सोमबारे औंसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


जुन अमावस्याका दिन सोमवार पर्दछ त्यस दिनलाई नै सोमबारे औंसी भन्दछन्। प्रत्येक महिनामा एउटा औंसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमवार। तर औंसी र सोमबारको संयोग यदाकद मात्र हुन्छ। वर्षभरिमा एकपटक वा कहिलेकांही दुईपटकसम्म सोमवती अमावस्या अर्थात् सोमबारे औंसी पर्दछ। यो पर्व स्नान, दानादिका निमित्त शुभ र सर्वश्रेष्ठ मानिन्छ। यस पर्वमा स्नान गर्न विभिन्न तीर्थस्थलमा टाढाटाढाबाट भक्तजन धाएर जाने गर्दछन्। हाम्रो सनातन धर्मका धार्मिक ग्रन्थहरूमा सोमबारका दिन अमावस्या तिथिको प्राप्ति ठूलो संयोग र भाग्यले मात्र प्राप्त हुन्छ, महाभारतका विशिष्ट पात्र पाण्डवहरूले आफ्ना समस्त जीवनकालमा सोमवती अमावस्या प्राप्त गर्न नसकेको प्रसँग उल्लेखनीय छ। निर्णयसिन्धु ग्रन्थमा महर्षि व्यासका वचनानुसार अजको दिन मौन रहेर स्नान-ध्यान गर्नाले हज्जारौं गोदान गरेको पुण्य फल प्राप्त हुन्छ। यो स्त्रीका लागि विशेष महत्त्वपूर्ण मानिन्छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। प्रत्येक औंसी एउटै बिन्दुमा एउटा सीधा रेखामा सूर्य तथा चन्द्रमा देखिने अवस्था हो। उता सोमबार भगवान् शिवजीको दिन पनि मानिन्छ र सोमवती अमावस्याका सम्पूर्ण कृत्यहरू भगवान् शिवजीलाई समर्पण गर्नुपर्दछ। आजका दिन गङ्गादि तीर्थस्थलमा पुग्न नसक्दा बिहानै उठेर कुनै निकटवर्ती नदी वा तलाउसरोवर आदिमा स्नान गरेर भगवान् शङ्कर, पार्वती और तुलसीको भक्तिपूर्वक पूजा गर्नु पर्दछ। त्यसपछि पीपलको रुखको १०८ परिक्रमा गर्नु पर्दछ र प्रत्येक परिक्रमा पूर्ण हुँदा कुनै एउटा वस्तु चढाउनु पर्दछ। प्रदक्षिणा गर्दा १०८ वटा फलादि वस्तु छुट्टै राखी समापनका अवसरमा ती सम्पूर्ण वस्तुहरू ब्राह्मण र निर्धनहरूलाई दान गर्नु पर्दछ।

स्रोत[सम्पादन गर्नुहोस्]