सामग्रीमा जानुहोस्

छत्र, बालुन र भजन नाँच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छत्रनाँच पन्ध्रौ सोह्रौ शताब्दीतिर लोकप्रिय थियो भन्ने संस्कृतिविद्हरूको अनुमान छ । देशका अन्य भागमा यो नाँचको स्वरूप कस्तो छ, हामी त्यहाँसम्म पुग्न सकेका छैनौं । तर रसुवानुवाकोटका केही भागमा आज पनि प्राथमिकताका साथ नाँचिदै छ छत्रनाँच । फूलको माला वा सप्तरङ्गी कपडाको आकर्षक छत्र, भजननाँच र बालुननाँचको त्रिपक्षीय सम्बन्ध नै छत्रनाँच हो ।

छत्रनाँच देखाउनको लागि बाँसको डण्डीमा दुईइतले छाता आकारको गोलो घेरामा चारैतिर फूलका माला वा सप्तरङ्गी कपडाको ध्वजाहरू झुण्ड्याई बनाएको छत्र चाहिन्छ । छत्रीय भाइहरूको भनाईअनुसार छत्र उठाउन दशैंको टीका, तिहारको लक्ष्मीपूजा वा भाइटिका महत्त्वपूर्ण मानिएको छ । यी दिनहरूमध्ये कुनै दिन छत्र बनाउन छत्रीय भाइहरू एकै ठाउँमा भेला हुन्छन् । यसरी बनाईएको छत्र ठूली एकादशी वा माघे संक्रान्तिमा सेलाउने प्रचलन छ । तर आजभोलि स्थानीय महत्त्वपूर्ण पर्वका दिनमा छत्रका प्रारम्भ र विर्सजन गर्न थालिएको छ ।

छत्रलाई विभिन्न देवीदेवताको नाम दिएर कीर्तन गरिन्छ । मातामालिका, बिन्ध्यावासिनी, बंशीनाथ कृष्ण, हरि, रामजस्ता धेरै नामले छत्रलाई पूजन गरिन्छ ।

विभिन्न समारोह, महोत्सव तथा विभिन्न सङ्घ संस्था र राजनीतिक पार्टीका कार्यक्रममा पनि छत्र र भजननाँचले स्थान पाउँदै आएको छ । छत्र नाँच बोलाएको घरमा मात्र गई नाँचिन्छ । र सो घरबाट प्राप्त हुने दानदक्षिना स्वरूपको पैसा र अन्य सामग्री सङ्कलन गरी छत्र विर्सजनमा खर्च गरिन्छ । बचेको रकम विभिन्न धार्मिक कार्य तथा मठ मन्दिर निर्माणको लागि खर्च गर्ने चलन रहिआएको छ ।

छत्र नाँचको मूलपाठलाई हेर्दा हिन्दी आगन्तुक शब्दको प्रयोग भएको पाईन्छ । यसरी छत्रनाँचमा हिन्दी शब्दको प्रयोग प्रशस्तै पाउँदा छत्रनाँच भारतबाट नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ ।

छत्रनाँचको इतिहाँस

[सम्पादन गर्नुहोस्]

रसुवामा छत्रनाँचको सरूवात कसरी र कहिले भयो भनेर खोतल्नु आवश्यक छ । कुनै किटान हुन सकेको छैन । हाम्रा पुर्खा बितेर गए, वर्तमान छत्रनाँच नाँच्ने भक्तजनहरू वा छत्रीय भाइहरू पनि बितेपछि इतिहाँस होईन, छत्रनाँच, बालुननाँच र भजन नाँचका दृश्य उनीहरूसँगै बिलाउनेछ ।

छत्रनाँचको इतिहाँस हेर्दा रसुवाको जिवजिवे, ज्याङलाङ, रूप्सेपानी, मनीगाउँ, कटुञ्जे र नुवाकोटको गेर्खुलगायतका गाउँहरूमा छत्रनाँच नाँचिने गरिएको छ । छत्रीय गुरूहरूका भनाई अनुसार नुवाकोटको गेर्खुबाट यो नाँच रसुवामा भित्रिएको भनाई पाईन्छ ।

छत्रनाँचको जगेर्ना किन ?

[सम्पादन गर्नुहोस्]

हाम्रा नजरमा झल्झली छ छत्र नचाएको दृश्य, हाम्रा कानमा गुञ्जिरहेका छन् खैंजडी, मञ्जिरा र छत्रीय भाइका सुरम्य आवाज । लोप हुन नपाउँदै हाम्रा पुर्खा र हामीले अँगालेको संस्कृतिलाई जगेर्ना गर्नु भोलिका पिंढी वा दर सन्तानको लागि अध्ययन सामग्रीको रूपमा विकास गर्दै लैजानु हो । विभिन्न जातजातिको आफ्नो संस्कृतिको पहिचान र परिचय खोजिरहँदा हिन्दुहरूको छत्रनाँच, भजननाँच र बालुननाँच पनि संरक्षित र परिचित हुनुपर्दछ ।

छत्रनाँचको पाठ

[सम्पादन गर्नुहोस्]

हिराकी मन्दिर सुन गजुर ...२

प्रभूज्यू सैं औरै चली जाए,

आज बसे ललना

बंशीनाथ कृष्ण आए आज बसे ललना

राधासाथ कृष्ण आए आज बसे ललना

हरिसाथ खेलन आए आज बसे ललना

ललना सैं, खेलना सैं आए आज बसे ललना ..

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

छत्र, बालुन र भजन - यही हो हाम्रो रसुवा