चङ्गा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


Kitesflying.jpg
Lachender Drachen in Sternform.JPG

चङ्गाको अर्थ 'कागज/कपडाको चार कुने टुक्रामा एउटा घुमाउरो र एउटा ठाडो सिन्के काम्रो हाली बनाइएको र धागो गाँसेर हावामा उडाइने खेलौना वा खेलको साधन वा खेल' उल्लेख गरिएको पाइन्छ। चङ्गाको अङ्ग्रेजी नाम 'काइट' नामक चराबाट रहेको छ।

चङ्गाको इतिहास[सम्पादन गर्ने]

चङ्गाको आविष्कार गौतम बुद्ध जन्मनुभन्दा चार/पाँच सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ। चौथो शताब्दीमा एैरदाइनका इरपुल नामक ग्रीक वैज्ञानिकले सर्वप्रथम चङ्गाको आविष्कार गरेको उल्लेख किंवदन्तीमा पाइन्छ तर चौथो शताब्दीभन्दा अघि नै एसियामा चङ्गा उडाउने खेल पर्याप्त लोकपि्रय भइसकेको मानिएको छ। चीनलाई चङ्गाको आविष्कारक मानिन्छ। सन् ७१३मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु-वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाउनुभएको उल्लेख छ। उक्त पुस्तक अनुसार गोङ्ग सु-वानको वास्तविक नाम 'लु वान' थियो भने उहाँ डुण्नु आङ्गका बासिन्दा हुनुहुन्थ्यो। चु राज्य र सोङ राज्यबीच सन् ४४४मा भएको युद्धमा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गर्नुभएको थियो। त्यही समयदेखि जासुसी काममा चङ्गाको प्रयोग प्रारम्भ भएको मानिन्छ। यो क्रम चीनमा ताङ्गवंश -६१८-९०७) सम्म कायम रहृयो।

दसौँ शताब्दीमा हानवंशका लि-यीले चङ्गामा बाँसको ढुङ्ग्रो राखेर उडाउन शुरु गरे। उक्त चङ्गा उड्दा हावाको दबाबका कारण एक प्रकारको अनौठो आवाज निस्कन्थ्यो। त्यसबेला चङ्गा निकै लोकपि्रय भयो र यसलाई 'हावाको बाँसुरी' नामकरण गरियो। यसपछि सन् १६४४ देखि १९११ सम्मको मञ्चुवंशको राज्यकालमा चङ्गामा निकै सुधार आयो। चङ्गाको आकार तीन मिटरसम्म पुग्यो भने पुच्छरसमेत राख्न थालियो। त्यसपछि विस्तारै यो प्रचलन विश्वका अनेक स्थानमा पुग्यो। युरोपमा पहिलो पटक सन् १८०४मा लर्ड जर्ज क्यालीले १५४ वर्ग इञ्चको चङ्गा बनाएर उडाए। सन् १९२५मा जर्ज पोककले आˆनी छोरीलाई लिएर उड्नसक्ने चङ्गा बनाएका थिए।

नेपाल र भारतमा चङ्गाको चलन जापानबाट आएको विश्वास गरिन्छ भने जापानमा यसको प्रचलन चीनबाट गएको मानिन्छ। नेपालमा चङ्गाको प्रचलन कहिलेदेखि सुरु भयो भन्नेबारे आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो छैन। पुख्र्यौली पेसाका रूपमा २०२८ सालदेखि बाबुको बिँडो थाम्दै आउनुभएका काठमाडौँको नःघल टोलका चङ्गा बिक्रेता प्रतापमान श्रेष्ठ आˆना बाजेले पनि चङ्गा व्यवसाय गर्नुभएको कुरा बताउनुहुन्छ।[१]

चङ्गा र धार्मिक रीतिरिवाज[सम्पादन गर्ने]

विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चङ्गा उडाउने चलन छ। चङ्गा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ। युद्धको समय, माछा मार्न जानुपूर्व तथा अन्य परम्परागत कार्यहरूमा यसको उपयोग गरिएको पाइन्छ। नेपालमा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ। लोककथा र किंवदन्ती अनुसार वषरायाममा धेरै पानी परिसकेको हुने र धान पाक्ने बेला भइसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चङ्गा उडाएर पठाएको मानिन्छ। चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ।

केही व्यक्तिहरू चङ्गालाई पृथ्वी र स्वर्गबीचको सम्पर्क कडीका रूपमा लिन्छन्। चीनमा चङ्गा उडाउनुलाई दुष्टात्मा धपाउने प्रयासका रूपमा लिइन्छ। जापानमा प्रत्येक नयाँ वर्षको शुभ दिनमा चङ्गा उडाउने चलन छ। त्यहाँका बाबुहरूले छोराका नाममा चङ्गा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्दछन्। यसलाई जापानीहरू वंश परम्परालाई अगाडि बढाउने प्रतीकका रूपमा मान्दछन्। कोरियामा चङ्गाको उपयोग दुर्भाग्य तथा दुष्टात्मा भगाउनका लागि गरिन्छ। कोरियालीहरू चान्द्र पात्रो अनुसार नयाँ वर्षको पूणिर्माको राति दुर्भाग्य भगाउन तथा सौभाग्य ल्याउनका लागि ठूलो चङ्गामा 'अशुभ जाओस्' लेखेर आकाशमा उडाउँछन् र आकाशमा उडिरहेको चङ्गाको धागोलाई काटिदिन्छन्। उनीहरूको विश्वास छ - त्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र सौभाग्य नजीक आउँछ। श्रीलङ्का र थाइल्याण्डमा चङ्गाको माध्यमबाट स्वर्ग र पृथ्वीबीच सम्पर्क हुन्छ र मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासमा चङ्गा उडाइन्छ।[१]

