आगन्तुक चरा
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a3/BrantaLeucopsisMigration.jpg/300px-BrantaLeucopsisMigration.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/75/Migrationroutes.svg/300px-Migrationroutes.svg.png)
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपालमा बर्सेनी प्रायः एक सय ५० प्रजातिका पर्यटक चराको आगमन हुन्छ। बसाइँ सराई सूचकका रूपमा पनि हेरिइने हाँसका ३४ प्रजातिमध्ये ३० प्रजाति उत्तरी एसियाको साइबेरियालगायतका विभिन्न भागबाट हिउँदे याममा जाडो छल्न यहाँ आउँछन्। उत्तरी ध्रुवमा हिमपातको प्रारम्भसँगै सुरक्षित वासस्थान र चरन खोज्दै रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान क्षेत्रका चराका विविध प्रजातिले नेपाललाई आफ्नो भ्रमणको गन्तव्य बनाउँदै आएका छन्। 'रूख सुडसुडिया' र 'टिमटिमा' नामक जलचरा चीनको उत्तरी भूभागबाट नेपाल भित्रिने गर्छ भने युरोपेली, मङ्गोलियन, तिब्बती तथा कोरियाली चराहरू पनि बसाइँ सरेर आउँछन्। पर्यटक चराका करिब ५० प्रजाति त 'बाई पास' नेपाल हुँदै भारत, पाकिस्तान, श्रीलङ्कातिर जाने गर्छन्। बार हेडेड गुजर (खोया हाँस) नामक चराले त सर्वोच्च शिखर सगरमाथादेखि माथितिर हुँदै घुमफिर गर्छ।
तराईका समथर जमीनदेखि सगरमाथाजस्तो उचाइका भौगोलिक तथा मौसमी विविधताका कारण प्रजाति र सङ्ख्याका दृष्टिले पनि उल्लेख्य रूपमा नेपाल आउने पर्यटक चराहरू हिमाल, पहाड तथा तराईमा छरिएर बसेका छन्। यसरी बसाइँ सरेर हिउँदमा आउने पर्यटक चराहरूले प्रायः पाूर्वको कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल तथा घोडाघोडी ताललगायतका क्षेत्रमा आफ्नो हिउँदे बास बिसाउँछन्। साथै शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण क्षेत्र, अरूणबरूण उपत्यका, लाङटाङ, गोसाइँकुण्ड आदि क्षेत्र पनि पर्यटक चराका लागि सुरक्षित वासस्थान हुन् भने कोसी, नारायणी र कर्णाली का सहायक नदीको छेउछाउ पनि चराका लागि घुमफिर र चरनयोग्य क्षेत्र मानिन्छन्। साथै, उक्त स्थलहरू चरा अवलोकनार्थ उपयुक्त गन्तव्य क्षेत्र पनि हुन्।
गत भदौमा जगदीशपुर ताल क्षेत्रमा देखिएको 'गि्रन स्याण्डपिपर' र 'कमन गि्रन स्याङ्क' नामक चराहरूको आगमनसँगसँगै पर्यटक चराको चालु 'सिजन' प्रारम्भ भएको थियो। असोजको पहिलो सातामा जीवल फिस्टो, लालकण्ठे, झेकझेक भ|mयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके आदि प्रजातिका चरा तराईका सीमसार क्षेत्रमा पुगिसकेका थिए भने असोजको दोस्रो सातादेखि बाज र चील जस्ता मांसाहारी प्रजाति चीन, कोरिया, रूस र साइबेरियाबाट भित्रिएका छन्। सोही बखत विश्वमै शरीरको तुलनामा सबैभन्दा लामो खुट्टा भएको घुमन्ते चरा प्रवालवाद पनि भित्रिएको थियो। चराका सबैभन्दा धेरै प्रजाति कात्तिकमा भित्रिने गरेका छन्। नेपाल आएका पर्यटक चरामध्ये हाँस, चाँचर, साना फिस्टा, अर्जुनक प्रजातिको सङ्ख्या अत्यधिक छ भने धिप्सी, मांसाहारी चरा तथा जलरङ्कको सङ्ख्या पनि प्रशस्त छ।
भदौ मध्यदेखि पुस मध्यसम्ममा नेपाल आउने क्रम जारी राख्ने पर्यटक चराहरूले फागुन मध्यदेखि स्थायी ठाउँमा फर्किने क्रम सुरू गरी चैतसम्ममा प्रायःजसो प्रजातिले नेपाल छाडिसक्छन्। बच्चा कोरल्न र हुर्काउन बाँकी रहेका केही प्रजाति पनि गर्मीको प्रारम्भसँगसँगै र्फकन्छन्। असोजदेखि चैतसम्मको अवधिलाई पर्यटक चराको मुख्य 'सिजन'को रूपमा लिइन्छ।
