सामग्रीमा जानुहोस्

झरेको पात (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झरेको पात
झरेको पात (उपन्यास) को अधिल्लो आवरण पृष्ठ
लेखकधनुषचन्द्र गौतम
देश नेपाल
भाषानेपाली
संस्करणपहिलो
विषयउपन्यास
प्रकारप्रेम, जीवन र दर्शन
प्रकाशकपैरबि बुक हाउस प्रा.लि.
प्रकाशित मिति
विसं २०७६ कार्तिक
पृष्ठ१८८ पृष्ठ

झरेको पात (उपन्यास) प्रेमप्रकाश मल्लद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । यस उपन्यासको मूल विषयवस्तु सामाजिक हो र कथानक असफल प्रेम कहानी रहेको छ । यस उपन्यासमा प्रेम र विवाह गर्ने उमेर पुगेका एक जोडी युवा युवती प्रेम सफल बनाउन उनीहरूको तर्फबाट भगीरथ प्रयत्न गर्दा पनि असफल हुन पुगेका छन्, भने समाजमा हुने आर्थिक, जातीय, वर्गीय, धार्मिक जस्ता उँचो निचो, सानो ठुलो, भेदभावले अझै पनि युगल जोडीहरूले मृत्युवरण गर्नु परेको छ भन्ने घटना यस उपन्यासले प्रस्त पार्दछ[१]

उपन्यासको कथावस्तुले दैलेख र सुर्खेतको भूगोल नाघेको छ । संस्कार र संस्कृतिको छाप बोक्दै अलि परको भूगोल बर्दियासमेत पुगेको छ । सशस्त्र युद्घकालीन सेनाको अस्थायी क्याम्प अघोषित चिहानघाटका रूपमा प्रतिनिधि अवशेष बनेर उभिएको छ । टिकापुर कैलाली घटना मानवतामाथिको एउटा अमानवीय कलङ्कको दृष्टान्त पनि यहाँ देख्न सकिन्छ । त्यति मात्र नभई कथावस्तु सीमापारि दार्जिलिङ पनि पुगेको छ । बीचको मधेस पनि घटना र सम्झनामा अविस्मरणीय बनिदिन्छ ।

वर्णन[सम्पादन गर्नुहोस्]

लक्ष्मीपूजाको दिन छ । दैलेखी भूगोलको एउटा भिरमा घाँस काट्न जाँदा एक महिला सुत्केरी हुन्छिन् । आफू र आफ्नो वंश प्रतिनिधि ठानिएको पुरुष बच्चालाई सर्वशक्तिमान शासकको रूपमा स्थापित गराई आफ्नै विपरीत लिङ्गी सन्तानलाई नोकरसरह व्यवहार गर्ने पुरुषवादी एकात्मक चिन्तनको कुरूप सामाजिक परिवेशबिच ती महिलाले वनमै छोरी जन्माउँछिन् । शिकारीहरूले भेटेर उद्धार गरी घर पुर्‍याइदिन्छन् । घर खान्दानी छ । सुत्केरीको राम्रै स्याहारसहित बच्चाको न्वारान गरिन्छ । नाम राखिन्छ– पार्वती । थर त मल्ल हुँदै हो । यिनै पार्वती मल्ल म पात्र भई कथा वाचन गर्दछिन् । उनै हुन् यस उपन्यासकी मुख्य पात्र । उपन्यास खण्ड खण्डमा विभाजित छ । प्रत्येक खण्ड शीर्षकयुक्त छन् ।

शीतको थोपा[सम्पादन गर्नुहोस्]

यस खण्डमा पार्वती मल्लको जन्म खान्दानी परिवारमा भए पनि पितृसत्ताको विभेदमा आफ्नै घरका छोरीहरूसमेत पर्ने दृष्टान्त देखाइएको छ । समयको मागअनुसार पार्वतीलाई विद्यालय जानबाट रोकिँदैन । उनी विद्यालय जान्छिन् । जाँच आउँछ, दिन्छिन् । अर्काको दैलो पोत्ने जात हो, जेसुकै गरोस् भन्ने मनोविज्ञानमा बाँचेको परिवार छ । नतिजा आउने दिन पार्वतीको कोही अभिभावक विद्यालय जाँदैनन् । एक्लै नतिजा पर्खिरहेकी पार्वती प्रथम भएर पुरस्कार ग्रहण गर्छिन् । घर फर्कंदा साथीहरू अभिभावकसहित देखेर पार्वती रुन्छिन् । उपन्यासकार यो आँसुलाई शीतको थोपासँग तुलना गर्छन् ।

