हैजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हैजा
विभाग:सङ्क्रामक रोग

हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ।[१] नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग भनेर लेखिएको छ। यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन्।[२] केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो।[३] बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ।[२] हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ।[३] यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ।[४] शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ।[५] हैजाको कीटाणु शरीरमा प्रवेस गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन्।[२]

हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ।[३]राम्रोसँग नपाकेको समुद्री खाना (सी फुड) यो ब्याक्टेरियाको मुख्य स्रोत हो।[६] हैजाले मानिसहरूलाई मात्र असर पुर्‍याउँछ। सरसफाईको अभाव, सफा पिउने पानीको अभाव तथा गरीबीले यसको जोखिमलाई बढाउने गर्दछन्। त्यस्तै समुद्री सतह बढ्यो भने पनि हैजाको सङ्क्रमण दर बढ्छ भन्ने विश्वास गरिन्छ। दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ।[३] दिसामा एक विशेष किसिमको छडी डुबाएर परीक्षण गरिने र्‍यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ तर यसले भरपर्दो नतिजा दिँदैन।[७]

हैजाबाट बच्न सरसफाई तथा सफा पिउने पानीको व्यवस्था गर्नु आवस्यक छ।[४] बच्चा छ महिनाको भएपछि हैजाविरुद्धको खोप मुखबाट खुवाइन्छ। यस्तो खोपले ई. कोलाई नामको ब्याक्टेरियमका कारणले हुने झाडापखालाबाट समेत बचाउँछ। हैजाको प्राथमिक उपचारको लागि पानी वा तरल पदार्थ खुवाएर ओरल रिहाइड्रेसन थेरापी गरिन्छ। यस्तो उपचारमा हल्का गुलिया तथा नुनिला घोलहरू (जस्तै: नुनचीनि पानी, जीवन जल) खुवाएर दिसामा खेर जाने तरल पदार्थको सट्टाभर्ना गरिन्छ।[३] यस्तो बेलामा चामलबाट बनेका झोल खानेकुराहरू राम्रा मानिन्छन्।[३] जटिल अवस्थाहरूमा रिन्जर्स ल्याक्टेट जस्ता नसाबाट दिइने तरल पदार्थहरू प्रभावकारी हुन्छन् भने एन्टिबायोटिक औषधिको प्रयोग पनि लाभदायक हुन सक्छ।[३] बालबालिकाहरूलाई जिङ्क चक्की खुवाउँदा लाभदायक हुन्छ। [८] बिरामीको शरीरमा भएका ब्याक्टेरियालाई कुन एन्टिबायोटिकले मार्न सक्छ भन्ने जाँचेर कुन औषधि दिने भन्ने निर्णय गर्नु प्रभावकारी हुन्छ।[२]

सन् २०१० को एक तथ्याङ्क अनुसार प्रत्येक वर्ष विश्वभर ३०-५० लाख मानिसहरू हैजाबाट प्रभावित हुन्छन् भने यसका कारण ५८ हजारदेखि १ लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ।[३][९] हाल यसलाई विश्वभर फैलिएको रोगको रूपमा वर्गीकरण गरिएको भएपनि विकसित देशहरूमा हैजाका बिरामीहरू बिरलै भेटिन्छन्।[३][१०] यो रोगबाट प्रायजसो बालबालिकाहरू प्रभावित हुने गर्दछन्। हैजा महामारीको रूपमा अचानक देखिने तथा कुनै निश्चित स्थानमा लामो अवधिसम्म रहिरहने खालको पनि हुन्छ। हाल अफ्रिका तथा दक्षिणपूर्वी एसियाका केही क्षेत्रहरू हैजाको जोखिममा छन्। प्राय यस रोगबाट प्रभावित मध्ये ५% भन्दा कम मानिसको मृत्यु हुने भएपनि उपचारको पहुँच नभएका मानिसहरूको समुदायमा यस्तो मृत्युदर ५०% सम्म पुगेको पाइन्छ।[३] हैजाको इतिहास हेर्दा इसापूर्वको पाँचौ सताब्दीमै संस्कृतमा यसको बर्णन गरिएको पाइन्छ।[४] सन् १८४९ देखि १८५४ का बीचमा जोन स्नोले गरेको हैजासम्बन्धि अध्ययनले रोगको सङ्क्रमण, वितरण तथा रोगबाट बच्ने उपायहरूका बारेमा गरिने अध्ययनको(इपिडेमियोलोजी) क्षेत्रमा नयाँ आयाम थप्यो।[४][११]

लक्षण तथा चिह्नहरू[सम्पादन गर्नुहोस्]

चौलानी जस्तै सेतो पखाला

हैजाका मुख्य लक्षणहरू ठूलो मात्रामा पानी जस्तै पातलो पखाला लाग्नु तथा वान्ता हुनु हुन्।[१२] प्रायजसो यी लक्षणहरू शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र अचानक देखा पर्छन्।[१३] हैजाका कारणले हुने पखाला चौलानी जस्तै सेतो हुने हुनाले यसलाई अङ्ग्रेजीमा 'राइस वाटर' भनिन्छ। यस्तो पखालाको माछाको गन्ध जस्तै हुन्छ।[१२] उपचार नगरिएको बिरामीले दिनभरमा १० देखि २० लिटरसम्म पखाला गर्न सक्छ।[१२] यदि गम्भीर खालको हैजाको उपचार गरिएन भने यसले मानिसको मृत्यु नै हुने गरी जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ।[१२] उपचार नगरिएको कडा खालको हैजाले सङ्क्रमित मध्ये करीब आधा जति मानिसलाई मृत्युको मुखमा पुर्‍याउँछ। हैजा लागेका सय मानिसहरू मध्ये लगभग तीन जनालाई लक्षण नदेखाउने खालको सङ्क्रमण हुने सम्भावना हुन्छ।[१४] यो रोग लागेको बेलामा तरल पदार्थको अत्याधिक अभावका कारण बिरामीको शरीर नीलो हुँदै जाने भएकोले यसलाई 'नीलो काल' (अङ्ग्रेजीमा ब्लू डेथ) पनि भन्ने गरिन्छ।[१५]

प्रायजसो हैजाको कारणले ज्वरो आउँदैन। यदि ज्वरो आइहाल्यो भने थप सङ्क्रमण भएको हुन सक्छ। बिरामीहरू अत्यन्तै कमजोर हुन्छन्। त्यस्तै आँखा गढ्ने, मुख सुक्ने, छाला चिसो र ओसिलो हुने, छालाको लचकतामा कमी आउने वा हातगोडा चाउरी पर्ने जस्ता लक्षणहरू पनि देखिन्छन्। दिसामा बाइकार्बोनेट बाहिरिने हुनाले एसिडोसिस भएर लामोलामो सास फेर्ने तथा सास फेर्न गाह्रो हुने समस्या पनि देखा पर्न सक्छ। तरल पदार्थको अभावका कारण आन्तरिक बहाव प्रभावित भइ ल्याक्टिक एसिडोसिस हुन सक्छ। जलवियोजनका कारण रक्तचाप घट्छ, नाडी छिटोछिटो चल्छ तर महशुस गर्न गाह्रो हुन्छ र समयसँगै पिसाबको मात्रा घट्दै जान्छ। शरीरमा इलेक्ट्रोलाइटको अभाव तथा आयोन सिफ्टका कारण विशेष गरी बालबालिकाहरूमा मांसपेसी बाउँडिने तथा कमजोरी हुने, बेहोस हुने, सिजर वा कोमामा जाने जस्ता लक्षणहरू देखिन्छ।[१२]

कारण[सम्पादन गर्नुहोस्]

भिब्रियो कलेरा नामको ब्याक्टेरियम

हैजा मुख्यतया सरसफाइको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएर प्रदुषित भएको खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ।[३]

रोग लाग्ने क्षमता[सम्पादन गर्नुहोस्]

साधारणतया एक वयस्क मानिसलाई हैजा लाग्न करीब १० करोड ब्याक्टेरीया खाना, पानी वा अन्य माध्यमबाट शरीरमा प्रवेश गर्नु आवस्यक छ।[१२] यद्यपी आमासयको अम्लीयपन घटाइएका मानिसहरूमा (जस्तै प्रोटोन पम्प इनहिबिटर प्रयोग गरिरहेका मानिसहरू) भने यो मात्रा कम भए पनि रोग लाग्न सक्छ। बालबालिकाहरूमा पनि यो रोग सजिलै लाग्न सक्छ। विशेष गरी दुईदेखि चार वर्षका बालबालिकाहरूमा अत्याधिक सङ्क्रमण भएको पाइन्छ। मानिसको व्यक्तिगत हैजा रोग लाग्ने क्षमता उसको रगतको समूहबाट पनि प्रभावित हुन्छ। रगत समूह ओ भएका मानिसहरूलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ।[१२] एड्स लागेका मानिसहरू वा कुपोषणको सिकार भएका बालबालिकाहरूमा यो रोगको सङ्क्रमण भयो भने यसले कडा रूप लिन सक्छ।[१६]

प्रसार[सम्पादन गर्नुहोस्]

हैजाको कीटाणु मानिसबाहेक अन्य दुई जीव: सेलफिस (शङ्खेकीरा) तथा प्लाङ्क्टनमा पाइएको छ।[१२]

हैजा साधारणतया कीटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ। विकसित मुलुकहरूमा हैजा प्रदुषित खानाका कारणले लाग्ने गर्दछ भने विकासोन्मुख देशहरूमा प्राय जसो पानीका कारणले यो रोग सर्ने गरेको पाइन्छ।[१२] खानेकुराबाट हैजा सर्नुमा ढलको पानी मिसिएको ठाउँबाट निकालिएका शंखेकीराहरूको मुख्य भुमिका रहन्छ। हैजाका कीटाणुहरू जुप्लाङ्क्टनमा थुप्रिने गर्दछन् जुन शंखेकीराहरूको मुख्य आहार हो। यस्ता कीराहरू काँचै खाइने हुनाले संक्रमणको सम्भावना अत्याधिक रहन्छ।[१७]

हैजा लागेका मानिसहरूलाई प्राय पखाला लाग्ने गर्दछ। पानी जतिकै पातलो झोल दिसा यदि अरूले प्रयोग गर्ने पानीमा मिसियो भने यो रोग सर्ने सम्भावना हुन्छ।[१८] साधारणतया यो रोगको स्रोत हैजा लागेका बिरामी नै हुने गर्दछन्। यदि रोगीको दिसा सिधै जमिनमुनिको पानी वा खानेपानीको स्रोतमा मिसियो भने हैजा फैलिन सक्छ। प्रदुषित पानी, यस्तो पानीमा पखालिएको खानेकुरा वा प्रदुषित पानीबाट निकालिएको शंखेकीराहरू खानाले मानिसलाई हैजाको सङ्क्रमण हुन सक्छ। यो रोग मानिसबाट मानिसमा सिधा सरेको बिरलै पाइन्छ।

पहिचान[सम्पादन गर्नुहोस्]

मानिसको दिसामा भिब्रियो कलेराको उपस्थिति जाँच गर्न र्‍यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ।[१९] यदि दिसामा ब्याक्टेरिया पाइयो भने ती ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोध क्षमता भए-नभएको पत्ता लगाउन थप परीक्षणहरू गरिन्छ।[१९] महामारीको समयमा बिरामीको इतिहास तथा सामान्य स्वास्थ्य परीक्षणबाट नै रोग पहिचान गरिन्छ। साधारणतया प्रयोगशाला परीक्षण नगरी वा गरे पनि नतिजा नआउँदै उपचार सुरु गरिन्छ।

प्रयोगशाला परीक्षणका लागि दिसाको नमुना सङ्कलन गर्दा रोग कडा स्थितिमा पुगेको बेलामा एन्टिबायोटिक औषधि खुवाउनुभन्दा पहिला गरेमा उपयुक्त हुन्छ। हैजाको महामारी भएको संका लागेको अवस्थामा मुख्य कारक एजेन्ट भिब्रियो कलेरी ओ-वान हुने गर्दछ। यदि भिब्रियो कलेरी ओ-वान छुट्टिएन भने उक्त नमुनालाई भिब्रियो कलेरी ओ-वान-थ्री-नाइनका लागि परीक्षण गरिनु पर्छ। त्यस्तै यदि यी दुबै कीटाणुहरू छुट्टिएनन् भने दिसाको नमुनालाई रिफरेन्स प्रयोगशालामा पठाउनु पर्छ।

भिब्रियो कलेरी ओ-वान-थ्री-नाइनको सङ्क्रमणलाई पनि भिब्रियो कलेरी ओ-वानबाट हुने सङ्क्रमणलाई जस्तै सावधानी तथा उपचार गरिनु पर्छ। संयुक्त राज्य अमेरिकामा यससँग सम्बन्धित पखालालाई पनि हैजाको रूपमा लिने गरिन्छ र सङ्क्रणणको जानकारी दर्ता गराइन्छ।[२०]

बचाउ तथा सुरक्षा[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको ढाकामा रहेको हैजा अस्पताल

विश्व स्वास्थ्य सङ्गठनले हैजा फैलन नदिन बचाउ तथा सुरक्षा, तयारी र प्रतिक्रियामा केन्द्रित हुन सिफारिस गरेको छ। सङ्गठनले हैजामाथि निगरानी राख्ने प्रणालीको व्यवस्था गर्न जोड दिएको छ।[२१]

