जुम्ली मार्सी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो । संसारमै सवैभन्दा उंचाई अर्थात समुन्द्र सतहबाट करीव ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानिमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महìव अन्तर्राष्ट्रिय जगत्सम्म पुगेको छ । राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सी धानको चामल हुलाक चलान गरी काठमाडौंसम्म आउने गरेको कुरा अति ज्येष्ठ नागरिकबाट सुन्न पाइन्छ । करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ। यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ ।

किंवदन्ती[सम्पादन गर्ने]

किंवदन्तीअनुसार सुरुमा जुम्लामा कुनै पनि धान पाकेन । बाबा चन्दननाथले काश्मिरबाट धानको बीउ ल्याएर सुरुमा लाछु जिउरो (तातोपानी नजिकको गाउ) भन्ने ठाउमा रोपेका र पछि अरूहरूले पनि यसैगरी रोप्दै जाँदा मार्सी धान यहाँ फैलिएको हो भन्ने भनाइ पनि रहेको छ ।[१]


मार्सी धानसंग जोडिएको विसुवा पर्व[सम्पादन गर्ने]

जुम्लाको सदरमुकाम खलङ्गा वरपर र सिञ्जा क्षेत्रमा कालीमार्सी धानको बीउ राख्ने काम हरेक सालको चैत १२ गते हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र यही दिन एउटा तामाको खड्कुलो वा हुड्डीमा धान भिजाएर घरको कुनै ठाउँमा यसलाई सुरक्षित राखिन्छ । चार दिनपछि अर्थात् चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरुवा वा लिउ (उनको कपडा विशेष) मा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुनः पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ । त्यो रासलाई तातोस् भनेर सल्लाको झाँपो तथा कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१ – २२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ । किनभने यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ र स्थानीय नाचगानसहित यसै दिन चेलीबेटीलाई बोलाएर मिठो मिठो खाना खुवाइन्छ । देउडा नाच नचाइन्छ । यही कारण यो दिनलाई विसुवा पर्व भन्ने गरिएको हो । बीउ छर्ने दिन भएकोले कसै कसैले यसलाई विच्छेती पर्व भनेर पनि नामकरण गरेका छन् । यहाँ चैत १२ गते कालीमार्सीको बिउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा मनाउने प्रचलन छ । यी दिनमध्ये छर्ने दिन २० गतेलाई विशेष रूपमा मनाइन्छ । बिउ छर्ने बेला यहाँ मौलिक चलन रहेको पाइन्छ। चैत २० गते ब्याडमा धनको बिउ छर्नु पुर्व त्यसको पुजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुङ्गा ठडाइन्छ । बाबा चन्दननाथलाई सम्झेर पूजा गरिन्छ । घरमा चेलीबेटी बोलाएर खुवाने चलन रहेको छ । मैतालु र स्थानीय महिलाहरु मिलेर देउडा नाँच गान गर्ने गर्छन । यसै गरी विवाहित र अविवाहित महिला पनि दुईपट्टि भएर नै नाचगान गर्छन्, विसुवा पर्व मनाउछन् । [२]

बिशेषता[सम्पादन गर्ने]

जुम्ला लगायतको उच्च भूभागमा झण्डै ८ महिना समय लिएर उत्पादन हुने धान हो, मार्सी । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो र यो पौष्टिकताले भरिपूर्ण मानिन्छ । अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले यो प्रांगारिक रुपमै उत्पादन हुन्छ । बीउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मिहिनेत गरेपछि मार्सी धान भित्र्याउन सक्छन् । यो धानको चामलमा फाइबरको मात्र बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि यो उपयोगी मानिन्छ । आइरन, स्टार्च लगायतका पौष्टिक तत्व पनि सन्तुलित मात्रामा हुन्छ । स्वादका हिसावले पनि स्वास्थ्यका हिसाबले यो निकै महत्वपूर्ण मानिने गरिन्छ। यसको भात ढिँडोजस्तै आडिलो खान्कीमा पनि गनिन्छ ।[३]





सन्दर्भ सामग्री[सम्पादन गर्ने]



बाह्य लिङ्कहरू[सम्पादन गर्ने]