‘बालवीर काकाको आँसु’ शीर्षकको दोश्रो खण्डमा धेरै मृत्युका घटनाहरू छन् । मानवीय त्रुटिका कारण हुने मृत्युहरू । शिकार खेल्न जाँदा शिकारीको बन्दुकले आफ्नै साथी ढल्छ । बिषालु जङ्गली च्याउ खाँदा परिवारै मर्छन् । छाउगोठमा महिलाको मृत्यु हुन्छ । यी सब मृत्युहरूले पाठकलाई दुखाउँछन् नै । तर त्योभन्दा बढी दुखाउँछ, रिन तिर्न नसकेपछि भएभरको जायजेथा सामन्तलाई जिम्मा लगाई गाउँ छोडेर हिँड्ने कथित दलित पात्र बालवीरको बहिर्गमनले । मृतकको शोकमा हैन, जीवितको उद्धारमा जीवनको ऊर्जा लगाउनु मानवको धर्म हो भन्ने सन्देश यहाँ छ ।

अनौठो संसार[सम्पादन गर्नुहोस्]

यस खण्डमा आइपुग्दा पार्वती ठुली भैसक्छिन् । एसएलसी दिइसकेपछि नतिजा नआउँदाको समय यहाँ छ । गाई चराउँदै जङ्गल र खोलातिर बित्दछन् दिनहरू । एकदिन, पार्वतीहरू खोलामा पौडी खेल्दै हुन्छन् । त्यसै बेला सबैका गाईवस्तु असाधारण तरिकाले दौडेर मान्छेनजिक आउँछन् । तर पार्वतीको लैनो गाई आउँदैन । त्यसलाई बाघले आक्रमण गरेर मारेको भेटिन्छ । मृत गाईको थुन गानिएर दुध झर्ला जस्तो देखिन्छ । पार्वती घर गएर बाच्छासित रुन्छिन् । यसबाट लेखकको भावुकता र प्राणीप्रतिको समदृष्टि अनुमान गर्न सकिन्छ ।

स्वाभाविक हो, यो उमेरमा प्रेम हुन्छ । यहाँ पार्वती सुवास भन्ने केटाको प्रेममा पर्छिन् । उनको साथी चन्द्रा दिपकसँगको प्रेममा पर्छिन् । कसैलाई बिनाकाम भेटिरहन मन लाग्छ भने त्यो प्रेम हो र प्रेममा परेको बेला अनेक बहानामा प्रेमी–प्रेमिका भेटिरहन्छन् । यहाँ पनि पार्वती, सुवास, चन्द्रा र दिपकहरू भेट्दैनन् मात्रै, रातै पनि बिताउँछन् । यो त भयो उमेरदारीले गर्ने स्वाभाविक प्रेमको चित्रण । यसभन्दा फरक प्रेम पनि छ यहाँ । गाउँमा एक जना कोढी छन् । उनको घर छैन, कटेरामा बस्छन् । एकदिन बिहान सबेरै, पार्वतीहरू पानी लिन जाँदा कोढीको कटेरामा अनौठो दृश्य देख्छन् । ‘माथि बज्यै’ भनिएकी (सायद माथि घर भएकी) बृद्धा कोढीलाई अँगालोमा बेरेर रुँदै हुन्छिन् । नातिनातिनासमेत भएकी बज्यैले कोढीलाई त्यसरी अँगालो हालेर रोएको देखाउनु प्रेमको अनन्ततामाथि लेखकको न्याय हो भन्न सकिन्छ । एकदिन कोढीको मृत्यु हुन्छ । कटेरानजिकै चिहान खनेर शव गाडिन्छ । केही समयपछि चिहानमा पीपलको बिरुवा देखिन्छ । पीपल तिनै बज्यैले रोपेको अनुमान गर्न घोत्लिनै पर्दैन । नवप्रेमीहरूलाई हामी पनि बुढा हुन्छौँ र त्यति बेला अहिले गरेको प्रेम बिर्सिंदैन (नदेखाउनु अलग कुरा) भन्ने सन्देश दिन प्रेमको यो सन्दर्भ सफल त छ नै, एक लेखकका हैसियतमा (मलाई) सकारात्मक ईष्र्यासमेत पैदा गर्दछ । अर्को खण्डको शीर्षक छ ‘जलमै हराए जलराशिका फोकाहरू’ । पार्वतीका हजुरबा गाउँका एक सामन्त हुन् । विभेदजन्य व्यबहारको असली कार्यान्वयन उनैले गराउँथे । गरिब निमुखाको बास उठाउन अप्ठेरो मान्दैनथे । घरमा छोराको जातलाई बेहद स्वतन्त्रता दिने र छोरीमाथि विभेद गर्ने काम पनि उनकै थियो । यसबाट पुल्पुलिएको पार्वतीको दाइ साइँदुवा भएर निस्केको थियो । एकदिन गाउँको मेलामा एक जनाको हात छिनाएपछि बेपत्ता भयो । चिना, जोखना अनेक हेराउँदा पनि कहीँ पत्ता लागेन । यसबिच हजुरबा बिते । व्यबहार बाको काँधमा आयो । बाको स्वभाव हजुरबाको झैँ सामन्ती थिएन । पार्वतीलाई माग्न कुटुम्ब आउँदा बेपत्ता छोरो फर्केर आउला, त्यतिन्जेलसम्म पठाउन मन छैन भनिदिए । जुन कुरा पार्वतीको इच्छाअनुकूल मात्र थिएन, प्रेममाथिको न्याय पनि थियो ।

