सामग्रीमा जानुहोस्

हर्क साम्पाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हर्क साम्पाङ
हर्क राज राई
श्रम संस्कृति पार्टीको अध्यक्ष
पद बहाली
२०८२ कात्तिक १६
पूर्वाधिकारीपद स्थापना
धरानको छैटौँ नगरप्रमुख
कार्यकाल
२०७९ जेठ ९  २०८१ माघ ५
सहायकआइन्द्रविक्रम बेघा
पूर्वाधिकारीतिलक राई
उतराधिकारीआइन्द्रविक्रम बेघा (कार्यकारी)
व्यक्तिगत विवरण
जन्म (1983-02-27) २७ फेब्रुअरी १९८३ (उमेर ४३)
खार्तम्छा, खोटाङ, नेपाल
राजनीतिक दलश्रम संस्कृति पार्टी
जीवनसाथीनिर्मला सुब्बा
सन्तान
अभिभावकs
  • तीलविक्रम राई (पिता)
  • जयमाया राई (आमा)
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय (राजनीति विज्ञान)
जीवनवृति

हर्क राज राई वा हर्क साम्पाङ (जन्म: २०३९ फागुन १५), एक नेपाली राजनीतिज्ञ हुन् जसले २०७९ देखि २०८२ सम्म धरानको छैठौँ नगर प्रमुखको रूपमा सेवा गरेका थिए। उनी धरानको इतिहासमा नगर प्रमुख पदमा निर्वाचित हुने पहिलो स्वतन्त्र उम्मेदवार हुन्। साम्पाङ वि.सं २०८२ कात्तिक देखि श्रम संस्कृति पार्टीका संस्थापक र अध्यक्षको रूपमा रहेका छन्।[][][]

एउटा परम्परागत राई परिवारमा जन्मिएका साम्पाङ वि.सं २०७४ देखि नेपाली राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन्। वि.सं २०७९ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनले धरानको नगरप्रमुखको रूपमा सेवा गरे र माघ २०८२ मा आफ्नो पदबाट राजीनामा दिए।[]

उनले कात्तिक २०८२ मा स्थापना भएदेखि नै श्रम संस्कृति पार्टीको अध्यक्षको रूपमा सेवा गर्दै आएका छन्। उनले २०८२ को 'जेनजी आन्दोलन' पश्चातको पृष्ठभूमिमा यस पार्टीको स्थापना गरेका थिए, जुन आन्दोलनका क्रममा उनी युवा नेतृत्वको आन्दोलनका लागि राजनीतिक सुधारको प्रतीकका रूपमा उदाएका थिए।[][]

प्रारम्भिक जीवन र शिक्षा

साम्पाङको जन्म खोटाङको खार्ताम्छामा एक राई परिवारमा भएको थियो, जुन हाल केपिलासगढी गाउँपालिका अन्तर्गत पर्दछ। उनका पिता बेलायती गोर्खा सैनिक थिए।[] ​ उनले शुक्रबारे विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि २०५४ सालमा धरान बसाईं सरेका थिए।[] ​ साम्पाङले धरानस्थित त्रिभुवन विश्वविद्यालयको महेन्द्र बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरी शिक्षकको रूपमा काम सुरु गरेका थिए। उच्च शिक्षा पूरा गरेपछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया, इराक र अफगानिस्तान गएका थिए।[][१०]

प्रारम्भिक राजनीतिक जीवन

६ वर्ष विदेशमा काम गरेपछि उनी धरान फर्किएर भ्रष्टाचार विरुद्ध विरोध जनाउनका लागि 'नेसनल युनिटी नेटवर्क' खोलेका थिए। उनी धरानमा भएको कर वृद्धि, खोलाबाट हुने अवैध बालुवा उत्खनन र खानेपानीको अभाव विरुद्धका आन्दोलनहरूमा पनि संलग्न थिए। २०७२ मा साम्पाङ मदन भण्डारी भित्री मधेश राजमार्ग विस्तारका कारण विस्थापित भएका व्यक्तिहरूको संयोजक बनेका थिए।[][१०][११]

साम्पाङको नेतृत्वदायी यात्रा ग्रास रुटबाट सुरु भएको थियो। उनी सामाजिक कार्यमा गहिरोसँग संलग्न थिए, जसमा मुख्यतया वातावरणीय संरक्षण र खानेपानी व्यवस्थापनमा केन्द्रित थियो—जुन त्यस समय धरानका सबैभन्दा जटिल समस्याहरू थिए।[१२]

