सुवि शाह
सुवि शाह (वि. सं. १९८५ - वि. सं. २०६५) लाई नेपाली लोकसंगीतका पारखी मानिन्छ। उनको खास नाम सुरेन्द्रविक्रम शाह हो।
जीवनी
[सम्पादन गर्नुहोस्]शाहको जन्म वि. सं. १९८५ फागुन १२मा धादिङ जिल्लाको जगरज्यामरुङ ब्यारेक (ज्यामरुङ दरबार)मा भएको हो। बुवा चन्द्रविक्रम शाह नुवाकोटमा बडा हाकिम भएकाले वि. सं. १९८९ सालबाट ४ वर्ष उनी नुवाकोटमै बसे। वि.सं. १९९३ सालबाट बुबा गोर्खा जिल्ला सरुवा भए। उनी बुबासँगै गए। त्यहिं पाठशाला र गोर्खा दरबारमा पढे। त्यहाा उनले अङ्ग्रेजीको फर्स्टबुक र संस्कृतमा लघुसिद्धान्त कौमुदीका साथै बुद्धिचानक, रामायण र महाभारतका पुस्तक पढे। वि. सं. १९९६मा बुबाको जागिर सकियो। उनको परिवार ज्यामरुङ फर्कियो।
उनको परिवार २००२मा धादिङ छाडेर काठमाडौँ आयो। उनले काठमाडौँमा जुद्धोदय स्कुलमा पढे।
बुबा चन्द्रविक्रम पनि संगीतमा सौखिन भएकाले सुवि शाहलाई लोकसंगीतमा लाग्न मौका मिल्यो। लोकसंगीतका विभिन्न विधामा लाग्दालाग्दै वि. सं. २०११ सालमा नेपाली सेनाको क्लर्क हुद्दा पदमा भर्ना भए। सेनामा रहँदा पनि उनले विविध लोकसंगीत एवं संस्कृतिको अध्ययन गर्ने अवसरहरू पाइरहे। त्यहाँ उनले रेडियोबाट कथा, कहानी, कविता, सीतार एवं बाँसुरीका विभिन्न धुनहरू र मादलका अनेक तालहरू बजाउने मौका पाए। उनले सेनामा ३७ वर्ष सेवा गरे।
उनको वि. सं. २०६५ वैशाख १५मा वीरेन्द्र सैनिक अस्पतालमा उपचारका लागि लाँदालाँदै बाटोमै निधन भयो।
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनका विभिन्न पत्रपत्रिकाहरूमा लोकसंगीतसम्बन्धी लेख र कविताहरू पनि प्रकाशित भए। संगीतसम्बन्धी विभिन्न पुस्तक, लेख र कार्यपत्र समेत लेखेका सुवि शाहका प्रकाशित कृतिहरूः
- मादल (संगीत, वि.सं. २०३५)
- बालन गाथाको झलक (संस्कृति, वि.सं. २०४५)
- नुवाकोटको युद्ध संबन्धी पाङ्दुरे नाच (धार्मिक, वि.सं. २०५५)
- नेपाली लोकगीतको झलक (संस्कृति, वि.सं. २०६२)