एसएलसीको नतिजा आयो । पार्वती फेल भइन् । सुवास पास मात्र भएन, थप उच्च शिक्षा लिन गाउँ छोडेर सुर्खेत हिँड्यो । ऊसँगको बिछोडमा तड्पिरहेकी पार्वतीको मनमा त्यति बेला खुसी छायो, जति बेला बर्षौं बेपत्ता भएको दाइ फर्केर आइपुग्यो । पार्वती मात्र हैन बाआमा र गाउँघर नै खुसी बनाउँदै आइपुगेको पार्वतीको दाइले खुसीलाई धेरै दिन टिक्न भने दिएन । जाँडरक्सी, जुवातास र रन्डीबाजीको कुलतमा फसेर फर्केको उसले गाउँमा पनि त्यही व्यवहार गर्दा परिवारको खुसी पानीको फोका झैँ पानीमै बिलाएको प्रसङ्गसँगै बच्चालाई पुल्पुल्याउँदाको भयङ्कर नतिजा एकदमै स्वाभाविक ढङ्गले प्रस्तुत छ यहाँ ।

मृगतृष्णा[सम्पादन गर्नुहोस्]

यस खण्डमा पार्वतीको दाइले जुवा खेलेर आमाको सुनधरी सिध्याउँछ । सम्झाउँदा बालाई पिट्छ । बाआमाको मन हो, सुधार्नै प्रयास गर्छन् । सुध्रिने आसमा बिहे गरिदिन्छन् । सुध्रिनु त परै, बुहारीकै बेहाल बनाइदिन्छ । उनी दुब्लाएर दयालाग्दो बन्छिन् । दशा त्यत्तिमै सकिँदैन । अर्काको स्वास्नी भगाएर ल्याउँछ । बाआमाले जारी तिरिदिनुपर्छ । जारी ल्याएको श्रीमतीको हालत पनि जेठीकै जस्तो बनाइदिन्छ । ‘अँधेरी रात र विरही धुन’ शीर्षकको खण्डमा पार्वतीकी साथी चन्द्रा (दिपकसँग प्रेम गर्थी) लाई अभिभावकको गोप्य स्वीकृतिमा कुटुम्बले लतार्छन् । अनिच्छित नै भए पनि उनको बिहे हुन्छ । जसको परिणाम दिपकको हृदयघात भई मृत्यु हुन्छ । यता पार्वतीलाई बाबुसरहको फुपाजु माग्न आउँछन् । पार्वती बुवासमानको मान्छेलाई बाबुकै आदर गर्छु, अब एक शब्द पनि कुरा अघि बढ्यो भने मर्छु भन्छिन् । दुुष्ट दाइले पैसा लिएर वचन दिएको हुन्छ । बहिनीको व्यवहारले रिसाउँछ । ऊ पार्वतीलाई पिट्न थाल्छ । छुट्याउन जाँदा बुवाको हातै भाँचिदिन्छ । काम्रो बाँधेकै अवस्थामा पार्वती, बुवा र आमाले घर छोड्छन् ।