विश्वमै दुर्लभ मानिने कश्मिरी अर्जुनक नामक चरा गत वर्ष चैतदेखि कोसी टप्पु वन्यजन्तु आरक्षमा देखिन थाल्नु, पछिल्ला केही वर्षदेखि आवासीय चराका रूपमा स्थापित हरिहाँसले यस वर्षदेखि घोडाघोडी तालक्षेत्रलाई पनि आफ्नो प्रजनन केन्द्रको रूपमा चयन गर्नु तथा गत वर्ष एक सय ८८ वटामात्र भेटिएका यी चराको सङ्ख्या यस वर्षको गणनाको पहिलो दिनमै दुई सयभन्दा बढी भेटिनु, मध्यएसियाबाट जाडो याममा बसाइँ सरी आउने बगाले सिम कुखुराले नेपालमै पहिलो पटक गत साउनमा घोडाघोडी तालक्षेत्रमा बच्चा जन्माउनु तथा गत वर्ष एक सय ३९को सङ्ख्यामा रहेको यी चराका सङ्ख्या हाल १ सय ८० पुगिसक्नुलगायतका परिणामबाट पर्यटक चराहरूको नेपालप्रतिको आकर्षण निश्चय पनि बढ्दै गएको छ।
तर, दस वर्षअघिसम्म नेपाली भूभागको २० प्रतिशत रहेको घाँसे मैदान हाल ४ प्रतिशतको हाराहारीमा साँघुरिनु, जलक्षेत्रहरूमा विषादीको प्रयोग हुनु, पानीको स्रोत घट्दै जानु, तालतलैया सुक्दै जानु तथा २०६५ साल भदौ २ गतेको बाढीबाट कोसी नदीको तटबन्ध क्षतविक्षत हुनुलगायतका कारणबाट चराको बासस्थान र आहारलाई प्रभावित तुल्याएका छन् भने कतिपय दुर्लभ प्रजातिका चरा देखिन छाडेका छन्। चराको राजधानी मानिने कोसीटप्पु वन्यजन्तु आरक्षमा प्रायः १५ हजारको सङ्ख्यामा देखिने हाँसका ठूला बथानको आकार पछिल्ला दिनमा एक तिहाइ बढीले नै घटेको छ। त्यस्तै आगन्तुक चराको वासस्थान र आहारका लागि सुरक्षित मानिएका आरक्षित, संरक्षित एवं मध्यवर्तीका वनजङ्गल, सीमसार क्षेत्रहरूमा प्रतिदिन खतरा बढ्दो छ। यसरी अस्तित्व नै सङ्कटमा परेका, लोपोन्मुख तथा दुर्लभ चराका संरक्षण र सम्बर्द्धनलगायतका उद्देश्यले विगत एक दशकदेखि प्रत्येक वर्ष फेब्रुअरी २मा चरा महोत्सव मनाइँदै आएको छ।
जलचरको बासस्थानमा सुधार, सीमसारको संरक्षण तथा वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरण गर्ने उद्देश्यले वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत सीमसार संरक्षण तथा सदुपयोग आयोजना सञ्चालन भएपश्चात चराचुरूङ्गीका बासस्थानका लागि कोसीटप्पु र घोडाघोडी तालक्षेत्रमा आएको सुधारसँगसँगै यी क्षेत्रमा चराको सङ्ख्यामा पनि वृद्धि हुन थालेको चराविद्हरूको धारणा छ।
जैविक विविधताको संरक्षण एवं पर्यटन उद्योगको विकाससित पनि जोडेर हेर्नुपर्ने चराको संरक्षण कार्यमा स्थानीय जनसहभागिताको पनि उत्तिकै आवश्यक हुन्छ। पर्यटकीय क्षेत्र कास्कीको सिक्लेसबाट प्रारम्भ गरिएको देशव्यापी 'चरालाई चार' अभियान अन्तर्गत चराबारे जनचेतना, अभिलेखीकरण, प्रजनन केन्द्र स्थापना, आहारा र बासस्थानको खोजी कार्य प्रारम्भलाइ चरापे्रमीहरूले पछिल्लो नमुनाका रूपमा लिएका छन्। साथै, चरा अवलोकनका क्रियाकलापलाई वृद्धि गरेर, देशका विभिन्न ठाउँमा गिद्ध रेष्टुरेन्ट चलाएर तथा चरा प्रजनन केन्द्र खोलेर, अनि बेलाबखतमा गुलेली जफत अभियान चलाएर पनि चरा बचाउका प्रयासहरू हुँदै आएका छन्। यसा प्रकारका कार्यक्रमको विकास हुने र तिनले निरन्तरता पाइरहने हो भने चरा अवलोकनका लागि नेपाललाई उत्कृष्ट आकर्षक गन्तव्यको नयाँ पहिचान बनाउन समय धेरै लाग्दैन पनि।
पर्या-प्रणाली (इको-सिस्टम)को अभिन्न अङ्ग मानिने चरा कहाँ, कस्तो प्रजातिको छ ? तिनको चरन र बासस्थान कस्तो छ ? तथा तिनको आनिबानीलगायतका दैनिकी बुझ्न चरा अवलोकन गरिन्छ। नेपालमा चरा हेर्नकै लागि भनेर पनि बाहृय 'बर्ड वाचर' पर्यटक आउने गर्छन्। आन्तरिक पर्यटकमा पनि चरा अवलोकनप्रतिको रूची प्रतिदिन बढ्दो छ। सफारी पर्यटनको आधारभूत कार्यक्रममा चरा अवलोकन राखिएकै हुन्छ भने सो चरा अवलोकनलाई बाहृय तथा आन्तरिक पर्यटकले रमाइलो तथा आनन्ददायक मान्ने गरेका छन्। चरा अवलोकनबाट प्राप्त अनुभव उनीहरूसँगै देश-विदेशमा समेत छरिने प्रचारप्रसारको अप्रत्यक्ष फाइदाले पनि चरा अवलोकन पर्यटनको प्रवर्द्धन भइरहेको छ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ पर्यटन उद्योगमा आगन्तुक चरा :आत्माराम खरेल गोरखापत्र दैनिक
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)