सुवास घिसिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुवास घिसिङ
जन्म(१९३६-०६-२२)जुन २२, १९३६
दार्जिलिङ
मृत्युनयाँ दिल्ली
पेशाराजनीतिज्ञ
जिवनसाथीधन कुमारी

सुवास घिसिङ भारतका राजनीतिज्ञ थिए। सुवास घिसिङ गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष थिए। दार्जिलिङ गोर्खा पार्वत्य परिषदका पूर्व 'सुपि्रमो' समेत रहीसकेका घिसिङ सन् १९८६ को भारत पश्चिम बङ्गालको नेपालीभाषी बाहुल्य दार्जिलिङमा अलग राज्य गोर्खाल्यान्ड आन्दोलनका नेतृत्वकर्ता थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सुवास घिसिङको जन्म सन् १९३६ जून २२ मा दार्जिलिङको मन्जु चिया कमानमा भएको थियो। दार्जिलिङकै सेन्ट रोवोट हाइस्कुलमा ९ कक्षामा पढ्दै गर्दा बाबुको मृत्यु भएपछि पढाइ छाडेर १९५४ मा उनी सेनामा भर्ती भए। सैनिक जीवनमै उनले पुनः पढाइ सुरु गरे। सन् १९५९ मा माध्यमिक सके। १९६० मा सैनिक जीवनबाट विदा लिएर दार्जिलिङ फर्किएका घिसिङले खरसाङ तीनधारेको बङ्गाल पाठशालामा एक वर्ष शिक्षणको अनुभव पनि लिए। १९६१ मा कालिम्पोङको जुनियर बीटी कलेजमा पुनः भर्ना भए। तर कलेजका प्रिन्सिपलसंगको वादविवादपछि कलेज छाडे। पछि १९६३ मा दार्जिलिङकै पि्रयुनिभर्सिटीबाट मानविकीमा डिग्री हासिल गरे। [१]

राजनीतिमा होमिएपछि घिसिङले १९६८ ताका दार्जिलिङका नेपालीभाषीले व्यहोर्नुपरेका विभिन्न मुद्दा सतहमा ल्याइदिए। सन् १९७१ अप्रिल २२ मा दार्जिलिङमा बसोबास गर्ने नेपालीभाषीका निम्ति पृथक् राज्य गोर्खाल्यान्डको मुद्दा मुखरित भयो। त्यसका प्रणेता उनै थिए। उनले अलग राज्य प्राप्तिकै लागि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टी गठन गरे।

गोरखाल्याण्ड राज्यको माग[सम्पादन गर्ने]

घिसिङ नेतृत्वको मोर्चाले उठाएको 'पृथक् प्रशासनिक पहिचान'को माग नयाँ दिल्लीमा संसदमा समेत थियो। त्यो माग असफल भएपछि उनले 'पृथक् राज्य गोर्खाल्यान्ड'को दाबी अघि सारे। उनको यो दाबीले प्रशस्त जनसमर्थन पायो। तर सरकारले उनको मागलाई पटक-पटक बेवास्ता मात्रै गरेन, आन्दोलन दबाउन राज्य सरकारले विभिन्न हत्कण्डा अपनायो। भारतीय सेनाको जागिर छोडेर सन् १९८० देखि मोर्चा गठन गरी 'गोर्खाल्याण्ड' आन्दोलन चर्काएका घिसिङ दार्जिलिङ क्षेत्रका चर्चित नेता हुन्। छुट्टै राज्यको माग पूरा गराउन उनले चलाएको आन्दोलनक्रममा एक हजार दुई सय मानिसको ज्यान गएको थियो। करिब २८ महिना लामो आन्दोलनपछि २२ अगष्ट १९८८ मा केन्द्र, राज्य सरकार र मोर्चाबीच सम्झौता भयो। बङ्गाल भित्रकै प्रशासनिक इकाइ दार्जिलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) गठन गरे। दागोपापको निर्वाचनमा तीन पटकसम्म विजयी बनेका घिसिङले करिब २० वर्ष दार्जिलिङमा एकछत्र राज गरे।

पछिल्लो राजनीतिक स्थिति[सम्पादन गर्ने]

सन् २००४ मा दार्जिलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) को निर्वाचनको तयारी भइरहेका बेला राज्य सरकारले चुनाव स्थगित गरी 'छैटाऔ अनुसूची परिषद' स्थापना नभएसम्मका लागि घिसिङलाई पार्वत्य परिषदको 'केयर टेकर' बनाइदियो। उनले यो अवधिलाई छैटौं अनुसूचीको वकालतमा भरपुर खर्चिए। दार्जिलिङ आदिवासीको थातथलो रहेको घिसिङको दाबी थियो। दार्जिलिङका अन्य दलहरूले घिसिङको छैटौं अनुसूचीको अभियानको तीव्र विरोध गरिरहेका थिए। छैटाऔ अनुसूचीले समग्र गोर्खाको हित नहुने र गोर्खाल्यान्डको विकल्प खोज्न नहुने विपक्षी दलहरूको दाबी थियो। यद्यपि उनले संसदबाट यो विधेयक पारित गराएरै छाडे।

सन् २००७ अक्टोवरमा घिसिङका 'दाहिने हात' मानिने विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा पार्टी स्थापना गरेपछि घिसिङले परिषदबाट राजीनामा दिए र सिलिगुडी विस्थापित हुन बाध्य भए। गुरुङको शक्तिमा आउनु अघिबाटै 'गोर्खाल्याण्ड' राज्यको मागप्रति तटस्थ रहँदै आएका घिसिङले पछिल्लो लोकसभा चुनावमा पश्चिम बङ्गालको सत्तारुढ तृणमूल कंग्रेसलाई सघाएका थिए। आफूले समर्थन गरेका कांग्रेस उम्मेद्वार भाइचुङ भुटिया पराजित भएसँगै शारीरिक र मानसिकरुपमा थकित भएर घिसिङ पुन सिलिगुडी फर्किएका थिए। [२]

बिग्रदो स्वस्थ्य स्थिति[सम्पादन गर्ने]

वि.स २०७१ साल कार्तिक महिनामा घाँटीमा गम्भीर समस्या देखिएपछि उनलाई उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। [३] नयाँदिल्लीको गंगाराम अस्पतालमा उपचाररत ७८ वर्षीय घिसिङ घाँटीको क्यान्सर र कलेजोसम्बन्धी रोगले पीडित थिए। वि.स २०७१ साल माघ १५ गते उनको निधन भयो । [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]