गाउँको सम्झना[सम्पादन गर्नुहोस्]

शीर्षकमा अर्को खण्ड छ । यसमा घर (दैलेख) बाट हिँडेका पार्वतीहरू सुर्खेत पुगेर मीतबाको घरमा बस्न थाल्छन् । क्याम्पस पढ्न सुर्खेत नै गएको सुवाससँग अनेक असजिलोबिच पार्वतीको भेट हुन्छ । त्यतिन्जेल देशमा जनयुद्धले बृहत् रूप लिइसकेको हुन्छ । पार्वतीका आफ्नाहरू भटाभट युद्धमा होमिन्छन् । प्रेमी सुवास र साथी चन्द्रा छापामार बनेर भूमिगत बन्छन् । चन्द्रा त नाबालक छोरा नै छोडेर हिँड्छे । ‘कथित जनयुद्ध, चन्द्रा र मेरो जीवन’ शीर्षकको अर्को खण्डमा पार्वतीलाई भेट्न चन्द्रा आउँछे । उनीहरूको भेटमा पाठक पनि भावुक बन्न बाध्य भइन्छ । यहाँ पार्वतीले बोलेको एउटा संवाद छ– ‘चन्द्रा ! म अघि मरेँ भने मेरा बाआमा तेरा जिम्मा । बाँचेँ भने तेरो सन्तान मेरो जिम्मा ।’ शालीन शैलीमा साथीलाई मरे पनि छोराको पिर नगर् भन्ने आशयको संवाद हो यो । तर मृत्यु कसैको सापेक्षतामा हुँदैन । अनपेक्षित रूपमा पार्वतीको बुवाको मृत्यु हुन्छ । चन्द्रा भने राज्य पक्षबाट पक्राउ पर्छे ।

रुन जन्मिएकी म[सम्पादन गर्नुहोस्]

‘रुन जन्मिएकी म’ शीर्षकको अर्को खण्डमा पार्वतीको दाइको असामयिक मृत्यु हुन्छ । आमा र पार्वती घर फर्किन्छन् । घरमा आमाको पनि मृत्यु हुन्छ । पार्वती भदैनीसँग बस्न थाल्छिन् । त्यो पनि एकदिन पोइला जान्छे । जताततैबाट एक्लिएकी पार्वती फेरि गाउँ छोड्छिन् ।

‘फूलमती, आशाको दियो र दुःखको उत्खनन्’ शीर्षकको अर्को खण्डमा राजापुरको परिवेश छ । त्यहाँ दिदीभिनाजुको घरमा बस्ने क्रममा फुलमती नामकी थरुनीसँग पार्वतीको मित्रता हुन्छ । फुलमती औपचारिक शिक्षा नलिएकी तर बौद्धिक कुरा गर्छे । पाठकलाई यो अस्वाभाविक लाग्न सक्छ । संयोग त के भैदिन्छ भने जनयुद्धमा हिँडेको सुवास यही गाउँमा आएर बसेको हुन्छ । फुलमतीकै घरबाट बेपत्ता भएको हुन्छ । फुलमतीसँगै सम्बन्ध बनाएको आरोपमा पार्टीले कारबाही गर्दा ऊ भागेको सन्दर्भ उल्लेख छ ।

थारु जातिको सामाजिक र मनोवैज्ञानिक स्थितिको चित्रण गर्दै जनयुद्ध, मधेस आन्दोलन र कैलाली घटनाको सन्दर्भलाई ऐतिहासिक दस्ताबेजका रूपमा रहने गरी आख्यानको भाषामा लोभलाग्दो गरी प्रस्तुत गरिएको यस खण्डमा सुर्खेतबाट छुटेपछिको चन्द्राको कथा पुरा गर्न लेखकले फरक प्रयोग गरेको देखिन्छ । धामीलाई हेराएर चन्द्राको आत्मा बोलाइन्छ । आत्माले आफू मरिसकेको र बच्चाको ख्याल गरिदिन आग्रह गर्छ । जुन प्रयोग आकर्षक देखिए पनि अदृश्य शक्तिमाथिको विश्वास स्वाभाविक लाग्दैन ।

दुःख र पापको भरिया[सम्पादन गर्नुहोस्]

‘दुःख र पापको भरिया’ शीर्षकको अर्को खण्डमा भिनाजुका भाइहरू भट्टीमा बसेर पार्वतीको कुरा काट्छन् । ‘माल’ भन्दै अपमान बोल्छन् । पार्वतीले सुन्छिन् । असह्य पीडा हुन्छ । त्यहाँ बस्न मनै लाग्दैन । पार्वती गाउँ फर्किन्छिन् । गाउँमा पनि स्वास्नीले छोडेकाहरूले आँखा लाउँछन् । विकल्प नभएपछि अपमानित भएर पनि बाँच्नै पर्ने नियतिबिच एकदिन अचानक दार्जिलिङ भ्रमणको संयोग जुर्छ । पार्वती दार्जिलिङ जान्छिन् । संयोगवश सुवास त्यहाँ भेटिन्छ । तर बोलाउँदा बोल्दैन, तर्केर हिँड्छ । वेदनाले खग्रास भएर गाउँ फर्केकी पार्वती सांसारिक मायामोहबाट निवृत्त भई सन्यास ग्रहण गर्छे । तर, ध्यानमा लीन हुँदा भगवानको दर्शन हैन, सुवासको चित्र प्रकट हुन्छ ।

मुक्ति[सम्पादन गर्नुहोस्]

‘मुक्ति’ शीर्षकमा उपन्यासको अन्तिम खण्ड छ । यसमा सन्यासी अवस्थामै पार्वतीले बगरमा बेवारिसे नवजात शिशु भेट्छिन् । आमा बन्ने सपनासँगै शिशुको उद्धार गर्दै गृहस्थीमा फर्किन्छिन् । टुहुराले भोग्ने गरिबीको चरम दुःख भोग्दै चन्द्राको छोरा पनि आइपुग्छ । पार्वती उसको पनि आमा बनिदिन्छिन् । छोरामा छोरा, छोरीमा छोरी भएर पनि मनभरिको तृष्णाले पार्वती आफूलाई पूर्ण ठान्न सक्दिनन् । सायद यो तृष्णा सुवासको उपस्थितिले मात्र मेटिने छ । जुन यो जुनीमा असम्भव भैसकेको छ ।

यहाँ कथामा ट्वीस्ट आउँछ । यो जुनीमा भेट्ने आशा मारिएको सुवास अकस्मात् गाउँ आइपुग्छ । तर रोगले ग्रस्त भएर आएको ऊ पार्वतीसँग भेट्न नपाउँदै मृत्युवरण गर्छ । पार्वती सुवासको लागि अन्तिम उपहार फूलको माला उन्छिन् । माला बोकेर रुँदै रुँदै सुवासको मृत शरीर भेट्न हिँड्दा उपन्यास सकिन्छ ।

यो उपन्यास प्रेमकथा मात्र हैन, प्रेमकथा पनि हो । लामै समयको कथा हो तर सानो आकारमा भन्न सक्नु प्रेमप्रकाशको क्षमता हो । सिलसिलेवार बग्ने सबै घटनाहरू घटेकै झैँ लाग्ने उपन्यासमा बिम्बहरू प्रयोग मात्र भएका छैनन्, चित्ताकर्षक पनि छन् । ‘जलमै हराए जलराशिका फोकाहरू’ शीर्षकको सन्दर्भलाई उदाहरणको रूपमा लिन सकिन्छ । यसमा उखानहरूको सान्दर्भिक प्रयोगसँगै स्थानीय जनबोलीको उच्चारण संवादहरूमा जस्ताको तस्तै आउँछन् । सम्बन्धित भूगोलका लोकलयहरू पनि पुस्तकमा समेटिएका छन् । उपन्यासको अर्को आकर्षण भाषाशैली हो । छोटा र छरिता वाक्यहरूले उपन्यासलाई झर्कोलाग्दो हुनबाट पुरै बचाएको छ । उपन्यास पढिसक्दा प्रेमप्रकाश मल्लभित्र अथाह कथाको भण्डार मात्र हैन, बेजोड लेखन शिल्प पनि देखिन्छ । यति हुँदाहुँदै पनि पुस्तकमा केही कमजोरी हुनु सबै लेखकहरूको साझा विशेषता हो भन्न हिच्किचाइरहनु पर्दैन । ‘झरेको पात’मा पनि केही कमजोरीहरू छन् ।

