स्टेम कोषले प्रजनन उपचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रजनन क्षमता नभएका मान्छेको उपचारका लागि विश्वमा व्यापक स्तरमा अनुसन्धान भैरहेको छ र यसक्रममा स्टेम कोषलाई विशेष महìवका साथ हेरिने गरिएको छ। जापानमा मुसामा गरिएको एक अनुसन्धानले स्टेम कोषको प्रयोगबाट सम्भावनाको ढोका खोलेको पनि छ। जापानी अनुसन्धानकर्ताले भ्रूणबाट लिइएका स्टेम कोषबाट प्रयोगशालामा मुसाको स्वस्थ शुक्राणु विकसित गर्नमा सफलता पाउनुले निकट भविष्यमै मान्छेमा प्रजनन समस्याको उपचारमा नयाँ पद्धति प्रयोगमा आउने देखिन्छ।

जर्नल सेल पत्रिकामा यस अनुसन्धानको जानकारी दिँदै भनिएको छ- नौलो किसिमले उपचार गर्ने पद्धतिको विकासतर्फ स्टेम कोषको उपयोग एक फड्को हो। स्टेम कोषलाई अपरिपक्व कोष भनिन्छ। शरीरमा कुनै तन्तुका परिपक्व कोष नष्ट भएमा त्यसका स्टेम कोषले आफूलाई परिपक्व कोषमा रूपान्तिरित गरेर तन्तुको मर्मत गर्छन्। स्टेम कोषमा फरक तन्तुको कोषमा विकसित हुन सक्ने गुण रहेको हुन्छ तर मान्छेको शरीरमा रहेका स्टेम कोष सम्बन्धित तन्तुका लागि मात्र भएका कारण तिनीहरूले अन्य तन्तुको मर्मत गर्दैनन् र कृत्रिम तरिकाले ती स्टेम कोषलाई अन्य तन्तुको मर्मतका लागि निर्देशित गर्न पनि कठिन छ। उदाहरणका लागि रगतको स्टेम कोषले कलेजोको मर्मत गर्दैन। कलेजोको मर्मत गर्न त्यसैको स्टेम कोष चाहिन्छ। तसर्थ बैज्ञानिकहरूले भ्रूणको स्टेम कोषलाई प्रयोग गरी चाहेको तन्तु वा अङ्गको मर्मत गर्ने प्रयास गरिरहेका छन्। प्रारम्भिक दिनको भ्रूणमा स्टेम कोष कुनै तन्तु विशेषको भैसकेको हुँदैन र यसलाई निर्देशित गर्न सजिलो हुन्छ।

स्टेम कोषको यिनै गुणले गर्दा बैज्ञानिकहरूले क्यान्सरदेखि अङ्गको मर्मत र रोगको उपचार भोलिका दिनमा नयाँ पद्धतिले गर्न सकिने विश्वासमा छन्। मिर्गौला काम नलाग्ने भए स्टेम कोषद्वारा नयाँ मिर्गौला विकसित गर्न सकिने छ वा त्यसको मर्मत गरिने छ। मिर्गौला प्रत्यारोपण इतिहासको पानामा सीमित हुने छ।

जापानको क्योटो विश्वविद्यालयका वैज्ञानिकहरूले मुसाको भ्रूणबाट स्टेम कोष झिकेर तिनीहरूलाई अन्ड वा शुक्राणुमा विकसित हुने गरी रूपान्तरित गरेका थिए। त्यसपछि वैज्ञानिकहरूले प्रजनन क्षमता नभएको मुसाको अन्डकोषमा रूपान्तरित स्टेम कोष प्रत्यारोपण गरे। जसबाट मुसाको अन्डकोष स्वस्थ शुक्राणु उत्पादन गर्न सक्षम भयो।

प्रमुख अनसन्धानकर्ता मिटिनोरी साइतोउले परीक्षणको बारेमा जानकारी दिँदै भनेका छन्- हामीले अन्डकोषबाट सोझै शुक्राणुहरू झिकेर प्रयोगशालामा अन्डसँग तिनीहरूको निषेचन गर्‍यौँ, एक प्रक्रियापछि हामीले दुई जोडी भ्रूण तयार पारेर पोथी मुसाको पाठेघरमा तिनीहरूलाई स्थानान्तर गर्‍यौँ, पोथी मुसाले स्वस्थ बच्चा जन्माएको छ र नवजात बच्चामा प्रजनन प्रणाली सामान्य रहेको छ।

विश्वविद्यालयको एनाटोमी एन्ड सेल बायलोजी विभागमा प्राध्यापक साइतोउको टोलीले सन् २०१०को नोभेम्बर मै यस प्रयोगको नतीजा प्राप्त गरे पनि हालसालै अनुसन्धानको विवरण सार्वजनिक गरिएको थियो। साइतोउको टोलीले वयस्क मान्छेको स्टेम कोषलाई शुक्राणुका कोषमा रूपान्तिरित गर्न सकिने विश्वास प्रकट गरेको छ। तापनि जनावर र मान्छेका बीच जैविक रूपमा ठूलो खाडल रहेका कारण अझै थप अनुसन्धान आवश्यक रहेको भनाइ साइतोउको छ।