उनले सरसफाई अभियानहरू आयोजना गरी सहरको बढ्दो खानेपानी सङ्कटको दिगो समाधानका लागि वकालत गरेका थिए। यी प्रयासहरूले जनताको मन जित्दा उनी समुदायका आवश्यकताहरू बुझ्ने नेताका रूपमा छिट्टै परिचित हुन थालेका थिए। साम्पाङले २०७६ को स्थानीय उप-निर्वाचनमा धरानको नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिँदा त्यतिबेला उनले मात्र ४२२ मत प्राप्त गरेका थिए।[१३]

२०७९ को निर्वाचनमा साम्पाङले पुनः स्वतन्त्र रूपमा नगर प्रमुख पदमा प्रतिस्पर्धा गरी ३९.८% मत प्राप्त गर्दै नगरप्रमुखको रूपमा निर्वाचित भएका थिए। निर्वाचन आयोगले उनलाई चुनाव चिन्हको रूपमा 'लौरो' प्रदान गरेको थियो। उनले नेपाली काङ्ग्रेसनेकपा (एमाले) का उम्मेदवारहरूलाई पराजित गर्दै २०,८२१ मत प्राप्त गरी नगर प्रमुखको पदमा निर्वाचित भएका थिबग।[१४][१५]

नगर प्रमुखको रूपमा कार्यकाल

साम्पाङले २०७९ जेठ ९ देखि २०८१ माघ ५ सम्म धरान उपमहानगरपालिकाको नगर प्रमुखको रूपमा सेवा गरेका थिए। उनको कार्यकाल "श्रमको राजनीति" र प्रत्यक्ष जनपरिचालनमा केन्द्रित रहेको थियो, जसलाई प्रायः विकासको 'धरान मोडल' भनेर चिनिन्छ।[१६]

श्रमदान अभियान र पूर्वाधार

साम्पाङको प्रशासन सबैभन्दा बढी श्रमदान (स्वैच्छिक श्रम योगदान) अभियानका लागि चिनिन्थ्यो, जसले बाह्य ऋणमाथिको निर्भरतालाई अस्विकार गर्दै सामुदायिक प्रयासलाई प्राथमिकता दिएको थियो।[११]

  • खानेपानी आपूर्ति: दीर्घकालीन खानेपानी सङकटको सामना गर्दै, साम्पाङले खार्खोला, मायाखोला र कोकाहा खोलाका मुहानहरूबाट ४२ किलोमिटरभन्दा लामो पाइपलाइन बिछ्याउन हजारौँ स्वयंसेवकहरूलाई परिचालन गरेका थिए। यस आयोजनाले सहरको आपूर्तिमा दैनिक करिब ७ लाख लिटर पानी थपेको थियो। यो समुदाय-नेतृत्वको दृष्टिकोणमा सार्वजनिक चन्दाबाट करिब ७ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो जुन अघिल्ला सरकारी आयोजनाहरूको अर्बौं रुपैयाँको अनुमानको तुलनामा निकै कम थियो। यी प्रयासहरूको लागि, साम्पाङलाई २०८० मा 'वर्ल्ड बुक अफ रेकर्ड्स' बाट मान्यता प्रमाणपत्र प्रदान गरिएको थियो।
  • वनीकरण: उनले "बिरुवा उपहार" अभियान सुरु गरी प्रत्येक शुक्रबार साप्ताहिक वृक्षारोपण अभियानको नेतृत्व गरेका थिए। २०८२ मा सहरको जलाधार क्षेत्र जोगाउन १ लाखभन्दा बढी बिरुवाहरू रोपिएका थिए, जसमा साम्पाङले १ करोड रुख रोप्ने दीर्घकालीन लक्ष्य राखेका थिए।

स्थानीय औद्योगिकीकरण

साम्पाङले आत्मनिर्भरतालाई बढावा दिन 'माया धराने' ब्रान्ड अन्तर्गत साना उद्योगहरू स्थापना गरेका थिए।

  • साबुन कारखाना: २०८१ मा सुरु गरिएको यो कारखानाले स्थानीय रूपमा लुगा धुने र नुहाउने साबुन उत्पादन गर्दछ। यस परियोजनाले स्थानीय युवाहरू, विशेष गरी लागुऔषध दुर्व्यसनीबाट मुक्त हुँदै गरेका व्यक्तिहरूलाई रोजगारी प्रदान गरेको थियो।
  • बेसार प्रशोधन केन्द्र: २०८२ जेठमा सुरु भएको यो केन्द्रले स्थानीय किसानहरूले उब्जाएको प्राङ्गारिक बेसार प्रशोधन गर्छ। सञ्चालनको पहिलो महिनामै यस केन्द्रले ३८ लाख रुपैयाँ बराबरको बिक्री गरेको थियो, जसमा बेलायत र जापान जस्ता देशहरूमा गरिएको निर्यात समेत समावेश थियो।