उपन्यासका मुख्य पात्रहरु[सम्पादन गर्नुहोस्]

यस झरेको पात नामक उपन्यासका मुख्य पात्रहरु[२]
पार्वती मल्ल

प्रेमको आँखाले हेर्दा समर्पित प्रेमकी विशुद्घ प्रतिमूर्तिझैं श्रद्घेय लाग्छे पार्वती । कस्तै कठिन घडीमा पनि उसले पारिवारिक जिम्मेवारी पूरा गरेर एक असल सन्तानको परिचय दिएकी छ । वास्तविक प्रेमीप्रतिको समर्पण, सामाजिक उत्तरदायित्वबोध र परोपकारी गुणले नुहेकी छ ऊ । निरन्तरको असफलता र विसङ्गतिबोधले विचलित भई सन्यासी मार्ग रोज्नु उसको मानवीय स्वभाव भित्रकै एउटा वास्तविकता हो । तैपनि नदी किनारमा भेटिएको शिशु र चन्द्राको छोराको जीवन रक्षालाई उसले आफ्नो परम कर्तव्य ठानी । नवजात शिशुको साकार स्वरूपभन्दा ठूलो ईश्वरको निराकार रूपलाई मानिन उसले । यस अर्थमा मानवताको पूजा नै सच्चा ईश्वरत्व प्राप्तिको मार्ग सम्झने पार्वती महामानवजस्तै लाग्छे । उसको धीरता, सहनशीलता र आशावादिता सर्वथा अनुकरणीय र प्रशंसनीय लाग्छन् ।

सुवास
चन्द्रा

अन्यायका विरुद्घ न्यायको खोजीमा हिँडेकी चन्द्राले असमयमै जीवन गुमाउन पुग्दछिन् । गतिशील, पीडित र जुझारु उसले आफ्नै कोखीको घाउलाई समेत भुलेर युद्घमा हामफालेकी थिई थिइन् । उसको जीवनले तमाम ज्ञातअज्ञात सहिदहरूको सम्झना गराउँछ ।

फूलमती

थारु समाजकी एक जिउँदी योद्घा फूलमतीको जीवन सङ्घर्षले पाठकलाई सधैँ सम्झिरहने बनाउँछ । युद्घकै अभिघात भोगेकी ऊ पनि सहयोगी, न्यायप्रेमी, सङ्घर्षशील र खुला मनकी धनी छे ।

जुठे

ज्ञान प्राप्ति र व्यक्तित्व विकासलाई कथित जातीय पर्खालले छेक्न सक्दो रहेनछ भन्ने भाव जुठेको कहानीबाट पनि पाठकहरुले जानकारी पाउन सक्दछन् ।

दिपक

श्रव्य वाचन[सम्पादन गर्नुहोस्]

यस झरेको पात (उपन्यास) उज्यालो रेडियो एफएममा समेत वाचन भएको थियो। उज्यालो एफएममा हरेक हप्ताको मंगलबार र शुक्रबार प्रसारण हुने श्रुति संवेग नामक कार्यक्रममा कृति वाचन कार्यक्रमममा अच्युत घिमिरेद्वारा यस उपन्यास वाचन भएको थियोे । उक्त कार्यक्रममा यस उपन्यसका कुल ९ पूर्ण श्रृङ्खलाहरूमा वाचन भएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "झरेको पात र उडान उपन्यास एक विश्लेषण रश्मि भट्ट", brtnepal, अन्तिम पहुँच २०७७ वैशाख १० गते ७:१० 
  2. "प्रेमप्रकाश मल्ल र झरेको पात", harekpalnews.com, अन्तिम पहुँच २०७७ वैशाख १९ गते [dead link]

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]