण गर्छ । आमुख, तथ्य, उद्दरण, पृष्ठभूमीलाई समाचारका महत्त्वपूर्ण अङ्ग मानिन्छ । समाचार उल्टो पिरामिड, वर्णनात्मक र अवर ग्लास ढाँचामा लेखिन्छ । समाचार प्राप्तहुने ठाउँलाई पत्रकारिताको भाषामा समाचारको स्रोत भनिन्छ । यस्तो स्रोत पत्रकारको प्रमुख सम्पत्ति मानिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]सत्रौँ सताब्दीको सुरूमा समाचारपत्रको आविष्कार हुनुभन्दा पहिला, ठूला साम्राज्यहरूमा सरकारका कामकाजका कागजपत्र तथा सरकारी निर्णयहरूको सञ्चार हुनेगर्दथ्यो ।[१] वाहकहरूको व्यवस्थित प्रयोग गरी लिखित दस्तावेजहरूको सञ्चारमा प्राचिन मिश्रका शासकहरू अग्रस्थानमा आउँछन् । २४०० बिसीदेखि नै मिश्रका फारोहहरू आफ्ना लिखित निर्णय तथा आदेशहरू साम्राज्यभरि फैलाउन विभिन्न सन्देशवाहकहरूको प्रयोग गर्दथे ।[२] त्यसभन्दा पहिलादेखि प्रचलनमा रहेको मौखिक सञ्चारको प्रचलनलाई नै सुधार गरी लिखित सञ्चार प्रणालीको विकास गरिएको थियो । प्राचिन रोममा जुलियस सिजरले सरकारी निर्णयहरू सार्वजनिक गर्ने प्रचलन ल्याएका थिए । त्यो समयमा सरकारी निर्णयहरू ढुङ्गा वा धातुका पातामा कुँदेर सार्वजनिक स्थानमा राखिन्थ्यो जसलाई एक्ता दिउर्ना (Acta Diurna) भनिन्थ्यो । चीनमा दोस्रो र तेस्रो सताब्दीमा हान वंशको अन्तिम समयमा सरकारले तयार गर्ने तिपाओ (Tipao) भनिने समाचारपत्रहरू अदालतका कर्मचारीहरूलाई बाँडिन्थ्यो ।[३]
समाचारका परिभाषाहरू
[सम्पादन गर्नुहोस्]- भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण, सम्चार वा सन्देश -नेपाली बृहत् शब्दकोश[४]
- समाचार एउटा अचम्मको घटना हो, जुन प्राय अप्रत्याशित हुन्छ ।
- हिजोसम्म नजानेको कुरा नै समाचार हो ।
- समाचार त्यही हो जुन घटित हुन्छ, जुन मान्छेले सोच्छ र गर्छ । -जेम्स विगिन्स
- जनता नै समाचार हुन् । -ह्यारोल्ड म्याथ्यु इभान्स
- समाचार त्यो हो जुन नयाँ हुन्छ । - एम. भी. कामथ
- आम सञ्चार माध्यामद्वारा प्रकाशन तथा प्रसारण हुने सार्वजनिक महत्त्वका सामयिक घटना, क्रियाकलाप तथा विचारको त्यस विवरणलाई समाचार भनिन्छ जसबाट कुनै प्रकारको शिक्षा, सूचना, मनोरञ्जन वा प्रेरणा प्राप्त हुन्छ । समाचार हतारमा लेखिएको साहित्य हो । -म्याथ्यु आर्नोल्ड
- समाचारलाई भोलिको इतिहासको टिपोट भनिन्छ ।
समाचारका प्रकारहरू
[सम्पादन गर्नुहोस्]समाचारलाई विषय, स्थान आदिको आधारमा वर्गीकरण गरिएको हुन्छ । स्थानको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार; त्यस्तै केन्द्र तथा जिल्ला समाचारमा वर्गीकरण गरिएको पाइन्छ । समाचार सामग्रीका विषयका आधारमा पनि समाचारलाई विभिन्न प्रकारमा बाँडिएको हुन्छ । जो यसप्रकार छन:
राजनीतिक समाचार
विभन्न राजनीतिक दलका कार्यक्रमहरू, नेताहरूका भनाई, गतिविधि आदि समेटेर तयार परिने समाचार सामग्रीहरू राजनीतिक समाचार हुन ।
आर्थिक समाचार
व्यापार शेयर बजार, बजेट, पेशा, व्यावसाय लगायतका आर्थिक गतिविधिहरूलाई समावेस गरिन्छ । बजारमा ल्याइएका नयाँ सामग्रीहरू, व्यापारिक योजना तथा जानकारीहरू पनि आर्थिक समाचारमा प्रकाशन तथा प्रसारण गरिन्छ ।
खेलकुद समाचार
खेल जगतका ताजा जानकारीहरू, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिको विचार तथा क्रियाकलाप, खेलकुद महोत्सव, प्रतियोगिताहरूको ताजा जानकारीहरू समाबेस गरेर खेलकुद समाचारहरू तयार पारिन्छ ।
मौसम समाचार
महत्त्वपूर्ण सहरका सूर्योदय तथा सूर्यास्तको समय, अधिकतम तथा न्युनतम तापक्रम तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमान समेटेर तयार पारिन्छ ।
स्वास्थ्य समाचार
स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधी, रोग तथा उपचारको बारेमा जानकारी, स्वास्थ्यकर्मी तथा विषेशज्ञको सल्लाह आदी समेटेर स्वास्थ्य समाचार तयार गरिन्छ ।
मनोरञ्जन समाचार
कला तथा मनोरञ्जन क्षेत्रका गतिविधी समावेस गरेर तयार पारिएका समाचार सामग्रीहरू समावेस गरेर तयार पारिने समाचारलाई मनोरञ्जन समाचारको रूपमा प्रस्तुत गरिन्छ ।
विज्ञान तथा प्रविधि समाचार
विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका विभिन्न आविश्कार, अनुसन्धान आदिका सामग्रीहरू विज्ञान तथा प्रविधि समाचारका रूपमा प्रश्तुत गरिन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ [१]
- ↑ "United Courier Systems", Ucsams.nl, अन्तिम पहुँच २०१२-०३-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२२ मिति
- ↑ Brook, Timothy. (1998). The Confusions of Pleasure: Commerce and Culture in Ming China. Berkeley: University of California Press. ISBN 0-520-22154-0 (Paperback). Page xxi.
- ↑ नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान