गणेश बहादुर खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गणेश बहादुर खड्का

नेपाली कांग्रेसका दैलेख जिल्ला सभापति गणेश बहादुर खड्का सोही जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सभासद हुनुहुन्छ। २०२५ सालदेखि राजनीतिमा सक्रिय ६६ वर्षीय खड्का २०४८ र २०५१ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट चुनिनुभएको थियो। २०२७ देखि २०३० सम्मका पार्टीको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति रहिसक्नुभएका खड्काले २०३४,२०३७ र २०४२ सालमा गरी पञ्चायतकालमा तीन वर्ष जेल जीवन बिताउनुभएको छ। उहाँले संसदको लेखा समितिको सदस्य र भौतिक योजना तथा निर्माण एवं यातायात मन्त्रीको जिम्मेदारी समेत सम्हालिसक्नुभएको छ। नेपालका राजनितिक कर्मिहरूको भिडमा आफ्नो क्षेत्रमा राम्रो विकास गर्ने नेताको रूपमा पनि उहाँ चिनिनुहुन्छ। उहाँकै पालामा दैलेख जिल्लामा मोटर बाटो र विजुली बत्ती पुगेको थियो। माध्यमिक तह सम्मको शिक्षा हासिल गरेका खड्का चार छोरी र दुई छोराका पिता हुनुहुन्छ। समाजसेवामा उहाँको विशेष रुचि छ र विभिन्न सङ्घ संस्था मार्फत एवं व्यक्तिगत तवरमा पनि समाजसेवा गर्दै आउनुभएको छ। पार्टीको विचार र जनता सँगको निकट सम्वन्धले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँ बताउनुहुन्छ। सिद्धान्तमा दृढ र लगनशील मानिने सभासद खड्काले संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुद्दा हुन्- क. सङ्घीय संरचनाको उपयुक्त र वैज्ञानिक आधार कोर्ने, ख. राज्यमा पिछडिएको क्षेत्र र वर्गको समान प्रतिनिधित्व सुनिश्चित गर्ने। [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]