नाद
नाद धुन हो । ब्रह्म भनेको पनि त्यही नाद हो । अर्थात् आफ्नो शरीरको धुन आफैंले सुन्नु । त्यसैमा रमाउनु नाद ब्रह्म हो । नादबाट शब्द बन्छ । नटेश्वर शिवले त्यसै गरे । शिव नादबाट १४ कोटी (थरी) का शब्द निस्किए– अ, इ, उ, ण, ऋ, लृ क आदि । यी निस्किएका शब्द नै शब्द ब्रह्म हुन् । ध्यानस्थले सुन्ने शब्द तिनै हुन् । यी नाद र शब्दहरूलाई एकसाथ झंकारित गर्ने अक्षर ॐ हो । त्यसैले ॐ आफैंमा नाद ब्रह्म हो । शब्द ब्रह्म हो । मान्त्रिक एवं तान्त्रिकहरूको चिन्तनमा नाद र शब्दले गति दिन्छ । ॐले गतिलाई झंकरित गर्ने तागत दिन्छ । यस अर्थमा ॐ ब्रह्म ऊर्जा तान्ने एकल नाद हो । शब्द हो । ऋग्वेदको पहिलो मण्डल त्यसै भन्छ । शिवले निकालेका १४ कोटीका शब्दमा क्रमबद्धता छ । फोनिक्स छ । सङ्केत छ । संगीत छ । धड्कन छ । अनि नाचको ताल छ । अर्थात् शब्द, गीत, संगीत, सङ्केत, धुन, धड्कन, नाच, ताल आदि सबै १४ कोटीकै अक्षरमा गुम्फित छन् । त्यसैबाट बन्छन् । त्यही नमिले ताल भंग हुन्छ । शब्द भंग हुन्छ । लय भंग हुन्छ । क्रम भंग हुन्छ । यी कुरालाई हृदयंगम गरी पाणिनीले शिव प्रदत्त शब्द ब्रह्मलाई लयबद्ध गरे । चारवटा संयुक्त स्वर पनि राखे । अनि १८ कोटीका स्वर अक्षर पारी लयबद्ध गरिएका अक्षरहरूका नाम हो, बाह्रखरी । अर्थात् शब्दहरूको ध्वनिको प्रस्तुति बैखरी हो । बैखरी ऋग्वेद (१०–२५) को शब्दमा वाक शक्तिकै अभिव्यक्ति हो । बोलीचालीमा बाह्रखरी भयो । शास्त्रीय शब्द बैखरी हो । त्यही नाद मासिए अर्थ लाग्छ त ? नाद ब्रह्मवाला भन्छन्– लाग्दैन ।[१]
प्रत्येक चक्रको आआफ्नै मूल ध्वनि हुन्छ । त्यहाँ भएका अरू नाडीले त्यही ध्वनि पछ्याउँछन् । मूलाधारको ध्वनिमा चिपचिप गर्ने नाद हुन्छ । स्वाधिपठानमा चञ्च गर्ने । मणिपुरमा घन्ट ध्वनि हुन्छ । अनाहतमा बाँसुरी नाद वा ध्वनि हुन्छ । आज्ञा चक्रमा हं अं, क्षं, ॐ नाद हुन्छ । सहश्र चक्रमा ज्ञानको स्फुरण हुन्छ । नाद हराउंँछ ।[२]
तीनवटैको समवेत स्वरलाई नाद ब्रह्म भनिन्छ । अको उच्चारण गर्दा त्यसमा उ मिसाउनु पर्छ भने उ को उच्चारण गर्दा म मिसाउनु पर्छ । यी तीनवटाको स्वतन्त्र र मिसाएर अलग अलग उच्चारण गर्दा ओंकारको सही उच्चारण हुन्छ । यसको उच्चारण गर्दा पूर्ण शक्ति लगाएर गर्नु पर्छ । भाषा शास्त्रमा यो मात्र एक यस्तो अनौठो सार्थक शब्द हो जसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन । जिब्रोले कहीं आघात नगरी उच्चारण गर्न सकिन्छ । त्यही कारणले यसलाई अनाहत नाद भनिएको हो र विश्वको जुनसुकै भाषा बोल्नेले पनि यसको शुद्ध र स्पष्ट उच्चारण गर्न सक्छ ।
सृष्टिको आदि अवस्थाका बारेमा अध्ययन गर्दा वैज्ञानिकहरु त्यस बेलाको कल्पना गर्दछन् जब पृथ्वीमा जीवहरूको उत्पत्ति भइसकेको थिएन तर सुरु हुने पूर्वाधारहरु थिए । पृथ्वी पूर्णतया जलमय र एकदम सुनसान थियो । ब्रह्माण्डका तारा र नक्षत्र बाहेक पृथ्वीलाई हेर्ने कोही थिएन । त्यस निरपेक्ष सुनसानमा पृथ्वीमा पनि एक ध्वनि थियो । किनभने निस्तब्ध शान्ति अवस्थामा पनि एउटा ध्वनि हुन्छ । त्यो सुनसानको शान्त आवाज ॐकारको ध्वनिसंग मिल्दोजुल्दो हुनुपर्छ भन्नेमा ध्वनिशास्त्रीहरु सहमत छन् । यस्तो आवाजलाई आफुभित्र सुन्ने सन्तहरूको कमी छैन । शंख भित्रबाट आउने ध्वनि निस्तब्ध शान्ति अवस्थाको ध्वनिकै प्रतीक मानिन्छ ।[३]
भर्तृहरिका अनुसार एकाग्रचित्त भइ घोरिएका परमेष्ठि ब्रह्माजीको हृदयाकाशबाट कण्ठ तालु आदि आदि संघर्ष नभएको एक अत्यन्त विलक्षण अनाहत नाद प्रकट भयो । त्यही अनाहत नादबाट अ, उ, म् यी तीन मात्राहरूले युक्त ओम् प्रकट भयो । । यस शक्तिले नै प्रकृति अव्यक्तबाट व्यक्र रूपमा परिणत भयो । ओंकार स्वयं अव्यक्त अनादि हो । परमात्म स्वरुप भएकोले स्वयं प्रकाश हो । ओंकार शब्दद्वारा परमात्माका स्वरूपको बोध हुन्छ । श्रवणेन्द्रिय शक्ति लुप्त भएको अवस्थामा पनि ओंकर शब्द भित्र ध्वनित हुन्छ । अ, उ, र म् यी तीन वर्ण सत्व, रज र तम तीन गुणहरु, ऋक्, यजु, साम तीन नामहरु, भूः, भुवः, स्वः तीन अर्थहरु, जाग्रत, स्वप्न, सुषुप्ति तीन वृत्तिहरूको रूपमा तीन तीन संख्या हुने भावहरु धारण गर्दछन् । ओंकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि ह सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले युक्त वर्णमाला बनाए । जसबाट चार वेदहरु प्रकट भए । यसरी सम्पूर्ण वेद ॐको विस्तार मात्र हो ।