अन्तर्राष्ट्रिय र राष्ट्रिय ख्याति

२०८१ असोजमा साम्पाङले 'सुम्निमा पारुहाङ' प्रतिमा लगायतका स्थानीय पूर्वाधारका लागि आर्थिक स्रोत जुटाउन संयुक्त अधिराज्यको दुई हप्ता लामो औपचारिक भ्रमण गरेका थिए। उनले सालिसबरीस्थित 'गोर्खा वेलफेयर ट्रस्ट' को भ्रमण गरी धरानको खानेपानी क्षमता दैनिक ४० लाख लिटरले बढाउने परियोजनामा उनीहरूले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए।

२०८२ को भदौ महिनामा साम्पाङ राजनीतिक भ्रष्टाचार विरुद्ध युवाहरूले चलाएको "जेनजी आन्दोलन" मा एक राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित भएका थिए। आन्दोलनकारीहरूले उनलाई "नयाँ राजनीतिक विकल्प" को नमुनाका रूपमा बारम्बार उल्लेख गरेका थिए। २०८२ भदौको अशान्तिपूर्ण समयमा उनी काठमाडौँका प्रदर्शनकारीहरूसँग सहभागी हुँदै उनको सङ्घीय राजनीतिमा प्रवेश गर्ने मनसायलाई सङ्केत गरेको थियो।

सार्वजनिक सुविधाहरू र विद्यालय

  • श्रम संस्कृति पार्क: सर्दु र खर्दु खोला नजिकै पूर्ण रूपमा स्वैच्छिक श्रमदानबाट निर्माण गरिएको यो पार्कले सहरको श्रम संस्कृतिको सम्मान गर्दछ। हाल यो पार्क स्थानीयहरूको लागि एक प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।
  • जेष्ठ नागरिक पार्क: जेष्ठ नागरिकहरूका लागि सुरक्षित मनोरञ्जन स्थल प्रदान गर्न यो पार्कको स्थापना गरिएको हो। लगभग पूर्ण रूपमा श्रमदानबाट निर्माण गरिएको यस परियोजनामा स्वयंसेवकहरूले बगैँचा सजावट, बाटो निर्माण र मनसुनको समयमा हुने भू-क्षयबाट बचाउन नदी नियन्त्रणका पर्खालहरू लगाउने काममा सहयोग गरेका थिए। यो पार्कको डिजाइन जेष्ठ नागरिकहरूको सहजता र शान्त वातावरणलाई ध्यानमा राखेर गरिएको छ।
  • बहुभाषिक पाठशाला: साम्पाङले आफ्नो सांस्कृतिक संरक्षण नीतिको रूपमा किराँत र लिम्बू लगायतका आदिवासी भाषाहरूलाई प्रवर्द्धन गर्न यस प्रतिष्ठानको सुरुवात गरेका थिए।

राजीनामा र राष्ट्रिय राजनीतिमा प्रवेश

२०८२ माघ ५ का दिन सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न साम्पाङले आधिकारिक रूपमा नगरप्रमुख पदबाट राजीनामा दिएका थिग।

  • श्रम संस्कृति पार्टी: २०८२ कात्तिक १६ का दिन उनले आत्मनिर्भरता र श्रम संस्कृतिको विचारधारालाई जोड दिँदै श्रम संस्कृति पार्टी दर्ता गराएका थिए।
  • २०८२ को प्रतिनिधि सभा निर्वाचन: पदबाट राजिनामा दिएपछि, "धरान मोडल" लाई राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यका साथ उनले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। उनको राजीनामा पछि, उपप्रमुख अईन्द्र विक्रम बेघाले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

राजनीतिक दृष्टिकोण

साम्पाङको राजनीतिक विचारधारा 'श्रम संस्कृति' मा केन्द्रित छ, जसले चरम आत्मनिर्भरता, शारीरिक श्रमको मर्यादा र वैदेशिक परनिर्भरताको अन्त्यको वकालत गर्दछ। अन्तर्राष्ट्रिय सम्बन्धप्रति उनको दृष्टिकोण "नेपाल-प्रथम" नीतिद्वारा परिभाषित छ जुन प्रायः आन्तरिक शासन व्यवस्थामा वैदेशिक कूटनीतिक प्रभावप्रतिको सार्वजनिक सशङ्कित भावद्वारा चिनिन्छ।

आलोचना र विवाद

२०७९ मा कार्यभार सम्हालेदेखि नै साम्पाङको कार्यकाल दुईवटा मुख्य पक्षका लागि चर्चित रह्यो— एकातिर 'श्रमदान' आन्दोलनका कारण उनको लोकप्रियता शिखरमा पुग्यो भने अर्कोतिर उनको नेतृत्व शैली र सार्वजनिक आचरणलाई लिएर गम्भीर विवादहरू पनि उत्पन्न भएका थिए।

