सीओपीडी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् सीओपीडी

यो रोगलाई चिकित्सा विज्ञान -मेडिकल साइन्स)को भाषामा क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् छोटकरीमा सीओपीडी भनिन्छ। श्वास नली साँगुरिँदै गएर सास फेर्न गाह्रो बनाउने यो रोग खासगरी बूढापाकालाई लाग्दछ। समयक्रमसँग यो रोग बढ्छ मात्र, घट्दैन। रोग लागेपछि निमिट्यान्नै हुने गरी उपचार त गर्न सकिँदैन तर होसियारी अपनाउने हो भने यसबाट हुने जटिलतालाई घटाउन भने पक्कै सकिन्छ। सीओपीडी रोग लागिसकेपछि बढ्ने क्रमलाई विभिन्न उपाय अपनाएर घटाउनु पर्दछ। यसका लागि धूमपान नगर्ने वा चटक्कै छाडिदिने एउटै मात्र अचूक उपाय हो। यसको अतिरिक्त धूवाँ, धूलो तथा अन्य वातावरणीय प्रदूषणबाट बच्नुपर्दछ।यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन।

विश्व स्वास्थ्य सङ्गठनको दस्तावेज अनुसार, यो विश्वमा मानव मृत्युका लागि जिम्मेवार रोगमध्ये छैटौंमा पर्न आउँछ। यो रोगबाट एसियाली मुलुक बढी पीडित छन्। सीओपीडी रोग लाग्नुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदू्रषण, रासायानिक पदार्थ मिसिएको धूवाँको मुस्लोजस्ता कारणले यो रोग लाग्दछ। त्यसैले लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धूवाँ तथा वायु प्रदूषणमा रहने व्यक्ति -ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) बढी जोखिममा हुन्छन्।

श्वास प्रश्वाससम्बन्धी समस्याअन्तर्गत दम, ब्रोङ्काइटिस र निमोनिया पर्दछन्। अन्य मौसममा पनि भइरहने दमको समस्या चिसोपना तथा धूवाँको कारण श्वासनली अझ बढी खुम्चिन गई बढ्दछ। त्यसैगरी श्वासनली सुन्निन गई कम्तीमा तीन महिनासम्म खोकी लाग्ने ब्रोङ्काइटिसको समस्या पनि जाडो महिनामै बढ्ता हुन्छ। रुघाखोकी तथा अन्य भाइरल सङ्क्रमण बिग्रेर वा दम, ब्रोङ्काइटिसका कारण खकार जमेर छाती पाक्ने अवस्थालाई निमोनिया भनिन्छ। यी सबै श्वास प्रश्वाससम्बन्धी समस्याका कारण उमेर पुगेका व्यक्तिलाई शिथिल तुल्याउँछ एवम् अकालमा मृत्यु पनि गराउँछ।

चिसोपनाले हुने एलर्जी, न्यानो पार्न आगो ताप्ने क्रममा आउने धूवाँ र चुरोट तथा हुक्काको अत्यधिक प्रयोगले श्वास प्रश्वाससम्बन्धी समस्यालाई बल्झाउँछ। यी समस्याका लक्षणहरूमा सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, स्याँ स्याँ बढ्ने, नीलो हुने, र्‍यालजस्तो वा पाकेको खकार आउने, ज्वरो आउने, छाती कस्सिएको अनुभव हुने, घाँटी तथा करङको मांसपेशी खुम्चिने रहेका छन्। यसका लक्षण ४० वर्षको उमेर कटेपछि मात्र देखा पर्दछ।

शारीरिक जाँच पड्ताल, छातीको एक्सरे, श्वास प्रश्वाससम्बन्धी विषयगत जाँच, रगत तथा खकारको जाँचबाट कुन प्रकारको श्वास प्रश्वासको समस्या हो निक्र्योल गर्न सकिन्छ। श्वास प्रश्वास सम्बन्धी कुनै पनि प्रकारको समस्यामा प्रतिजैविक -एन्टिबायोटिक) औषधि, श्वास नली ठूलो पार्ने, सुजन -सुन्निएको) कम गर्ने औषधि, अक्सिजन आदि उपचारको जरुरत पर्दछ।

कतिपय श्वास प्रश्वाससम्बन्धी समस्या लामो समयसम्मको धूवाँ, धूलोका कारण श्वास नली तथा फोक्सोमै स्थायी रूपमा परिवर्तन आउने हुनाले यी रोगलाई पूर्ण रूपमा निको गर्न गाह्रो हुन्छ।

  • [१]-सीओपीडीः बूढापाकालाई लाग्ने रोग:-डा. सुमनराज ताम्राकार]