हैजाले मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्ने भएपनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ। विकसित देशहरूमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन।[२२][२३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Finkelstein, Richard, "Medical microbiology", http://www.ncbi.nlm.nih.gov/books/NBK8407/ 
  2. २.० २.१ २.२ २.३ "Cholera - Vibrio cholerae infection Information for Public Health & Medical Professionals", cdc.gov, जनवरी ६, २०१५, अन्तिम पहुँच १७ मार्च २०१५ 
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० "Cholera vaccines: WHO position paper.", Weekly epidemiological record 13 (85): 117–128, Mar २६, २०१०, पिएमआइडी 20349546 
  4. ४.० ४.१ ४.२ ४.३ Harris, JB; LaRocque, RC; Qadri, F; Ryan, ET; Calderwood, SB (३० जुन २०१२), "Cholera.", Lancet 379 (9835): 2466–76, पिएमआइडी 22748592 
  5. Bailey, Diane (२०११), Cholera (1st संस्करण), New York: Rosen Pub., पृ: ७, आइएसबिएन 9781435894372 
  6. "Sources of Infection & Risk Factors", cdc.gov, नोभेम्बर ७, २०१४, अन्तिम पहुँच १७ मार्च २०१५ 
  7. "Diagnosis and Detection", cdc.gov, फेब्रुअरी १०, २०१५, अन्तिम पहुँच १७ मार्च २०१५ 
  8. "Cholera - Vibrio cholerae infection Treatment", cdc.gov, नोभेम्बर ७, २०१४, अन्तिम पहुँच १७ मार्च २०१५ 
  9. Lozano R, Naghavi M, Foreman K, Lim S, Shibuya K, Aboyans V, Abraham J, Adair T, Aggarwal R, Ahn SY (डिसेम्बर १५, २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604 
  10. "Cholera - Vibrio cholerae infection", cdc.gov, अक्टोबर २७, २०१४, अन्तिम पहुँच १७ मार्च २०१५ 
  11. Timmreck, Thomas C. (२००२), An introduction to epidemiology (3. संस्करण), Sudbury, Mass.: Jones and Bartlett Publishers, पृ: ७७, आइएसबिएन 9780763700607 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ १२.६ १२.७ १२.८ Sack DA, Sack RB, Nair GB, Siddique AK (जनवरी २००४), "Cholera", Lancet 363 (9404): 223–33, डिओआई:10.1016/S0140-6736(03)15328-7, पिएमआइडी 14738797 
  13. Azman AS, Rudolph KE, Cummings DA, Lessler J (नोभेम्बर २०१२), "The incubation period of cholera: A systematic review", Journal of Infection 66 (5): 432–438, डिओआई:10.1016/j.jinf.2012.11.013, पिएमआइडी 23201968, पिएमसी 3677557 
  14. King AA, Ionides EL, Pascual M, Bouma MJ (अगस्ट २००८), "Inapparent infections and cholera dynamics", Nature 454 (7206): 877–80, डिओआई:10.1038/nature07084, पिएमआइडी 18704085, बिबकोड:2008Natur.454..877K 
  15. McElroy, Ann and Patricia K. Townsend. Medical Anthropology in Ecological Perspective. Boulder, CO: Westview, 2009, 375.
  16. Prevention and control of cholera outbreaks: WHO policy and recommendations, World Health Organization, Regional Office for the Eastern Mediterranean, undated but citing sources from ’07, ’04, ’03, ’04, and ’05.
  17. Rita Colwell, Oceans, Climate, and Health: Cholera as a Model of Infectious Diseases in a Changing Environment, Rice University: James A Baker III Institute for Public Policy, अन्तिम पहुँच २०१३-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२६ मिति
  18. Ryan KJ, Ray CG (editors) (२००४), Sherris Medical Microbiology (4th संस्करण), McGraw Hill, पृ: 376–7, आइएसबिएन 0-8385-8529-9 
  19. १९.० १९.१ Sack DA, Sack RB, Chaignat CL (अगस्ट २००६), "Getting serious about cholera", N. Engl. J. Med. 355 (7): 649–51, डिओआई:10.1056/NEJMp068144, पिएमआइडी 16914700 
  20. "Laboratory Methods for the Diagnosis of Epidemic Dysentery and Cholera" (PDF), Atlanta, GA: CDC, १९९९, अन्तिम पहुँच २०१०-०२-०१ 
  21. "Cholera Fact Sheet", World Health Organization. who.int. Retrieved November 5, 2013.
  22. "Cholera Kills Boy. All Other Suspected Cases Now in Quarantine and Show No Alarming Symptoms." (PDF), New York Times, जुलाई १८, १९११, अन्तिम पहुँच २००८-०७-२८, "The sixth death from cholera since the arrival in this port from Naples of the steamship Moltke, thirteen days ago, occurred yesterday at Swineburne Island. The victim was Francesco Farando, 14 years old." 
  23. "More Cholera in Port", Washington Post, अक्टोबर १०, १९१०, अन्तिम पहुँच २००८-१२-११, "A case of cholera developed today in the steerage of the Hamburg-American liner Moltke, which has been detained at quarantine as a possible cholera carrier since Monday last. Dr. A.H. Doty, health officer of the port, reported the case tonight with the additional information that another cholera patient from the Moltke is under treatment at Swinburne Island."