खड्ग सिद्धि जात्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खड्ग सिद्धि जात्रामा हनुमान ढोका स्थित तलेजु मन्दिरबाट ल्याइने राज खड्गसँग लुँमडी अजिमा (देवता) छुवाई शक्ति प्रदान गरिन्छ । यसरी शक्ति प्रदान गर्दा सिद्धि प्राप्त भएको भन्ने परम्परा रहेको छ । करिब एक तोला चाँदीको एकापट्टि ‘श्री लुँमडी भद्रकालीको बाह्र वर्षको खड्गसिद्धि, बीचमा महापात्र र खड्ग त्यसमुनि ‘२०७२ साल’ कुँदिएका सिक्का चार थान, ठूलो सिंगो सुपारी दस वटा, पञ्चसूत्र धागो (पसु:का), सिन्दुर, फूलमाला र फलफूल द्य: भु (देवताको थाल) मा राखी भद्रकाली नाच सञ्चालन गरिन्छ । विजया दशमीको दिन खड्गसिद्धिका लागि देवीदेवता भई नृत्यमा सहभागी हुने देवगणहरू सबैले मुकुन्डो, कलेवर पोसाक, गरगहना लगाई भद्रकाली पीठबाट सांस्कृतिक बाजागाजाका साथ टुँडिखेल, नयाँ सडक, दुगं बही, वँटु, इन्द्रचोक हुँदै मखन तारिण बहालस्थित सिंहढोकामा पुग्ने गर्दछन् । देवगणहरू भद्रकाली, पचली भैरव, वाराही, गणेश, कुमारी, ब्रह्मायणी, रुद्रायणी, नारायणी, इन्द्रायणी, सिंहिनी, व्यघिनी, महालक्ष्मी र श्वेत भैरव गण रहन्छन् । यसअघि पीठमा सिद्धि पूजा गरी सबै देवगणहरूलाई खड्ग दिइन्छ । सिंहिनीको हातमा भने महापात्र, व्यघिनीलाई डमरु, कुमारीलाई मयुुरको प्वाँख, नारायणीलाई गदा र चक्र तथा गणेशको हातमा बन्चरो हुन्छ । यसरी विजया दशमीको दिन खड्गसिद्धि गरी सुचारु हुने नाच काठमाडौंका विभिन्न टोललगायत भक्तपुर र ललितपुरमा पनि प्रदर्शन गर्ने चलन छ । भद्रकालीको स्थापना उपत्यकाका सबैभन्दा पहिलो राजा गुणकामदेवले कान्तिपुर नगरको निर्माणका साथसाथै देशको पूर्वपट्टि नीलपीठमा काली जगाई लुँमडी नामले देशको रक्षार्थ स्थापना गरेको भनी भाषा वंशावलीमा उल्लेख छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]