सामग्रीमा जानुहोस्

अटिज्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोहोर्याएर स्ट्याकि or वा वस्तुहरु लाई लाइनिंग सामान्यतया आत्मकथा संग सम्बन्धित छ।


अटिज्म (वा अटिजम्) मस्तिष्कको विकासका बेला हुने एक किसिमको विकार हो जसका कारण व्यक्तिको सामाजिक सम्बन्ध तथा सञ्चार (कुराकानी) मा सुस्तता देखिनुका साथै व्यवहार, रुचि, र गतिविधिहरूमा कठोरता (लचिलोपनाको अभाव) देखिन्छ। अटिज्म लाई अटिज्म स्पेक्ट्रम डिसअर्डर[] (ए.एस्. डी.) पनि भनिन्छ । र यो रोग नभएर एउटा अवस्था हो।

स्वभावजन्य असामान्यता, सामाजिक अन्तरक्रियामा कमी र सञ्चार वा सम्वादमा अभाव अटिज्मका तीन प्रमुख पहिचान हुन्। बच्चामा यस्ता तीनवटै स्वभाव देखिए अटिज्म वा अटिज्म स्पेक्ट्रम डिसअर्डर भएको हुनसक्छ। तर यसको पहिचान वा निदान भने डि.एस्.एम्. को मापदण्डअनुसार विशेषज्ञले गर्दछन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लू.एच्.ओ.) का अनुसार प्रत्येक दस हजार बालबालिकामध्ये २१ जना सम्ममा अटिज्म देखिन्छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सी.डि.सी.) ले अमेरिकामा गरेको अध्ययनअनुसार ८८ जनामध्ये एकजनामा अटिज्म स्पेक्ट्रम डिसअर्डर (ए.एस.डी.) देखिन्छ।

अटिज्मलाई अटिज्म स्पेक्ट्रम डिसअर्डर भन्नुको अर्थ यसको गम्भिरताको दायरा फराकिलो हुन्छ र प्रत्येक व्यक्तिमा यसको लक्षण फरक-फरक हुनसक्छ। अटिज्म पहिचान भएका कुनै बालबालिकाले आफैँलाई क्षति पुर्‍याउन सक्ने वा सुस्त मनस्थितिको पनि हुन सक्ने हुँदा दिनचर्यामा अभिभावकको सहयोग आवश्यक पर्छ भने कुनै बालबालिकामा सामान्य वा उच्चतम स्तरको बौद्घकि प्रतिभा पनि हुन्छ र उनीहरू संगीत, कला, गणित जस्ता कुनै एक विशिष्ट क्षेत्रमा अब्बल हुन्छन् जो कमभन्दा कम सहयोगमा पनि जीवन निर्वाह गर्न सक्छन्। एकातिर अटिज्म भएका धेरै कम बालबालिकामा यस्ता पनि हुन्छन् जसलाई अटिस्टिक विद्वान् भन्ने गरिन्छ । यस्ता बच्चा संगीत, कला, गणित जस्ता कुनै एक विशिष्ट क्षेत्रमा अब्बल हुन्छन् । अर्कोतिर अटिज्मको पहिचान भएका व्यक्तिहरूमध्ये ७ देखि १४ प्रतिशतमा छारे रोगको लक्षण देखिन्छ भने सुस्त मनस्थितिको समस्या करिब ७५ प्रतिशतमा देखिने गरेको छ। सामान्यदेखि उच्चत स्तरको बौद्धिक क्षमता भएका बालबालिकाले छिट्टै सिके पनि उनीहरूलाई अरुसँग सम्वाद वा कुराकानी गर्न असहज हुन्छ। उनीहरू दैनिक जीवनमा सिकेको ज्ञानलाई उपयोग गर्न हिच्किचाउँछन्। अमेरिकाको नेसनल इन्स्टिच्युट अफ डिफनेस एन्ड अदर कम्युनिकेसन डिसअर्डर (एन्.आई.डी.सी.डी.) का अनुसार अटिज्म भएका २५ प्रतिशत बालबालिका मौखिक भाषा कौशलको विकास नगर्ने विशेषज्ञहरूको अनुमान छ र उनीहरूलाई साङ्केतिक भाषा सिकाउनु उपयोगी हुने सल्लाह छ।

अटिज्मको पहिचान भएका बालबालिकाहरूमा अटिज्मसँगसँगै अन्य स्वास्थ समस्याहरू पनि जोडिएको हुनसक्छ। यसरी एउटा स्वास्थ अवस्था वा रोगसँग जोडिएर आउने अन्य स्वास्थ अवस्था वा रोगहरूलाई सहरोग भनिन्छ। अटिज्मसँग प्राय: आउने सहरोगहरू निम्न बमोजिम छन्:

  • छारे रोग
  • मानसिक सुस्तता
  • ध्यानाभाव र अधिक चन्चलता विकार (अटेन्सन डेफिसिट हाइपरएक्टिभिटि डिसअर्डर)
  • अवसाद (डिप्रेसन)
  • पाचनसम्बन्धि समस्या

अटिज्मको पहिचान

[सम्पादन गर्नुहोस्]

अटिज्मको पहिचान चिकित्सक, सामान्यत: बालरोग विशेषज्ञ, मनोविद्, वा वाक् विशेषज्ञले गर्दछन्। यसका लागि बालबालिकाको व्यवहार र दैनिकि आदिको अवलोकन गर्दछन् वा त्यसबारे जानकारी लिइन्छ। रोगहरूको अन्तर्राष्ट्रिय वर्गीकरण (आई.सी.डी.) वा अमेरिकन साइकियाट्रिक एसोसिएशनको मानसिक विकारहरूको निदान र तथ्याङ्किय पुस्तिका (डी.एस्.एम्.) का मापदण्डअनुसार मात्र औपचारिक रूपमा अटिज्मको निदान गरिन्छ।

समान्यतया, निम्न अवस्थामा अटिज्मको पहिचानका लागि विशेषज्ञको सल्लाह लिन सकिन्छ:

  • एक वर्षको हुँदा पनि तोतेबोली नबोले
  • एक वर्षको भए पनि कुनै शव्द बोल्ने प्रयास नगरे
  • एक वर्षमा समेत कुनै हाउभाउ प्रकट नगरे
  • १६ महिनाको भए पनि शब्द छुटयाएर बोल्न नसके
  • दुई वर्षको हुँदा समेत दुई शब्दको वाक्य बोल्न नसके

अटिज्मको कारण र उपचार

[सम्पादन गर्नुहोस्]

अटिज्म स्नायुको विकाससँग सम्बन्धित एक जटिल किसिमको अवस्था हो जुन ठ्याक्कै यहि एउटा मात्र कारणले हुन्छ भनेर भन्न सकिन्न। यसका विविध कारणहरू हुन सक्छन् र ती विविध कारणहरूको गठजोडबाट अटिज्म हुन्छ। ती निम्नासार छन्:

  • जैविक,
  • वंशाणुगत,
  • गर्भावस्थाका स्थिति,
  • जैविक विकासक्रम र सांस्कृतिक विकासक्रमको दौड, आदि

जीवनभरि कायम रहने यस स्थितिलाई निर्मूल पार्ने कुनै ठोस उपचार विधि छैन। केहि समूह, जस्तै न्युरो डाइभर्सिटिको वकालत गर्नेहरूले अटिज्मको उपचारको खोजि नै गर्नु हुन्न पनि भन्छन्। यसले पनि केहि हदसम्म उपचार खोज्ने वैज्ञानिक प्रयासमा गाह्रो पारेको छ[]। यद्यपि, अटिज्मका कारण देखिने स्वभावजन्य असामान्यता, सामाजिक अन्तरक्रियामा कमी र सञ्चार वा सम्वादमा हुने अभावको गम्भिरतालाई भने थेरापी वा पुनर्स्थापना विधिका माध्यमबाट कम गरी जीवनस्तर र जीवनशैलीमा सुधार ल्याउन सकिन्छ।

सामान्यत: अटिज्म भएका बालबालिकालाई निम्न थेरापी वा पुनर्स्थापना विधिमार्फत् उपचार गरिन्छ जुन सम्बन्धित विशेषज्ञको निगरानीमा प्रदान गरिन्छ[]:

  • स्पीच थेरापी / वाक् थेरापी (speech and langauge therapy): वाक् विशेषज्ञ
  • अकुपेसनल थेरापी (occupational therapy): अकुपेसनल थेरापिस्ट
  • फिजिकाल थेरापी (physical therapy): फिजिकाल थेरापिस्ट
  • मनोपरामर्श / साइको थेरापी (psychological counseling / psychotherapy): क्लिनिकल साइकोलोजिस्ट (मनोविद्)

अन्य लक्षण नियन्त्रण वा अरू सहरोग र तिनका लक्षणको उपचारका लागि औषधिको प्रयोग पनि गर्न सकिन्छ जुन चिकित्सको सल्लाहबमोजिम हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अटिजम स्पेक्ट्रम डिसअर्डर - सामुदायिक स्वास्थ्य", Community Health (नेपालीमा), अन्तिम पहुँच २०२४-११-१४ 
  2. Ortega, Francisco (२२ डिसेम्बर २००९), "The cerebral subject and the challenge of neurodiversity", BioSocieties 4 (4): 425–445। 
  3. Bhandari, Pratik; Khanal (नोभेम्बर १९, २०१६), "Pride in autistic diversity: against treatment or for inclusion?", The Lancet 338 (10059): P2477।