गोपाल पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


राणा शासनको अन्धकारमा पनि एउटा बलियो प्रतिभाका रूपमा गेहेन्द्र शमशेरभन्दा बीसौं वर्षअगाडि जन्मेका पण्डित गोपाल पाण्डेले मूलरूपमा गणितको क्षेत्रमा ठूलो योगदान दिएका थिए। साधारणतया वर्गमूल गर्ने विधि भएको अंकगणितमा उनले घनमूल ल्याउने सरल र उपयुक्त विधि निकालेका थिए। भारतका प्रख्यात गणितज्ञ वायूदेव शास्त्रीबाट गणितको शिक्षा पाएका गोपाल पाण्डेले वर्गमूल र घनमूल निकाल्ने सरल र बढी उपयुक्त विधि निकालेर १९४० सालमा 'व्यक्तचर्न्द्रीका' नामक गणितसम्बन्धी पुस्तक प्रकाशित गरेका थिए।

वि.सं. १९०४ तिर जन्मेका पाण्डेले हिन्दी भाषामा इहलौकिक र परलौकिक बिषयमा विभिन्न मत-मतान्तरको चर्चा गर्दै 'लोकानुस्मृति' नामक पुस्तिका पनि प्रकाशित गरेका थिए। उनी परलोक र इहलोकबारे वैज्ञानिक विचार राख्दथे। उनले 'भूभ्रमण विचार' नामक पुस्तिका लेखी 'पृथ्वी घुम्छ' भन्ने कुरालाई पुष्टि गरेका थिए। सूर्यले पृथ्वीलाई चक्कर काट्छ भन्ने धार्मिकहरूको विचारलाई खण्डन गर्दै उनले यो पुस्तिका लेखेको देखिन्छ। शिल्पकला र ज्योतिषशास्त्रका सिद्धहस्त व्यक्ति पाण्डेले स्थापित (इन्जिनियर) भएर राणाशासक रणोद्वीपको पालामा महाकालदेखि उत्तरतिरको खेतलाई पुरेर टुँडिखेल बनाएका थिए।

यसरी गणितको क्षेत्रमा अविस्मणीय योगदान दिएर पाण्डेको वि.सं. १९८७को माघ शुक्ल पक्षको एकादशीका दिन काशीमा मृत्यु भएको थियो।