विज्ञानमा चङ्गाको उपयोग[सम्पादन गर्ने]

सन् १८७४मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर ल्सिनले चङ्गामा थर्मामिटर बाँधेर वायुमण्डलको तापक्रम लिनुभएको थियो। सन् १८९३मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाउनुभएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र दबाब नाप्ने काम गरेको थियो।

सन् १७५२मा बेञ्जामिन प|mाङ्कलिनले बादलमा पनि बिजुली हुन्छ भन्ने कुरा पत्ता लगाउनुभएको थियो। पानी परिरहेको समयमा तारको धागोमा फलामको साँचो राखेर चङ्गा उडाउँदा चट्याङ्गको प्रहारका कारण साँचो र तारमा बिजुली प्रवाहित भएको थियो। अर्का वैज्ञानिक सर जर्ज केलेले सन् १९०४मा चङ्गाकै आधारमा ग्लाईडरको आविष्कार गर्नुभयो। बेलायतका ओलिभर तथा विलबर राइट दाजुभाइले सन् १९०३मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गर्नुभएको थियो।

संसारमै सबैभन्दा पहिलो बनेको रेल गुड्ने झोलुङ्गे पुल पनि चङ्गाकै सहायताबाट बनाइएको थियो भन्दा आश्चर्य लाग्न सक्छ तर कुरा शत-प्रतिशत सत्य हो। न्यूयोर्कमा चङ्गा उडाउने एक व्यक्तिले अर्को चङ्गा उडाउने व्यक्तिसित जोरी खोजेर चङ्गा उडाउँदै जाँदा उनको चङ्गा २५० मिटर फराकिलो नाग्रा नदीपारि पुग्यो। त्यसपछि चङ्गालाई चुँडालेर धागोसँग त्यसभन्दा अलि मोटो धागो बाँधियो र वारिपट्ट ितानियो। एवं रीतले एकपछि अर्को झन् बलियो डोरी तान्दातान्दै फलामे डोरीहरू तानियो र आखिरमा अमेरिका र क्यानाडाबीच संसारकै सबैभन्दा पहिलो रेल गुड्ने झोलुङ्गे पुल बन्यो।[१]

चङ्गा कति माथि उड्छ ?[सम्पादन गर्ने]

अमेरिकी नागरिक हेनरी हेल्थले स्वीट्जरल्याण्डका ए.ई.सँगको सहकार्यमा सन् १८९८ फेब्रुअरी २८मा १२ हजार ४७१ फिट माथिसम्म चङ्गा उडाएर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। चङ्गा कति माथिसम्म पुग्छ भन्ने कुरालाई दुई तीन कुराले असर पार्दछ। मुख्य कुरा भनेको चङ्गामा हुने माथि उठाउने बल र आफूतिर तान्ने बल नै हो। चङ्गा कतिसम्म माथि उड्नसकछ भन्ने कुरा यी दुई बलको समानुपातमा भर पर्दछ। चङ्गाको तौल जति कम भयो, चङ्गालाई माथि उड्न त्यति नै सजिलो पर्दछ। सामान्यतया हावाको गति बढ्यो भने पनि चङ्गमाथि उठ्छ तर हावाको चाप एकनास रहिरहँदैन। यसकारण चङ्गा उडाउनेले धागो तानेर अथवा छाडेर चङ्गालाई तल माथि गर्ने गर्दछ। उडिरहेको चङ्गालाई आफूतिर तान्दा त्यसमा हावाको प्रभाव बढी पर्दछ। त्यतिखेर चङ्गा झन्-झन् अकासिन्छ र हावाको प्रभाव कम भएपछि त्यो तल र्झन थाल्दछ। त्यसो त एउटा मात्र चङ्गा उडाउँदाभन्दा लहरै उडाउँदा माथि पुर्‍याउन सजिलो पर्दछ। एक पटक अमेरिकाको इण्डियाना भन्ने ठाउँमा १९ वटा चङ्गा लहरै उडाएर सगरमाथाको उचाइभन्दा पनि माथि झन्डै ११ किलोमिटरको उचाइसम्म पुर्‍याइएको थियो।[१]

नेपाली चङ्गा[सम्पादन गर्ने]

विभिन्न देशमा चङ्गा विभिन्न शैली र प्रकारका भए पनि नेपाली चङ्गा मौलिक भएको भनाइ चङ्गा उडानमा विशेष रुचि राख्ने र नेपालका तर्फबाट अन्तर्राष्ट्रिय चङ्गा उडान प्रतियोगितामा भाग लिनुहुने निर्मलमान तुलाधरको रहेको छ। भारतीय चङ्गासँग केही हदसम्म मिले पनि हाम्रा चङ्गाको बनोट प्रक्रिया अलि फरक छ। हामीकहाँ 'डाइमन्ड सेप' का चङ्गा नै बढी चलनचल्तीमा छन्। नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्दछ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ "चङ्गाको राम कहानी", त्रिचन्द्र 'प्रतीक्षा', गोरखापत्र संस्थान. अन्तिम पहुँच मिति:24 September 2014.