टकरावपूर्ण नेतृत्व र कानुनी विवाद

साम्पाङलाई सरकारी निकाय र अधिकारीहरूप्रति टकरावपूर्ण दृष्टिकोण राखेको भन्दै बारम्बार आलोचना गर्ने गरिएको छ। २०८२ उनी संयुक्त अधिराज्यको भ्रमणमा जाने क्रममा उप-प्रमुख आइन्द्र विक्रम बेघालाई बाइपास गरी एकपक्षीय रूपमा कार्यवाहक नगर प्रमुख नियुक्त गरेपछि एउटा ठूलो कानुनी विवाद उत्पन्न भएको थियो। अन्ततः उच्च अदालतले बेघाको पक्षमा फैसला सुनायो, जसमा साम्पाङले सामाजिक सञ्जालमार्फत एक निर्वाचित प्रतिनिधिमाथि अदालतको अधिकार रहेकोबारे प्रश्न उठाउँदै प्रतिक्रिया दिएका थिए। यसले उनलाई विधिको शासनको अपमान गरेको आरोपतर्फ डोर्‍याएको थियो।

निर्वाचन इतिहास


नगर प्रमुख निर्वाचनको नतिजा
उम्मेदवार राजनीतिक दल मत सङ्ख्या प्रतिशत परिवर्तन
हर्कराज राई स्वतन्त्र २०,८२१ ३९.८% +३९.०%
किशोर राई नेपाली काङ्ग्रेस १६,०५१ ३०.७% -१९.०%
मञ्जु भण्डारी सुवेदी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १२,८२५ २४.५% -२०%
नरेश कुमार शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी १,४८८ २.८% +२.५%
अन्य - १,१४२ २.२% -
जम्मा सदर मत ५२,३३५ १००.०%
बदर मत १०,५६२
जम्मा खसेको मत ६२,८९७
जम्मा मतदाता १००,३२४
स्वतन्त्र उम्मेदवार विजयी

सन्दर्भ सामग्रीहरू

  1. "Independent candidate Harka Raj Rai elected mayor of Dharan Sub-Metropolitan City", The Kathmandu Post
  2. "धरानका मेयरको घोषणा- मोटरसाइकल नै चढ्छु", Naya Patrika (अङ्ग्रेजीमा)।
  3. "हर्क साम्पाङमाथि पहिले लाठीचार्ज, अहिले फूल र अबिरको वर्षा", कान्तिपुर (नेपालीमा)।
  4. "पानी अभियन्ता हर्कराज साम्पाङ राई बने धरानको मेयर, पाए २०८२१ मत", ekagaj, मूलबाट २०२२-०५-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०७
  5. Ghimire, Binod (२०२५-१०-१९), "New parties emerge to challenge the old guard at March elections", The Kathmandu Post, अन्तिम पहुँच २०२६-०१-२९
  6. "Shram Sanskriti Party's initial commitments made public", The Rising Nepal, २०२५-१२-०३, अन्तिम पहुँच २०२६-०१-२९
  7. "Independent candidate Harka Sampang becomes Dharan Mayor", Khabarhub (अङ्ग्रेजीमा)।
  8. "हर्क साम्पाङ् जसले धरानको तिर्खा मेट्ने लक्ष्य राखेका छन्", बीबीसी नेपाली (नेपालीमा)।
  9. 1 2 "हर्क साम्पाङ- अ रेभुलुसन", Setopati (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०५-२९
  10. 1 2 धरान, रोहित राई, "को हुन् धरानका 'वेटिङ मेयर' हर्कराज राई साम्पाङ?", nagariknews.nagariknetwork.com
  11. 1 2 "धरानवासीले किन पत्याए हर्क साम्पाङलाई?", Himal Khabar, अन्तिम पहुँच २०२२-०५-२९
  12. "Harka Sampang files for party registration", Setopati, अन्तिम पहुँच २०२५-०९-२८
  13. "Harka Sampang's drive for drinking water in Dharan: By people, for people - OnlineKhabar English News" (अङ्ग्रेजीमा), २०२३-०५-२२, अन्तिम पहुँच २०२३-०७-१८
  14. "को हुन् धरानमा एमालेको गढ भत्काउने स्वतन्त्रका साम्पाङ", Annapurna Post (अङ्ग्रेजीमा)।
  15. "धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित", अनलाइन खबर
  16. "Meet the man who could be Nepal’s next prime minister", Katmandu Journal, Katmandu Journal Private Limited, ३० नोभेम्बर २०२५, अन्तिम पहुँच ११ जनवरी २०२६